भर्खरै :

सक्वको म राजदास– २०

ई. राजदास श्रेष्ठ
सोभियत सङ्घमा रेलको यात्रा गर्न धेरै सुविधाजनक र धेरै आरामदायी थियो । रेलको भाडा पनि सस्तो नै थियो । हुन त सोभियत सङ्घमा त्यसबेला रेल, मेट्रो, ट्रलीबस, ट्रक र अटोबस आदि यातायातका साधनहरूको भाडा दर धेरै सस्तो थियो । ट्राम, ट्रली, अटोबसजस्ता सर्वसाधारणको लागि चल्ने यातायातका साधनमा ३–४ पैसामात्र लाग्थ्यो । जति टाढा चढेर गए पनि टिकट काटेर बस चढेपछि ननिस्केसम्म त्यहीँ टिकटले काम दिन्थ्यो । दूरीको हिसाबले पैसा बढ्दैन । बस चढेपछि एक स्टप गए पनि १० स्टप गए पनि त्यहीँ ४ पैसा भाडा हो ।
जमिनमुनि चल्ने मेट्रो रेलमा पनि त्यहीँ सिस्टम थियो । सडकमा गुड्ने सवारी साधनमा ३–४ पैसा लाग्थ्यो भने मेट्रो रेलमा एकचोटि छिर्दा ५ पैसा (कोपेक) लाग्थ्यो । जमिनमुनिको मेट्रो सिस्टम धेरै राम्रो थियो । ती मेट्रो रेलहरूको सञ्जाल धेरै राम्रो र ठूलो थियो । रेलहरू धेरै द्रुतगतिमा गुड्थे । ती रेलहरू एक–डेढ घण्टामा काठमाडौँबाट हेटौँडा–पोखरासम्म पुग्ने हिसाबले गुड्थे । एउटा रेलमा १०–१२ वटा डिब्बाहरू हुन्थे । प्रत्येक डिब्बामा ४०–५० जना मानिस अट्थे । धेरै छिटो आफ्नो गन्तव्यमा पुग्ने हुनाले लाखौँ लाख मानिस ट्रक, ट्रली र अटोबसमा भन्दा मेट्रो रेलमै बढी सवार हुन्थे ।

लेखक सोभियत अन्तरिक्ष यात्री युरी मालिशेभको भाषण अनुवाद गर्दै प्रज्ञाभवन, कमलादीमा (बायाँ)


ठूलठूलो सहरमा मेट्रो रेल थिए । मेट्रो रेल यात्रा सहरको एक कुनाबाट कुनै पनि अर्को कुना पुग्न धेरै सजिलो थियो । तर, एउटा सहरबाट अर्को सहरहरू जान भने कि त हवाई यातायात अथवा रेल यातायात नै प्रयोग गर्नुपथ्र्यो । अझ धेरै मानिसहरू हवाई यातायातभन्दा रेल चढ्न मनपराउँछन् । यदि समयको ख्याल नगर्ने हो भने रेलको र हवाईजहाजको भाडा दर झण्डै झण्डै उस्तै हुन आउँछ । तर, हवाई यात्रा गर्दा आफ्नो ठाउँबाट एयरपोर्टसम्म प्रायः ट्याक्सीमा जानुपर्ने हुन्छ र फेरि आफ्नो ठाउँमा जान एयरपोर्टबाट अर्को ट्रयाक्सी चढ्नुपर्ने हुन्छ । यो हिसाबले रेल यात्राभन्दा हवाई यात्रा महँगो पर्न जान्छ । त्यसैकारण सोभियत सङ्घमा धेरैजसो एउटा सहरबाट अर्को गाउँ–सहर जाँदा अथवा एउटा गणराज्यबाट अर्को गणराज्य जाँदा प्रायः रेलमै जाने गर्थे ।
सोभियत सङ्घमा रेलको सञ्जाल पनि विशाल थियो । एउटा गणराज्यबाट अर्को गणराज्यमा जानमात्र होइन सोभियत सङ्घको राजधानी मस्कोदेखि चीनको राजधानी पेइचिङ्ग (पेकिङ्ग) सम्म पनि नियमितरूपमा तत्कालीन सोभियत सङ्घको रेल सेवा चल्दथ्यो । सन् १९५३ को कम्युनिस्ट सिद्धान्तलाई हेर्ने दृष्टिकोणमा सोभियत सङ्घ र चीनबीच वैचारिक फाटो आएको थियो र सोभियत–चीन सम्बन्धमा केही चिसोपन आएको थियो । तर, त्यसबेला मस्को–पेकिङ्ग रेल सेवा नियमित चल्दै थियो । रेलको यात्रा सुविधाजनक र सुगम थियो । सोभियत रेलमा फस्ट क्लास, सेकेन्ड क्लास, थर्ड क्लास भन्ने हुँदैनथ्यो । सबै डिब्बाहरूमा एउटै सेवा र सुविधा हुन्थ्यो भने अलि बढी पैसा तिरेर ‘कुपे’ भन्ने ‘क्याविन’ मा जान सकिन्थ्यो धेरै दूरीको यात्रा गर्नुपर्दा अथवा कसैको खास पारिवारिक समस्या परेको अवस्थामा ।
सोभियत सङ्घमा ५–६ वर्ष बस्दा मैले धेरैचोटि रेल यात्रा गरेको थिएँ । एक वर्ष मस्कोमा बसेर आफ्नो इन्जिनियरिङ्ग विषय पढ्न म उक्राइना गणराज्यको ‘खार्काेभ’ भन्ने सहरमा बसेको थिएँ । खार्काेभमा हामी नेपालीहरूको सङ्ख्या २०–२५ जनाको थियो र हाम्रो आफ्नै नेपाली विद्यार्थी सङ्गठन थियो । तर, धेरै नेपाली विद्यार्थीहरू सोभियत राजधानी मस्कोमा भएको हुनाले बरोबर विद्यार्थी सभा सम्मेलनहरूमा भाग लिन अथवा कोही आफन्त अथवा साथीहरू भेट्न बरोबर मस्को जाने आउने गर्नुपथ्र्याे । यसबाहेक ससुराली सहर पेन्जामा पनि म बरोबर जानुपथ्र्यो । एकचोटि म खार्काेभ सहरमा नेपाली विद्यार्थी सङ्घको अध्यक्ष भएको बेला एक महिनाको एउटा अन्तर्राष्ट्रिय देशको दर्शन कार्यक्रममा सहभागी भएको थिएँ । ४०–५० देशका विद्यार्थी सङ्गठनका प्रतिनिधिले भाग लिएको त्यस कार्यक्रममा क्युवादेखि भियतनामसम्मका विद्यार्थीका साथै अन्य एसिया, अफ्रिका र अरब देशका विद्यार्थीहरू सम्मिलित थिए । त्यसमा २ सय जना विदेशीका साथै ५० जना जति सोभियत विद्यार्थी तथा सहकर्मीहरू थिए ।
राजधानी मस्कोबाट सुरु भएको त्यस बृहत् अन्तर्राष्ट्रिय विद्यार्थी सहयात्राको मूल उद्देश्य सोभियत रुस र सोभियत बेलारुसका विद्यार्थीहरूलाई विश्वका विभिन्न देशका विद्यार्थीहरूसँग परिचित गराउनुका साथै विदेशबाट सोभियत सङ्घमा पढ्न आएका विद्यार्थीहरूलाई सोभियत सङ्घका विभिन्न गणराज्यहरूको राजनैतिक, शैक्षिक, सामाजिक र सांस्कृतिक विषयमा ज्ञान दिलाउनु थियो ।
एक महिनाको त्यो लामो यात्रा ठूलठूला ६–७ वटा सुविधायुक्त बसमा गराएको थियो । धेरै लामो यात्रामा गएका हामीलाई बाटोमा पर्ने प्रत्येक सहर र ठूला गाउँघरमा भव्य स्वागत गरिएको थियो । प्रत्येक गाउँ सहर पस्दा स्थानीय निकायका सरकारी सङ्घसंस्थाले सहर पस्नेबित्तिकै गाउँ–सहरको मूल प्रवेशमा ‘नुन र रोटी’ (रुसी भाषामा ‘ख्लेभ इ सोल’) ले स्वागत गरेको थियो ।
‘नुन र रोटी’ एक रुसी संस्कार
हामीकहाँ कुनै देशबाट आएका विशेष अतिथि पाहुनालाई फूलको माला, फूलको गुच्छा, राष्ट्रिय टोपी, खादा ओढाएर स्वागत गरेजस्तै विशेष गरेर सोभियत रुसमा आफ्ना अतिथिहरूलाई स्वागत गर्दा एउटा विशेष प्रकारको किस्तीमा एउटा सिङ्गो पाउरोटी (प्रायः गोलाकारको कालो पाउरोटी) र एउटा सानो कचौरामा नुन राखेर अतिथिसामु स्वागत गरिन्छ । अनि अतिथिहरूले त्यो पाउरोटीको एक सानो टुक्रा कोट्याएर नुनमा चोपेर खान्छन् ।
यसरी नुन र रोटीले गरेको स्वागतलाई रुसमा ठूलो आत्मीय सत्कार मानिन्छ । त्यसपछि फूलका गुच्छाहरू दिने चलन पनि छ । तर, रुस तथा युरोप अमेरिकामा फूलको माला लाउने चलन हामीकहाँ जस्तो हुँदैन ।
प्रत्येक गाउँ सहरमा आइपुग्दा हामी दिनभरि घुमफिर गथ्र्याैँ, स्थानीय ऐतिहासिक, सांस्कृतिक स्थलहरू हेर्न जान्थ्यौँ र साँझ अन्तर्राष्ट्रिय सङ्गीत–सांस्कृतिक कार्यक्रमहरू हुन्थे । देश देशका विद्यार्थीहरूले आ–आफ्ना देशका सांस्कृतिक झलक देखाउनुका साथै गीतहरू गाउँथे । भियतनामका विद्यार्थीहरूले आफ्नो देशमा भइरहेको अमेरिकी सैनिकसँगको युद्धबारे कुरा सुनाउँथे । सबैले साम्राज्यवादी अमेरिकाको विरोधमा भियतनामको समर्थन गर्दथे ।

लेखक सोभियत सङ्घमा


महिना दिनको लामो यात्रामा बेलारुसको राजधानी मिन्सक सहर पनि पुगियो । बेलारुसमा पनि ठूलो स्वागत सत्कार गरियो । तर, बेलारुसको “खातिन समाधि” स्थल पुग्दा सबैको मन रोयो । दुई–तीन सय विद्यार्थीहरूको समूहमा एउटा सानो स्वर पनि निस्केन । त्यहाँको दृश्य देख्दा सबैको आँखा आँसुले भरिए । सबैको मुख सुक्यो, कसैको बोली फुटेन । सबैले खातिनको कहानीमात्र सुनिरहे । सायद यो विश्वकै सबैभन्दा दर्दनाक चिहान होला यो ‘खातिन’ स्मारक । जहाँ द्वितीय विश्वयुद्धमा नाजी जर्मनीले खातिन भन्ने पूरा गाउँलाई खरानी पारे । त्यस गाउँमा ७५ जना बालबालिकासहित १४९ जना गाउँलेहरूमा एकजना मानिस र दुई जना बालकमात्र बाँच्न सफल भए । सन् १९४३ को मार्च २२ तारिखको दिन गोली ठोकेर आफ्नो पूरा गाउँको निर्मम हत्या गरिएको थियो ।
पश्चिम रुसको स्मोलेन्स्क भन्ने सहरनजिक खातिन भन्ने एक रुसी गाउँ थियो । यही स्मोलेन्स्क सहरमा युद्ध हुँदा सोभियत नेता जोसेफ स्तालिनका छोरा नाजीहरूको कब्जामा परेका थिए । आफ्नो छोराको बदलामा हिटलरले स्तालिनसँग आफ्ना केही जर्नेलहरू साट्न खोजेका थिए ।
तर, एउटा सिपाहीँसँग तीन–चार जना जर्नेलहरू साट्न सकिँदैन महाशय भनेर स्तालिनले हिटलरलाई जवाफ पठाएका थिए । पछि हिटलरका सैनिकले स्तालिनका छोरा याकोभ जुगुस्भिलीलाई ओरेन्बर्ग यातना गृहमा सन् १९४३ मा हत्या गरे ।
खातिन बेलारुस राजधानी मिन्सकबाट २ सय किलोमिटरको दूरीमा अवस्थित छ । त्यहाँ नाजीहरूबारे निर्मम हत्या भएका जनजीवनको स्मृतिमा बेलारुस राष्ट्रिय स्मारक बनाइएको छ । त्यस स्मारकमा कसैको केही आवाज आउँदैन केवल आउँछ त सानो मसिनो स्वरमा त्यहाँ झुन्ड्याइएका स–साना घण्टाहरूको आवाज । घण्टाहरू ‘तिरिङ्ग !!!’ ‘तिरिङ्ग !!!’ गरी हावाको झोक्कामा हल्लिएर मन्द मन्दगतिमा बजिरहेको हुन्थ्यो ।
दुई दिनको भोको पेटमा मीठो स्वादिलो रुसी खाना पसेपछि र दुई पेग रुसी भोड्का खाएपछि मस्तनिद्रामा डुबिरहेको मलाई “राज, उठ्नुस् ¤” भनेर कसैले बोलाएको स्वरले म झसङ्ग भएँ । “चिया आउँदै छ राज उठ्नुस् ¤” भनेर अन्ना पेट्रोभ्नाले मलाई जिउमा हल्का घच्याएर उठाइन् । म “ओइ… काक खराषो स्पाल” “अहो ¤ कस्तो मजाले निदाएँ ¤” भनेर उठेर तल झरेँ । अन्ना पेट्रोभ्नाको बुढो र छोरी अहिलेसम्म सुतिरहेका थिए । म मुख धुन रेलको डिब्बाको बाथरुममा गएर फर्कँदा अन्ना पेट्रोभ्ना दुइटा चियाको ग्लास र केही रुसी चकलेट अगाडि राखेर मलाई पर्खिबसेकी देखेर धेरै खुसी लाग्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *