भर्खरै :

“श्रमिक महिला र श्रमिक पुरुष दुवै शोषित छन्”

१‍. कामदारवर्गका महिला अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउँदै छन् । पुँजीवादी महिलाहरू पनि महिला दिवस मनाउने गर्छन् । मालिकवर्ग र मजदुरवर्गका महिलाले मनाउने दिवसमा भिन्नताबारे प्रस्ट पार्नु हुन्छ कि ?
श्रमिक महिलाहरू कारखाना र अन्य काम गर्ने क्षेत्रको वातावरण मजदुरमैत्री हुनुपर्ने आवाज उठाउँछन् । काम गर्ने ठाउँ हावा, प्रकाश र घाम छिर्ने वा लाग्ने तथा शौचालयहरू स्वस्थ हुनुपर्ने उनीहरूको माग हुने गर्छ ।
बजारभाउअनुसारको ज्यालामा वृद्धि, लुगा भत्ता, खाजा भत्ता, निरन्तर स्वास्थ्य परीक्षणको बन्दोबस्तको माग गर्दै शोषणको विरोधमा श्रमिक महिलाहरू सङ्घर्ष गर्छन् ।
श्रमिक महिलाहरूले आफ्नो श्रमिक महिला सङ्घ वा नेपाल क्रान्तिकारी महिला सङ्घको विकास गर्नुको दीर्घकालीन उद्देश्य समाजवादी समाजको निम्ति कामदार महिलाहरूलाई सैद्धान्तिक र व्यावहारिकरूपले योग्य बनाउनु हो ।
पुँजीवादी महिलाहरूको उद्देश्य पुँजीपतिवर्ग वा मालिकहरूको हितमा अनि श्रमिकवर्ग वा कामदार महिलाहरूको अहितमा प्रचार गर्नु, सङ्कठन फुटाउनु र शोषकवर्गको हित गर्नु हो ।
२. नेपालको सन्दर्भमा महिलाले केही हकअधिकार पाएको चर्चा गरिन्छ । कानुनमा नै ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरिएको, सम्पत्तिमा छोरासरह छोरीको पनि हक सुनिश्चित गरिएको, सन्तानलाई नागरिकता दिलाउने विषयमा महिलालाई कानुनी अधिकार दिएको उल्लेख गरिन्छ । के यस्ता बन्दोवस्तले महिला समानता ल्याउने सम्भावना होला ?
शोषक पुरुष होस् वा महिला दुवै शोषकवर्गमै पर्छन् । तिनीहरूको सम्पत्ति धेरै हुन्छ, तिनीहरू आपसमा बाँडेर लिने गर्छन् । तिनीहरूको सम्पत्ति कामदारवर्गकै मेहनत चोरेर बनाएको सम्पत्ति हो, अर्थात् १००० रुपैयाँ ज्याला दिनुपर्नेमा २–३ सय रुपैयाँमात्र दिन्छन् । बाँकी ७०० रुपैयाँ कामदारवर्गको परिश्रमको रकम पुँजीपतिवर्गको थैलीमा पुग्छ । त्यही सम्पत्ति पुरुष र महिला पुँजीपतिहरू बाँडेर लिन्छन् । त्यसैलाई तिनीहरू छोराछोरी समान हो भन्छन् ! जसरी काग सबै काला हुन्छन् त्यसरी नै शोषकवर्ग महिला हुन् वा पुरुष तिनीहरू काम गरिखाने वर्गका विरोधी नै हुन्छन् ।
संसद्मा पुँजीवादी महिला ३३ प्रतिशतमात्र होइन ६३ प्रतिशत नै भएपनि तिनीहरूले कामदार महिलाहरूको हितमा कानुन बनाउँदैनन् । देशमा प्रजातन्त्रको पुनः स्थापना र गणतन्त्रको स्थापना भएकै ४० वर्ष भयो तर आज पनि गरिब गरिब नै छन् र धनी झन् – झन् धनी हुँदै छन् । कति करोडपति अरबपति बनेका छन् भने अरबपति खरबपति बनेका छन् । देशको उद्योग वाणिज्य सङ्घका अध्यक्ष नै महिला छिन् । तर, फरक के भयो ? यसकारण, भेद महिला र पुरुष होइन वर्ग हो भन्नेबारे श्रमिक महिलाहरू सबै स्पष्ट हुनुपर्छ ।
नेपालको वर्तमान परिस्थितिमा ठूल्ठूला ठेकेदार, घर–जग्गा व्यापारी, गिटी, बालुवा र निर्माण सामग्रीहरूका ठूल्ठूला मालिक सबै पुँजीपतिवर्गमा पर्छन् । तिनीहरू मजदुर र ज्यामीहरूमाथि मात्रै शोषण गर्दैनन् बरु देशको प्राकृतिक स्रोतहरू नदी–नाला, बालुवा, ढुङ्का खानी र पानीमा समेत निजीकरण गरी देश र जनताको दोहन गर्छन् ।
३. नारीवादी महिलाहरू पुरुषको थिचोमिचो र पितृसत्ताको विरोधमा चर्को आवाज उठाइरहेका भेटिन्छन् । यसविरुद्ध क्रान्तिकारी महिलाहरूले कसरी लड्नु आवश्यक देख्नुहुन्छ ?
नारीवादीहरू पुँजीपति वर्गप्रतिको विरोधमा आँखा चिम्लेर पुरुषहरूमाथि रिस पोख्छन् र विरोध गर्छन् । उत्पादनका साधनहरू (कल–कारखाना, मोटरदेखि रेल, हवाईजहाज र अन्य सेवा एवम् खनिज, खेत–खलियान) मा निजी स्वामित्व भएसम्म कामदारवर्ग शोषित हुन्छन् । समानताको प्रश्नै उठ्दैन – श्रमिक महिला र श्रमिक पुरुष दुवै शोषित हुन् । समाजवादी व्यवस्थामा मात्रै महिलाहरू आर्थिक, सामाजिक र राजनैतिकरूपले समान हुन्छन् । संरा अमेरिका, बेलायत, फ्रान्स आदि पँुजीवादी देशमा महिला र पुरुष समान छन् भन्ने प्रचार गर्छन्, त्यो सत्य होइन झूट हो ।
छाउपडी, बोक्सी, दहेज (औकातभन्दा बढी दाइजो दुलाहा पक्षले माग्ने प्रथा) आदि दास र सामन्ती युगकै विकृति हो, त्यसको विरोधमा पनि सङ्घर्ष गर्नु आवश्यक छ । त्यसलाई अन्धविश्वासको विरोध भन्नुपर्छ । बाल विवाह गरेमा स्वर्ग जाने प्रथा पनि अन्धविश्वास हो । श्रमिक पुरुषहरूमा पनि पुराना संस्कार र अन्धविश्वास बाँकी रहने हुनाले श्रमिक महिलाहरूले आ–आफ्नो घर र सङ्कठनमा पुराना सोच र प्रवृत्तिबारे कक्षा सञ्चालन गर्नु आवश्यक छ ।
नयाँ पुस्तामा केटा र केटी दुवैले भात पकाउने, लुगा धुनेजस्ता काम सँगसँगै गर्ने बानी बसाल्नु आवश्यक छ । केटा र केटी दुवैले हजुरआमा होऊन् वा हजुरबुवा, आमा र बुबा दुवै ज्येष्ठ नागरिकहरूको सेवा गर्नु कर्तव्य हो भन्ने भावना सिक्नु आवश्यक छ । यस्तो व्यावहारिक र सैद्धान्तिक कार्यमा क्रान्तिकारी महिलाहरू अगाडि आउनु जरुरी छ ।
 ४. महिलालाई शिक्षा दिनुपर्नेमा जोड दिएको छ । शिक्षित महिलाको प्रतिशत राम्रो रहेका देशमा समेत महिला स्वतन्त्र नभएका उदाहरण पनि छन् । महिलाको वास्तविक मुक्ति कसरी हुन्छ ? स्पष्ट पार्नुहुन्छ कि ?
शिक्षा दुई प्रकारका छन् – पुँजीवादी र समाजवादी शिक्षा । पुँजीवादी शिक्षाले नाफा कमाउन र कामदारवर्ग तथा साधारण जनतालाई हेलाहोचो गर्न सिकाउँछ । समाजवादी शिक्षामा श्रमसँग प्रेम गर्ने, कामदार जनतालाई आफ्नो सम्झने र गरिबलाई माया गर्ने कुरा सिकाउँछ । अत्यन्त बहुमत जनता श्रमिकहरू भएको हुँदा श्रमिकवर्ग मुक्त नभएसम्म कामदार महिलाहरू पनि मुक्त हुनै सक्दैनन् । त्यसकारण, पुँजीवादी महिला र श्रमिक महिलाको मुक्तिको उद्देश्य पनि फरक छ । पुँजीवादी महिलाहरू शोषणको अधिकारको पक्षपाती छन् भने श्रमिक महिलाहरू शोषणलाई उन्मूलन गर्न चाहन्छन् । शोषणलाई उन्मूलन नगरेसम्म श्रमिक महिला र पुरुष शोषणबाट मुक्त हुनै सक्दैनन् ।५ .
५ .नेपाली क्रान्तिकारी महिलाले महिला आन्दोलन कसरी अगाडि बढाउनुपर्ने देख्नुहुन्छ ? यहाँको विचारमा क्रान्तिकारी महिलाका आन्दोलनका विषयवस्तु के – के हुनसक्छ भन्ने लाग्छ ?
नेपाली क्रान्तिकारी महिलाहरूले हरेक कल कारखाना, कार्यालय, कार्यस्थल, स्कूल, कलेज, विश्वविद्यालय र जीवनका हरेक क्षेत्र एवम् घरघरमा गएर अघि भनिएका वर्ग भेदहरूबारे राम्रोसँग शिक्षित गर्नु आवश्यक छ । बैठक, अन्तरक्रिया र स्वतन्त्र भाषण, वाद– विवाद कार्यक्रम, साहित्य गोष्ठी आदि गतिविधि आयोजना गरी महिलालाई शिक्षित गर्नु नै हाम्रो नीति हो । साँवा अक्षर, साधारण हिसाब सिकाउनेदेखि एक – एक पाइला गरेर समाज विकास, भूगोल, इतिहास, पुँजीवादी र सामन्तवादी क्रान्तिका भेदहरूसमेत जानकारी दिन कक्षा सञ्चालन गर्दै श्रमिक महिला मुक्ति आन्दोलनको चरणसम्म लैजाने उद्देश्यमा लागिपर्नु हाम्रो उद्देश्य हो ।
६. अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाली महिलालाई कस्तो सन्देश दिन चाहनुहुन्छ ?
श्रमिकवर्गले आफ्नो परिश्रमको उचित ज्याला पाउनको निम्ति सङ्कठनको निर्माणपछि सङ्घर्ष गर्नेछ । अन्तर्राष्ट्रिय श्रमिक महिला आन्दोलन नै श्रमिकवर्गको मुक्तिको पाइला हो । अन्तर्राष्ट्रिय श्रमिक महिला आन्दोलन र विश्वका सबै कामदारवर्गको मुक्तिको निम्ति समाजवादी आन्दोलन सारमा एउटै गन्तव्यतिर लम्किरहेको मजदुरवर्गका दुई पाइला हुन् भनी बुझ्ने र बुझाउने गरौँ ! धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *