भर्खरै :

आपतमा के गर्दै नेपालका राजदूतहरू ?

   कुनै देशले मित्र देशमा किन कूटनीतिक नियोग स्थापना गरेको हुन्छ ? निःसन्देह मित्र देशमा रहेका आफ्ना जनताको हित, मित्र देश र आफ्नो देशबीच आपसी हितमा आधारित सम्बन्धको विकास, आफ्नो देशलाई आपत् पर्दा मित्र देशबाट र मित्र देशलाई आपत् पर्दा आफ्नोतर्फबाट सहायतामा समन्वय गर्न नै कूटनीतिक नियोगको स्थापना गरिएको हुन्छ । तर, भारतस्थित नेपालको कूटनीतिक नियोग आफ्ना यस्ता दायित्ववबाट विमुख बनेको छ ।
            भारतले २१ दिनको लकडाउन गरे पनि भारतका विभिन्न सहरमा रहेका नेपाली जनता विचल्लीमा परे । वर्षको लाखौंको सङ्ख्यामा भारतमा गएर श्रम बेच्ने नेपालीहरूमध्ये दसौं हजार नेपाल प्रवेश गरिसकेका छन्, हजारौं आज सिमानामा क्वारेन्टिनमा छन् भने लाखौं नेपाली भारतमै छन् । दैनिक ज्यालादारी काम गर्ने नेपालीहरू न त्यहीं बस्न सक्ने अवस्था छ, न आफ्नो जन्मभूमि फर्की हाल्ने अवस्थामा छन् । तर, भारतमा नेपाल सरकारको आधिकारिक उपस्थिति जनाउने नेपाली राजदुतावासले त्यस्ता लाखौं मानिसको विषयमा केही चासो नदिइरहेको गुनासो व्यापक रूपमा सुनिंदैछ ।
            खुला सिमानाको कारण नेपालमा भारतीय मजदुरको सङ्ख्या र भारतमा नेपालीहरूको सङ्ख्याको कुनै आधिकारिक तथ्याङ्क छैन । भारतको कुन सहरमा कति नेपाली कुन अवस्था र पेशा व्यवसाय गरिरहेका छन् भन्ने तथ्याङ्क नेपाल सरकारसँग नहुँदा आज आपत्मा परेका नेपालीलाई सन्त्वनासम्म दिने क्षमता नेपालले देखाउन सकेको छैन । भारतमा रहेका नेपालीहरूले आपत्को बेला दिल्लीस्थित नेपाली दुतावासले फोनसम्म पनि नउठाएको गुनासो गरिरहेका छन् । आफ्ना नागरिकको सुरक्षाको निम्ति जिम्मेवार दुतावासले यस्तो बेवास्ता गर्नु खेदजनक छ । आपत्मा परेका नागरिकले महसुस गर्न सकिने राज्यको उपस्थिति नेपाल सरकारले छिमेकी देश भारतमा नै देखाउन सकेको छैन भने सात समुद्रपारिका देशमा देखाउने के आशा गर्न सकिएला र ?
            अर्कोतिर नेपालमा चिकित्सकीय सामग्रीको सख्त खाँचो परेको बेला छिमेकी चीनमा नेपालका राजदुतको उपस्थिति छैन । लीलामणि पौडेललाई यही बीच राजदुत पदलाई पदच्युत गरियो भने महेन्द्रबहादुर पाण्डेको नियुक्ति प्रक्रिया टुङ्गिएको छैन । यसैकारण नेपाललाई अत्यावश्यक सामग्री चीनबाट ल्याउन विलम्ब भएको सञ्चारमाध्यममा चर्चा भइरहेको छ । सारा संसार कोभिड–१९ को महामारीबाट आ–आफ्ना नागरिक रक्षाको लागि दिलोज्यान दिएर लागिरहेको समयमा नेपालका दुई छिमेकीमध्ये भारतको राजदुतावास मुखमा दही जमाएर बसेको छ भने चीनमा यही बेला राजदुत नहुनु दुःखको कुरा हो । यसले सरकारको अपरिपक्व कार्यशैली उजागर गरेको छ ।
            राणाशासनमा विदेशी कूटनीतिक नियोगमा श्री ३ कै भाइभतिजालाई छोडेर अरु कोही भारदारले पनि जान पाउँदैन्थ्यो । आजका शासकहरूमा पनि अझै राणाकालीन शैली बाँकी रहेको वास्तविकता अहिलेको शासन शैलीबाट देखिएको छ । देशको हितलाई भन्दा आफ्नो सत्तास्वार्थलाई ध्यानमा राखी कूटनीति चलाउन खोज्दा आज आपत्को बेला नेपाली कूटनीतिक नियोग पङ्गु बनेका छन् । वार्षिक अरबौं खर्च गरेर देशले विदेशस्थित कूटनीतिक नियोग स्थापना गरेको हुन्छ । के कूटनीतिक नियोग सत्तासीनका भाइ भारदारको निवृत्त जीवन बिताउने र देशको ढुकुटीमा रजाई गर्न जाने ठाउँ हो ? खोई त आपत्को बेला नेपालका कूटनीतिक नियोगका सक्रियता ? के उनीहरूका गतिविधि नेपाली जनताले थाहा पाउने अधिकार राख्दैनन् ? नेपालको परराष्ट्र मन्त्रालय के गरिरहेको छ ? नेपालका कूटनीतिक नियोगको चुस्त सञ्चालनको निम्ति मन्त्रालयले के निर्देशन दिएको छ ? विदेशमा रहेका नेपालीहरूको सुरक्षाको निम्ति सरकारको तयारी के हो ? यी प्रश्नको जवाफ पाउने अधिकार नेपाली जनतालाई छ ।
मजदुर दैनिक, २०७६-१२-२९

Leave a Reply

Your email address will not be published. Required fields are marked *