भर्खरै :

सुरु भयो शैक्षिक सत्र, हातमा पुस्तक छैन

सिमकोट, ११ फागुन । उच्च हिमाली जिल्ला हुम्लामा नयाँ शैक्षिकसत्र सुरु भएको एकहप्ता बितिसकेको छ । फागुन ४ देखि सुरु भएको शैक्षिक क्यालेन्डलाई अगाडि बढाउन न शिक्षक छन्, न पठनपाठन अगाडि बढेको छ ।
वार्षिक परीक्षा सकेर जाडो छल्न जिल्ला बाहिर गएका शिक्षक हालसम्म विद्यालयमा फर्किएका छैनन् । सबै विद्यालयले नयाँ शैक्षिकसत्रको भर्ना खोलिसकेका छन् । सर्केगाड गाउँपालिका वडा नं २ मा रहेको लालीगुँरास माध्यमिक विद्यालयले पठनपाठन सुरु गरेको छ । सबैजसो शिक्षक स्थानीय भएकाले नयाँ शैक्षिकसत्र सुरु भएसँगै पठनपाठन सुरु गरेको प्रधानाध्यापक कालीबहादुर महताराले जानकारी दिनुभयो ।
चङ्खेरी गाउँपालिकामा रहेका अधिकांश विद्यालय हालसम्म सञ्चालनमा नआएको र शिक्षक फिर्ता नआएको स्थानीय महेन्द्र बोहराले जानकारी दिनुभयो । उहाँले केही विद्यालयले नयाँ भर्ना पनि नखोलेको बताउनुभयो । जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाअन्तर्गतका मानसरोवर उच्च माध्यमिक विद्यालय, बालमन्दिर मावि, रलिङ मावि, कैलाश मावि, रामदेभ माविलगायतका विद्यालयले नयाँ तथा पुराना विद्यार्थी भर्ना कार्य जारी राखेको जनाएका छन् ।
मानसरोवर उच्च माविका प्रधानाध्यापक अमरबहादुर शाहीले नयाँ भर्ना सुरु गरिएको बताउनुभयो । शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख विष्णुबहादुर शाहीले नयाँ भर्ना अभियान सुरु गर्नुपर्ने बेला गाउँपालिकाले ध्यान नदिएको बताउनुभयो ।
हुम्लामा रहेका मावि, निमावि र प्रावि गरी १३९ विद्यालयमा दरबन्दी तथा राहत कोटाको शिक्षक गरी ५१३ शिक्षक रहेको र त्यसमध्ये अधिकांश शिक्षक जिल्ला बाहिरै रहेको उहाँले जानकारी दिनुभयोे । हुम्ला जिल्लाका तीनै तहका विद्यालयमा १७ हजारभन्दा बढी विद्यार्थीले अध्ययन गर्दै आएका छन् । निजी क्षेत्रका विद्यालयले माघ १७ गतेबाट पढाइ सुरु गरेका थिए ।
पाठ्यपुस्तक पुगेन
जिल्लामा रहेका विद्यालयमा विद्यार्थी सङ्ख्याको आधारमा पाठ्यपुस्तक पुग्न सकेको छैन । छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्रीले र निजी क्षेत्रले पुरानै फ्लेस रिपोर्टलाई आधार मानी पुस्तक उपलब्ध गराउँदा जिल्लाको मागअनुसार पाठ्ययपुस्तक नपुगेको हो ।
चङ्खेली र सर्केगार्ड गाउँपालिकामा पुस्तक बिक्रीको जिम्मा पाएको पुस्तक ज्ञानु भण्डारका प्रोपराइटर दुर्पता शाहीले दुवै गाउँपालिकाका ५६ विद्यालयका लागि ४ हजार २०० सेट पुस्तक माग गरे पनि जनक शिक्षा र निजी छपाइ केन्द्रबाट २ हजार ७२५ सेट पुस्तकमात्र पाएको बताउनुभयो । पुस्तक सबै नेपालगञ्जमा बुझेर ट्रकमा ढुवानी गरिरहेको उहाँले बताउनुभयो ।
जिल्लाका दक्षिणी क्षेत्रका अदानचुली र ताँजाकोट गाउँपालिकाका विद्यालयको लागि पाठ्यपुस्तकको ढुवानी तथा बिक्रीको जिम्मा लिनुभएका लोकेन्द्र भण्डारीले गत वर्षभन्दा कम पुस्तक बुझेको र बुझेका पुस्तक कवाडी पुगेको बताउनुभयो । उहाँले मागअनुसार पुस्तक नपाएको गुनासो गर्नुभयो । दुई गाउँपालिकाका लागि पुस्तक सुर्खेत, कालिकोट, जुम्ला र मुगु हँुदै हुम्ला पुग्ने गर्दछन् ।
सिमकोट, नाम्खा, खार्पुनाथ गाउँपालिकामा रहेका विद्यालयका लागि पाठ्यपुस्तक पु¥याउने ढुवानी जिम्मा लिएका रोकाया पुस्तक पसलका ज्ञानबहादुर रोकाया भने ८० प्रतिशत पाठ्यपुस्तक पुगेको जानकारी दिनुभयो । तीन गाउँपालिकामा रहेका विद्यालयका लागि पाठ्यपुस्तक ढुवानी तथा बिक्रीको जिम्मा पाएको ज्ञान पुस्तक पसलले कक्षा २ देखि कक्षा १० सम्मका लागि ३ हजार ८५० सेट पुस्तक माग गरेकोमा २ हजार ७०० सेट पुस्तक पुगेका छन् ।
सो क्षेत्रका विद्यालयका लागि १ हजार १५० सेट पुस्तक अपुग भएका छन् । बिक्री केन्द्रले जिम्मा पाएका पुस्तक सबै नेपालगञ्जबाट हवाई ढुवानी गरेर सिमकोट पुगेको र हाल बिक्री भइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *