भर्खरै :

मोबाइल गेम– खतरनाक कुलत

 ईश्वर शाही
आजभोलि अधिकांश स्कूले विद्यार्थीदेखि कलेजका विद्यार्थी, बालकदेखि युवाहरू मोबाइलमा खेल्ने खेलमा व्यस्त भेटिन्छन् । कतिको लागि यो लत बनेको छ । कसैको घरमा जाँदा होस् वा भोजमा, पिकनिकमा, शिक्षक नभएको बेला कक्षा कोठामा, ‘वाईफाई फ्रि’ भएको चिया पसलमा, रेष्टुरेन्टमा, सार्वजनिक सवारी साधनमा बालकदेखि युवाहरूसम्म मोबाइल खेलमा मन्त्रमुग्ध भएको भेटिन्छ । मोबाइलमा लामो समयसम्म खेल्दा स्वास्थ्यमा प्रतिकूल असर पार्छ । बानी बेहोरा सभ्य हुँदैन र समय खेर जाने गरेको छ ।
अमेरिकाको मिचिगन राज्यको डेट्रोइट सहरका मनोचिकित्सक डा. डेविट रोजेन वर्गको भनाइअनुसार हिरोइनजस्ता लागूपदार्थ सेवन गरेकाहरू र मोबाइल तथा ल्यापटपमा खेल खेल्नेहरूको ःच्क्ष् रिपोर्ट हेर्दा दिमागी सक्रियतामा हुने समस्याहरू उस्तै खालको भेटियो ।
जम्मुका एक जना फिटनेस (व्यायाम) प्रशिक्षकले दस दिनसम्म मोबाइलमा लगातार पब्जी खेल खेल्दा मानसिक सन्तुलन गुमाएका थिए । केही महिनाअघि भारतको महाराष्ट्रमा दुई जना केटाहरू रेलको ट्र्याकमा बसी मोबाइलमा खेल्दै गर्दा एक्कासि रेलले ठक्कर दिँदा मृत्यु भयो । भारतको जलन्धरमा एक जना स्कूले विद्यार्थीले मोबाइल खेलमा लगानी गर्नको निम्ति घरबाट भारतीय पैसा रु. पचास हजार चोरी गरे । यस्ता घटनाहरू भएकोले नै सायद भारत सरकारले पब–जी खेललाई भारतभरि प्रतिबन्ध लगायो । कति ठाउँमा ६ घण्टामात्र खेल्ने गरी समय सीमा तोकिदियो ।
नेपालमा पनि यसको गहिरो प्रभाव परेको छ । एक जना नेपाली विद्यार्थीको अन्तर्वार्ता सुन्दा उनी भन्छन्, “यो खेल खेल्दा खान पनि बिर्सन्छु । आँखा दुख्छ , दिमाग पनि केही बेर बेहोस भएजस्तो हुन्छ । तैपनि खेल्न मन लाग्छ ।” अरू, केही विद्यार्थीसँग लिइएको अन्तर्वार्ता हेर्दा कसैले पाँच घण्टा, कसैले ७–८ घण्टा, कसैले दिन–रात खेल्छु भनेका छन् । अवस्था भयाबह छ ।
भारतमा जस्तै नेपालमा पनि केही संवेदनशील अभिभावक र विद्यालयहरूले प्रहरी कार्यालयहरूमा उजुरी गरेपछि सरकारले पनि पब–जी खेलमा प्रतिबन्ध लगायो । यहीँ खुसीमा एकजना आमाको भनाइ यस्तो थियो, “बच्चाहरू खाना खान बोलाउँदा नमान्ने, सुत्न आऊ भन्दा नमान्ने, कसैले बोलाएको पनि नसुन्ने, त्यसैले सरकारले यो खेल बन्द गरेकोमा खुसी छु ।” ती खेलमा प्रतिबन्ध लगाए पनि विभिन्न उपायहरू अपनाएर खेलिने छुट दिइएको छ ।
संसार तथा बाहिरी दुनियाँबारे दृष्टिकोण स्थापित गर्न सक्षम नभएको बेलामा यस्ता खेलहरूको लत लाग्दा धेरै नकारात्मक असर गर्ने गरेको छ । मोबाइल वा कम्प्युटरमा खेलको लत लागेकाहरूमा बढी उग्रता देखिने, सहनशील क्षमतामा कमी आउने, साना–साना तनावमा पनि उत्तेजित भई झगडा गर्ने, मान्छेहरूसँग घुलमिल कम हुने, सामाजिक जीवनबाट टाढिंदै जाने, खेल्नको निम्ति बहानाबाजी गर्दै झूठ बोल्ने, गृहकार्य नगर्ने, शैक्षिक स्तर खस्किने दिमागमा प्रेसर बढ्दै जाने, स्मरणशक्ति घट्ने र सिर्जनात्मक कार्यमा कमी आउने आदि समस्याहरू देखा पर्र्दै गइरहेका छन् ।
विज्ञान र प्रविधिको विकासलाई नकार्न मिल्दैन । विज्ञान र प्रविधिको विकासले हाम्रो जीवन सहज बनाएको छ । जब यसको दुरूपयोग हुन्छ तब यसले मानव जीवनलाई क्षति पु¥याउँछ । त्यसैले मोबाइलको खेलले असर नपरोस् भन्नेतर्फ सचेत हुनैपर्छ ।
सफ्टवेर कम्पनीहरू बच्चा र युवाहरूलाई आकर्षित पार्ने विभिन्न सुविधा, पुरस्कार दिएर खेलमा मन्त्रमुग्ध बनाउन आकर्षक खेलहरू बनाउँछन् । विद्यार्थी र युवाहरू आफ्नो पढाइ र कामबाट क्षणिक मुक्ति पाउन वा रहरको लागि वा पुरस्कार जित्न मोबाइलमा खेल खेल्ने गर्छन् । जब यी कुरा लतमा परिणत हुन्छ, तब समय बितेको पत्तै हुँदैन । खेल्नेहरू खेलमा अर्को पक्षलाई जति हरायो त्यति नै आफूलाई बलवान सम्झन्छन् । तर, मोबाइलमा आगो बालेको भिडियो हेर्दैमा हामीलाई न्यानो नभएजस्तै मोबाइल खेलमा हुने लडाइँ र वास्तविक जीवनमा हुने सङ्घर्षमा धेरै अन्तर हुने गर्दछ ।
उदाहरणका लागि भियतनामी युद्धबारे १ सयभन्दा बढी भिडियो बनेका छन् । त्यसमध्ये ‘ब्याटलफिल्ड भियतनाम’ नामको एउटा भिडियो गेम हो । यो भिडियो गेममा दुई पक्षबीच युद्ध गराइन्छ । एउटा पक्षमा अमेरिका र अर्को पक्षमा भियतनाम हुन्छ । यसमा एनिमेसनमार्फत भियतनाम युद्धताका क्षेत्रहरू निर्माण गरिएको छ । अमेरिकी पक्षलाई ठूला–ठूला गाडी, ट्याड्ढ, हेलिकप्टर, बङ्कर उपलब्ध गराइन्छ भने भियतनामी पक्षलाई गहिरा–गहिरा सुरुङहरू, पैदल सेना, भाला, ट्याङ्कर र हवाईजहाज ध्वस्त पार्ने हतियारमा भर पर्नुपर्छ ।
विश्वभरि यो भिडियो गेम खेल्छन् । यो खेल खेल्दैमा के भियतनामको पक्षबाट खेल्नेहरू हो चि मिन्हजस्ता महान नेता र भियतनामी जनताजस्ता देशभक्त र क्रान्तिकारीहरू बन्ने हुन् त ? भिडियो गेममा एक–दुई क्लिकमा सेना तयार भएजस्तै भियतनाममा क्रान्तिकारीहरू तयार भएका थिएनन् । धेरै वर्षको मेहनतबाट क्रान्तिकारी बनेका थिए । क्रान्तिकारी सेना तयार पार्न धेरै अध्ययन, प्रशिक्षण र मेहनतको आवश्यकता पर्दछ । खेलमा बन्दुक, तोप चलाएर आफ्नो शत्रुलाई खत्तम गरेर फूर्ति देखाउनेहरूले साँच्चिकै बन्दुक उचाल्न सक्छन् कि सक्दैनन् ? भियतनामको युद्ध भिडियो गेमजस्तो एक–दुई घण्टामा सकाउने खालको लडाइँ थिएन, वर्षौं वर्षको लडाइँ थियो ।
भियतनाम युद्ध एउटा कोठा वा ठाउँमा बसेर आफू एकजनाको रहर र रमाइलोको निम्ति नभएर आफ्नो घर छोडी ठूला–ठूला हिमाल, पहाड, नदी, घनाज·लमा बसेर फ्रान्सेली र अमेरिकी सेनाहरूसँग लडेर सम्पूर्ण देश र जनताको रक्षाको निम्ति भएको लडाइँ थियो ।
कति देशहरूसँग लड्ने क्षमता नहुँदा हारे, उपनिवेश भई थिचोमिचो सहनु परेको थियो र कति देश अरू देशमा विलय परेको थियो ।
यदि जम्मु र काश्मीरमा ९ लाख भारतीय सेना खटाएर कब्जा गर्ने, १ लाख सेना खटाएर सिक्किम भारतमा मिलाउने, समय–समयमा नेपालमा नाकाबन्दी लगाउने, भूकम्प आएको बेला विमानस्थल कब्जा गरी दुःख दिने, नेपाली भूमि अतिक्रमण गरी नयाँ नक्सा तयार पार्ने र आफ्ना छिमेकी देशहरूलाई भारतले र विश्वमा आतड्ढ मच्चाउने साम्राज्यवादी अमेरिकाले इन्डो–प्यासिफिक रणनीतिअन्तर्गतको एमसीसी सम्झौता वा अन्य कुनै बहानामार्फत नेपाली भूमिमा आफ्ना सेनाहरू अत्याधुनिक हतियारसहित आएर दुःख दिन थाले भने के भिडियो गेमबाटै तिनीहरूलाई हराउन सकिएला त ? भिडियो गेमको बन्दुक र तोपले तिनीहरूलाई धपाउन सकिएला त ?
हामीले यस्तो खालको लतबाट जोगिन जरुरी छ । त्यसैले अभिभावकहरूले बच्चाहरूलाई यस्तो कुरामा पूर्ण छुट दिनुहुन्न । बरु यसको विकल्पमा संसार बुझाउने पुस्तकहरूको अध्ययन गर्ने बानी बसाउनुपर्छ । सरकारले बालबालिकाको हुर्काइमा विशेष ध्यान दिन आवश्यक छ । विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरूको आयोजना गर्ने, शिक्षालाई श्रमसँग जोड्ने, खेलकुद प्रतियोगितालाई निरन्तर अगाडि बढाउने व्यवस्था सरकारले गर्नुपर्छ । हामीलाई वास्तविक जीवनबाट टाढा बनाई एउटा भ्रमपूर्ण जीवनमा व्यस्त गराउनको निम्ति भिडियो गेममात्र नभई पुस्तक र विभिन्न थरीका विचार पनि छन् ।
पुँजीवादी व्यवस्था र भारतीय एकाधिकार पुँजीलगायतका विदेशी हस्तक्षेपले बहुमत जनताको ढाड सेकेको बेला यो लतले फेरि दुःखमा दुःख दिने काम नबनोस् ।
बहुमत नेपाली जनतालाई आफ्नो जीवनस्तर, चेतनास्तर र सांस्कृतिकस्तर व्यवस्थितरूपमा उठाउने भन्ने थाहा नभएको र विभिन्न अवरोधले नेपाली समाज ढिलोगतिमा अगाडि बढेको अवस्थामा यो लत पनि अर्को अवरोध नबनोस् । हामीलाई विभिन्न विकृतिबाट बचाउनको निम्ति समाजप्रति उत्तरदायी र देशभक्ति भावना जगाउनुपर्छ । विभिन्न प्रकारको शोषण व्यवस्थाको अन्त्य र देशभक्तिको भावनाले मात्र हामी यस्तो अवरोधलाई पाखा लगाउन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *