वातावरण बचाउन नाफाखोर व्यवस्थालाई बदलौँ – १
- चैत्र ७, २०८१
प्रेम के निडर
दसैँ सकिएको छ । तिहारको रमझम सुरु भइसकेको छ । हिन्दूहरूको महान् चाड दसैँपछिको यो चाड दीपावली र यमपञ्चकको नामले प्रसिद्ध छ । यो चाडलाई नेवार जाति स्वन्ति नखः भन्ने गर्छन् । शिशिरको रमाइलो समय न गर्मी न त जाडोको समय बादल हटेर निर्मल र सुन्दर नीलो आकाश देखेर मनै आनन्दित हुने समय । साथै हरिया डाँडा र वरिपरि फूलैपूmलले भरेर प्रकृति नै मनमोहक हुने समय भएकोले यसलाई फूलको चाड पनि भन्ने गरेको पाइन्छ ।
कार्तिक कृष्ण पक्षको तृतीयादेखि पाँच दिनसम्म मनाउने यो चाड दसैँभन्दा रमाइलो चाड मान्न सकिन्छ । पाँच दिनको लामो चाड भएर पनि अलग्ग अलग्ग दिनको भिन्दा भिन्दै महत्व देखिन्छ । मानव जीवन हावा पानी, रुख बिरुवा र पशु पन्छीबिना चल्दैन । जीवनको आधार नै त्यही हो । आफ्नो बुद्धि र विवेकले पनि आफूलाई जीवन दिने, पोषण दिने र संरक्षण दिनेलाई वर्षमा एकचोटि भए पनि सम्झेर ती प्रकृतिप्रदत्त प्रतिनिधिको रूपमा काग र कुकुरलाई पूजा गरेर तिनीहरूको गुण र विशेषतालाई सम्झने चाड हो तिहार ।
तिहारको अर्को रमाइलो पक्ष भनेको देउसी भैलो खेली रमाइलो गर्ने परम्परा हो । नेवार जातिबाहेक सबै जातजातिहरू देउसी भैलो खेली रमाइलो गर्छन् भने नेवार जाति त्यस संस्कृतिमा नदेखिए पनि म्ह पूजाको दिन नेपाल संवत्को पहिलो दिन अर्थात् न्हूँ दँ पर्छ । तिनीहरू नयाँ वर्ष मनाएर रमाइलो गर्छन् । संसारभरका मानिसहरू आफ्नो नयाँ वर्षमा शुभकामना आदान–प्रदान गरेर, ठाउँ–ठाउँमा घुमेर अनि नयाँ–नयाँ परिकारका खाना खाएर रमाइलो गर्ने गर्दछन् भने नेवारहरू पनि नेपाल संवत्को नयाँ दिनमा हर्ष र उल्लासका साथ बिहानदेखि धिमे बाजा, बाँसुरी र विभिन्न किसिमका बाजागाजा बजाएर नाच्दै रमाउँदै न्हूँ दँया भिन्तुना भनेर सहर बजार परिक्रमा गरी मनाउने गर्छन् । त्यस दिन नयाँ वर्षमा वर्षभरि कुशल मङ्गल होस्, दुःख कष्ट भोग्न नपरोस्, व्यापार व्यवसास राम्रो होस् भन्ने कामना गर्छन् । नेपाल संवत्को उत्साह र उमङ्गकै दिन म्ह पूजा पनि परेकोले त्यस दिनको महत्व अरु बढेको देखिन्छ । नेवारहरू म्ह पूजालाई नेवारहरूको मौलिक पर्वको रूपमा लिई विशेष पूजाको रूपमा लिइन्छ ।
तिहारको तेस्रो दिन लक्ष्मी पूजा हो । लक्ष्मी सुख र समृद्धिकी देवी हुन् । लक्ष्मी खुसी भइन् भने वर्षभरि सुख समृद्धि हुने आध्यात्मिक धारणाले जरा गाडेको नेपालीहरूमा लक्ष्मीलाई खुसी पार्नको लागि घर आँगन सफा गरेर घरको झ्याल ढोका बार्दलीमा झिलीमिली बत्ती बालेर फूलका मालाले सजाएर लक्ष्मीलाई पूजा गर्ने परम्परा छ । यो पर्वमा सर्वसाधारण आफ्नो खेतीबाट उब्जेको नयाँ धान लक्ष्मी देवीलाई चढाएर आफ्नो अवस्थाअनुसार पूजा गर्छन् भने साहुमहाजन, व्यापारी र व्यवसायीहरू लक्ष्मीलाई विशेष किसिमले पूजा गरी मनाउने गर्दछन् । लक्ष्मी पूजाकै दिन रामले रावणलाई वध गरेर असत्यमाथि सत्यको विजय गरी फर्केको दिन अथवा १४ वर्षको लामो बनबास सकेर अयोध्या फर्केको अमावास्याको अँध्यारो रातमा चारैतर्फ उज्यालो हुने गरी बत्ती बालेर स्वागत गरेको दिन हो । त्यस हिसाबले पनि दीपावलीको आफ्नै महत्व भएको र त्यस दिनलाई अन्धकारमाथि उज्यालोको जितको दिन भनेर सम्झने गरिन्छ ।
तिहारमा मुख्यतः लक्ष्मी पूजा, म्ह पूजा र भाइटीकालाई विशेषरूपमा मान्ने गरेको पाइन्छ । लक्ष्मी पूजा र भाइटीका नेपालीहरू सबैले उत्तिकै महत्व दिएर मान्ने गरे पनि म्ह पूजा भने नेवार जातिहरूले मात्र मानेको पाइन्छ । म्ह पूजा नेवारहरूको मौलिक पर्वको रूपमा लिएको पाइन्छ । म्ह भनेको शरीर हो । शरीरको आत्मालाई भगवान् सम्झी तान्त्रिक विधि विधानअनुसार पूजा गर्ने विधिलाई नै म्ह पूजा भन्ने गरिन्छ । म्ह पूजा आफूले आफूलाई पूजा गर्ने पद्धति हो । म्ह पूजा गर्नुको तात्पर्य मानवीय जीवन चेतनायक्त भई शरीरका पाँच इन्द्रियलाई सधैँ आफ्नो बहसमा राख्न सकोस् र आत्मा शुद्धिको लागि हो भन्ने विद्वानहरूको राय छ ।
आखिर म्ह पूजा के हो ? किन म्ह पूजा गर्ने गरिएको हो ? यस विषयमा विभिन्न विद्वानहरूको मत आ–आफ्नै होला । तर, साधारण अर्थमा भन्ने हो भने यो पूजा आफ्नो अन्तर आत्मालाई पूजा गर्नु हो । माटोको मूर्तिमा भगवान हुने होइन । भगवान कहीँ खोज्न जान पर्दैन । मान्छेको आत्मा र भावनामा नै भगवान हुन्छ । अर्थात् मन अथवा आत्मा भगवान हो । हामी जे बोलिरहेका छौँ, त्यही भगवान बोलिरहेको हो । हिन्दू धर्मको विभिन्न ग्रन्थमा लेखिएको छ “जब मन तथा आत्मा शुद्ध ,पवित्र र शान्त हुन्छ तब मनभित्र ईश्वरको बास हुन्छ ।”
म्ह पूजा गर्न मण्डप बनाएर तान्त्रिक विधि विधानअनुसार शरीर पूजा गर्ने चलन छ । म्ह पूजा गर्दा पहिले म्ह पूजा गर्ने ठाउँमा लिपपोट गरी मण्डप बनाइन्छ । सबभन्दा पहिला मण्डप नै पूजा गरिन्छ । मण्डप शरीरको बाोधिचित्तको प्रतिनिधि हो । आत्मा हो । अतः यो आत्माको पूजा हो । विश्व विख्यात पर्वतारोही मेसनरले भनेका थिए “जीवन भनेको मण्डप हो । मण्डपजस्तै एकपछि अर्को घेराको शृङ्खला हो ।” “मण्डपबाट हामीले सिक्नुपर्ने कुरा भनेको बिन्दुदेखि ब्रह्माण्डसम्मको सम्बन्धलाई हामीले म्ह पूजाको त्यो मण्डपबाट बुझ्न जरुरी छ” संस्कृतिविज्ञ तीर्थबहादर श्रेष्ठ भन्नुहुन्छ ।
म्ह पूजा ठाउँ विशेष र समुदाय विशेष फरक भए पनि आखिर सबैले आत्मा शुद्धिको लागि भनेर नै पूजा गर्ने हो । मण्डप घरको परिवार कति जना छन् त्यति वटा मण्डप बनाइन्छ । त्योभन्दा पहिले दुइटा मण्डप बनाइन्छ धर्मदूत र कर्मदूतको लागि भनेर । मण्डप सबभन्दा पहिले पानीले घेरा हाली बनाइन्छ । त्यसपछि क्रमैसँग तीलको घेरा, धानको फूल (पोताय) को घेरा ,अक्षताको घेरा, मासको गेडा, कालो भटमास, धानको गेडा, अबिर र फूलको घेरा बनाई मण्डप बनाइन्छ । सबै घेराको बीच रातो सिन्दुरको टीका राखिन्छ । मण्डप बनाइसकेपछि मण्डपमा फलपूmलहरू र लामो जजका राखिन्छ । बिमिरो, भोगटे, ओखर, अमला, अम्बा आदि फलफूल नभई नहुने हुन्छ । आत्मा पूजा गर्न मण्डपको लागि प्रयोग हुने सामानहरू र फलपूmलहरूको आफ्नै अर्थ र महत्व छ । धानको फूल (पोताय) को अर्थ शुद्धताको प्रतीक, चामलको अर्थ करुणाको प्रतीक, दालको गेडा सङ्कटको प्रतीक, कालो भटमास शनिश्चरको प्रतीक र तेलको घेरा आत्मालाई केन्द्रित गरी शक्ति साधना गरेर पूजा गर्नु हो । मण्डपमा जजका पनि राख्ने गरिन्छ, जजकाको अर्थ भूतप्रेतले छुन नसकोस् भन्ने हो भने खेलु इता बाल्नुको अर्थ आफूमा ज्ञानको ज्योति बालेर सबैलाई ज्ञान फैलाउन सकोस् भन्ने अर्थ जनाउँछ । ताय र फूलहरू राखी काठको पाथीबाट टाउकोबाट वर्षाउने गर्छ । जसको अर्थ शरीरलाई शुद्ध गर्नु हो । यसरी विधि विधानबाट पूजा सकेपछि अन्तमा माछा, फूल र रक्सीको सगुन लिने गरिन्छ । जसले कुशल, मङ्गल र आत्मा बलियो भइरहोस् भन्ने जनाउँछ । यसरी म्ह पूजा गर्दा आत्मा शुद्धमात्र हुने होइन कि यसबाट मानवीय सचेतनाको कुरा पनि आउँछ । खेलु इता आफू जली अरुलाई पनि उज्यालो दिने काम गरेजस्तै आफूले आफू चिनेपछि अरुलाई चिन्न सकिन्छ सन्देश दिनका साथै भविष्यमा आइपर्ने कुनै किसिमको भयत्रासबाट मुक्त होस् र भविष्य राम्रो होस् भन्ने कामनाको लागि पनि गरिन्छ ।
तिहारको महत्वपूर्ण दिनको रूपमा रहेको म्ह पूजा पारिवारिक एकता र अनुशासन सिकाउने चाड पनि हो । घरको जेठी महिलाबाट पूजा सुरु गर्ने यो म्ह पूजामा परिवारको ज्येष्ठ परिवारदेखि लाइनमा राखेर विधि विधानअनुरुप पूजा गरिन्छ । मानिसको आत्मा पनि भगवानको रूप सम्झी पूजा गर्ने यो परम्परा नेवारहरूमा मात्र पाइएको छ । त्यसकारणले पनि म्ह पूजा नेवारहरूको मौलिक नखःको रूपमा लिन सकिन्छ ।
Leave a Reply