भर्खरै :

कुखुरा व्यवसायमा कोरोनाको कहर ः दैनिक २२ करोड नोक्सान

काठमाडौँ, २७ चैत । हरेक साता ४२ लाख जिउँदो चल्ला खाल्डोमा पुरेर माउलाई दाना जोहो गरिरहेका छन् ‘ह्याचरी’ व्यवसायी । गोदाममा अण्डाको हेरिनसक्नुको थुप्रो छ । उता हुर्किएका ब्रोइलर कुखुरा पनि खान नपाएर खोरमै मर्न थालेका छन् । तर, व्यवसायी भने महामारी रोकथामका लागि सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) का कारण उत्पन्न यो अवस्था टुलुटुलु हेरेर बस्नुबाहेकको अर्काे विकल्प पाएका छैनन् ।
दुई साताको लकडाउनले मात्र नभएर विगत दुई वर्ष यता नै कुखुरापालन व्यवसायमा देखिएको उतारचढावका कारण धेरै कृषक विस्थापित भइसकेका छन् । बैङ्क सारेर ऋण थपेका कृषकमात्र टिकेको व्यवसायीहरूले बताउँदै आएका छन् । तर, यतिखेरको यो महामारीले त झन् कति व्यवसायी र यससँग प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा जोडिएका किसान विस्थापित हुने हुन् भन्ने कुराको आकलन अहिले नै गर्न गाह्रो भएको छ । चितवन कुखुरापालन व्यवसायको प्रमुख जिल्ला हो ।
कुखुरापालक कृषक एवं व्यवसायीहरूको छाता संस्था नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोख्रेल लकडाउन सुरु भएदेखि नै दैनिक कम्तीमा पनि रु. २२ करोड ४० लाख ६० हजार यो व्यवसायमा घाटा भइरहेको बताउनुहुन्छ । पोख्रेलको भनाइमा चल्लामा रु. ३ करोड ४५ लाख ७० हजार, ब्रोइलर तयारी कुखुरामा रु. १५ करोड, अण्डामा रु. ३ करोड ४५ लाख ९० हजार र अन्यमा रु. ५० लाख दैनिक नोक्सान व्यहोर्नुपरेको छ । “यो आजसम्मको अवस्था हो, यो लकडाउन अझै लम्बिँदै जाने हो भने यो नोक्सानीले कुन रूप लिने हो अहिले नै भन्न अझै गाह्रो छ” उहाँ भन्नुहुन्छ ।
पोख्रेल व्यवसायी टिक्नै मुस्किल हुने अवस्थामा पुगेको बताउनुहुन्छ । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्षसमेत रहनुभएका पोखे्रलका अनुसार देशभरमा ८ वटा लेयर्स चल्ला उत्पादन गर्ने ह्याचरी छन् । तीनले सातामा २ लाख चल्ला उत्पादन गर्दछन् । प्रतिगोटा चल्लाको लागत मूल्य रु. ९० पर्दछ । हाल ती खोरहरूमा १ लाख माउ छन् । अमेरिका, जर्मन, हल्याण्ड र फ्रान्सबाट ल्याइएका ती माउको प्रतिगोटा रु. १ हजार पर्ने पोख्रेलले बताउनुभयो ।
ब्रोइलर चल्ला उत्पादन गर्ने ३ सय २२ ह्याचरी छन् । ती ह्याचरीले सातामा ३५ लाख चल्ला उत्पादन गर्ने उहाँको भनाइ छ । नेपालसँगै थाइल्याण्ड, मलेसिया, फिलिपिन्स, अमेरिका, बेलायत र भातबाट ब्रोइलर प्यारेन्ट ल्याउने गरिन्छ । ती माउ प्रतिगोटा रु. ६ सय ५० पर्दछ । ब्रोइलर चल्लाको लागत मूल्य रु. ५७.४५ पैसा पर्ने पोख्रेल बताउनुहुन्छ । उहाँका अनुसार कोइलर र कलर ब्रोइलर चल्ला उत्पादन गर्ने ह्याचरी १४ वटा छन् । जसले सातामा ४ लाख चल्ला उत्पादन गर्दै आएका छन् । कलर ब्रोइलर र कोइलर भारत र युरोपबाट ल्याइएका हुन् । कलर ब्रोइलरको माउ (प्यारेन्ट) रु. १ हजार र कोइलर रु. तीन सयमा ल्याइएका हुन् र तिनको लागत मूल्य रु. ४० पर्ने गर्दछ । हाल देशभरका ह्याचरीमा १ लाख ४० हजार माउ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *