भर्खरै :

नेपालमा पाठ्यक्रम विकास

न्हुछेरत्न बुद्धाचार्य
“पाठ्यक्रम शिक्षकको हातको एक औजार हो
जसको माध्यमबाट उसले आफ्नो विद्यालयभित्र विद्यार्थीहरूलाई आफ्नो लक्ष्यमा परिवर्तित गर्दछ ।” – बकिङ्घम नेपालको शिक्षा विकासको इतिहास त्यति लामो छैन । हुन त शिक्षा र पाठ्यक्रम विकासको लिखित परम्परा आधुनिक कालदेखि पाइए पनि मूलतः पाठ्यक्रम विकासको सिलसिलामा केही ऐतिहासिक महत्वका बुँदाहरू प्राचीन, मध्य काल र आधुनिक कालको रूपमा प्रस्तुत गर्न सकिन्छ ।
प्राचीन काल
प्राचीन कालमा शासकको झुकाव र विचारअनुरूप नै शिक्षाको पद्धति बन्दथ्यो । खासगरी वेद उपनिषद्मा आधारित शिक्षाको प्रचारप्रसार भएको पाइन्छ । नेपालको प्राचीन कालमा मूलतः शिक्षा प्रणाली पुस्तौनी दिमागी हस्तान्तरणमा आधारित थियो ¤ त्यतिबेलाको पाठ्यक्रमको रूपरेखा भन्नु आमा, बाबु र समाजको चिन्तन एवं कार्यशैली हो । शिक्षाको मुख्य उद्देश्य नै आध्यात्मिक विचारको विकासबाट जनतामा चेतना जगाउनु रहेको थियो । पाठ्यक्रममा आधारित पढाइ हुने विषयवस्तुमा संस्कृत भाषा, साहित्य, ज्योतिषशास्त्र र आयुर्वेदिक प्रमुख विषय थिए ।
वैदिक शिक्षामा गुरुकुल, ऋषिकुल, पितृकुलजस्ता शिक्षण प्रणाली भए पनि मुख्य गुरुकुल प्रणाली बढी थियो ।
वैदिक शिक्षाको पाठ्यक्रममा बाहुनहरूका लागि वैदिक संहिता, वेद वेदाङ्ग दर्शन, नीतिशास्त्र ज्योतिष, उपनिषद्, मोमासा, व्याकरण, न्याय आदि थिए । व्यावसायिक विषयको रूपमा कर्मकाण्ड प्राणायाम तथा व्यायाम रहेको पाइन्छ । क्षेत्रीहरूलाई धनुषवाण चलाउने सीप, राजनीति, दण्डनीति, अर्थनीति आदिको ज्ञान दिइन्थ्यो भने वैश्यलाई पशुपालन, कृषि र व्यापारमा दक्ष बनाइन्थ्यो ।
प्राचीन शिक्षाको अर्को महत्वपूर्ण लक्ष्य सांस्कृतिक निधिको संरक्षणमा टेवा पु¥याउनु थियो । त्यसबेला वेद र वैदिक साहित्यको अध्ययन गराइन्थ्यो । यसको प्रभावले शिक्षार्थीहरू प्राचीन सांस्कृतिक संरक्षणमा दत्तचित्त हुने गर्दथे । तत्कालीन शिक्षाको अर्को आदर्श मानिसलाई व्यवहारवादी बनाउनु पनि थियो । लोक रचनादेखि लिएर दर्शन, योग धर्मशास्त्रजस्ता विषयहरू तत्कालीन पाठ्यसामग्री भएको बुझिन्छ । पाठ्यक्रममा व्यावहारिक विषयहरू पनि समावेश गरिएका थिए ¤ शिक्षा प्राप्त व्यक्ति व्यवहारकुशल हुनुपर्छ भन्ने त्यसबेलाको धारणा थियो । प्राचीन शिक्षा पद्धतिलाई अगाडि बढाउन अग्रहार विहार मठका अतिरिक्त गोष्ठीहरू प्रख्यात थिए । नक्साल नारायण चौरस्थित अभिलेखमा वेदवेदाङ्ग अध्यापन गर्ने शाखा गोष्ठी भएको पुष्टि हुन्छ ।
प्राचीन कालमा शिक्षाको पाठ्यक्रम पूर्णरूपमा धार्मिक ग्रन्थहरूमा आधारित थियो । त्यसबखत नेपालका विभिन्न धार्मिक अनुष्ठानहरूले सामाजिक रीतिरिवाज, सामाजिक मूल्य मान्यताको विकास गरे । फलस्वरूप धार्मिक संस्थाहरूले आ–आफ्नो धर्मलाई बढावा दिने खालको शिक्षाको पाठ्यक्रम कार्यान्वयन गरे । यसरी प्राचीन नेपालमा धर्म, दर्शन, कला औषधिशास्त्र, वेद वेदाङ्ग आदिको शिक्षा दिने चलन रहेको पाइन्छ । प्राचीन कालमा दैनिक जीवनसँग घनिष्ट सम्बन्ध राख्ने व्यावसायिक शिक्षामा पनि जोड दिइएको देखिन्छ । यसको लागि प्रमाणस्वरूप कला सूत्र शिक्षा निकै प्रचलनमा थियो । सूत्र शिक्षाको माध्यमबाट कलाकारहरू अनुपम कलात्मक मूर्तिहरू तयार पार्थे । यसबाहेक मन्दिर र भवनहरू तत्कालीन जीवनमूलक शिक्षाको परिणाम थिए भन्न सकिन्छ ।
मध्य काल
मध्यकालीन समयमा नेपालमा शैक्षिक पाठ्यक्रमले केही मात्रामा विकास हुने मौका पाएको देखिन्छ । ते¥हौँ शताब्दीमा हरिसिँहदेवले काठमाडौँ उपत्यकामा राज्य गरेपछि पनि शिक्षामा हिन्दू धर्मको प्रभाव अझ व्यापक भएको पाइन्छ । मल्ल राजाहरू आफैँ पनि शिक्षित र विद्वान भएकाले यिनीहरूको शिक्षाप्रति राम्रो झुकाव थियो । जयस्थिति मल्लले शिक्षा केन्द्र मन्दिर र मठहरूको हेरविचार गर्न गुठीको व्यवस्था गरी शिक्षाको विकासमा जोड दिएका थिए ।
मध्यकालीन शैक्षिक व्यवस्थालाई हेर्दा बौद्धधर्म दर्शन, तन्त्रशास्त्र, मूर्तिकला, चित्रलेखन ग्रन्थलेखन आदिको राम्रो उन्नति भएको देखिन्छ ।
शिक्षा प्रदान गर्ने पाठ्यक्रमको रूपरेखाको रूपमा मानव मस्तिष्कमा नै कोरेर कार्यान्वयन गरेको पाइन्छ । शिक्षाको विकास पूर्णतया धार्मिक अनुष्ठानहरूमा हस्तान्तरण गरी धार्मिक सङ्घ संस्थाहरूले धर्मलाई प्रमुखता दिएको पाठ्यक्रमहरूको प्रयोग गरेको पाइन्छ । त्यसबेलाको पाठ्यक्रमको उद्देश्य भनेको धार्मिक रीतिरिवाज र संस्कृतिको संरक्षण गरी अर्को पुस्तालाई हस्तान्तरण गर्नु रहेको देखिन्छ । शास्त्र, सङ्गीत, दर्शनकला आदि मध्यकालीन शिक्षाका विषय थिए । तापनि जीवनमूलक शिक्षाको रूपमा कलाले नै महत्वपूर्ण भूमिका खेलेको भन्न कर लाग्छ । चित्रकला र मूर्तिकलामा राम्रो ज्ञान हासिल गर्न शास्त्र पनि अध्ययन गर्नुपथ्र्यो । सङ्क्षेपमा भन्नु पर्दा मध्यकालीन शिक्षा दुई भागमा बाँडिएको थियो । पहिलो हो, आध्यात्मिक र साहित्यिक शिक्षा जसमा धर्मदर्शन, सङ्गीत आदि पर्दथ्यो । दोस्रो हो, जीवनमूलक शिक्षा जसमा जीवन धान्न अपनाइने चित्रकला, मूर्तिकला, वास्तुकला आदि पथ्र्यो । पहिलो प्रकारको शिक्षा आनन्द प्राप्तिका लागि उच्च घरानातिर सम्बन्धित थियो भने दोस्रो प्रकारको शिक्षा तल्लो वर्गको जीवन धान्नेसँग सम्बन्धित थियो । पृथ्वीनारायण शाहको उदय भएपछि नेपालमा संस्कृत र फारसी शिक्षाको प्रारम्भ भएको पाइन्छ । उनले राष्ट्रिय एकता र सांस्कृतिक जगेर्ना गर्न संस्कृत र फारसी शिक्षाको पठनपाठनको लागि छात्रवृत्तिको बन्दोबस्त गरेको देखिन्छ । यसरी मध्यकालमा शिक्षाको पाठ्यक्रमको विकास भएको थियो ।
राणा काल
जङ्गबहादुरको बेलायत यात्रापछि त्यहाँको शिक्षाको विकासदेखि प्रभावित भई उनले नेपालमा सर्वप्रथम सरकारी तवरबाट वि.सं. १९१० मा दरबार स्कूल स्थापना गराएका थिए । त्यसपछि संस्कृत पाठशाला, स्रेस्ता पाठशाला, भाषा पाठशाला आदि स्थापना हुन गए ।
राणाहरू जनताको शिक्षाप्रति उदासीन रहे पनि औपचारिकरूपमा विद्यालयको स्थापना र तिनको सामान्य विकासका साथै पाठ्यक्रमको औपचारिक रेखाड्ढनको थालनी भने राणाकालबाटै भएको थियो । वि.सं. १९५८ मा देवशमशेरले शासन चलाएपछि शिक्षाको व्यापक प्रचार भयो । विद्यालयमा भाषा पाठ्यपुस्तक पनि निःशुल्क वितरण गरियो । त्यतिखेरको पाठ्यक्रममा पढाइ लेखाइ गरी इतिहास र भूगोल प्रमुख विषय रहेको पाइन्छ । पद्मशमशेरले आधार शिक्षा पद्धति, शिक्षक तालिम कार्यक्रम र महिलाहरूको लागि शिक्षाको व्यवस्था गरे । उनकै पालामा पाठ्यक्रममा पनि केही सुधार भएको ऐतिहासिक तथ्यले देखाएको छ । राणा कालमा तुलनात्मकरूपमा विकास भएको अङ्ग्रेजी शिक्षा व्यवस्थाको थालनी भएको र धर्मशास्त्र, कर्मकाण्ड, वेद पुराण, चण्डी कौमुदी, न्यायशास्त्र र दर्शनको पाठ्यक्रमको विकासका प्रारूपहरू तयार भए । यस बखतसम्म संस्कृत पाठशाला, गुम्बा पाठशालाको पाठ्यक्रम, अङ्ग्रेजी स्कूलको पाठ्यक्रम, भाषा पाठशालाको पाठ्यक्रम तथा आधार शिक्षाका पाठ्यक्रमहरू विकास भएका थिए ।
वि.सं. १९९० को एस.एल.सी. बोर्डको स्थापना भएपछि राष्ट्रिय विशेषता समावेश गरी हाइस्कूल पाठ्यक्रम बन्न पुग्यो । चन्द्रशमशेरले बृटिस गोरखामा जाने सैनिकको लागि साक्षरता अनिवार्य गरिएकोले उनको पालामा पहाडी क्षेत्रमा केही विद्यालय खुलेको पाइन्छ । उनकै पालामा वि.सं. १९७५ मा त्रिचन्द्र कलेजको स्थापना भएको थियो । जय पृथ्वी बहादुर सिंहले तयार पारेको ‘अक्षराङ्क शिक्षा’ नेपाली भाषाको प्राथमिक कक्षामा पढाइने पाठ्यपुस्तक थियो । यो पुस्तक नेपाली भाषाको पहिलो पाठ्यपुस्तकको रूपमा आएको थियो ।
नेपालको शैक्षिक विकासको क्रममा विद्यालय पाठ्यक्रम निरीक्षण व्यवस्थापन गर्न वि.सं. १९९६ मा शिक्षासम्बन्धी पहिलो नियमावली घोषणा गरियो । यो नै पहिलो शिक्षासम्बन्धी कानुन हो भन्नेमा अत्युक्ति हुँदैन ।
आधुनिक काल
२००७ सालको प्रजातन्त्र प्राप्तपछि जनतामा शिक्षाप्रति देखिएका अभिरुचि र उत्कृष्ट अभिलाषाका कारण शैक्षिक संस्थाहरू धेरै खुले । प्रजातन्त्रपछि देशमा उर्लँदो शिक्षाको लहरका कारण विद्यालयहरू खुल्नाका साथै आफ्नै प्रकारका पाठ्यक्रम रहेको पाइन्छ ।
वि.सं. २०११ सालमा नेपाल राष्ट्रिय शिक्षा योजना आयोगको गठन भयो । यो आयोगले २०१२ मा नेपालको शिक्षा विकासको लागि विस्तृत सुझाव पेश गर्यो । यसै सुझावअनुरूप विभिन्न तहको शिक्षामा पाठ्यक्रमको विकास भएको पाइन्छ । माध्यमिक विद्यालयको पाठ्यक्रममा साधारण सिकाइ, व्यावसायिक सीप र रुचिकर विषयसमेत समावेश गर्नुपर्ने आयोगको सुझाव थियो । पाठ्यक्रम निर्माण गर्ने निकायको रूपमा कलेज अफ एजुकेसनको स्थापना २०१३ को प्रयास पहिलो थियो । २०१४ सालमा  नेपालमा सर्वप्रथम आधुनिक किसिमको पाठ्यक्रम बनाउने कार्यान्वयन गर्ने प्रयास गरेको पाइन्छ । शिक्षा मन्त्रालयमा पाठ्यक्रमको छुट्टै एकाइ खोली विद्यालयस्तरको पाठ्यक्रमसम्बन्धी काम गर्न थालियो ।
२०१८ सालमा पाठ्यक्रम एकाइको विकास भएपछि नेपालमा शिक्षाको पाठ्यक्रमले क्रमिक विकास गर्न सङ्केत पाउन थालियो ।
प्राथमिक विद्यालयका पाठ्यक्रममा सुधार गरी नेपाली भाषा सामाजिक अध्ययन गणित, कला शिक्षा, स्वास्थ्य शिक्षा, विज्ञान शिक्षा र व्यावसायिक शिक्षा कायम गरियो । कक्षा ३ देखि ५ सम्म अङ्ग्रेजी भाषा पनि पढाउन थालियो । २०१७ सालमा राजनीतिक परिवर्तन भएपछि २०१८ मा सर्वाङ्गीण राष्ट्रिय शिक्षा समितिको गठन भयो । यसले माध्यमिक शिक्षाको उद्देश्यमा परिवर्तन गर्यो । जसमा माध्यमिकलाई साधारण र बहुउद्देश्यीय गरी दुई प्रकार बनाइयो । योग्य, चारित्रिक नागरिकको विकास गर्ने कृषि र स्वास्थ्य क्षेत्रमा कर्मीहरू उत्पादन गर्ने, आर्थिकरूपबाट स्वावलम्बी बन्ने र राष्ट्रिय विकासमा सहयोग पु¥याउन जनशक्तिको उत्पादन गर्ने उद्देश्य राखेर माध्यमिक पाठ्यक्रमबाट शिक्षा दिने सिफारिस गरियो । राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८ ले विद्यालय तहको पाठ्यक्रम निर्माण गर्न २०२८ सालमा शिक्षा मन्त्रालयअन्तर्गत पाठ्यक्रम विकासकेन्द्रको स्थापना गर्यो ।
२०४६ सालपछि देशको शिक्षा नीतिलाई समयानुकूल बनाउन एउटा शिक्षा आयोगको गठन गरियो । उक्त आयोगले आफ्नो सुझाव पेश गरिसकेको छ । जसअनुसार प्राथमिक शिक्षा आयोगको उद्देश्यलाई बालकेन्द्रित गरी बालबालिकामा अन्तर्निहित क्षमताको विकास गर्नु थियो । प्राथमिक शिक्षादेखि उच्च शिक्षासम्मको सबै तहका शिक्षाका पाठ्यक्रमहरू पुनः निर्माण गरिए ।
२०४९ सालपछि आधारभूत प्राथमिक शिक्षा परियोजनाले प्राथमिक तहको पाठ्क्रम निर्माण गर्यो । २०५९ ले अधिराज्यका सबै विद्यालयले शिक्षा मन्त्रालयबाट स्वीकृत पाठ्यपुस्तक प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ ।
त्यस्तै निम्न माध्यमिक शिक्षाको उद्देश्य श्रमप्रति सकारात्मक भावना भएका र राष्ट्र र प्रजातन्त्रप्रति आस्थावान तथा नेपाली भाषा, गणित र विज्ञान विषय उपयुक्तस्तरको ज्ञान भएको चरित्रवान नागरिक तयार पार्नु रहेको छ भने माध्यमिक शिक्षाको उद्देश्यमा भाषिक व्यवहारमा सक्षम, सृजनशील, स्वावलम्बी, उद्यमशील नागरिक तयार गर्नु मुख्य मानिएको छ ।
यसरी पाठ्यक्रम निर्माण गर्दा देशको शैक्षिक तथा सामाजिक जीवन दर्शन समकालीन समाजका आवश्यकताहरू सिकाइ प्रक्रिया एवम् विषयवस्तु तथा ज्ञानको प्रकृतिसमेतलाई विचार गरी बालकको सिकाइसम्बन्धी आवश्यकताहरूको निदान गरिन्छ । सिकाइ आवश्यकताहरूको छनोट गरिसकेपछि त्यसैअनुरूप उद्देश्यहरूको निर्माण र विषय वस्तुको छनोट गरिन्छ । यस क्रममा अभिभावक, शिक्षक, शिक्षाविद् आदिसँग छलफल र राय सड्ढलनसमेत गरिएको हुन्छ । यी सबै प्रक्रियाहरू पूरा गरी पाठ्यक्रम विकास केन्द्रबाट मस्यौदा भएको पाठ्यक्रमलाई राष्ट्रिय परिषद्को निर्णयअनुसार लागू गरिन्छ ।
सन्दर्भ सामग्री
१)Ancient Nepal-DR Regmi
२) नेपालको शिक्षा सेवा दिग्दर्शन – चण्डी
कार्की
३) शिक्षाको आधार – डा. मनप्रसाद वाग्ले
४) नेपालको शैक्षिक इतिहास – गोपीनाथ
शर्मा ।
५) माध्यमिक शिक्षा दिग्दर्शन – विष्णुप्रसाद
अधिकारी
(लेखक निवृत्त शिक्षक हुनुहुन्छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *