रूपक खड्का
विश्वको आर्थिक उदयमान राष्ट्र चीनको उहान सहरबाट २०१९ को अन्त्यतिरबाट सुरु भएको कोरोना भाइरसले अहिले संसारलाई त्राहीमाम बनाएको छ । भाइरसको अन्त्य त कुनै न कुनै दिन हुन्छ नै । तर, त्यसपछिको अर्थतन्त्र कस्तो हुनेछ भन्ने कुरा अहिले सबैको चासोको विषय भएको छ ।
आन्तरिक द्वन्द्वको समयमा भइरहने बन्द हड्ताल तथा भूकम्पपछिको भारतीय नाकाबन्दीले आजित हाम्रो सानो अर्थतन्त्रमा कोरोनाको प्रभाव कस्तो पर्ने भन्ने कुरामा नीति निर्माता, अर्थशास्त्री र योजनाकारहरू नै अन्योलमा छन् । भारतीय आर्थिक नाकाबन्दीपछि नेपालको आर्थिक वृद्धिदर ०.२ प्रतिशत भएको थियो भने त्यसपछिका वर्षहरूमा क्रमशः ७.७४, ६.३ र ६.८१ रहेको थियो । यो वर्ष पनि आर्थिक वृद्धिदर अर्थमन्त्रालयले बजेट भाषणमा ८.५ प्रतिशतको उच्च आर्थिक वृद्धिको लक्ष्य राखिएको थियो । तर, कोरोना भाइरसको कारण ठूला ठूला उत्पादनमुखी तथा सेवामुखी उद्योगहरू बन्द हुँदा यो लक्ष्य हासिल गर्नसक्नेछैन । सानो पुँजीमा सञ्चालित उद्योगहरूले पनि राम्रोसँग आफ्नो व्यवसाय सञ्चालन गर्न सकिरहेको अवस्था छैन । यसले गर्दा आर्थिक वृद्धिमात्र होइन रोजगारी पनि गुम्दै छ । कोरोना भाइरस फैलिन नदिनको लागि नेपाल सरकारले गरेको लकडाउन अझै लम्बियो भने नेपाली अर्थतन्त्रमा भयावहको अवस्था अवश्यम्भावी छ ।
लकडाउनको सबैभन्दा धेरै असर पर्यटन व्यवसाय, होटेल तथा रेस्टुरेन्ट, हवाई तथा यातायात व्यवसायमा पर्ने देखिन्छ । नेपाल सरकारले सन् २०२० पर्यटन वर्ष घोषणा गरी करिब २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ । यस क्षेत्रले जीडीपीको करिब ७.५ प्रतिशत क्षेत्र ओगट्छ । नेपालमा जम्मा आगमनको १६ प्रतिशत त चिनियाँ पर्यटकमात्र आउँछन् । अब यो सम्भावना छैन । पर्यटकको आवागमन सँगसँगै औसत बस्ने दिन र खर्च पनि घट्ने निश्चित छ । यो कारणले यस क्षेत्रले ठूलो नोक्सानी व्यहोर्नुपर्ने छ भने राज्यले पनि ठूलो राजस्व गुमाउनुपर्ने छ । यस व्यवसायमा करिब ६ लाख मानिस संग्लग्न छन् । यस क्षेत्रमा काम गर्ने कतिको रोजगारी गुमिसकेको छ भने बाँकीको पनि गुम्ने खतरा छ । यो सबैभन्दा ठूलो चिन्ताको विषय हो । पर्यटन व्यवसाय खुम्चिँदा यसको असर अन्य क्षेत्रमा पनि पर्ने निश्चित छ । यसको असर साना तरकारी उत्पादन गर्ने किसानदेखि होटेल व्यवसाय तथा हवाई तथा यातायात क्षेत्रमा पर्ने निश्चित छ । विस्तारै यी क्षेत्रहरूले पनि रोजगारी कटौती गर्दै लानेछन् । पर्यटन क्षेत्रमा सङ्गठितभन्दा पनि असङ्गठित मजदुरहरू धेरै छन् । तिनीहरूको सामाजिक तथा आर्थिक सुरक्षा राज्यको लागि ठूलो दायित्व हुनेछ ।
नेपालको कुल गार्हस्थ उत्पादनमा थोक तथा खुद्रा व्यापारको १४.३ प्रतिशत, निर्माण क्षेत्रको ७.७ प्रतिशत, होटेल तथा रेस्टुरेन्टको २.०५ प्रतिशत, यातायात क्षेत्रको ७.२३ प्रतिशत तथा औद्योगिक क्षेत्रको करिब ५.६ प्रतिशत रहेको छ । यी क्षेत्रहरूको व्यापार व्यवसाय खुम्चिँदा यसको सम्पूर्ण असर आपूर्ति र रोजगार क्षेत्रमा पर्दछ । अहिले नेपालमा करिब ८ हजार उद्योगधन्दाहरू सञ्चालित छन् । एउटा उद्योगले औसतमा ७५ कामदारलाई रोजगारी दिएको छ । उद्योगहरू अहिलेको समयमा पूर्ण क्षमतामा सञ्चालन हुनसक्ने अवस्थामा छैन र ठूलो सङ्ख्यामा रोजगारी कटौती हुने सम्भावना छ । जसको परिणामस्वरूप धेरै मजदुरहरू बेरोजगार हुनेछन् ।

लकडाउनको सबैभन्दा धेरै असर पर्यटन व्यवसाय, होटेल तथा रेस्टुरेन्ट, हवाई तथा यातायात व्यवसायमा पर्ने देखिन्छ । नेपाल सरकारले सन् २०२० पर्यटन वर्ष घोषणा गरी करिब २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ । यस क्षेत्रले जीडीपीको करिब ७.५ प्रतिशत क्षेत्र ओगट्छ । नेपालमा जम्मा आगमनको १६ प्रतिशत त चिनियाँ पर्यटकमात्र आउँछन् । अब यो सम्भावना छैन । पर्यटकको आवागमन सँगसँगै औसत बस्ने दिन र खर्च पनि घट्ने निश्चित छ ।

नेपालीहरू ठूलो सङ्ख्यामा वैदेशिक रोजगारमा छन् । करिब ४५ लाख कामदार आफ्नो जीविकोपार्जनको लागि विदेशी भूमिमा काम गर्छन् । त्यसमध्ये करिब १३ लाख मलेसिया र ११ लाख कतारमा छन् । यसले नेपालमा ठूलो मात्रामा विप्रेसन नेपाल भित्रिन्छ जुन नेपालको जीडीपीको २३.४ प्रतिशत रहेको छ । विश्वव्यापीकरणको कारण एउटा देशमा महामारीको सङ्क्रमण हुँदा त्यसको असर तथा जोखिम संसारभर फैलनु स्वाभाविक हो । सबैतिर लकडाउनको कारणले कच्चा तेलको माग घटेर प्रतिव्यारेल २० डलरभन्दा कम भइसकेको छ । ओपेकले अब कच्चा तेल उत्पादन गर्ने कि नगर्ने भन्ने कुरामा नै दुविधा प्रकट गरेको छ । उत्पादनको क्रियाकलाप, हवाई तथा अन्य यातायात सञ्चालन नहुँदा तेलको माग घटिरहेको छ । यसले गर्दा कामदार कटौती गर्नुपर्ने अवस्था आउनेछ । यो हाम्रो लागि दुर्भाग्य हुनेछ किनकि हाम्रो रोजगारको प्रमुख गन्तव्य यी अरब देश नै हुन् ।
कोरोना भाइरसका केसहरू थपिँदै जाँदा लकडाउनको अवधि पनि थपिँदै जाने निश्चित छ । सरकारका एकजना मन्त्रीले त भारतलाई हेरेर लकडाउनको अवधि थप्ने नथप्ने निर्णय हुने बताएका छन् । लकडाउनको असर अब औद्योगिक र निर्माण व्यवसायमा पनि देखिन थालिसकेको छ । सरकारले निश्चित मापदण्ड पूरा गरी राष्ट्रिय गौरवको आयोजना तथा खाद्यवस्तु उत्पादन गर्ने औद्योगिक निकायहरू सञ्चालन गर्ने निर्णय गरेको छ । तर, सञ्चालन गर्नको लागि आवश्यक मानव जनशक्ति व्यवस्थापन, अन्य उत्पादनका साधनहरू जस्तै कच्चापदार्थको व्यवस्थापन गर्न सजिलो छैन । त्यसमाथि मानवीय सुरक्षाको ख्याल अति आवश्यक छ । दुई हप्ता लामो लकडाउनको अवस्थामा मात्र करिब राज्यलाई ३० अरब घाटा हुने देखिन्छ । लकडाउन अझै लम्बियो भने स्थिति भयावह हुनसक्छ ।
आपूर्ति श्रृङ्खला व्यवस्थित नहुनु, दिनप्रतिदिन उत्पादन घट्दै जानु, विप्रेसनको आप्रवाह कम हुनु, बेरोजगारी बढ्नु, पर्यटनमा कमि आउनु जस्ता कारणले गर्दा समग्र आपूर्ति पक्षमात्र होइन आर्थिक क्रियाकलापहरूमा कमि आई आम्दानी घट्ने र समग्र माग पक्षमा नै असर गरी आर्थिक मन्दी आउनसक्ने अवस्था हुनसक्छ ।
लकडाउनको अर्को असर भने वैदेशिक तथा आन्तरिक व्यापारमा पर्ने निश्चित छ । यसले आयात र निर्यात दुवैलाई नकारात्मक असर गर्दछ । अहिले नेपालमा आयात र निर्यातको अनुपात करिब १४ः१ रहेको छ । यसको अर्थ हामीले १ युनिट निर्यात गर्दा १४ युनिट आयात गर्छ । आयात घट्यो भने पनि नेपालको सप्लाई चेनमा असर परी राज्यले ठूलो मात्रामा राजस्व गुमाउनुपर्ने छ भने निर्यात घट्यो भने चालू खाता घाटामा गई समग्र भुक्तानी सन्तुलनमा असर गर्दछ । यसले गर्दा थुप्रै मानिस प्रत्यक्ष र अप्रत्यक्षरूपमा रोजगार गुमाउने प्रबल सम्भावना रहेको छ ।
(लेखक ख्वप कलेजमा अर्थशास्त्र विषय प्राध्यापन गर्नुहुन्छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *