भर्खरै :

रौतहट घटना पुँजीवादी चुनावको कुरूप

शासक दलहरू चुनाव जित्न कतिसम्म निकृष्ट जघन्य अपराध गर्छन् भन्ने कुरा हाल चर्चामा रहेको रौतहटको घटनाले पुष्टि गरेको छ । चुनावमा आफ्नो विजय निश्चित गर्न उम्मेदवार स्वयम्ले बम बनाउनु र बनाएको बम विस्फोट हुँदा घाइते र मृतकलाई इँटाभट्टामा एकै चिहान पार्नुले ती दलभित्रको आपराधिक चरित्र उजागर गरेको छ । सांसद अफताब आलम राजनीतिमा पहिलेदेखि नै बदनाम पात्र हुन् । तर, अपराधको भरमा राजनीति गर्ने प्रवृत्ति भने नयाँ होइन । चुनावको समयमा शासक दलले जहिल्यै आफ्नो कुरुप अनुहार देखाउने गर्छन् । झूटा आश्वासन, साम–दाम–दण्ड–भेद, जालसाझी, लोभ आदि सबै हतियार प्रयोग गरी चुनावी परिणाम आफ्नो पक्षमा पार्न खोज्छन् । पुँजीवादी प्रजातन्त्रमा चुनावलाई सबभन्दा प्रजातान्त्रिक पक्षको रुपमा व्याख्या गर्ने ‘प्रजातन्त्रवादीहरू’ चुनावमा हुने यस्ता विकृतिलाई सकेसम्म लुकाउन खोज्छन् अथवा त्यसबारे केही बोल्दैनन् ।
अफताब आलमको अपराध सत्ताको आडमा लुकाइएको वास्तविकता सतहमा आउँदै छ । सत्ता शक्तिको दुरुपयोग गर्दै आलमले पीडितमाथि थप अन्याय गरे । राजनीति उनको लागि आफ्नो अपराधबाट जोगिने छाता बन्यो । निर्धा जनताको मुख डर–धम्कीले थुने । न्यायको झोली फैलाउने आमाको हत्या गरे । आलमको अपराध लुकाउने सत्ता र सत्ताका सबै संयन्त्र एकमत भए । आलम जघन्य अपराधी भएर पनि सांसद बने । हरेक पुँजीवादी संसद्मा यस्तै हुने गर्दछ । पुँजीवादी संसद्को यो नै विशेषता हो । भारतको संसदका बहुमत सदस्य फौजदारी मुद्दाका दोषी हुने गर्दछ । अपराधको लागि राजनीति र राजनीतिको लागि अपराध नै पुँजीवादी राजनीतिको वास्तविकता हो ।
पुँजीवादी चुनावमा हुने धाँधली र अपराधको रौतहट घटना एउटा दृष्टान्तमात्र हो । यस्ता घटना अरु पनि धेरै घटे । कति सतहमा आए, कति अझै पनि लुकाइएका छन् । चुनावमा गरिने अपराधलाई सत्ता स्वयम्ले संरक्षण गर्ने गर्छ किनभने सत्ता नै त्यस्ता त्यही वर्गको सेवाको लागि बनेको हुन्छ । पुँजीवादी सत्ता भनेको पुँजीपति वर्गको सञ्चालक समिति हो । त्यसकारण पुँजीवादी सत्ता पुँजीपति वर्गकै सेवामा लाग्नु उसको वर्गीय स्वभाव हो । नेपाली काङ्ग्रेस पुँजीवादी पार्टी हो । राजनीतिमा पुँजीपति वर्ग स्थापित गर्नु उसको वर्गीय स्वार्थ हो । आलम नेपाली काङ्ग्रेसका प्रतिनिधि हुन् । राजनीतिमा स्थापित हुन अपराधको सहारा लिनु नेपाली काङ्ग्रेसको चरित्र हो भन्ने कुरा आलमका गतिविधिले पुष्टि गर्दछ ।
सिस्नु रोपेर तुलसीको अपेक्षा गर्न सकिन्न । चुनाव जित्न अनैतिकता र अपराधको बिजारोपण गरेर राम्रो राजनीतिको अपेक्षा गर्नु दिवास्वप्न हो । काङ्ग्रेस, नेकपा, राप्रपा, मधेसवादी दलहरू अपराध र अनियमित गतिविधि गरी चुनावी परिणाम आफ्नो पक्षमा पार्न धाँधली गर्ने दलहरू हुन् । उनीहरूले चुनावमा गरेका धाँधली कति जनतासामु प्रस्ट छ भने कति अपराध बाहिर आउन बाँकी छ । तेल के हेर्नु तेलको धारा हेर्नु भनेजस्तै राजनीति दलको चरित्र कस्तो हो भन्ने कुरा उनीहरूले चुनावको बेलामा गर्ने अपराधको आधारमा मूल्याङ्कन गर्नु उचित हुन्छ ।
रौतहटको घटना पुँजीवादी राजनीतिको एउटा दृष्टान्त हो । सत्ताले तिनको संरक्षण गर्दा शासक दलहरूले कानुनको धोती लगाउने गर्छन् । शासक दलका यस्ता अपराध कर्मले नेपाली जनतालाई तिनको वास्तविकता बुझ्न मद्दत गर्नेछ । आलम कुनै दलको कार्यकर्ताभन्दा पनि अहिले एक जना अपराधी हुन् । तिनलाई कसैको शक्तिको आडमा जोगाउनु कानुनी शासनको बर्खिलाप हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *