भर्खरै :

श्रमिक जनतामाथि थप विपत्तिको कारण के ?

मजदुर दैनिक सम्पादकीय
         कोभिड–१९ को विश्वव्यापी महामारीले संसारका पुँजीवादी देशको सामाजिक सुरक्षा प्रणाली कति कमजोर छ भन्ने कुरा उजागर गरेको छ । महामारी प्रतिरोधको क्रममा संसारका अधिकांश देशले आंशिक वा पूर्णरूपमा लकडाउन घोषणा गरे । कति देशले औपचारिक लकडाउन घोषणा गरेनन् । तथापि व्यवहारमा मानिसलाई घरबाहिर नआउने आह्वान गरियो । फलतः आज संसारको अधिकांश भूभाग कोभिड–१९ को प्रतिरोधमा लकडाउनमा छ ।
            लकडाउनसँगै संसारभर नै एकैचोटि जस्तै एउटा समस्याले संसारलाई छोप्यो । त्यो हो–दैनिक ज्यालादारी मजदुरहरूको जीवनमा सकस । प्रकृतिसँगको लडाइँ गर्न राज्यहरूले नियमित आर्थिक गतिविधि रोकेको एक सातामा नै समाजको श्रमजीवी वर्गको जीवन निकै कष्टकर बन्यो । उनीहरूलाई हातमुख जोड्नसम्म धौधौको अवस्था बन्यो । यसको सबभन्दा भयावह तस्वीर संसारले भारतमा देख्यो । नेपालका विभिन्न ठूला सहरमा बस्दै आएका मजदुरलाई दैनिक गुजारा चलाउन धौधौ भएपछि रातारात हिँडेरै गाउँ फर्किरहेका छन् । पाकिस्तानले यस्ता समस्या आउने पूर्वानुमान गरेर लकडाउन नै लागू गरेन । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बरु त्यहाँका जनतालाई सचेतरूपमा घरबाट बाहिर नआउन आह्वान गरे ।
            विश्व स्वास्थ्य स·ठनले लकडाउन गर्ने विभिन्न देशको निर्णयले कोभिड–१९ को भाइरस सङ्‍क्रमण नियन्त्रणमा मद्दत पुगेको बताएको छ । त्यसकारण, चीनबाहेक आज सबै देशले आफूले लागू गर्दै आएको लकडाउनलाई अझ लम्ब्याएका छन् । तर, लकडाउन लम्बिएसँगै श्रमजीवीको सामाजिक सुरक्षाको क्षीण अवस्थालाई भने अधिकांश सरकारले जोड दिइरहेका छैनन् । धेरै सरकारले यसलाई मानवीय सङ्कटको रूपमा प्रचार गरिरहेका छन् । भाइरसले मानव समाजमाथि गरेको हमला सिङ्गो मानव जातिको लागि चुनौती हो । तर, आज समाजमा श्रमिक जनताले भोगिरहेको समस्या भने मानवीय नभई अर्थ–राजनीतिक समस्या हो । निजी सम्पत्ति र नाफामा आधारित पुँजीवादी राजनीतिक व्यवस्थाले सङ्कटको समयमा आफ्नो कमजोरी लुकाउन चाहेर पनि लुकाउन सकेको छैन । उत्पादनका प्रमुख आधार श्रमिक जनतालाई आजको आपत्कालीन समयमा समेत सामाजिक र आर्थिकरूपमा सुरक्षित राख्न नसक्ने राज्य व्यवस्था कसरी व्यापक जनताको हित गर्ने राजनीतिक व्यवस्था हुनसक्छ !
            ठूला आर्थिक केन्द्र मानिएका सहरलाई समृद्धि र भव्यता दिने श्रमिक जनता संसारभर महामारी फैलिएको अवस्थामा किन ती सहरमा टिक्न सकेनन् ? किन आर्थिक गतिविधि रोकिएको साता दिन पनि नपुग्दै श्रमिकलाई मुखमा माड लगाउन समस्या भयो ? मजदुरहरूले रातोदिन गरेको श्रमको मूल्य उनीहरूलाई एक साता बाँच्न पनि अपुग हो ? कोभिड–१९ को महामारीले पुँजीवादी समाजको यो वास्तविकता उजागर गरेको छ । मानवताको आवरणले यो गन्हाएको पुँजीवादको दोषलाई छोप्न सकिन्न । कोभिड–१९ लाई प्राकृतिक प्रकोप (कोभिड–१९ कृत्रिम प्रकोप भएको तर्कलाई अपेक्षा गर्न सकिंदैन) मान्ने हो भने पनि यस्ता प्रकोप सामना गर्न मानिसलाई नाफामा आधारित व्यवस्थाले नै कमजोर बनाएको अहिलेको परिस्थितिले पुष्टि गरेको छ ।
            प्रकोप र चुनौती जसरी आएको हो, त्यसरी नै जाने आशा गरौँ । अहिलेको उकुसमुकुसको समय सधैँ रहनेछैन । तर, चुनौतीको समयपछि सचेत र विवेकशील मानिसले विपत्तिको समयमा मानव समाजको प्रतिरोध कमजोर हुनुको कारणबारे चिन्तन गर्न आवश्यक छ । शरीरमा लाग्ने रोग त निको होला अथवा केही मानिसलाई हामीले गुमाउनुपर्ला । तर, सामाजिक रोगले भने समाजलाई धेरै लामो समयसम्म घाइते बनाएको हुन्छ । त्यो रोगले असङ्ख्य मानिसलाई हामीले फेरि फेरि पनि गुमाइरहनुपर्नेछ । तसर्थ, आजको सामाजिक र राजनीतिक बन्दोबस्तको कमजोरीबारे छलफल थालौँ । 
२०७६-१२-३०

Leave a Reply

Your email address will not be published. Required fields are marked *