भर्खरै :

एसईई परीक्षाअघि केही छलफल

कुशुम
एसईई परीक्षा अथवा प्रवेशिका परीक्षा विद्यार्थीको लागि ‘फलामे ढोका’सरह नै छ भन्ने गरिन्छ । एसईईमा राम्रो नतिजा ल्याउनको लागि अभिभावक, विद्यालय र विद्यार्थी जोडतोडका साथ लाग्छन् । यस वर्षको एसईई परीक्षा २०७६ चैत ६ गतेबाट सञ्चालन हुँदै छ ।
सहरी क्षेत्र र नाम चलेका विद्यालयहरूले विद्यार्थीको राम्रो ग्रेड ल्याउन कोचिङ क्लासको व्यवस्था गरेका हुन्छन् । सहर बजारका महँगा विद्यालयहरूमा पढ्ने विद्यार्थी र हिमाल–तराई–पहाडका गाउँ–ठाउँ र दुर्गम क्षेत्रका छाना नभएका र विषय शिक्षकको अभाव रहेका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीबीच एकै प्रश्नपत्रमा मूल्याङ्कन हुँदै छ ।
हिमाल, पहाड र तराई क्षेत्रका गाउँ–ठाउँका विद्यालयहरूको समयमै कोर्स पूरा भएको हुँदैन । कतिपय ठाउँहरूमा पाठ्यपुस्तक नै समयमा पुगेको हुँदैन । एसईई परीक्षाको चिन्ताले त्यस्ता विद्यार्थीहरू गाउँघरमा ऋण लिई तयारीको लागि सहर छिर्ने गर्दछन् । वर्ष दिनमा पढ्न नभ्याएका पाठ एक–दुई महिनाको तयारीले पूरा हुन्छ भन्ने कुरा भ्रममात्रै हुने गर्छ । ती क्षेत्रका विद्यार्थीको स्तरोन्नतिको लागि सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्छ । नत्र शिक्षामा सरकारी लगानी बालुवामा पानी खन्याएको जस्तै हुन्छ । दुर्गम र गाउँ–ठाउँका कतिपय विद्यालयका विद्यार्थीलाई नेपाली र अङ्ग्रेजीको पाठ राम्ररी पढ्न आउँदैन । कोर्स नसकिँदै परीक्षामा सहभागी हुनेको परिणाम कस्तो हुन्छ, जोसुकैले अनुमान गर्न सक्छ । जसरी सेना बिनातयारी युद्धमा सहभागी हुनुको परिणाम राम्रो निस्कँदैन, त्यसरी नै विनातयारी परीक्षामा सहभागी हुने विद्यार्थीको परिणाम राम्रो नहुनु स्वाभाविक हो ।
एसईई परीक्षा पास भएका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको लागि सरकारले छात्रवृत्तिको व्यवस्था गरेको छ । सरकारद्वारा दिइने छात्रवृत्ति ती क्षेत्रका विद्यार्थीको लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ भनेजस्तै हो । सरकारको द्वैध शिक्षा नीतिको कारण सामुदायिक विद्यालयहरूको स्तरोन्नति दिन–प्रतिदिन खस्कँदो अवस्थामा छ भने निजी विद्यालयका सञ्चालकहरू शिक्षालाई व्यापारको केन्द्र बनाउँदै छन् ।
शिक्षामा समानता ल्याउनको लागि सरकारले निजी विद्यालयहरू बन्द गरी शिक्षाको पूर्ण स्वामित्व सरकारले लिनुपर्छ । देशव्यापीरूपमा एकैखाले शिक्षा नीतिको व्यवस्था भएको खण्डमा शिक्षामा अहिले देखिएका विकृति र विसङ्गति कम हुनुका साथै सर्वसाधारण जनताका छोराछोरीहरूले गुणस्तरीय शिक्षाको अवसर पाउँछन् ।
एसईई परीक्षा व्यवस्थित र मर्यादित बनाउनको लागि हरेक पक्ष सक्रिय देखिन्छन् । कडा सुरक्षाबीच प्रश्नपत्रहरू ठाउँ–ठाउँमा पु¥याइँछ । चौबीसै घण्टा प्रश्नपत्रको सुरक्षा हुँदाहुँदै पनि शैक्षिक माफियाहरूबाट परीक्षा सुरु हुनुअगावै प्रश्नपत्र बाहिरिन्छ । एसईई परीक्षामा आफ्ना विद्यालयका विद्यार्थीलाई राम्रो ग्रेडमा उत्तीर्ण गराउन र स्कूलको नाम प्रचारमा ल्याउनको लागि शैक्षिक माफियाहरूले विभिन्न खालका चलखेल गर्दछन् । एसईईमा देखिएका अमर्यादित क्रियाकलापले गर्दा विद्यार्थीको उचित मूल्याङ्कन भएको देखिँदैन ।
एसईई परीक्षा दस वर्षको लगानीको प्रतिफल पनि हो । एसईई परीक्षाको परिणामको आधारमा अभिभावक र विद्यार्थीले उच्च शिक्षाको बाटो तय गर्छन् । एसईईमा राम्रो नतिजा ल्याएको विद्यार्थीले राम्रो विषय पढ्ने गर्दछन् ।
तराईमा हुने अहिलेको एसईई र पहिलेको एसएलसी परीक्षामा विद्यार्थीभन्दा नक्कल गर्न सहयोग गर्ने ‘सहयोगीहरू’को सङ्ख्या दुई–तीन गुणा बढी हुने गर्दछ । ती ‘सहयोगीहरू’ले परीक्षार्थीहरूलाई राम्ररी अङ्क ल्याई उत्तीर्ण गर्नको लागि कक्षाकोठाको पछाडिको झ्यालबाट प्रश्नपत्रको उत्तर पठाउने गर्दछन् । कहिलेकाहीँ सुरक्षाकर्मीले ‘सहयोगीहरू’लाई लखेट्ने छन् । तराईमा एसईई परीक्षामा हुने यस्ता अमर्यादित गतिविधिहरू विभिन्न पत्रपत्रिकाहरूमा नआएका होइनन् । तराईको मात्र होइन, हिमाली र पहाडी एवं सहरी क्षेत्रका कतिपय स्कूल सञ्चालक परीक्षा निरीक्षकहरूलाई आफ्नो प्रभावमा पारी विषय विशेषज्ञहरूबाट परीक्षाफलभित्र विद्यार्थीहरूलाई चिट चोराउने गरेको पनि सञ्चारमाध्यममा नआएको होइन ।
छात्रवृत्ति
एसईई परीक्षा उत्तीर्णपश्चात् उच्च शिक्षा पढ्नको लागि सरकारले विद्यार्थीलाई छात्रवृत्ति दिने गरेको छ । सार्वजनिक विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीले मात्र यो सुविधा पाउने गर्दछन् । सरकारद्वारा दिइने यस्तो छात्रवृत्ति कामदार जनताका छोराछोरीको निम्ति आकाशको फलसरह हुन्छ । कामदार तथा गरिब जनताका छोराछोरीहरू पढ्ने स्कूलको शैक्षिक वातावरण दिनप्रतिदिन जीर्ण बन्दै गएको छ । गाउँ–ठाउँ र दुर्गम क्षेत्रको सार्वजनिक विद्यालयहरू दयनीय अवस्थामा छन् । त्यसकारण सरकारले ती क्षेत्रका विद्यार्थीको लागि विशेष छात्रवृत्तिको प्याकेज दिएको खण्डमा विद्यार्थीमा शैक्षिक गुणस्तर विकास हुँदै जाने छ ।
एसईईको नतिजा
एसईईको नतिजा सार्वजनिक भएदेखि विभिन्न तह र समूहका व्यक्ति र शिक्षाविद्हरू विभिन्न कोणबाट विश्लेषण गर्छन् । हप्ता दिनसम्म विभिन्न पत्रपत्रिकाका मुख्य पृष्ठहरूमा एसईईको समाचार छापेका हुन्छन् । एसईईको नतिजालाई लिएर विभिन्न व्यक्तिहरूले सरकारलाई आलोचना र सुझावहरू दिने गर्छन् । सरकार पनि त्यतिबेला तातेको हुन्छ र अर्काे वर्षदेखि गुणात्मक सुधार गर्ने प्रतिबद्धता जनाउँछ । तर, महिना दिन नबित्दै ती सबै उत्साह फोहर फाल्ने टोकरीमा फालिन्छ । सम्बन्धित क्षेत्रको जिम्मेवार व्यक्तिहरूमा पुनः पुरानै ‘सरकारी काम कहिले जाला घाम’ प्रवृत्ति दोहोरिन्छ । फेरि यस वर्षको एसईई नतिजा प्रकाशन हुनेबित्तिकै पत्रपत्रिकामा पृष्ठ भरिनेछन् र पुरानै प्रवृत्ति दोहोरिनेछ ।
हिजोआज पैसा हुने अभिभावकहरूले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढाउने गर्दछन् । कामदार र गरिबका छोराछोरीहरूको पढाइको स्तर सुरुदेखि नै कमजोर हुन्छ । तर, पैसावालाका छोराछोरीहरूले निजी विद्यालयमा पढ्ने र एसईई परीक्षा सार्वजनिक विद्यालयबाट दिने भएकोले सरकारबाट उपलब्ध गराइने छात्रवृत्ति तिनै विद्यार्थीको नाममा (भागमा) पर्ने गर्दछ । समय छँदै सरकारले यसप्रति ध्यान दिइएन भने भोलि देशका लागि चाहिने लाखौँ भविष्यकर्ताहरूको भविष्य अन्धकार हुनेमा दुईमत नहोला । त्यसबेला इतिहासले वर्तमान सरकारलाई धिक्कार्नेबाहेक केही गर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *