भर्खरै :

सुदूरपश्चिम प्रदेशका सबै नाका बन्द, कैलालीमा निषेधाज्ञा जारी

-लक्ष्मी पोखरेल
धनगढी
विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि संघीय सरकारको निर्णय अनुुसार सुदूरपश्चिम प्रदेशका पनि सबै नाका बन्द भईसकेको अवस्थामा जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लामा पनि उच्च जोखिम रहेको भन्दै कैलाली जिल्लामा निषेधाज्ञा जारी गरीएको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले अर्को सूचना नआएसम्मका लागि निषेधाज्ञा (कफ्र्यु ) जारी गरेको छ । त्यसै गरी बिहानैदेखि कैलालीमा बजार बन्द छ । कैलालीमा गाडी चल्न पनि दिइएको छैन । कैलालीका नाकाबाट सर्वसाधारण भित्रन सक्ने भएकाले निषेधाज्ञा गरीएको जिल्ला प्रशासन कैलालीले जनाएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले कैलालीका सिमानाकाहरु पुर्ण रुपमा बन्द गर्ने र जिल्लामा निषेधाज्ञा जारी गर्ने सूचना समेत निकालेको छ ।
कैलालीमा स्थानीय प्रशासनले आज सोमबार २ बजे देखि निषेधाज्ञा जारी गरेकोे छ । स्थानिय प्रशासन ऐन २०२८ अनुसार निषेधाज्ञा भनेको प्रमुख जिल्ला अधिकारीले कुनै हिंसात्मक काम कारवाहि हुने वा हुल दङ्गा हुने आशंका भएको कार्यलाई रोक्न गर्ने प्रशासैनिक प्रयास भएको बताउनु भयो ।
कुनै सभा, जुलुस वा भीडले शान्ति भंग हुने सम्भावना हुने देखिएमा प्रहरीद्धारा रोक्न लगाउने र प्रहरीले नियन्त्रण गर्न नसकेमा सम्बन्धित ठाउँमा तुरुन्तै आफैं उपस्थित हुने ऐनमा व्यवस्था गरीएको छ । आफु उपस्थित नभए आफू मातहतका अधिकृतलाई पठाई सकेसम्म सम्झाई शान्ति कायम गराउने अधिकार यस ऐनले प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । शान्ति कायम हुन नसकेमा प्रहरीको मदतले लाठी चार्ज, अश्रुग्याँस फोहरा र हवाई फायर समेत आवश्यकता र परिस्थिति अनुसार प्रयोग गरी शान्ति कायम गर्ने गराउने अधिकार यस ऐनले तोकेको छ ।
शान्ति कायम गर्न नसक्ने देखियमा र गोली चलाउन पर्ने आवश्यकता परेमा सो गर्नु भन्दा अगाडि भिडलाइ हटाउने भनि गोली चलाइने छ, भनि स्पष्टसंग सो भिडले बुझ्ने गरी चेतावनी दिने र त्यति गर्दा पनि भिड हटेन र गोलि चलाउनु पर्ने नै भयो भने घुडा मुनी पारी गोली चलाउनको निमित्त आदेश दिने व्यवस्था छ । यसैको आधारमा कैलाली स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको जानकारी दिएको छ ।
स्थानिय प्रशासनले अत्यावश्यक काम बाहेक हिडडुल समेत नगर्न आग्रह गरिसकेको छ । नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु भोजनालय, औषधी पसल, खाद्यान्न, फलफूल तथा तरकारी, ढुवानीका यातायात, सञ्चार सेवा लगायत बाहेक सबै बन्द रहने र यसको संक्रमणवाट जोगिन सबै प्रकारका भेला, सभा, सम्मेलन, सेमिनार गोष्ठी लगाएतका कार्यक्रम र भिडभाड नगर्न अनुरोध समेत गदै जिल्लाका विभिन्न ठाँउहरुमा माइमिङ समेत गरीरहेकोे छ ।
केन्द्र र प्रदेश सरकारले तत्काल यस्तो निर्णय गरी दिदा भारतबाट फर्किएका नेपालीहरु नेपाल₋भारत सीमाको दशगजा क्षेत्रमा अलपत्र परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *