भर्खरै :

‘सम्झनामा गोविन्द भट्ट’ सरसरती पढ्दा

-सीतु
“नेपाली भाषाका प्रगतिशील समालोचक गोविन्द भट्टजी सदा त्यस क्षेत्रका हस्ती हुनुहुन्थ्यो । यस क्षेत्रमा उहाँ सदा सम्झिरहने व्यक्तित्व हुनुहुन्थ्यो ।” नेपाल प्रज्ञा प्रतिष्ठानको डबली, कमलादीमा विसं २०६८ असोज २५ गतेको बिहानीमा गोविन्द भट्टको पार्थिव शरीरमा श्रद्धासुमन अर्पणपश्चात् छेउमा राखिएको शोकपुस्तिकामा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले यी शब्दमार्फत भट्टजीको स्मरण गर्नुभयो र गहिरो समवेदना प्रकट गर्नुभयो । त्यो दिन लेखक, कवि, कलाकार, बौद्धिक व्यक्तित्वहरू, राजनीतिक नेता कार्यकर्ताहरू भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न ठूलो सङ्ख्यामा त्यहाँ पुगेका थिए ।
नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा २०७६ जेठ २९ गते ‘सम्झनामा गोविन्द भट्ट’ पुस्तकको सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भयो । प्रमुख अतिथि हुनुहुन्थ्यो, का. रोहित । कार्यक्रममा भट्टजीका मित्रहरू, परिवारजन र स्रष्टा–कलाकारहरूको राम्रो जमघट थियो । पुस्तक सार्वजनिक गर्नुहुँदै अध्यक्ष रोहितले भन्नुभयो, “म कहिले प्रवासमा, कहिले जेलमा परेँ र भट्टजी कहिले देश बाहिर । त्यसकारण मैले त्यति धेरैे समय नजिक बस्न पाइनँ । तर, उहाँको लेखन, सरल व्यक्तित्व, अनुवाद कला, समालोचना सदा स्मरणीय रहने छ ।” अन्य वरिष्ठ स्रष्टाहरूले भट्टजीको बहुआयामिक व्यक्तित्व तथा योगदानबारे प्रकाश पार्नुभयो । उहाँको मृत्युसँगै नेपाली साहित्य जगतले एक विद्वान चिन्तक तथा लेखक अस्ताएको भन्दै दुःख व्यक्त गर्नुभयो  ।
‘सम्झनामा गोविन्द भट्ट’ पुस्तक जम्माजम्मी पच्चानब्बे जना लेखक, राजनीतिक नेता, विद्वानहरूका संस्मरणात्मक लेख–रचनाहरूको स·ालो हो । तस्वीर, चिट्ठीपत्र, शोक मन्तव्य आदि समेटिएको यो पुस्तक ६६० पृष्ठको छ । गोविन्द भट्ट एक माक्र्सवादी चिन्तक, प्रगतिवादी लेखक, विद्वान समालोचक, सिद्धहस्त अनुवादक भएको ती संस्मरणहरू पढ्दा थाहा हुन्छ । नेपाल–चीन मैत्री सङ्घका एक सदस्यको नाताले समेत भट्टजीले नेपाल–चीनबीचको मित्रता प्रगाढ बनाउन महत्ववपूर्ण भूमिका निर्वाह गर्नुभएको ती लेखबाट स्पष्ट हुन्छ । भट्टजी सरल स्वभाव, सादा जीवनशैली, शालीन व्यक्तित्व र फराकिलो विचारका हुनुभएकोबारे हरेक लेखकले मतैक्यता जनाउनुभएको पाइन्छ । उहाँ गम्भीर प्रकृतिको हुनुहुन्थ्यो र अध्ययन तथा लेखाइमा अझ गहिराइसम्म पुग्नुहुन्थ्यो भन्नेबारे धेरै संस्मरण लेखकले प्रस्ट पार्नुभएको छ । दर्शन, समालोचनाको क्षेत्रमा कलम चलाएर उहाँले नेपाली साहित्य जगतलाई उचाइमा पुर्‍याउन योगदान पुर्‍याउनुभएको र धेरै लामो समयसम्म उहाँको अभाव महसुस भइरहने छ भनी भट्टजीको उच्च मूल्याड्ढन गरिएको छ ।
भट्टजीको स्मरण नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) यसरी गर्नुहुन्छ, “समालोचक गोविन्द भट्ट बीपी कोइरालाको ‘तीन घुम्ती’ को आलोचना र पारिजातको चर्चित उपन्यास ‘शिरिषको फूल’ को आलोचनाबाट प्रकाशमा आउनुभएको थियो ।” अध्यक्ष रोहित अगाडि भन्नुहुन्छ, “उहाँ एकजना राम्रो अनुवादक पनि हुनुहुन्छ । साथै, उहाँ स्पष्ट वक्ता र देशको एक प्रगतिशील साहित्यकार हुनुहुन्छ ।”
विसं १९९४ साउन ३ गते रौतहटको पुरेनवा गाउँमा जन्मनुभएका भट्टजीको सादा जीवनशैली तथा व्यक्तित्वबारे शार्दूल भट्टराई भन्छन्, “पद र पैसाका ठूलठूला अवसरहरूलाई त्याग्ने गोविन्द भट्ट काँधमा कपडाको झोला भिरेर लुखुरलुखुर सडकमा हिँड्नुमै गौरवान्वित हुनुभयो ।” भट्टराई अगाडि भन्छन्, “कोही हुँदा पनि केही फरक पर्दैन । तर, कोही नहुँदा धेरै फरक पर्छ । कसैको विकल्प अरू कोही हुनसक्छ । तर, कोही आफै विकल्परहित हुन्छन् । जस्तोः गोविन्द भट्ट ।”
विजय सुब्बासँगको भेटमा देश हाँक्ने प्रधानमन्त्री–मन्त्रीहरूप्रति असन्तुष्टि जनाउँदै भन्नुभएको रहेछ, “वास्तवमा नेपालका राजनेताहरूमा लिडरसिप स्टेट्समेनसिप नै छैन ।”
भट्टजी लेखक बन्ने आशक्ति नभएको र धेरैभन्दा राम्रो लेख्ने प्रवृत्तिको हुनुभएको बताउँछन्, वासुदवे अधिकारी । मदन रेग्मी भन्छन्, “सन् १९९० सम्मको चीनको महत्ववपूर्ण विषयहरूमा हामी उहाँलाई ज्ञाता नै मान्थ्यौँ ।” “गोविन्द भट्ट उच्चतम् प्रतिभाका धनी हुनुहुन्थ्यो । अत्यन्त इमानदार र निष्ठावान हुनुहुन्थ्यो”, वरिष्ठ पत्रकार भैरव रिसाल भन्छन् । पत्रकार रिसालले तीतो यथार्थ पेश गरे, “गोविन्द भट्टजीलाई विभिन्न क्षेत्रका धेरैले प्रयोग गरे, शोषण गरे । उहाँको अत्यन्त भलाद्मीपन र प्रतिवाद नगर्ने बानी यसको कारण हो जस्तो लाग्छ ।”
भट्टजी माक्र्सवादपट्टि खास गरेर ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दृष्टिपट्टि समर्पित हुनुहुन्थ्यो भनी स्मरण गर्छन्, प्रा.डा. चैतन्य मिश्र । मिश्र लेख्छन्, “भट्टजी त्यो कालखण्डमा माक्र्सवादी हुनुभयो, जुन कालखण्डमा नेपालमा ज्यादै थोरैमात्र माक्र्सवादी थिए ।”
यसप्रकार विभिन्न विद्वान लेखकहरूले भट्टजीबारे फरक–फरक कोणबाट लेखेर उहाँको व्यक्तित्व र योगदान उजिल्याउने काम गरेका छन् । नेपालका अग्रज विद्वानहरूबारे नयाँ पुस्तालाई जानकारी दिनुभनेको प्रेरणा दिनु, मार्गनिर्देश गर्नु र जीवन उद्देश्य तय गर्न उत्साहित गर्नु हो । साथै देश र जनताको निम्ति गुण लगाएकाहरूप्रति सम्मान व्यक्त गर्नु र योगदानको कदर गर्नु सभ्य समाजको परिचय पनि हो ।
गोविन्द भट्टद्वारा ‘रोहितको आकृति’ मा लेख्नुभएको भूमिका ‘राजनीति, साहित्य र सङ्घर्षको कथा’ नै उहाँको अन्तिम भूमिका साहित्य हुनसक्ने बताउँछिन्, कवयित्री इन्दिरा प्रसाईँ । भट्टको भौतिक अनुपस्थितिले साहित्यको संसारमा ठूलै चोट परेको अनुभव गर्दै उनी भन्छिन् – “सकारात्मक चिन्तक, परिपक्व बौद्धिक चेतनापुञ्ज, समदृष्टिका अनुपालक, कार्ल माक्र्सका वास्तविक शिष्य, सादा जीवन उच्च विचारका नमुना व्यक्तित्वलाई हाम्रो माझबाट खोसेर नियतिले हामीलाई जिल्याएको छ ।”
गोविन्द भट्ट स्वयम् भन्नुहुन्छ, “मेरो सबभन्दा प्रिय विषय दर्शन र साहित्य हो ।” यी दुई क्षेत्रमै उहाँले आफ्नो जीवन समर्पण गर्नुभएको यो पुस्तकले प्रस्ट पार्छ । वरिष्ठ लेखक आनन्ददेव भट्ट लेख्छन्, “उहाँ दार्शनिकरूपले माक्र्सवादी हुनुहुन्थ्यो र विश्वको राजनैतिक आयाममा उहाँ दुनियाँका सबै कम्युनिस्ट मुलुकको समर्थक हुनुहुन्थ्यो ।”
प्रगतिवादी समालोचनाका क्षेत्रमा अत्यन्त महत्ववपूर्ण योगदान भट्टजीको रहेको बताउँदै अमर गिरी यसरी स्मरण गर्छन्, “भट्ट माक्र्सवादी समालोचनाका प्रतिमानहरूलाई उपयुक्त रूपमा प्रयोग गर्ने पहिलो समालोचक हुन् । भट्टका समालोचनामा वस्तुनिष्ठ, विश्लेषण गहिरो छानबिन र मूल्य निरूपण पाइन्छ ।” भट्टको देहावसानसँगै नेपाली प्रगतिवादी समालोचना साहित्यले ठूलो क्षति व्यहोरेको धेरैको अनुभव छ ।
समालोचना क्षेत्रमा भट्टजीको योगदानबारे दीपेन्द्र अधिकारी लेख्छन् – “नेपाली समालोचनाको टुकटुके बामे सराइका क्रममा लामै समयपछि मात्र आएर हृदयचन्द्रसिँह प्रधान (१९७२–२०१६) ले नेपाली समालोचनामा प्रगतिवादी माक्र्सवादी विचारधारालाई प्रवेश गराएका हुन् । त्यसपछि क्रमशः श्यामप्रसाद शर्मा (१९८३), ताना शर्मा (१९९१), कृष्णचन्द्रसिंह प्रधान
(१९८२–२०६८) हुँदै विभिन्न मोड र उपमोडहरूमा अलमलिएको प्रगतिवादी समालोचनालाई सशक्तरुपले डोर्‍याउने र दौडाउने काम गोविन्द भट्टले गरे ।”
अलि पृथक शैलीमा भट्टजीको स्मरण अनिल पौडेल गर्छन् । गोविन्द भट्टले विभिन्न कार्यक्रममा राख्नुभएको विचारका टिपोटहरू प्रस्तुत गरिएको छ । भट्टजीले एक कार्यक्रममा बोल्नेक्रममा भन्नुभएको रहेछ, “मानवीय संवेदनाको सर्वोच्च प्राप्ति साहित्य हो । समाज वर्गीय भएपछि साहित्य कसरी वर्गविहीन हुन्छ ?” साथै भट्टजीले भन्नुभयो, “सबैलाई प्रेम गरौँ भन्नु वर्गसङ्घर्षमाथि पानी खन्याउने दाउ हो । प्रेम हुन्छ भने घृणा पनि हुन्छ । प्रेममात्र गरियो, घृणा गरिएन भने पाखण्डी भइन्छ । घूस खानेलाई, हत्यारालाई, अपराधीलाई इमानदारलाई र सज्जनलाई बराबर प्रेम गर्न सकिन्छ र ? सकिँदैन । त्यसैले अमूर्त र आदर्शवादी प्रेम संसारमा छैन ।”
यस पुस्तकका सम्पादकहरू विष्णु प्रभात, वासुदेव अधिकारी र सुदर्शन श्रेष्ठले ठूलो मेहनत लगाएको पाठकहरूले अध्ययनको क्रममा प्रस्ट अनुभव गर्नेछन् । संस्मरण साहित्यको क्षेत्रमा यो पुस्तक अमूल्य उपलब्धि मान्न सकिन्छ । लाखौं करोडौँ खर्च गरेर बनाइने सालिकभन्दा यस्ता पुस्तकमा जीवन, सन्देश र विचार हुने निर्विवाद छ । विद्वान साधक, देशभक्त योद्धा, जनसेवकहरूलाई यस्तै कृतिहरूबाट युग–युगसम्म जीवित तुल्याउन सके समाजले बाटो नबिराउला ! सालिक बनाउने र पूज्ने संस्कारभन्दा यस्ता साहित्य प्रकाशन बुद्धिमानी एवम् दूरदृष्टि हो । सच्चा श्रद्धाञ्जली तथा भावपूर्ण सम्झना सायद त्यही नै हो । तसर्थ, ‘सम्झनामा गोविन्द भट्ट’ को लागि एक पाठकको नाताले सम्पादक र प्रकाशकमा आभार !
मजदुर दैनिक, २०७६-१२-२९

Leave a Reply

Your email address will not be published. Required fields are marked *