भर्खरै :

लकडाउन, इन्फोडेमिक र साइबर सुरक्षा

  • नरेश खत्री

लकडाउन
            अहिले संसार लकडाउनमा छ । संसारका सबैजसो देशका सरकारहरूले आ–आफ्ना जनतालाई घरमै बसेर कोभिड १९ विरुद्धको युद्ध लड्न आह्वान गरिरहेका छन् । छिमेकी भारतका एक अर्ब ३०–४० करोड जनतालाई अहिले लकडाउनमा राखिएको छ । चीनमा उच्च महामारीको बेला करिब ७५–८० करोड जनसङ्ख्या लकडाउनमा थिए । चीन अहिले बिस्तारै महामारीबाट सामान्य जीवनमा फर्किदै छ । संरा अमेरिकामा करिब ३० करोड जनसङ्ख्या घरमै बसिरहेका छन् । हामी नेपालीहरू पनि विगत २ हप्तादेखि घरभित्रै रहेर अनुशासनमा बसिरहेका छौँ । यसरी आज संसारमा अधिकांश मानिस आ–आफ्ना घरमा बसिरहेका छन्, घरमै बसेर काम गरिरहेका छन् ।
इन्टरनेट र सामाजिक सञ्जाल
            आज संसारका करिब ५४ प्रतिशत मानिस इन्टरनेट नामक अन्तर्राष्ट्रिय सञ्जालमा छन् । यो जनसङ्ख्या चार अर्ब, एक करोडभन्दा बढी रहेको अन्तर्राष्ट्रिय दूरसञ्चार युनियनको तथ्याङ्क छ । नेपाल दुरसञ्चार प्राधिकरणले प्रकाशित गरेको तथ्याङ्कअनुसार ७३ प्रतिशत नेपाली इन्टरनेटको सञ्जालमा जोडिएका छन् । २ करोडभन्दा बढी नेपालीहरू यो इन्टरनेट नामक अवास्तविक सञ्जालमा अभ्यस्त भइरहेका छन् । सूचना प्रविधिको विकाससँगै इन्टरनेटको प्रयोग ह्वात्तै बढेको छ । आज मानिसहरू इन्टरनेटकै माध्यमबाट संसारमा कोरोना भाइरसको महामारीलाई प्रत्यक्ष हेरिरहेका छन् ।
            अहिले लकडाउनमा बसेका अधिकांश मानिस इन्टरनेटमा जोडिएका छन् । संसारमा अर्बौँ मानिस एकैसाथ एउटै सञ्जालमा जोडिएर सूचना र तथ्याङ्क आदानप्रदान भइरहेका छन् । अहिले सूचना र तथ्याङ्क जोसँग छ, शक्ति ऊसँगै छ भन्ने मान्यता छ – इन्फर्मेसन इज पावर ।
            अध्ययनले भन्छ – इन्टरनेटमा जोडिएका करिब ९८ प्रतिशत जनता सामाजिक सञ्जाल चलाउँछन् । प्राविधिक हिसाबले सामाजिक सञ्जाल सूचनाप्रविधि विकासको पछिल्लो उपलब्धि र मानव सभ्यताकै एउटा कोशेढुङ्गा मानिन्छ । सामान्य अवस्थामा मानिसले दैनिक दुई घण्टा समय सामाजिक सञ्जालमा बिताउने गरेको तथ्याङ्क छ । अहिले लकडाउनको समयमा सामाजिक सञ्जालको प्रयोग ह्वात्तै बढेर दैनिक चार घण्टाभन्दा बढी छ । अहिले इन्टरनेट सहज भएका ठाउँहरूमा मानिसको अधिकांश समय सामाजिक सञ्जालमा बितिरहेको पाइन्छ । मानिसहरू मोबाइल फोन र इन्टरनेटविना बस्न नसक्ने भएका छन् । यसलाई हिजोआज प्रविधिको कुलत अथवा टेक्नोलोजी एडिक्सन भनिएको छ । साथसाथै पछिल्लो समय मोबाइल फोनबाट टाढा बस्न नसक्नु एउटा मानसिक समस्या नै भएको मनोविश्लेषकहरूको राय छ । यसरी मोबाइल फोनबाट टाढा बस्न नसक्नु÷नचाहनु वा मोबाइल फोन नभएपछि केही नपुगेजस्तो हुने समस्यालाई नोमोफोबिया (नो मोबाइल फोबिया) भनिएको छ ।
            अहिले कोरोना भाइरसको महामारीबाट बच्न घरभित्र बसिरहेको बेला अर्बौँ मानिस एउटा अर्को महामारीको सङ्‍क्रमणमा छन् – प्रविधि कुलतको सङ्‍क्रमण अथवा टेक्नोलोजी एडिक्सन । सामाजिक सञ्जालमा ह्यासट्याग कोरोना भाइरस र ह्यासट्याग कोभिड– १९ अत्यधिक प्रचलनमा छन् । कोरोना भाइरसबारे तीन अर्बभन्दा बढी सूचनाहरू प्रकाशित भए र त्यसमा एक खर्बभन्दा बढी प्रतिक्रियाहरू प्रकाशित भए । इतिहासमै पहिलोपल्ट अहिले एउटै विषयमा संसारका यति धेरै जनसङ्ख्या आ–आफ्ना भाषामा आ–आफ्ना विचारहरू प्रकाशित गरिरहेका छन्, सामाजिक सञ्जालका विभिन्न माध्यमको आविष्कारले यो सम्भव भएको छ । फलतः मानिसहरू नोमोफोबियाको खतरा भने दिनप्रतिदिन बढ्दो छ ।
इन्फोडेमिक
            भनिन्छ, असत्य कुरा चाँडो फैलिन्छ । अहिले सामाजिक सञ्जालमार्फत कोभिड– १९ बारे गलत सूचनाहरू भाइरसभन्दा चाँडो फैलिरहेको विज्ञहरूको भनाइ छ । यसरी स्वास्थ्य, सरसफाइ, सङ्‍क्रमण, खानपानलगायत कोभिड– १९ सम्बन्धी गलत बुझाइ र सूचनाहरू सामाजिक सञ्जालमा जानी नजानी वा प्रायोजितरूपमा फैलिरहेका छन् । संसारका धेरै मानिसहरू घर बसेर सामाजिक सञ्जालमा लागिरहेको मौका छोपेर केही साइबर अपराधीहरू नियोजितरूपमा गलत हल्ला फैलाउन र मानिसलाई आतङ्कित बनाउन लागिरहेको पाइन्छ । यस्तो गलत सूचनाको महामारीलाई विश्व स्वास्थ्य सङ्गठनले इन्फोडेमिक भनेको छ । त्यसैले विश्व स्वास्थ्य सङ्गठनले कोभिड– १९ महामारी सँगसँगै गलत सूचनाको महामारीसँग पनि लड्न अलगै सूचना सञ्जाल बनाएको छ र फेसबुक, गुगलजस्ता विभिन्न सामाजिक सञ्जाल प्रदायक कम्पनीहरूसँग सहकार्य गरिरहेको समाचार छ । सामाजिक सञ्जाल कम्पनीहरूले पनि अहिले कृत्रिम बौद्धिकताको प्रयोगबाट सञ्जालमा व्याप्त गलत सूचनाहरूलाई फिल्टर गरिरहेको बताइएको छ ।
            गलत सूचनाको इन्फोडेमिकलाई परास्त गर्ने हतियार भनेको सही सूचना प्रवाह हो । मानिसहरू जहाँ छन्, सही सूचना त्यहाँ पुग्नु आवश्यक छ । तसर्थ हरेक आधिकारिक निकायले समयमै सही सूचना प्रवाह गर्न सामाजिक सञ्जाललाई उपयोग गर्नुपर्छ । यस्ता महामारीको बेला सामाजिक सञ्जालमा गलत सूचना प्रवाह गरी मानिसलाई आतङ्कित र भ्रमित बनाउने गतिविधिलाई नियन्त्रण गरी आधिकारिक सूचना प्रवाहलाई प्रभावकारी बनाउनु आवश्यक हुन्छ ।
साइबर सुरक्षा
            एउटा उखान छ – अनिकालमा बीउ जोगाउनु । खाद्यान्नको सङ्कटको बेला अन्नको बीउ जोगाउनु जति आवश्यक छ, अहिले कम्प्युटर र इन्टरनेटको युगमा सूचना र तथ्याङ्क जोगाउन त्यति नै आवश्यक छ । इन्टरनेटमा साइबर अपराधीहरू पनि नियोजित तरिकाले जोडिने भएकोले यस्तो सङ्कटको बेलामा मानिसहरू घर बसेको मौका छोपी इन्टरनेट र सामाजिक सञ्जालको माध्यमबाट हुन ने अपराधबारे हामी चनाखो हुनु आवश्यक छ । साइबर अपराधीहरूले कुनै संस्थाको बेवसाइटभित्र अनाधिकारिक पहुँच बनाई गलत सूचनाहरू प्रकाशित गर्नसक्छ । हाम्रो सामाजिक सञ्जालको खाता वा इमेल खाता प्रयोग गरी अपराधका घटना घटाइन सक्छ । अहिले धेरैको फेसबुक ह्याक भएका खबरहरू आइरहेको छ । तसर्थ सबैले साइबर सुरक्षाबारे सचेत भई आ–आफ्ना इमेल, सामाजिक सञ्जाल, ई बैङ्किङलगायतका पासवर्डहरू मजबुत बनाउनु आवश्यक छ ।
केटाकेटीहरू वास्तविक संसारभन्दा अवास्तविक संसार अर्थात् सामाजिक सञ्जालमा बढी अभ्यस्त हुँदा साइबर अपराधको जोखिम बढेको विज्ञहरूको भनाइ छ ।
सारमा
            हामी सबैजना लकडाउनमा छौँ । यो एउटा अनुशासन पनि हो । यो महामारीको बेलामा हामी अधिकांशले घर बसेर ल्यापटप वा मोबाइलमा इन्टरनेट चलाएर समय बिताइरहेका छौँ । हामी सबै इन्टरनेटको पहुँचमा छौँ । इन्टरनेट ज्ञानको भण्डार पनि हो भने अपराध र विकृतिको प्लेटफर्म पनि हो, उपयोगी सूचनाको स्रोत हो भने गलत सूचनाहरूको अथाह सागर पनि हो । सामाजिक सञ्जालले संसारलाई जोडेको छ भने मानिसलाई असामाजिक र अपराधी पनि बनाएको छ ।
            कोभिड– १९ प्यान्डामिकबाट जोगिन घर बसेको बेला कोभिड– १९ इन्फोडेमिकको सङ्‍क्रमण नहोस्, नोमोफोविया र टेक्नोलोजी एडिक्सनबारे सचेत होऔँ । सही सूचनाको स्रोतलाई फलो र गलत सूचनाको स्रोतलाई ब्लक गरौँ ।
मजदुर दैनिक, २०७६ चैत्र २६ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *