भर्खरै :

‘प्रचेष्टा’ को निरन्तरताको कामना

समा
विद्यालयतहमा पढ्ने बालबालिकाका प्रतिभा प्रस्फुटन गर्ने मञ्चको रूपमा विकास हुँदैछ, प्रचेष्टा । देश विदेशका जानकारीसहित जीवनोपयोगी, ज्ञानबद्र्धक, असल र मार्गनिर्देशक विचारले बालबालिकाको मस्तिष्क सिँच्ने र अझ उर्वर बनाउने दबुको रूपमा अघि बढ्दैछ, प्रचेष्टा । पुँजीवादी समाज बालबालिका हुर्कने अनुकूल समाज पक्कै होइन । बालबालिकाको हुर्काइमा कुनै पनि समाज या देशको भविष्यको चित्र प्रस्ट भेटिन्छ । सचेत समाज र वर्गले बालबालिकालाई शिक्षित–दीक्षित बनाउने प्रयास गर्छ । यस अर्थमा प्रचेष्टाको प्रयास सकारात्मक छ । विद्यार्थीका पाइला सत्यको बाटोतर्फ लम्कियोस् भन्ने उद्देश्यसहित प्रचेष्टाले गरेका प्रचेष्टाहरू सराहनीय छन् ।
एउटा भनाइ छ –‘एक वर्षको लागि सोच्ने हो भने धान रोप्नुपर्छ, दश वर्षको लागि सोच्ने हो भने आँपको बिउ रोप्नुपर्छ र सय वर्षको निम्ति सोच्ने हो भने शिक्षा या चेतनाको बिउ रोप्नुपर्छ ।’ बाल मस्तिष्कमा असल, उज्ज्वल र देशलाई माया गर्ने मान्छे बन्न उत्प्रेरित गर्ने चेतनाको बिउ रोप्ने कोसिसको अर्को नाम नै प्रचेष्टा हो भन्दा फरक नपर्ला । किताबी ज्ञानले मात्र विद्यार्थी ठीक या बेठीक छुट्याउन सक्ने, न्याय या अन्याय छुट्याउन सक्ने, गलत या सही छुट्याउन सक्ने असल मान्छे बनाउन सक्दैन । किताबी ज्ञानसहित अतिरिक्त अध्ययन, सिकाइ आवश्यक रहेकोले प्रचेष्टाको जन्म भएको अनुभूत हुन्छ । दसैँ, तिहार र छठको पूर्वसन्ध्यामा प्रकाशित प्रचेष्टा वर्ष २५ पूर्णाङ्क २७ (द्वैमासिक) विद्यार्थीका लागि चाडपर्वको उपहार हो । समसामयिक लेख, कथा, कविता, रोचक प्रसङ्गलगायत थुप्रै साहित्यिक विधाको सँगालोको रूपमा प्रचेष्टा प्रकाशित छ ।
युगकवि सिद्धिचरण श्रेष्ठ लिखित कविता ‘तिम्रो बासित पैसा छैन’ ले वर्गीय समाजमा कामदार जनताको जीवन अवस्था कस्तो हुन्छ छर्लङ्ग्याउँछ । पैसाको युगमा बिना पैसा बाँच्ने बाहरूले छोराहरूसँग पोख्ने पीडा जीवन्त प्रस्तुत छ कवितामा ।
‘एक घटना जसले लुशुनलाई डाक्टर होइन साहित्यकार बन्न प्रेरित ग¥यो’ भन्ने प्रसङ्गले बालबालिकाहरूलाई देशप्रेम, स्वतन्त्रता र स्वाधीनताप्रेमी बन्न अभिप्रेरित गर्दछ । रुस र जापानको लागि जासुसी गरेको आरोपमा जापानी सेनाले टाउको काटेको र त्यस दृश्यमा चिनियाँहरू मुकदर्शक भई हेरिरहेको दृश्यले लुशुनको मस्तिष्क खलबल्याइदियो । डाक्टर बनेर जनताको सेवा गर्ने कि चिनियाँ जनतामा चेतना जगाउने, लुशुन अन्यौलमा परे । देशप्रेमको भावना जगाउन साहित्य नै बलियो माध्यम हुनसक्ने ठम्याइसहित चिकित्साशास्त्र छोडेर साहित्यिक आन्दोलन उठाउने प्रयास उनले गरे । आफ्नो व्यक्तिगत सपनाभन्दा देशले मागेअनुरूप अर्थात् आवश्यकताअनुसार अघि बढ्नुपर्ने सन्देश लुशुनको जीवनीबाट मिल्छ ।
चिनियाँ चलचित्र ‘ब्रेकिङ वीथ ओल्ड आइडियाज’ को टिप्पणी जानकारीमूलक छ । विद्यालयलाई भवनले होइन त्यहाँका दक्ष प्राध्यापक र शिक्षकका आधारमा मूल्याङ्कन गरिनुपर्छ । अझ स्कूलले बोक्ने राजनीतिक विचारको आधारमा, विद्यार्थीलाई दिइने व्यावहारिक ज्ञान र उत्पादन सीपका आधारमा मूल्याङ्कन हुनुपर्छ । विद्यार्थीहरू राता, चम्किला र सक्षम बन्नुपर्ने धारणा चलचित्रमा अभिव्यक्त छ । शिक्षाले सर्वहारा वर्गीय राजनीतिको सेवा गर्नुपर्छ । साथै शिक्षा उत्पादन श्रमसँग जोडिएको हुुनुपर्छ । शिक्षा वास्तविकताभन्दा भिन्न हुनुहुन्न । कोठाभित्र रुख रोप्ने, कालोपाटीमा धान रोप्ने शिक्षा गलत हो । चीनको शिक्षा प्रणालीबारे नेपाली जनतालाई अवगत गराउने चलचित्रबारे जानकारी मननयोग्य छ । माओ त्सेतुङका विचार, चिनियाँ कम्युनिस्ट पार्टीको शिक्षाबारे दृष्टिकोण बोकेको चलचित्र शिक्षाप्रद भएको जानकारी सविनको यो लेखले दिन्छ ।
‘विष’ माग्ने खेल नामक चिन्मयको कथाले अन्धविश्वास र अन्ध आस्थाबारे बताउँछ ।
अमेरिका पुग्ने पहिलो युरोपली यात्री क्रिस्टोफर कोलम्बसबारे डि आरले तयार गरेको जीवनीले अमेरिकाको उत्पत्तिको इतिहास बोकेको छ । कोलम्बसले हरेक चुनौतिको सामना गरी गरेका पहल, भोगेका भोगाइहरूको सङ्क्षिप्त जानकारी छ । कोलम्बसले भारत र एसिया महादेश भनी पत्ता लगाएको भूमि नै अमेरिका थियो भन्ने जानकारी जीवनीबाट मिल्छ ।
‘नेपाल बस्ने बुबालाई अस्टे«लियाबाट छोरीको चिठ्ठी’ मा नीरज लवजूले नेपालमा युवा पुस्तामा भेटिने विदेशमोहको यथार्थ पस्केका छन् । अस्टे«लिया जाने युवायुवतीले पाउने दुःख–कष्ट, नेपालमा ज्येष्ठ नागरिकहरूको कारुणिक अवस्था, विदेशिन गरिने हरेक प्रयासहरूबारे मार्मिक अभिव्यक्ति चिठ्ठीभित्र छ । अस्टे«लियामा नेपाल सम्झिरहेकी छोरी चिठ्ठीमा लेख्छिन् – “बुबा मनमा उकुशमुकुश हुन्छ । किन आफ्नै आमाको काखबाट खोसेर मजस्ता नेपाली युवाहरूलाई यो ठाउँमा हुत्याइएको छ ?” यो पत्रको जिज्ञाशा मात्र होइन जवाफ पनि हो । नेवार समुदायको परम्पराअनुसार १२ दिन ‘गुफा’ मा बसी निस्कँदाको पल्पसा रञ्जितको संस्मरण पठनयोग्य छ । किशोरीहरूलाई रजश्वला र स्वास्थ्यबारे जानकारी दिन र राम्रो आचरण सिकाउन राखिने ‘गुफा’ संस्कृतिको चर्चा छ । बौद्ध परम्पराअुनसार राखिने ‘गुफा’ मा त झन् बुद्धका उपदेश र आचरणको ज्ञान दिइने उल्लेख छ ।
‘बुबा, म स्कूल जान्नँ’ शीर्षकको कथा अत्यन्त मार्मिक र पठनीय कथा हो । छुवाछूत, उचनिचको परम्परा या प्रथा अझै कायम नै छ । २००७ सालमा प्रजातन्त्र आयो भनियो तर माहिलो सार्कीको घरदैलोसम्म प्रजातन्त्र पुगेन । पानी नचल्ने जातको रूपमा हेपिएकी माहिली सर्किनीहरूको आँसु कथामा पोखिएको छ । काले सार्कीको बालापनमा प्रजातन्त्र आउन सकेको छैन । सरल शैलीमा लेखिएको कथा हरेक पाठशालामा पढाइनुपर्ने अनुभव पाठकलाई हुन्छ । प्रचेष्टाले कथाका लेखक उल्लेख किन नगरेको होला भन्ने उत्सुकता भने पाठकलाई जरुर हुनेछ ।
कवि तथा नाटककार बर्तोल्त ब्रेख्त एक प्रगतिशील र क्रान्तिकारी साहित्यकार हुन् । उनले ‘विद्यार्थीको नाममा’ विद्यार्थीलाई आफ्नो धरती र इतिहास नबिर्सन आह्वान गरेका छन् । विद्यार्थीलाई देशको निम्ति लड्ने र सङ्घर्ष गर्ने युवादस्ताको रूपमा उभ्याएका छन् । उनी लेख्छन् –
आफ्नो बुद्धि लड्नमा समर्पित नगरी
तिमीले पढि मात्र रह्यौ भने
मानवताका सारा शत्रुसामु
आफैलाई काम नलाग्ला तिम्रो विज्ञान
बाँझो होला तिम्रो अध्ययन
लुशुनले पढ्नका लागि पढेनन् । आवश्यकताअनुसार देशको सेवा गरे । बे्रख्तको कविताले लुशुनको पुनःस्मरण गराउँछ ।
प्रमिथस मानव जातिको उत्थान र विकासका लागि समर्पित र स्वर्गको आगो चोरेर मानव जातिलाई दिने नायकको रूपमा प्रस्तुत छ । जियसको अमानवीय यातनाबीच प्रमिथसले मानव जातिको पक्षमा कष्टसाध्य तपस्या गरे भन्ने मिथक छ । यसमा लेखिएको छ – “प्रमिथसको कथा ग्रीक मिथकमा आधारित छ । तर, पिल्सिएको हरेक समाजले आफ्ना प्रमिथसहरू सधैँ हुर्काउँदै आएको छ ।”
फेसबुकको प्रसङ्गमा रमेशले अत्यन्त छोटोमा गम्भीर विषय उत्थान गरी तीखो व्यङ्ग्य गरेका छन् । अध्ययन नै किन ? भन्ने लेखमा तारा न्यौपानेले अध्ययनको महत्वबारे चर्चा गरेकी छन् । कसरी आयो आलु ? रोचक र जानकारीमूलक प्रसङ्ग हो ।
प्रचेष्टामा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका ३ साना लेख, ९ वटा फुटकर कविताहरू समावेश गरिएका छन् । प्रचेष्टाको अन्तिम गातामा दिइएको तस्बिरले भगत सिंह चिनाउने प्रयास गर्छ । प्रचेष्टाको अघिल्लो अङ्कबारे गरिएको चर्चा समावेश गरेर नयाँ पाठकलाई प्रस्ट हुने अवसर प्रदान गरेको छ । मूल्य रु. २० विद्यार्थीमैत्री छ । विद्यार्थीमाझ लोकप्रिय प्रचेष्टा द्वैमासिकरूपमै प्रकाशन गरियोस् भन्ने कामना छ । अत्यन्त जानकारीमूलक प्रचेष्टाका हरेक अङ्क सङ्ग्रहणीय छ र होस् । एक पठनयोग्य बुलेटिन प्रचेष्टाका प्रकाशक जनप्रकाशन गृहप्रति आभार ।
विद्यालय–विद्यालयमा बुलेटिनबारे अध्ययन गोष्ठी र अन्तरक्रिया गरिए प्रचेष्टा अझ सुगन्धित हुनेछ र प्रकाशकको प्रयासले सार्थकता पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *