भर्खरै :

कोभिड–१९, विश्व स्वास्थ्य सूचाङ्कमा नेपाल र सरकारले तय गर्नुपर्ने स्वास्थ्य रणनीति

डा. प्रेमबहादुर शाही
कोरोना भाइरस के हो ?
कोरोना भाइरस एक किसिमको शुक्ष्माणु (भाइरस) हो । जसले मानव जाति र जनावरलाई सङ्क्रमित गर्नसक्छ । मानव जातिलाई सङ्क्रमण गर्ने कोरोना भाइरसले समान्यतयाः रूघाखोकी र श्वासप्रश्वासम्बन्धी समस्याहरू उत्पन्न गराउँदछ, जुन धेरैजसो तत्काल लक्षण देखानपरी केही दिनमा हुनेगर्दछ । यो सुक्ष्माणुले समय र वातावरण अनुकूल आफूलाई बदल्नसक्ने क्षमता राख्दछ, जसलाई हामी म्युटेसन भन्दछौँ । यही म्युटेसनको कारण भाइरसले सङ्क्रमणको विकराल रूप लिनसक्दछ । उदाहरणको निम्ति सन् २००२ मा फैलिएको सार्स र सन् २०१२ मा फैलिएको मर्स (मिडल इस्ट रेस्टिराटोरी सिन्ड्रम) कोरोना भाइरसमा भएको म्युटेसनको कारणले फैलिएका श्वास प्रश्वाससम्बन्धीका महामारी थिए । हालै डिसेम्बर २०१९ मा पहिलोपटक चीनको हुपेई प्रान्तको उहान सहरबाट सुरू भएको भनिएको ‘नयाँ कोरोना भाइरस’ जसलाई कोभिड–१९ नाम दिइएको छ । अहिले कोभिड–१९ को सङ्क्रमणले हुने श्वास–प्रश्वाससम्बन्धी रोगले महामारीको रूप लिई विश्वलाई आतङ्कित तुल्याएको छ । (त्यसको स्रोतबारे सम्पादकीय हेर्नुहोला –सं.)
कोभिड–१९ को सङ्क्रमणमा देखिने लक्षणहरू ः
क) मुख्य लक्षणहरू ः
ज्वरो आउने, सुख्खा खोकी, श्वास प्रश्वासमा अवरोध, थकान, जीउ दुख्ने ।
ख) अरू लक्षणहरू ः
पखाला लाग्ने, आँखा रातो हुने ।
४० देखि ५० प्रतिशत यो रोगका बिरामीहरूमा सुरूमा कुनै लक्षणहरू नदेखिन सक्छ । सङ्क्रमण बढ्दै गएमा श्वास–प्रश्वासमा जटिलता उत्पन्न भई (जसलाई हामी वैज्ञानिक भाषामा सार्स भन्ने गर्दछौँ) बिरामीको ज्यानमसेत जानसक्छ । कोभिड–१९ को सङ्क्रमणले गराउने सार्सलाई हामी सार्स–कोभ २ को नामले पनि बुझ्ने गर्र्छाैँ ।
कोभिड–१९ को सङ्क्रमण
यो रोग लागेका ८० प्रतिशत बिरामी सामान्य रोग वा उपचारपछि निको हुने, १३.८ प्रतिशतमा जटिल समस्या देखिने, ६१ प्रतिशतमा उच्च जोखिम हुने भएकोले आईसीयूमा राखेर उपचार गर्नुपर्ने हुन्छ । सङ्क्रमित बिरामीमध्ये ०.५ देखि २.८ प्रतिशतको औसत मृत्यु हन्छ भने ८० वर्षमाथिका बिरामीमध्ये ३.७ देखि १४.८ प्रतिशतको मृत्यु हुनेगर्छ ।
६० वर्षमाथिका ज्येष्ठ नागरिकहरू, दीर्घ रोगीहरू (ब्लड पे्रसर, डाइबिटिज र मुटु रोगका बिरामी), श्वास–प्रश्वाससम्बन्धी समस्या भएका बिरामी, धुमपान गर्ने व्यक्तिहरू, महिलाहरूको तुलनामा पुरूषहरूमा बढी सङ्क्रमित हुने सम्भावना ।
कोभिड–१९ रोकथामको लागि चीनले गरेका कार्यहरू
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले २८ मार्च २०२० मा प्रकाशित गरेको समाचारअनुसार कोभिड–१९ बाट हालसम्म सङ्क्रमित ५,५९,५४६ मध्ये निको हुनेको सङ्ख्या १,४१,४२० रहेको र ३०,६२९ जना सङ्क्रमितहरूले ज्यान गुमाइसकेका छन् । बाँकी रहेका ४,८७,४९७ सङ्क्रमितमध्ये २५,२४८ (५ प्रतिशत) को ज्यान उच्च जोखिममा रहेको र ४,६२,२४९ (९५ प्रतिशत) जना अझसम्म सङ्क्रमित छन् ।
तथ्याङ्कलाई नियालेर हेर्दा पश्चिम अमेरिका, युरोपीय देशहरू कोभिड–१९ रोगका कारण खतरामा छन् भने छिमेकी देश चीनले सकुशलढङ्गले कोभिड–१९ लाई नियन्त्रण गर्न सफल भएको छ ।
संरा अमेरिकामा रहेका १,२०,८२९ सङ्क्रमितमध्ये ३,२२९ जना निको भएको, २००८ जनाको निधन भइसकेको तथ्याङ्क छ । डब्लूएचओको सूचकाङ्कको दोस्रो नम्बरमा रहेको इटालीको अवस्था झन् कहालीलाग्दो छ । इटालीमा रहेका ९२,४७२ सङ्क्रमितमध्ये १२,३८४ निको भइसकेका छन् भने १०,०२३ जनाको निधन भएको छ । जुन अहिलेसम्मकै सबैभन्दा धेरै निधन सङ्ख्या हो । निधन भएकामध्ये अधिकांश ७० वर्षमाथिका ज्येष्ठ नागरिक रहेका छन् । इटालीको स्थिति हेर्दा अधिकांश ज्येष्ठ नागरिकहरूको निधन हुने खतरा छ । अत्यधिक निधनले गर्दा इटालीमा मृत्यु संस्कारसमेत गर्न नपाएको स्थितिले गर्दा हामी सबैलाई मर्माहत बनाएको छ । विकसित युरोपीय देशहरू स्पेन, जर्मनी, फ्रान्स र मध्यपूर्व इरानलगायतका १२० भन्दा बढी देशहरूमा कोभिड–१९ आगोसरी फैलिरहेको छ ।
चीनमा सङ्क्रमित ८१,३९४ मध्ये ७४,९७१ जना निको भई घर फर्किएका छन्, जुन अहिलेसम्मको सबभन्दा ठूलो उपलब्धि हो । सङ्क्रमितमध्ये ३,२९५ चिनियाँ नागरिकको निधन भयो । कोभिड–१९ बारे सुरूआतमा चीनको चौतर्फी आलोचना गरिए तापनि पछि विश्व समुदायमाझ बलियो भएर उभिएको मात्र होइन यो रोगमाथि चीनद्वारा चालिएका कदमहरू विश्वको लागि कोषेढुङ्गा साबित भइरहेका छन् । चीनले पश्चिमालगायत अन्य देशहरूमा आफ्नो कुशल स्वास्थ्यकर्मीहरू पठाई सच्चा मानवियता प्रदर्शन गरिरहेको छ ।
समाजवादी देश चीनले जस्तै पश्चिमा देशहरूले कोभिड–१९ सम्बन्धमा समयमै कदम चाल्न नसक्दा र सरकारद्वारा चालिएका कदमहरू जनताले पालना नगर्दा युरोप र अमेरिकामा धेरै जनधनको क्षति व्यहोर्नुपरेको हो ।
मानव विकास सूचकाङ्कमा नेपाल र नेपालीले लिनुपर्ने स्वास्थ्य नीति
संरा अमेरिका, युरोपका देशहरू– इटाली, जर्मनी, फ्रान्सजस्ता शक्तिशाली, विकसित र उच्चतम मानव विकास सूचकाङ्क (एचडीआई) भएका देशहरूलाई महामारी नियन्त्रण गर्न हम्मे–हम्मे परिरहेको परिप्रेक्षमा मध्यम मानव विकास सूचकाङ्क भएका १८३ देशहरूमध्ये १४७ स्थानमा रहेको नेपालमा यस महामारीले ठूलो रूप लिए त्यो सँग जुध्न हामीसँग कति सामथ्र्य छ त्यो अहिले प्रश्नको रूपमा खडा छ ।
कोभिड–१९ को सङ्क्रमणले भन्दा पनि यो रोगसँगै भित्रिने महामारीले अरू धेरै समस्याहरू निम्तिने निश्चित छ । नेपालको स्वास्थ्य सूचकाङ्कको स्तर हेर्दा सबभन्दा ठूलो बुद्धिमानी कोभिड–१९ लाई फैलन नदिनु नै हो । किनभने, यो रोग फैलिएमा नेपालको स्थिति निकै तवह हुने निश्चित छ ।
नेपालमा कोभिड–१९ फैलिइनसकेको हुँदा अहिले सरकारले आफ्नो तर्फबाट र प्राविधिक क्षेत्रको तर्फबाट देहायबमोजिमको रणनीति लागू गर्नु आवश्यक देखिन्छ ः
सरकारी जिम्मेवारी
मानिसहरूबीच सामाजिक दुरी कायम राख्ने, बाहिरबाट आउन सक्ने सङ्क्रमणलाई पूर्ण रोक लगाउने, लक डाउनपूर्व विदेशबाट फर्केका नेपालीहरूको स्वास्थ्य अभिलेख राख्न स्थानीय प्रशासन र प्रहरीसँग समन्वय गर्ने, जनतालाई यो रोगबारे विस्तृत जानकारी गराउने र रोकथामका उपायहरू सुसूचित गर्ने, यो रोगको जानकारी परीक्षणबाट मात्र सम्भव हुनेहुँदा सङ्कास्पद लक्षण देखिएका व्यक्तिहरूलाई कोभिड–१९ को परीक्षण सहजीकरण गर्ने, विभिन्न क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई एउटै फोरममा राखी तथ्याङ्कको आधारमा छलफल गरी उपाय तयार गर्ने ।
स्वास्थ्य उपाय
कोभिड–१९ परीक्षणको सङ्ख्या बढाउने, क्वारेन्टिन एकाइहरू बढाउने, कमसेकम हरेक प्रदेशमा यथाशीघ्र क्वारेन्टिनको बन्दोबस्त गर्ने ।
कोभिड–१९ जति धेरै परीक्षण गर्न सक्यो त्यति सङ्क्रमण चाँडो पत्ता लाग्नेमात्र नभई यसले थप सङ्क्रमण फैलिनबाट रोक्छ । कोभिड–१९ को उच्च जोखिममा रहेका ज्येष्ठ नागरिक, श्वासप्रश्वाससम्बन्धी रोग भएका बिरामीहरूको तथ्याङ्क निकाली स्वास्थ्य परीक्षण गराउन आवश्यक छ ।
नेपालमा एक हजारको लागि ०.३ शैय्या भएको स्थितिमा अस्पतालका केही बेडहरूमात्र अलग्ग (आइसोलेट) राखेर उपचार सम्भव नभएकोले स्थानीय निकायसँग समन्वय गरी निजी मेडिकल कलेज र अस्पतालहरूलाई अस्थायी कोभिड–१९ उपचार कक्षको रूपमा विकास गर्ने, स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा वस्त्र (पीपीई) यथासीघ्र उपलब्ध गराई स्वास्थ्यकर्मीहरूको मनोबल बढाउने ।
स्वास्थ्यकर्मीको जिम्मेवारी
आफूलाई सुरक्षित गर्दै बिरामीको सेवामा समर्पित हुने, अस्पताल र बिरामीबीच बढ्नसक्ने दूरीलाई कम गर्ने, भैपरी आउने समस्याबारे सामना गर्न सरकार र संस्थासँग खुलस्त छलफल गर्ने, जनचेतना जगाउने कार्यमा अग्रसर हुने ।
कोभिड–१९ बाट मानवको विनाश सम्भव छ ?
कोभिड–१९ ले मच्चाइरहेको आतङ्कले हामीलाई त्रसित बनाउनु स्वाभाविक हो । मानव इतिहासको विभिन्न कालखण्डमा विभिन्न महामारीहरूले नरसंहारमात्र नभई विश्वको इतिहास नै बदलेको पाइन्छ । ४३० बीसीमा टाइफाइड, सन् १६५ मा एन्टोनी प्लेग, सन् २५० मा साइप्रियन प्लेग, सन् ४५१ मा जस्टिनियन प्लेग, एघारौँ शताब्दीमा कुष्ठरोग, सन् १३५० मा बुवोनिक प्लेग (जसले पृथ्वीको एकतिहाइ जनसङ्ख्याको निधन), सन् १४९२ को कोलम्बियन एक्सजेन्स, सन् १६६५ को द ग्रेट प्लेग अफ लन्डन (लन्डनको २० प्रतिशत जनसङ्ख्याको निधन), सन् १८७५ मा फैलिएको दादुरा (फिजिको एकतिहाइ जनसङ्ख्याको निधन), सन् १८८९ को रसियन र सन् १९१८ को स्प्यानिस फ्लू, सन् १९५७ को रसियन फ्लू, सन् १९८२ मा फैलिएको एचआईभी एड्स, सन् २०१३ मा फैलिएको सार्सको कारण ठूलो सङ्ख्यामा जन–धनको क्षतिमात्र नभई विश्वको इतिहास नै बदलिएको देखिन्छ ।
अक्सफोर्ड विश्वविद्यालयको रिपोर्टअनुसार समयमै कोभिड–१९ को महामारीलाई नियन्त्रण गर्न नसके ४० देखि ७० प्रतिशत जनसङ्ख्यामा यो रोग सङ्क्रमित हुने सम्भावना छ ।
अतः यो विपद्को बेलामा त्रसित नभई संयमित भई सबै जनसमुदायले कोभिड–१९ रोकथामबारे सरकारले जारी गरेका निर्देशनलाई पालना गर्नु आवश्यक छ ।
हामी सम्पूर्ण मानव जातिलाई पुनः एकपटक एउटै धरातलमा साथमा उभिन सिकाएको छ । पृथ्वी हामी सबैको हो, मानव जाति पृथ्वीको सच्चा संरक्षक भएकोले प्राकृतिक विपद् निम्तिने गतिविधिहरूबाट मानव जाति जोगिनु आवश्यक छ ।
(डा. शाही मेरुदण्डको शल्य चिकित्सक र कन्काई अस्पताल झापाका निर्देशक हुनुहुन्छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *