-सबिन ख्याजू

पृष्ठभूमि
समाजमा मानिसको जीवनयापनका अनेक आयामहरू हुन्छन् । नियमित जीवनको लागि स्वास्थ्य, रोजगारी, शिक्षा, खाद्यान्न आदिको उचित बन्दोबस्त आधारभूत पक्ष हो । त्यस्तै, शान्ति र सुरक्षाको बन्दोबस्त समाजको पूर्णताको एक अर्को द्योतक मानिन्छ । प्रस्तुत लेखमा कृषि उपजको व्यवस्थापनको बारेमा केही विमर्श गर्न खोजिएको छ ।
समाजको माग र आपूर्तिको सन्तुलनलाई आधार मानेर प्रत्येक सामग्रीको पर्याप्तता र अभावको मापन गर्न सहज हुन्छ । जनसङ्ख्या र स्वास्थ्यकर्मीहरूको सल्लाहअनुरूप बजारको मागको आकलन गरिन्छ । यो सामान्य अवधारणा हो तर विषम परिस्थितिमा बजारको माग अनुमान लगाउनुपर्ने हुन्छ । विगतको अनुभवले हामीलाई अतिरिक्त आवश्यकताको हिसाब निकाल्न सहज बनाउने हुँदा विपद् र विषम परिस्थितिमा वस्तुको माग नियमित समयमा भन्दा बढी नै हुने गर्दछ ।
युद्ध, अनिकाल, बाढी, पहिरो, महामारी, आगलागी, सुनामी, भूकम्प, नाकाबन्दी आदि समयमा दैनिक उपभोग्यका अति आवश्यक वस्तुहरूको अभाव हुन्छ । उत्पादन विन्दुबाट उपभोक्तासम्म खाद्यवस्तु निर्यात गर्न नसक्दा अभावको माहोल बन्छ भने कहिलेकाहीँ आवश्यक मात्रामा खाद्यान्न सञ्चित हुँदा वितरण प्रणाली अव्यवस्थित हुन जान्छ । यस्तो परिस्थितिमा कालाबजारीहरू सक्रिय रहन्छन् र बजारमा मालसामानको कृत्रिम अभाव सृजना गर्छन् । सङ्कटको समयमा हुने खाद्यान्न अभावलाई पूर्ति गर्ने अनेक उपायमध्ये खाद्यान्नको व्यवस्थित भण्डारण एक उपयुक्त उपाय होला ।
खाद्यान्नको व्यवस्थापनबारे निम्न चरणहरूमा छलफल गर्न सकिन्छ ।

खाद्यान्न उत्पादन (Production)

अन्न, तरकारी, दाल, मसला, फलफूल, माछामासु, दूधजन्य वस्तु मानिसहरूले दैनिकरूपमा भान्छामा प्रयोग गर्छन् । यी वस्तुको उत्पादनको क्षमताको अनुमान गर्ने पहिलो कार्य हो । खाद्यान्न उत्पादन आवश्यकताभन्दा बढी भए भण्डारण वा निर्यातको काम गर्न सहज हुन्छ । त्यस्तै खाद्यान्न उत्पादन न्युन हुँदा आयातको कुनै अरु ठाउँ वा विदेशबाट आयात गर्नुपर्ने हुन्छ । यो हुनुको प्रमुख तत्व उत्पादन क्षमता नै हो ।
जमिन, मानव संशाधन र पुँजीको यथोचित व्यवस्थापन नै खाद्यान्न उत्पादनका आवश्यक महत्वपूर्ण पिल्लरहरू हुन् । यीमध्ये कुनै पनि पक्षको कमजोरी देखिएमा उत्पादनले गति लिन सक्दैन । साथै, बजारको माग र आपूर्तिलाई सन्तुलनमा राख्न खाद्य वस्तुको प्रतिस्थापन (substitution) गर्ने उत्तम उपाय मानिन्छ । यस अध्ययन र विश्लेषणले आर्थिक कारोबारमा सन्तुलन कायम गर्न मद्दत पु¥याउँछ ।
कृषि उत्पादनलाई परम्परागत शैलीबाट माथि उकासेर व्यवसायिकता प्रदान गर्नुलाई विकासको एक मानक मानिन्छ । विकसित जातका बीउ, सिँचाइ, दाना, रोग–कीरा निरोधक विषादी, ट्रयाक्टरजडित मेसिनहरू आदि यसका ज्यावलहरू हुन् । मासु र दुग्धजन्य उत्पादनमा विकसित नश्लका पशु र मेसिनहरूको आवश्यकता पर्ने गर्छ । कृषि उत्पादनमा नयाँ–नयाँ खोज तथा अनुसन्धानलाई प्राथमिकतामा राख्ने देशहरूको उत्पादन र उत्पादकत्व स्वाभाविक ढङ्गले बढी नै हुने गर्छ र कृषि कार्य पनि प्रभावकारी हुन्छ । विकासशील देशहरूले अनुसन्धानमूलक कार्यक्रमहरूलाई उत्पादनसँग जोड्न सकेमात्र यस्ता कामहरू दीगो बन्नेछन् ।
कुनै पनि समयमा निम्तिने विपद्, महामारी र सङ्कटको समयमा खाद्यवस्तुको आवश्यकता कति चाहिएला, त्यसको आकलन गरेर उत्पादनको क्षमता बढाउनुपर्ने हुन्छ । आफ्नो भूमिमा उत्पादन नहुने वस्तुको आयातको लागि व्यवस्थापनको विकल्प पनि खुला राख्नुपर्ने हुन्छ । राम्रो उत्पादन गर्न सक्षम देशहरूसँगको असल कूटनैतिक अभ्यासले यस्तो व्यवस्थापन सम्भव हुन्छ । प्राविधिक जनशक्ति उत्पादन र तिनको परिचालनलाई प्रभावकारी बनाउन सके कुनै पनि विपद्को लागि पुग्दो खाद्यान्न उत्पादन गर्न सकिन्छ ।

खाद्यान्न प्रशोधन (Processing)

खाद्यान्न उत्पादनपश्चात्को अर्काे कार्य भनेको प्रशोधन हो । प्रशोधनको कार्यलाई उद्योगसँग जोडेर बुझ्ने गरिन्छ । फलफूललगायतका केही खाद्य वस्तुको उपभोग काँचो नै गर्न सकिन्छ भने लगभग सबै खाद्यान्न बाली, मासु र दूधजन्य वस्तुहरूलाई एक निश्चित प्रशोधनपश्चात् मात्र सेवन गर्न मिल्छ । खाद्यान्न प्रशोधनमार्फत कुनै एक वस्तुबाट अनेक परिकार बनाउन सकिन्छ । नयाँ–नयाँ प्रविधि, सीप र ज्ञानको विकाससँगै नयाँ–नयाँ विचारहरूको अवधारणा विकसित हुँदै गएका छन् । यो निरन्तर प्रक्रिया हो । खाद्यान्न प्रशोधन गर्नुका चार प्रमुख कारणहरू निम्नानुसार हुन् ।
पहिलो, मानिसको पाचन प्रणालीलाई पचाउनसक्ने बनाउनको लागि खाद्यान्न प्रशोधन गरिन्छ । जनावर, पशुपन्छीको पाचन प्रणाली र मानव जातिको पाचन प्रणालीमा भिन्नता छ । पशुले मासु, अन्न, झारपात आदि सजिलै पचाउन सक्छन् । काँचो खाद्यान्न वस्तुमा रहने कम्प्लेक्स वस्तुलाई सामान्य वस्तुमा परिणत गरी पाचनयोग्य बनाउन प्रशोधनको आवश्यकता रहन्छ । अखाद्य तत्वहरूबाट खाद्यवस्तु पन्छाउने काम प्रशोधनको अर्काे उद्देश्य हो । आजको समयमा पाकेको खाद्य वस्तुलाई उचित प्याकिङ गरी बजारमा उपलब्ध गराएको हामी देख्छौँ । बच्चा, ज्येष्ठ नागरिक र बिरामी व्यक्तिहरूले कुनै पनि खानेकुरा सजिलै पचाउन सकोस् भन्ने हेतुले पनि खाद्यान्न प्रशोधनको आवश्यकता पर्दछ ।
दोस्रो, लामो समयसम्म खाद्यान्न भन्डारण गर्न सहज अवस्थामा पु¥याउनको लागि पनि खाद्यान्न प्रशोधन गरिन्छ । खाद्यान्न बाली चाँडै बिग्रने वस्तु अर्थात् छोटो आयु (short shelf-life) भएको वस्तु हो । तर, प्रशोधित वस्तुलाई लामो समयसम्मको लागि भन्डारण गर्न सकिन्छ । यी वस्तुहरूलाई माटो र रोग कीराविहीन बनाउन राम्रोसँग पखाल्न जरुरी हुन्छ । उत्पादित अन्नहरू (धान, गहुँ, मकै, भटमास) मा पानीको मात्रा बढी हुन्छ । भण्डारणयोग्य बनाउन खाद्यान्नमा भएको पानीको मात्रालाई घटाइन्छ । केही वंशाणुगत परिवर्तन गरिएका तरकारी (जस्तैः गोलभेँडा, क्याप्सिकम, भान्टा) र फलफूलहरू (स्याउ, अनार, अङ्गुर) को फलको बाहिरी बोक्रामा प्राकृतिकरूपमै मैन (धबह) वा बाक्लो बोक्रा बसेको हुन्छ । त्यस्ता खाद्यान्न भण्डारण गर्दा रोग–कीराले बिगार्ने वा हानी पु¥याउन सक्छन् । यसको लागि रोग तथा कीटनाशक विषादीको प्रयोग गरिन्छ । खाद्यान्न प्याकिङ गर्दा हावा (अक्सिजन) को मात्रा घटाइने हुँदा कीराहरू जीवित रहन असम्भव हुन्छ । चिस्यान केन्द्रहरूमा खाद्य बालीअनुसारको तापक्रम र सापेक्षित आद्रताको प्रणाली बन्दोबस्त गरिएको हुन्छ । यी सबै कार्यहरू गर्न पनि समयानुकूल प्रविधि र सीपको आवश्यकता पर्दछ ।
तेस्रो, उत्पादित वस्तुलाई लामो टाढा ठाउँहरूमा ढुवानी गर्न सहज बनाउन खाद्यान्नको प्रशोधन गरिन्छ । प्रशोधन गर्दा उत्पादित वस्तुबाट अनावश्यक वा अखाद्य भाग जति अलग्याउनुपर्ने हुन्छ । प्रायः वस्तुमा बोक्रा (चामल, नरिवल, सुपारी, केराउ) वा अखाद्य (मासु) भाग छुट्याएर बाँकी खानयोग्य भागमात्र प्याकिङ गरी ढुवानी गरिन्छ । सवारीसाधनमार्फत यस्ता खाद्यान्न ढुवानी गर्दा गाडीको ठाउँलाई अत्यधिक प्रयोगमा ल्याउन सकिन्छ । वस्तुहरूको खाद्य भागलाई एकदम कम्प्याक्ट गरी प्याकिङ गर्ने नयाँ प्रविधि अहिले चलनचल्तीमा छ । यस प्रविधिका कारण सामानको तौल र आयटन घटाउन मद्दत मिल्छ । ठूला वस्तुहरूलाई स—सानो टुक्रामा प्याकिङ गरिएको हुन्छ । जस्तैः काउली, रुख, कटहर, च्याउ आदि । तेलजन्य (तोरी, नरिवल, अल्मोन्ड) वस्तुहरू आवश्यकताअनुसार तेल प्रशोधन गरेर मात्र ढुवानी गर्नु उपयुक्त हुन्छ ।
चौथो, उत्पादित वस्तुलाई विभिन्न रूप प्रदान गर्न अर्थात् विभिन्न परिकारहरूमा ढाल्न खाद्यान्न प्रशोधन गरिन्छ । बदलिँदो जीवनशैली, रहनसहन र खानपिनले गर्दा अहिलेका मानिसहरू नयाँ–नयाँ स्वाद र परिकारहरू खान रुचाउँछन् । एउटा वस्तुलाई अनेक रूप प्रदान गर्ने पुरानो चलन नै छ । परम्परादेखि गरिएका यी कार्यहरूबाट सिकेर आधुनिक प्रविधिहरूसँग समायोजन गर्न थालिएको पनि धेरै भइसकेको छ । जस्तैः आँपबाट अचार, क्यान्डी, जाम, अमिलो आदि बनाउने गरिन्छ । आलुबाट चिप्स, पाउडर आदि बनाइन्छ । विभिन्न फलफूलहरूबाट जुस बनाइन्छ । लप्सीबाट अचार, अमिलो आदि बनाइन्छ । सागबाट गुन्द्रुक, सुकेको तरकारी आदि बनाइन्छ । धानको चामललाई पीठो, चिउरा र विभिन्न परिकारहरू पनि बनाइन्छ । केराबाट निम्कि, स्वीट बल्स, मःमः, वाइन, फिङ्गरचिप्स, आदि । मासुबाट सुकुटी, अचार आदि । दूधबाट नौनी, घ्यू, दही, पनिर, रसबरी आदि प्रशोधित गरिन्छ ।

खाद्यान्न भण्डारण (Storage)

जब खाद्यान्न उत्पादन बजारको मागभन्दा बढी हुन्छ, तब बाँकी भएको खाद्यान्नलाई सङ्कट वा आवश्यक परेको समयको लागि सञ्चय वा भण्डारण गरिन्छ । किसानहरूले आफूले उत्पादन गरेको खाद्यान्नका केही भाग घरमै विभिन्न प्रक्रियाबाट भन्डारण गर्ने गर्छन् । व्यापारीहरूले भने भविष्यमा पनि बिक्री गर्न मिल्ने गरी चिस्यान केन्द्रहरूमा लागेर भन्डारण गर्छन् । खाद्यवस्तुको भन्डारण गर्न त्यति सजिलो भने छैन । तरकारी र फलफूल निकै छोटो समयमा कुहिने हुँदा यसकोे आयु छोटो हुन्छ । किसानहरूले आ–आफ्नो घरमा गरिने भन्डारण विधिलाई पनि आधुनिकता प्रदान गर्न विभिन्न तालिमहरू प्रदान गर्न सके धेरै जनता लाभान्वित हुनेछन् । सरकारले विभिन्न ठाउँ र परिवेशको आवश्यकतालाई मध्यनजर गरी चिस्यान केन्द्रहरूको स्थापना गर्नु आजको आवश्यकता बनिसकेको छ । खाद्यान्न भण्डारण केन्द्रभित्र पनि एक बाली वा बहुबाली प्रणालीको हुन्छ । एक बाली प्रणालीमा एकैनासको हावापानी (तापक्रम, सापेक्षित आद्रता) चाहिने वस्तुहरू भन्डारण गरिन्छ भने बहुबाली प्रणालीमा फरक–फरक आवश्यक पर्ने वस्तुहरूलाई अलग—अलग खण्डमा भन्डारण गरिन्छ ।
आधुनिक बीउबिजन (ठिमाहा जात) मा ती वस्तुको फलहरूमा प्राकृतिक तवरले नै पानी बाहिर नजाने गरी मैन वा बाक्लो बोक्रासहितको उत्पादन विधिको विकास गरिन थालिएको छ । यी उत्पादनहरू लामो समयसम्म भण्डारण गर्न उपयुक्त हुन्छ । खाद्यवस्तुमा पानीको मात्रालाई कम गर्ने र रोग–कीराविहीन बनाउन सकेमा ती वस्तुको भन्डारण आयु (Longevity) लम्ब्याउन सम्भव हुन्छ ।
अन्न बालीहरू भण्डारण गर्दा भन्डार कक्षमा अक्सिजनको मात्रा न्यून गर्न सके हानिकारक कीराहरू बाँच्न सक्दैनन् । यो विधिको प्रयोग सामान्यतया अन्नबालीको बीउ भन्डारणमा गर्नु राम्रो हुन्छ । यी बीउहरू लामो समयसम्म सुरक्षित गर्न सकिन्छ । बाक्लो पोलिथिनको झोलाभित्र हावा नपस्ने गरी लक प्रणाली मिलाइएको हुन्छ ।
सङ्कटको समयमा यो भण्डारणले सहयोगी भूमिका खेल्नेमा दुईमति नहोला । खाद्यवस्तुको बन्दोबस्तले पहिलो प्राथमिकता पाउँछ । समस्याग्रस्त क्षेत्रमा सोही स्थानको भन्डारण अपुग भएमा अन्यत्र स्थानको भन्डारणको मद्दत लिने गरी सहमति कायम गर्न सकिन्छ । सरकारी र निजी पक्षबीचको समन्वयले यो बन्दोबस्त गर्न सहजता प्रदान गर्छ । समाजवादी देशहरूमा यस्ता अति आवश्यक बन्दोबस्त सरकार स्वयम्ले नै गरेको हुन्छ जसमा जनताको पनि प्रत्यक्ष सहयोगी भूमिका रहन्छ । विषम् परिस्थितिमा हुने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण यस्तो देशमा सहज हुने गर्दछ ।

खाद्यान्न ढुवानी (Transportation) र बजारीकरण (Marketing)
खाद्यान्न वस्तुको उत्पादन सीधै वा प्रशोधनपश्चात् ढुवानी गरिन्छ । उत्पादनको विन्दुबाट उपभोक्तासम्म पु¥याउने काम बजारीकरणको अर्काे महत्वपूर्ण चरण हो । देशभित्र वा विदेशसम्म कुनै वस्तु निर्यात गर्न यात्राको समयावधिबारे विचार पु¥याइन्छ । छोटो दुरीमा हुने ढुवानीमा चाँडै पाक्ने अवस्थाका खाद्यान्न र लामो दुरीको ढुवानीको निम्ति लामो समयसम्म सुरक्षित रहने खाद्यान्नको छनोट गरिन्छ । खाद्यवस्तुलाई सुरक्षित तरिकाले प्याकिङ गर्ने विधिहरू लोकप्रिय छन् । यसप्रकार वस्तुहरूलाई कोचिने, थिचिनेजस्ता समस्याहरूबाट टाढा राख्ने कुरालाई मध्यनजर गर्दै खाद्यान्न प्याकिङ प्रणालीको व्यवस्थापनको आवश्यकता पर्दछ ।
खाद्यान्न सामग्रीलाई लामो समयसम्म बिग्रन र कुहिनबाट बचाउने एउटा उपाय भनेको चिस्यान कायम गर्नु हो । उत्पादन केन्द्रदेखि उपभोक्तासम्मको दुरी वा यात्रामा चिस्यानको चेन ९अयमि अजबष्ल० को बन्दोबस्त गर्न सके खाद्यवस्तु बिग्रने सम्भावना न्यून रहन्छ । रोग–कीरा चिसो वातावरणमा कम सक्रिय हुन्छन् वा मर्छन् । कृषकहरूसँग उत्पादन टिप्ने, ग्रेडिङ गर्ने, प्याकिङ गर्ने र ढुवानी गर्ने विषयमा तालिम भएमा नोक्सान घटाई आर्थिक लाभ प्राप्त गर्न सकिन्छ ।

विविध पक्षहरू
खाद्यवस्तुको व्यवस्थापनमा माथिका पक्षहरूबाहेक अर्काे महत्वपूर्ण पक्ष भनेको कानुन र प्रशासन हो । बजारमा खाद्यवस्तुको माग र आपूर्तिको सामान्य सन्तुलन कायम गराउनु सरकारको प्रथम दायित्व हो । इमानदार र कर्तव्यनिष्ठ सरकारी नेतृत्वमा यो सम्भव हुन्छ । अन्तर स्थानीय तह, अन्तर प्रादेशिक तह वा स्थानीय प्रदेश र केन्द्रीय सरकारबीचको सुमधुर सम्बन्ध रहेमा जस्तोसुकै विषम् परिस्थितिहरूमा पनि खाद्यवस्तु अभावको समस्या खासै हुन्नन् ।
विपद्को समयमा खाद्यान्नको आपूर्ति अरु बेलाजस्तै सामान्य हुने गर्दैन । सङ्कटको समयमा भएका खाद्य सामान लुकाएर बजारमा कृत्रिम अभावको वातावरण सिर्जना गर्ने व्यापारीहरूको कमी छैन हाम्रो समाजमा । कृत्रिम अभाव भए पनि बिक्रेताले तोकेको उच्च मूल्यमा ग्राहकहरू आफूलाई चाहिने खाद्यान्न सामग्री किन्न बाध्य हुन्छन् । अझ तरकारी तथा खाद्यान्नको भाउ दोब्बर हुँदा पनि नपाइएला जस्तो किन्ने ग्राहकहरू पनि छन् । यस्तो अवस्थालाई कालोबजारी (Black marketing) भनिन्छ जसलाई गैर–कानुनी र गैर–मानवीयताको संज्ञा दिंदा अत्युक्ति नहोला । बलियो कानुन र कार्यान्वयन नै यसको उचित समाधान हो । बजार मूल्त्न्दा बढीमा बेच्ने व्यापारीहरूलाई कानुनको कठघरामा उभ्याई कानुनअनुसारको सजाय दिइनु जरुरी छ । यसको सम्भव तब हुन्छ जब देशमा बलियो सरकारको उपस्थिति हुन्छ । सामान्य अवस्थामा जस्तै सङ्कटको बेला सूचनाको प्रवाह प्रभावकारी एवं पहुँचमा रहनुपर्दछ । यसलाई अहिलेको प्रविधिको विकासले मद्दत गरेको छ ।

उपसंहार
हरेक समस्याको समाधान हुन्छ । विषम परिस्थितिमा खाद्यवस्तुको व्यवस्थापनमाथिका विषयहरूलाई गम्भीरतापूर्वक लागू गर्नसके विषम परिस्थितिमा समस्याको निराकरण सम्भव हुन्छ । किसान, उद्यमी, व्यापारी, सरकारी निकाय र उपभोक्ताहरूबीचको राम्रो र असल समन्वय पहिलो आवश्यकता हो । यसका साथै नीति–निर्माताहरूको भूमिका अहम् हुन्छ । ऐन–कानुनबाट निर्देशित कार्यक्रमहरूको कडाइका साथ कार्यान्वयन भएमा सफलता हात मिल्छ । नभए अहिलेसम्मका नेपालका योजनाहरू सधैँ कागजको खोस्टामा सीमित भएको कुराबारे सबै जानकार छन् । अनुसन्धानात्मक कामहरूलाई प्राथमिकता दिनु आवश्यक छ । योजनामा रहेकाहरूले उत्पादन, प्रशोधन, भन्डारण, ढुवानी, बजारीकरणलगायतका सबै पक्षहरूमा गम्भीरताका साथ काम गर्नु नै महामारी वा सङ्कटको समयमा महत्वपूर्ण विकल्प हुनसक्दछ । सरकारले त्यस्ता योजनाहरू ल्याउनु आवश्यक छ जुन कार्यान्वयमा पनि सम्भव होओस् । जनतालाई साथमा लिएर जनताको सरसल्लाहमा गरिएका कार्यक्रमहरू दीगो हुन्छ ।

सविन ख्याजू

(लेखक कृषिमा स्नातकोत्तर हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *