भर्खरै :

इतिहासको परीक्षा उत्तीर्ण गरेको सम्बन्ध

 ताङ छिफाङ
सन् २०२० को वसन्त उत्सवको बिदा चीनको लागि विशेष रह्यो । नयाँ प्रकारको कोरोना भाइरसको महामारीले आफन्त र साथीहरूबीच पहिलेजस्तै पारिवारिक जमघट हुन सकेन । परिवारका सबै सदस्य एक ठाउँमा बसेर भोज गर्ने, रमाइलो गर्ने र लामो समय गलफती गर्ने अवसर यसपालि जुरेन । सामान्यतः व्यस्त रहने सडकमा छिटफुट बटुवामात्र देख्नु निकै अनौठो अनुभूति भइरहेको छ । तर, यस्ता प्रतिकूलताबीच चीनलाई आफ्नो विशेष अतिथिलाई स्वागत गर्नबाट भने रोकिएन । चीनका राष्ट्रपति सी चिनफिङले कम्बोडियाका प्रधानमन्त्री हुन सेनलाई ५ फेब्रुअरी (माघ २२ गते) स्वागत गरे ।
अरू बेलाजस्तो हुन सेनको भव्य स्वागत गरियो । चिनियाँ विदेशमन्त्री वाङ यी उनलाई स्वागत गर्न विमानस्थल पुगेका थिए । पेइचिङको ग्रेट हल अफ द पिपुल्समा हुन सेनलाई राष्ट्रपति सी र प्रधानमन्त्री ली खस्याङले अलग अलग भेटेका थिए । सो अवसरमा प्रधानमन्त्री हुन सेनले महामारीको समयमा कम्बोडिया चीनको पक्षमा उभिने र सबै समस्या एकजुट भएर सामना गर्ने बताए । उनले महामारीविरूद्धको लडाइँमा चिनियाँ जनताको विजय हुने विश्वास व्यक्त गरे ।
अहिलेको विशेष समयमा हुन सेन र कम्बोडियाली जनताले चीन र कम्बोडियाबीचको गहिरो र इमानदार सम्बन्ध व्यवहारमा प्रदर्शन गरेका छन् । नोबेल कोरोना भाइरसको महामारी फैलिए यता हुन सेनले पटक–पटक कम्बोडियाको सरकारको धारणा प्रस्ट पार्दै आएका छन् । चीनमा पढिरहेका विद्यार्थी र चीनमा काम गरिरहेका कूटनीतिक प्रतिनिधिहरू कम्बोडिया नफर्किने र कम्बोडिया र चीनबीचको हवाई उडान पनि चालू रहने कम्बोडियाले घोषणा गरेको छ । उहान जाने र आउने उडानबाहेक कम्बोडिया आउने र जाने कुनै पनि चिनियाँ उडानमा रोक लगाइएको छैन ।
कम्बोडियाको सीम रिप प्रान्तले महामारी फैलिएपछि छोङछिङलाई एक लाख वटा मास्क सहयोग गरेको छ । फेब्रुअरी ३ मा ५९ हजार ५ सय सर्जिकल मास्क बोकेका पहिलो किस्ताको १ हजार १ सय ९० बाकस छोङछिङ पुगेको छ । चीनको युनानमा निःशुल्करूपमा मुटु रोगको उपचार गरेका ८६ जना कम्बोडियाली बालबालिकाले चीनको महामारीको प्रतिकारमा सहयोगस्वरूप ५ हजार २१ वटा मास्क किनेर पठाएका छन् ।
इतिहासले चीन र कम्बोडियाबीचको सम्बन्ध समयमा परीक्षा उत्तीर्ण गरेको प्रमाणित गरेको छ । माओ त्सेतुङ, चाओ एन लाइ, अरू चिनियाँ नेताहरू र कम्बोडियाका राजपिता नरोदम सिंहानुकले एक आपसमा सहयोग गरेका थिए । हरेक परिस्थितिमा आपसमा टेवा दिएका थिए ।
आपसमा कस्सिलो मित्रताको सम्बन्ध जोडेका थिए । कम्बोडियाले शान्ति हासिल गरेपछि दुई देशबीच आपसमा भएका परिपूरक स्रोतको भरपूर उपयोग गरिरहेको छ । विस्तृत आर्थिक सहकार्य बढाइरहेको छ ।
अहिले चीन कम्बोडियाको सबभन्दा ठूलो व्यापार साझेदार बनेको छ । साथै चीन सबभन्दा ठूलो वैदेशिक लगानीको स्रोत बनेको छ । सन् २०१९ को जनवरीदेखि नोभेम्वरसम्म चीन र कम्बोडियाबीचको दुईपक्षीय व्यापार ८ अर्ब ५३ करोड अमेरिकी डलर पुगेको छ । अघिल्लो वर्षको तुलनामा यो २७.८ प्रतिशतले बढेको हो । सन् २०१९ को नोभेम्बर महिनाको अन्त्यसम्ममा चीनले कम्बोडियामा झन्डै ९ अर्ब लगानी गरेको थियो । यसले कम्बोडियाको दिगो र तीव्र आर्थिक विकासमा टेवा पु¥याएको थियो ।
चीन र कम्बोडिया भौगोलिकरूपमा नजिक छन् । दुई देशका जनताबीचको सम्बन्धले दुवै देशका जनताबीच हृदय जोडिएको छ । सन् २०१९ को पहिलो ६ महिनामा कम्बोडियामा १२ लाख ९० हजार चिनियाँ पर्यटकलाई स्वागत गरियो । अघिल्लो वर्षको तुलनामा यो ३८.७ प्रतिशतले बढी हो । सन् १९५८ को जुलाईमा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।
चीनले आफ्नो छिमेकी कूटनीतिअन्तर्गत कम्बोडियासँगको सम्बन्धलाई प्राथमिकता दिएको छ । कम्बोडियाको राष्ट्रिय परिस्थिति सुहाउँदो विकासको बाटो अघि बढाउन चीनले कम्बोडियालाई सहयोग गर्दै आएको छ । विभिन्न अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दामा कम्बोडियाले चीनलाई दरिलो सहयोग गर्दै आएको छ । दुई देश इमानदार मित्र, विस्तृत रणनीतिका असल साझेदार र वास्तवमा असल बन्धु हुन् ।
हुन सेनको चीन भ्रमणले चीन र कम्बोडियाबीचको हार्दिक सम्बन्धमात्र प्रदर्शन गरेको छैन । बरू आजको गम्भीर समयमा तर्कपूर्ण चिन्तनको आवश्यकता पनि प्रतिबिम्बित गरेको छ । महामारीको सन्दर्भमा विश्व स्वास्थ्य सङ्गठनले पटक–पटक कुनै पनि देशले यात्रा वा व्यापार निषेध गर्न नहुने बताउँदै आएको छ । स्वास्थ्य सङ्गठनले हल्लाको पछि नलाग्न र विज्ञानमा विश्वास गर्न आह्वान गरेको छ । प्रमाणको आधारमा काम गर्न आह्वान गरेको छ । तर, संरा अमेरिकालगायत केही देशले भने चीनसँग व्यापार र यात्रामा निषेध गरेको छ । संरा अमेरिकाले बितेका चौध दिनमा चीन पसेको कोही पनि व्यक्तिलाई आफ्नो भूमिमा नआउन सूचना जारी गरेको छ ।
केही पश्चिमा सञ्चारमाध्यमले चीनप्रतिको विद्वेषमा नयाँ कोरोना भाइरसलाई नै ‘चाइना भाइरस’ भनी प्रचार गरेका छन् । उनीहरू अहिलेको अवस्थालाई चीनलाई ठोक्ने भावनाका साथ काम गरिरहेका छन् । भाइरसले भन्दा आजको कठिन समयमा यस्ता अविवेकी र अतिवादी व्यवहारले ठूलो पीडा दिएको छ । विश्वव्यापीकरणको युगमा सबै देशका स्वार्थ र नियति आपसमा अन्तरसम्बन्धित छ । जनस्वास्थ्य सङ्कटको बेला सबै देशबीचको ऐक्यबद्धता र सहकार्यले मात्र सबैको हित रक्षा हुनसक्छ । हुन सेनले कोरोना भाइरस चीनको मात्र समस्या नभएको बरू सम्पूर्ण विश्वको समस्या भएको बताएका छन् । अन्तर्राष्ट्रिय समुदायले विश्वको मुद्दालाई एकजुट भएर सामना गर्नुपर्छ । यो नै मानवीय र विवेकी निर्णय हुनसक्छ ।
हुन सेनको चीन भ्रमणले चीन र कम्बोडियाबीचको सम्बन्ध छिमेकी कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धको नमुना भएको पुष्टि गरेको छ ।
(लेखक चिनियाँ अन्तर्राष्ट्रिय अध्ययन प्रतिष्ठानका सहायक अध्येता हुनुहुन्छ ।)
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः अनिल

Leave a Reply

Your email address will not be published. Required fields are marked *