कृष्णगोविन्द लाखाजु

कोरोना भाइरसको सङ्‍क्रमणबाट अहिले विश्व आक्रान्त छ । चीनको उहान सहरमा सन् २०१९ डिसेम्बरबाट फैलिएको कोभिड–१९ विश्वमा १३ लाखभन्दा बढी व्यक्तिहरूमा सङ्क्रमित भएको छ । अहिले अमेरिकामा सबभन्दा बढी सङ्‍क्रमण भएको कोरोना भाईरसबाट विश्वमा ७६ हजारभन्दा बढीको ज्यान लिइसकेको छ । अमेरिका, स्पेन, इटाली र जर्मनीजस्ता देशमा महामारीको रूपमा फैलिएको छ । नेपालमा पनि सङ्क्रमितको सङ्ख्या बढ्दै छ ।

            नेपालमा सुरुमा बाहिर मुलुकबाट आएका व्यक्तिहरूमा मात्र यस रोग सङ्क्रमित भएको पाइएको थियो । अहिले बाहिर मुलुकबाट आएका परिवारलाई समेत यो रोगको सङ्क्रमित भएको देखिएको छ । विदेशबाट फर्केकोमा सङ्क्रमित देखिएकोलाई पहिलो चरण र परिवारमा सरेकोलाई दोस्रो चरणको रूपमा लिइएको छ । तेस्रो चरण भनेको आमनागरिकमा हुने सङ्‍क्रमण हो । यो अवस्था आयो भने नेपालमा भयावहको स्थिति आउनसक्ने र कल्पनाभन्दा बाहिरको परिस्थिति आउनसक्ने कुरा विज्ञहरूको भनाइ छ ।

            कोरोना भाइरस नदेख्ने अदृश्य शत्रु हो । हामी सबैको विपक्ष हो र अदृश्य आतङ्ककारी हो । यसले धनी गरिब, युवा, तन्नेरी, बुढाबुढी, महिला, पुरुष, गाउँ–सहर केही पनि पक्षपात नगरी आक्रमण गर्छ । जसले हेलचक्र्याइँ गर्छ, जो सचेत रहँदैन उसलाई छिट्टै आक्रमण गर्छ । जो सचेत छ, उसलाई आक्रमण गर्दैन र गर्नसक्दैन । जो उसको नजिक पुग्दैन उसलाई आक्रमण गर्नसक्दैन । जो उसको नजिक पुग्छ, उसलाई आक्रमण गरिहाल्छ । यसबाट बच्न एउटैमात्र उपाय हो, घरमै बस्ने । कोरोना भाइरस सङ्‍क्रमण भएकाहरूको नजिक नजाने । बराबर हात धुने । सङ्‍क्रमणको शङ्का लागेका व्यक्ति छुट्टै क्वारेन्टिनमा बस्ने र अरूको सम्पर्कमा नरहनेजस्ता कुरा दैनिकजसो आउने सूचना र खबरहरू हुन् ।

            कोभिड– १९ सङ्‍क्रमणबाट बच्नका लागि नेपाल सरकारले २०७७ वैशाख ३ गतेसम्म लकडाउन गरेको अवस्था छ । लकडाउनको अर्थ मान्छे घरबाट बाहिर ननिस्कने र सङ्क्रमित व्यक्तिहरूबाट टाढा रहने हो । भीडभाड नगर्ने र सुरक्षित उपायहरू अवलम्बन गर्ने हो । स्थानीय सरकारहरूले पनि सुरक्षाका विभिन्न उपायहरू गरिरहेका छन् । भक्तपुर नगरपालिकाले  विभिन्न कामहरू गरिरहेको हामीले देखिरहेका छौँ । जस्तै:असङ्क्रामक औषधि छर्कने, जनचेतनाको लागि माइकिङ्ग गर्ने, अति आवश्यक कामको लागि घरबाट एक जनामात्र निस्कने गरी प्रतिघर परिवारलाई एउटा अनुमति पत्र उपलब्ध गराउने कामहरू गरिरहेको छ । अति आवश्यक काममा घरबाट बाहिर निस्कनका अनुमति पत्र वितरण तथा लकडाउनबाट प्रभावित व्यक्तिहरूलाई राहत वितरणका लागि वडास्तरीय स्वयम्सेवक र समन्वय समिति गठन गरेको छ । अरू नगरपालिकाहरूले पनि विभिन्न उपायहरू अवलम्वन गरिरहेको कुरा प्रकाशमा आइरहेको छ ।

            यस्तो अवस्थामा सहकारीको भूमिका के त ? सहकारीको सञ्जाल विश्वव्यापी छ । नेपालमा पनि सहकारीको सञ्जाल अरू सङघ, संस्थाको भन्दा बलियो छ । भक्तपुर जिल्लामा रहेका ६७५ वटा सहकारी संस्थामा ३ लाखभन्दा बढी सदस्यहरू आबद्ध छन् । हजारौँको सङ्ख्यामा सञ्चालक र त्यतिकै सङ्ख्यामा कर्मचारीहरू कार्यरत छन् । कोभिड– १९ बाट संसार नै आक्रान्त भइरहेको अवस्थामा आफू–आफूलाई नै स्व–सहयोग गर्नुपर्ने अवस्था सृजना भएको छ । यस्तो बेलामा सहकारीको आचरण अपनाउनु आवश्यक छ । सहकारीको नैतिक मूल्य भनेकै आत्मसहयोग र स्वयम्सेवकको रूपमा सेवा गर्ने हो । सुखमा साथ र दुःखमा हातको भावना लिएर सङ्कटको बेलामा सहकारी संस्थाको तर्फबाट सहयोग पुर्‍याइनुपर्दछ । सक्ता दिने पर्दा लिने नै सहकारीको काम हो । कोरोना भाइरस जो अदृश्य शक्तिसँग सारा देश सङ्घर्ष गरिरहेको बेला सहकारीको भूमिका महत्वपूर्ण हुनसक्छ ।

            सहकारी संस्थाहरूले २०७२ सालको विनासकारी भूकम्पबाट पीडितहरूलाई पनि राहत पुर्‍याएको तथ्य हामीसँग छ । भूकम्पबाट घर भत्की मृत्यु भएका सदस्यका परिवारहरूलाई मृतकको काजक्रियाको लागि आर्थिक सहयोग प्रदान र खाद्यान्न वितरण गर्न सहयोग पुर्‍याउने काम सहकारी संस्थाहरूले गरेका थिए । साथै भूकम्पबाट भत्केका घर पुनः निर्माणका लागि सहुलियत दरमा ऋण प्रदान गरेका थिए । 

            अहिले कोरोना भाइरसको सङ्‍क्रमणको त्रासबाट देश लकडाउनमा छ । यसबाट बच्न र बचाउनका लागि सहकारी क्षेत्रले केही कुराहरू गर्न सकिन्छ । जस्तैः सरकारले लकडाउन गरिरहेको अवस्थामा सदस्यहरूलाई अति आवश्यक कामबाहेक घरमा ननिस्कनका लागि प्रत्येक सदस्यहरूलाई मोबाइलफोनमार्फत मेसेज पठाई सजग गराउन सकिन्छ । स्थानीय तह (नगरपालिका) ले आह्वान गरिएअनुसार भीडभाड हुने ठाउँमा नजान र जात्राहरू नमनाउनका लागि टोल–टोलमा गुठीका नाइकेहरूलाई अनुरोध गर्न सकिन्छ । बिहान मर्निङवाक्को सट्टामा घरमै अनुकूलताको आधारमा व्यायाम गर्न अनुरोध गर्ने । सहकारी संस्थाबाट सेवाप्रवाह गर्दा भीडभाड नगराउने । साबुन पानीले हात धुन लगाउने र स्यानिटाइजर प्रयोग गर्न दिने । सामाजिक दुरी कायम गराउन प्रचारप्रसार गर्ने । नगरपालिकाबाट रोगबाट सुरक्षित हुनका लागि अपनाएका विभिन्न कार्यक्रमहरूमा सहयोग र समर्थन गर्ने । राहत वितरण कार्यमा नाम सङ्कलनमा स्थानीय तहलाई सहयोग पुर्‍याउने ।

            यसैगरी लकडाउनबाट पर्नसक्ने नकारात्मक प्रभाव कम गर्नको लागि वित्तीय सहकारी संस्थाहरूले लकडाउनको अवस्थामा सदस्यहरूको अति आवश्यक वस्तु खरिद गर्न घरमा पैसाको अभाव हुनसक्ने कुरालाई मध्यनजर गरी सम्बन्धित सदस्यहरूको खाताबाट सीमित रकम भुक्तानीको सुविधा उपलब्ध गराउने व्यवस्था मिलाउन सकिन्छ । ऋणी सदस्यहरूले चैतभित्र बुझाउनुपर्ने सावाँ व्याजको किस्ता लकडाउनको समय सकिएपछि बुझाउन सक्ने गरी वा अन्य सुविधाको बारेमा सदस्यहरूलाई जानकारी गराउने, सदस्यहरूले संस्थामा राखेको मुद्दति रकमको म्याद सकिएको भए सो म्याद थप वा व्याज भुक्तानी पाउनेबारेमा सम्बन्धित सदस्यलाई जानकारी गराउने कुरामा सहकारी संस्थाका सञ्चालक र कर्मचारीहरूले ध्यान पुर्‍याउन सकिएमा धेरैको चिन्ता हट्छ । उपभोक्ता सहकारी संस्थाहरूले सङ्‍क्रमणबाट बच्ने उपायहरूसहित खाद्य तथा उपभोग्य वस्तु सुलभरूपमा बिक्री वितरण गर्ने, पर्याप्त मात्रामा भण्डारणको व्यवस्थापन गर्ने र उपभोक्ताबाट माग सङ्कलन गरी खाद्यान्न वस्तु होमडेलीभरीको व्यवस्था गर्ने काम गर्न सकिन्छ । कृषि सहकारी संस्थाहरूले कृषक र उपभोक्ताको बीचमा विचौलियाहरूले लिने अनुचित नाफा कम गराउनका लागि र स्थानीय उत्पादनलाई प्राथमिकता दिनका लागि कृषकहरूको खेतखलानमा गई तरकारी सङ्कलन गरी उपभोक्ताहरूमा बिक्री वितरण गर्ने, बीउबिजनको लागि आवश्यक जोहो गर्ने र रसायनिक मलको आवश्यक मौज्दात राख्ने कुरामा ध्यान पुर्‍याउनुपर्ने अवस्था छ । दूध उत्पादक सहकारी, सूचना सहकारी र स्वास्थ्य सहकारीजस्ता विषयगत सहकारी संस्थाहरूले पनि उद्देश्यअनुसार काम गरी आम उपभोक्तालाई सेवा पुर्‍याउन सकिन्छ ।

            अहिले नेपाल सरकारको निर्णयअनुसार स्थानीय नगरपालिकाहरूले लकडाउनबाट प्रत्यक्ष प्रभाव परेका व्यक्तिहरूलाई राहत वितरण गर्ने कार्यक्रम अगाडि बढाइरहेका छन् । लकडाउनको कारणले साँच्चिकै खान नपाएका व्यक्ति वा परिवारले मात्र राहत पाऊन् र हुने खानेले होइन कि हुँदा खानेले मात्र राहत पाऊन् भन्नका लागि सहकारी संस्थाका सञ्चालक र कर्मचारीहरूले राहत वितरण कार्यको लागि नाम सङ्कलन गर्ने कार्यमा स्थानीय तहलाई सहयोग पुर्‍याउन सकिन्छ । अहिले सङ्कटको बेलामा जहाँसुकै आर्थिक अभाव हुनसक्छ । आधिकारिक निकायबाट सङ्‍क्रमण रोकथाम तथा नियन्त्रणका लागि खडा गरिएका कोषहरूमा आर्थिक सहयोग गरेर पनि सहकारी संस्थाहरूले सहयोग गर्न सकिन्छ ।

            सहकारीले व्यवसायमात्रै गर्दैन र नाफा वितरणको कुरामात्र गर्दैन । सेवामूलक काम पनि गर्छ । सेवा गर्नु सहकारीको कर्म र धर्र्म पनि हो । राज्य र आम जनता सङ्कटको बेलामा सहकारीको मूल मर्मअनुसार सञ्चालक समितिका पदाधिकारी र कर्मचारीहरू आफू पनि सुरक्षित हुने गरी सेवामा तत्पर रहनुपर्छ । अनिमात्र समुदायमा आधारित सहकारी संस्था हो भनी गर्व गर्ने ठाउँ रहन्छ ।

मजदुर दैनिक, २०७६-१२-२७ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *