भर्खरै :

गोर्खाको राज्य विस्तार

चिन्मय
अठारौँ शताब्दीको आधाआधीसम्म बेलायती साम्राज्य उत्तर भारततिर फैलिनाले नेपाली राजनीति तरङ्गित भयो । सन् १७६५ मा बेलायती इष्ट इन्डिया कम्पनीले बङ्गाल, बिहार र उडिसाको प्रशासनमाथि नियन्त्रण गर्ने गरी मुगल सम्राटसँग सन्धि ग¥यो । त्यसबेला मुगल साम्राज्यको कुल सम्पत्तिको ३० प्रतिशत हिस्सा काठमाडाँै उपत्यकाका मल्लहरूसँगको व्यापारमा निर्भर थियो । उपत्यका वास्तवमा चिनियाँ साम्राज्यअन्तर्गतको तिब्बत र मुगल साम्राज्यबीचको व्यापारिक कडी थियो । व्यापारसँगै बेलायतीहरू काठमाडाँैमा व्यापारिक कोठी वा अड्डा बनाउन चाहन्थे र यहीँबाट उनीहरू तिब्बतसम्म पुग्न चाहन्थे । त्यसैले नेपाली राजनीतिबाट उनीहरू आफ्नो हित साँध्न चाहन्थे । आधुनिक नेपालको राजनीतिक इतिहास निर्माणमा बेलायतीहरूसँगको सम्बन्धले निकै महत्व राख्छ ।
त्यसबेला उपत्यकाबाहिर नेपालका भेगैपिच्छे विविध प्रकारको आर्थिकअवस्था थियो । कुनै राज्य गरिब थिए त कुनै सम्पन्न थिए । हरेक क्षेत्र वा गाउँहरू आर्थिक रूपमा स्वावलम्बी वा आत्मनिर्भर भने थिए । गोर्खा राज्यका शासकहरू गरिब थिए । यति गरिब कि बेलाबेला उनीहरू आफ्ना प्रजासँग २५ प्रतिशत व्याजदरमा ऋण काढ्थे । राजा नरभुपाल शाहको सिंहासन माटोको थियो । तैपनि गोर्खाका शासकहरू गजबका प्रशासक (statesmen) थिए । राम शाहले गरेको कानुनी सुधारले छिमेकी राज्यहरूमा पनि प्रभाव पारेको थियो ।
गोर्खाका नरभुपाल शाह उपत्यकाका शासकजस्तै सम्पन्न बन्न चाहन्थे । यसका लागि उनले विभिन्न देशमा विवाह गरेर मोर्चा बनाउन चाहे । तर, त्यो उपाय काम लागेन । त्यसैले उनले बालक छोरो पृथ्वीनारायण शाहलाई पठनपाठनको लागि त्यसबेलाको सम्पन्न भक्तपुर राजदरबार पठाए । आफ्नो पाँचवर्षे भक्तपुर बसाइको क्रममा चलाख पृथ्वीनारायणले उपत्यकाका राजनीतिक र रणनीतिक जानकारीहरू एक गुप्तचरले जस्तै सङ्कलन गरे ।
राज्य विस्तारको क्रममा गोर्खाले पहिले बलिया देशलाई नचिढाई कमजोर राज्य हस्तगत गर्ने रणनीति लियो । गोर्खाको पश्चिम र दक्षिणमा कास्की, लमजुङ र तनहुँजस्ता आर्थिक रूपमा बलिया राज्य भएकाले उनीहरूसँग सम्झौता गरी उसले उत्तर र पूर्वका कमजोर राज्यमाथि आक्रमण ग¥यो । नुवाकोट कब्जापछि (सन् १७४४) पनि गोर्खालाई त्यति फाइदा भएन किनकि तिब्बतले काठमाडौँका शासकहरूबाट टक लिन्थ्यो । त्यसैले गोर्खाले बिचौलियाको कार्यमात्र गथ्र्यो । त्यस्तै भारतीय व्यापारीहरू चाँदीसँग तिब्बतको सुन साट्थे । यसबाट पनि गोर्खाले आम्दानी बढायो ।
गोर्खाको ध्यान त्यसपछि काठमाडाँै र पूर्वी तराईका जिल्लामा केन्द्रित भयो । गोर्खाको यस रणनीतिपछाडि दुई मुख्य आर्थिक कारण वा ध्येय थिए । एक, तराईको भूभागमाथि प्रभुत्व । अर्को, भारत र तिब्बतबीचको व्यापार मार्गमा नियन्त्रण ।
पृथ्वीनारायण शाहले तराईलाई ‘श्रेष्ठ र आम्दानी दिने क्षेत्र’ भनेका छन् भने पहाडी भूभागलाई ‘भित्री क्षेत्र’ भनेका छन् । पहिले पूर्वतिर जाइलाग्नुको अर्को कारण त्यसबेला तराईको भूभाग ओगट्ने तीन राज्यमात्र थियो । मकवानपुर, चौदण्डी र विजयपुर । यस रणनीतिबारे एक अङ्ग्रेजले लेखेका छन्, यस रणनीतिबिना “नेपालीहरूले यो स्तरको महानता कहिल्यै हासिल गर्न सक्दैनथे ।” किनभने पूर्वी तराईले नयाँ अधिराज्यलाई अधिकांश नगदी कर दिन्थ्यो । राज्यको बढ्दो सैन्य खर्च, शाही दरबारमा आयात भइरहेका विलासी सामग्री र राज्य विस्तारबाट लाभान्वित सामन्तहरू यस क्षेत्रको जमिन र करमा निर्भर थिए ।
त्यसैगरी सन् १७७० सम्म टिष्टा नदीसम्म सम्पूर्ण पहाडी भूभाग कब्जा गर्नुमा भारत–तिब्बत व्यापार हात लिने गोर्खाको उद्देश्य थियो । उपत्यकामाथिको आक्रमण यहीँ योजनाको हिस्सा थियो । त्यसो त पृथ्वीनारायणले भक्तपुरबाट फर्केपछि धेरैपटक उपत्यकामाथि आक्रमण गरेका थिए । धान खोस्ने उद्देश्यले गोर्खाले सन् १७६४ सम्म हरेक असोज महिनातिर उपत्यकामाथि आक्रमण गथ्र्यो । तर, हरेकपल्ट गोर्खा हारिरहन्थ्यो । त्यसपछि भने गोर्खाले उपत्यकामा शान्ति सन्देश पठायो । यो कुटिल चाल थियो । गोर्खाले बेलायतीहरूसँग एउटा गोप्य सन्धि गरे । बेलायतको तर्फबाट त्यसमा कप्तान सियनी (Captain Ceane) ले हस्ताक्षर गरेका थिए । बेलायतीहरूले गोर्खालाई आधुनिक हतियारमात्र दिएनन्, सैनिक सरसल्लाह पनि दिएको गोप्य तथ्य एच.जी. बिहरले लण्डनस्थित पूर्वी भारतीय फाँटका अभिलेखहरूको अध्ययनबाट खुलासा गरेका छन् ।
तत्पश्चात् गोर्खाले काठमाडौँ उपत्यकामाथि नाकाबन्दी लगायो । उसले तिब्बती व्यापारको नाका ‘कुटी र केरुङ्ग’ अनि मकवानपुर कब्जा गरेपछि काठमाडाँैको घरेलु एवं कुटिर व्यवसाय ठप्प भयो । आवश्यक वस्तुको अभाव भयो । त्यसैले साहुमहाजनबाट मल्ल राजाहरूलाई सन्धिका निम्ति दबाब आयो । सन् १७६६ मा गोर्खाले उपत्यकामै सबैभन्दा धेरै क्षति बेहोर्नुपरेको कीर्तिपुर कब्जा ग¥यो । सन् १७६८ मा इन्द्रजात्राको रमाइलोमा जनता मग्नमस्त रहेका बेला कान्तिपुर कब्जा ग¥यो । यसको केही वर्षभित्र गोर्खाले ललितपुर र भक्तपुर पनि हस्तगत ग¥यो । काठमाडाँै उपत्यकामाथिको गोर्खाली विजयलाई त्यहाँका व्यापारीहरूले स्वागत गरे, खासगरी नेवारहरूले । पृथ्वीनारायणले भारतीय व्यापारीहरूलाई लघारेर उनीहरूको स्वार्थको सेवा गरे । एकीकरणकै कारण यी साहु व्यापारीहरूको व्यापार पश्चिमतिरका पहाडहरूमा फैलियो र केन्द्रीकृत प्रणालीले गर्दा नाफा पनि बढ्यो । उनीहरू व्यापार वा कर असुलीको ठेक्का लिँदै, खानीहरू खन्दै र टक्सारी गर्दै अघि बढे । उनीहरूले तिब्बतसँगको व्यापार पनि पुनः सुरु गरे ।
उपत्यका हत्याएपछि र राजधानी यहाँ सारेपछि काठमाडाँैमा पहाडीयाहरूको नयाँ भारदार खलक राजनीतिक र आर्थिक शक्तिको रूपमा उदायो । उनीहरू काठमाडाँैमा स्थायी रूपमा बसोबास गर्न थाले । खासगरी विजित जनताको नयाँ पुस्ताले विद्रोह नगरोस् र गरे नै पनि दबाउन सकियोस् भन्ने हेतुले यस्ता बस्तीहरू योजनाबद्ध रूपमा बसालिएका थिए । आज पनि उपत्यकाको जातीय बसोबासको विश्लेषण गर्नाले यसको छनक पाइन्छ ।
जमिनकै लागि गोर्खाले पश्चिमका पहाडी भूभाग कब्जा ग¥यो । पूर्वका राई, लिम्बू, नेवार र थारु आदिलाई गोर्खाली सेनामा राखिएन । ती जातिबाट गोर्खाले बलियो प्रतिरोध झेलेको थियो । यता पश्चिममा भने गुरुङ मगरहरूको बस्ती थियो । त्यसैले उनीहरूलाई समावेश गरेर सन् १८०६ पछि सेनामा विस्तार पनि भयो । सेनामा आफूअनुकूलका जातिलाई समावेश गर्ने प्रचलनमा गोर्खामात्र अपवाद भने होइन । पर्वत, गुल्मी र बाग्लुङबाट खानीहरू (विशेषतः तामा) निकालियो जसले हतियार र टक्सारीमा सघायो ।
राज्य विस्तारको क्रममा जमिनमा ध्यान दिइयो जसले गर्दा प्रशासनिक र विशेषतः सेनाको जातीय बनोटमा त्यति ध्यान दिइएन । प्रशासनिक विभाजन पनि पुराना राज्यहरूको आधारमा गरियो । पृथ्वीनारायणको शब्दावली ‘सबै जातको फूलबारी’ को अर्थ यहीँ थियो अर्थात् समग्र देश एउटै कानुनअन्तर्गत चलाइएको छैन, सञ्चार र यातायातको दुष्करताले क्षेत्रीय र भौगोलिक विभाजन पनि यथावत राखिएको छ । त्यसैगरी खालि सैन्य शक्ति र प्रशासनका लागि नदी, बाटोघाटोको कर आदि उठाइयो । सार्वजनिक कोषको वितरण गरी जनताको जीवनस्तर उकास्नमा चासो दिइएन । राज्य विस्तारमा बढी ध्यान दिँदा र विजित भूभागको सुदृढीकरणलाई बेवास्ता गर्दा राष्ट्रिय एकीकरण अथवा नेपालको भावनात्मक एकताको प्रक्रियामा ढिलाइ हुन गयो ।
सन्दर्भ सामग्री
Regmi, M. C.1999. A study in Nepali economic history . Delhi : Adriot Publishers.।
बिहर, एच. जी. । २०६७ । नेपालको लुकेको इतिहास । वर्गसङ्घर्ष बुलेटिन–२ ।
चुङ, वाङ । सन् २००५ । नेपालको राष्ट्रिय सुरक्षात्मक रणनीति तथा नेपाल–चीन सम्बन्ध । काठमाडौँ ः चीन अध्ययन केन्द्र ।
भण्डारी, ढुण्डिराज । २०४६ । नेपालको उद्भव तथा विकासको विश्लेषणात्मक इतिहास । काठमाडौँ ः प्रकाश प्रकाशन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *