भर्खरै :

घरेलु आर्थिक गतिविधिको प्रवर्द्र्धन आवश्यक

कोभिड–१९ को महामारी रोकथाम र नियन्त्रण गर्न सरकारले  वैशाख १५ गतेसम्मको लागि लकडाउन लम्ब्याएको छ । सरकारले लकडाउनको अवधि तेस्रो पटक लम्ब्याएको हो । वैशाख १५ पछि पनि लकडाउनको अवधि अझै लम्बिने सम्भावनालाई नकार्न सकिन्न । संसारभर महामारीको रूपमा फैलिएको यो प्राणघातक भाइरसबाट नेपाली जनताको रक्षाको लागि राज्यले लकडाउन आवश्यकताअनुसार लम्ब्याउन सक्छ ।
            झन्डै महिना दिन लामो लकडाउनको कारण देशको आर्थिक गतिविधि निकै कम छ । यसले देशको अर्थतन्त्रमात्र कमजोर बनाएको छैन, व्यक्ति र परिवारको आर्थिक अवस्थासमेत कमजोर बनाएको छ । त्यसकारण सरकारले घरभित्रै बसेर गर्न सकिने आर्थिक उत्पादनका गतिविधिको लागि नागरिकलाई प्रोत्साहन गर्नुपर्छ । ग्रामीण भेगमा खेती किसानी गर्नेलाई उपयुक्त सुरक्षा सामग्रीको प्रयोग गरी उत्पादनमूलक काममा लाग्न आह्वान गर्नुपर्छ । बरु विज्ञ व्यक्तिमार्फत के गर्दा सङ्‍क्रमणबाट पनि सुरक्षित रहन सकिन्छ भन्ने विषयमा सल्लाह दिइनु उपयुक्त हुन्छ ।
            विशेषतः सहरी क्षेत्रका जनता लकडाउनको कारण आर्थिकरूपमा बढी प्रभावित छन् । सहरी अर्थतन्त्रमा हरेकले हरेक थोक किनेर नै दैनिकी चलाइरहेका हुन्छन् । गोजीमा पैसा नहुँदा सहरमा बस्न मुस्किल हुने गर्छ । त्यही कारण आज सार्वजनिक यातायातका साधन नचल्दा पनि राजधानीलगायत ठूलो सहरबाट दैनिक हजारौँको सङ्ख्यामा मानिसहरू रातदिन पैदल घर फर्किरहेका छन् । लकडाउनको अवधि थपिएसँगै अब यसरी दैनिकी गुजारा चलाउन पनि धौ धौ हुने मानिसको सङ्ख्या अझ बढ्नेछ ।
            सहरका अधिकांश घर साँघुरा र आँगन नभएको हुनाले लकडाउनको अवधिमा मानिसलाई एकै कोठामा बस्नु पत्यारलाग्दो हुन्छ । यसले व्यक्ति र परिवारमा अनेकन खालका समस्या समेत निम्त्याउन सक्ने भएकोले राज्यका सम्बन्धित निकायले यसप्रति ध्यान दिन जरुरी छ । सक्रिय हुने कुनै पनि काम नभएपछि मानिस मानसिक र आर्थिक समस्यामा फस्न सक्छ । तसर्थ तीनै तहका सरकारले मानिसलाई घरभित्रै सक्रिय बनाउने स–साना आकारका सहजै सिक्न सकिने र गर्न सकिने काम गर्न प्रोत्साहन गर्नुपर्छ । सरकारले विभिन्न सञ्चारमाध्यममार्फत यस्ता कामको तालिमसमेत दिनसक्छ । यसको निम्ति सरकारले आपूर्ति प्रणाली भने प्रभावकारी बनाउन जरुरी छ ।
            पूर्णतः लकडाउन गर्दा इरान र पाकिस्तानले आर्थिकरूपमा सामना गर्नुपर्ने जटिलतालाई ध्यानमा राखी चालेका कदमबाट नेपालले पनि सिक्न जरुरी छ । लकडाउन गरेर यतिबेला रोगको रोकथाम र नियन्त्रण गर्न जति जरुरी छ, त्यत्ति नै आवश्यक महामारी पछिका दिनमा आउने सामाजिक र आर्थिक समस्याको सामना गर्न सरकारले अहिले नै तयारी गर्नु छ । यसको प्रारम्भ आजैदेखि नै जनतालाई घरमै बसेर गर्न सकिने स–साना उत्पादनका कामबारे सरकारले रणनीति बनाउन उपयुक्त हुन्छ । सरकारले सम्बन्धित विषयका व्यक्तिहरूको परामर्शमा यस्ता आर्थिक गतिविधि गर्नसक्छ ।
            प्रयोगमा नआएको हतियारको धारमा खिया लाग्ने गर्छ । दैनिक काम गरिरहेका जनतालाई महिना दिनसम्म घरमा बस्नुपर्दा शारीरिक र मानसिक दुवै हिसाबले शिथिल हुनु स्वाभाविक हो । त्यसकारण उत्पादनशील काममा लाग्ने सक्रिय पाखुरालाई सम्भव भएका आर्थिक गतिविधिमा संलग्न हुनेबारे राज्यका निकायले विचार गर्नु उपयुक्त हुन्छ । यसको अर्थ रोगको प्रतिरोधमा कुनै प्रकारको खेलाँची गर्ने पक्कै पनि होइन ।
२०७७-१-३

Leave a Reply

Your email address will not be published. Required fields are marked *