भर्खरै :

कोरोना भाइरस, लकडाउन र मानवीय समस्या

– झनकबहादुर
            कोरोना भाइरस अत्यन्त सूक्ष्म विषाणु हो । यो मानिसमा छिरेपछि घाँटी र फोक्सोको कार्य अवरुद्ध बनाइदिन्छ । समयमै पहिचान गरी उपचार गर्न नसके यसले मान्छेको ज्यान लिन्छ । ज्येष्ठ नागरिकमा यो भाइरस लाग्यो भने मानिस बचाउन कठिन हुन्छ । यो भाइरस सन् २०१९ डिसेम्बर ३१ मा चीनको हुपेई प्रान्तको उहान सहरबाट सङ्‍क्रमण सुरु भएको हो । हुन त यो भाइरस संरा अमेरिकाको प्रयोगशालामा निर्मित भाइरस हो भनी आशङ्का गरिएको छ । यो कोरोना भाइरसको सङ्‍क्रमणबाट चीनमा ३,३४२ जनाको ज्यान लियो । यो लेख्दासम्म चीनमा ८२,२९५ जना सङ्‍क्रमित भइसकेको थियो । त्यसमध्ये ७७,८१६ जना निको भइसकेका छन् र १,१३७ जना उपचारत छन् । सन् २०२० जनवरीदेखि हरेक दिन चिनियाँहरू यहीँ भाइरसको सङ्‍क्रमणबाट मृत्यु भइरहेकोमा अप्रिल ७ मङ्गलबार (चैत २५) गते एक जना पनि नमरेको रेकर्ड बाहिर आयो, यो राम्रो खबर हो । तर, कोरोना भाइरसले अहिले संरा अमेरिका र युरोपियन देशहरूमा वितण्डा मच्चाइरहेको छ ।
            पछिल्लो प्राप्त तथ्याङ्कअनुसार संसारभरमा २० लाख ५० हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको सङ्‍क्रमण भइसकेको छ र १ लाख ३७ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । सबभन्दा बढी संरा अमेरिकामा ६,४४,१८८ सङ्‍क्रमित भई २८,३८२ जनाको मृत्यु भइसकेको छ । दोस्रो सबैभन्दा बढी सङ्‍क्रमित देश स्पेनमा १,८०,६५९ सङ्‍क्रमित भई १८८१२ जना मानिसको ज्यान गएको छ । इटालीमा १,६५,१५५ जना सङ्‍क्रमित भई २१६४५ को भृत्यु भएको छ । इटाली देशभित्र पर्ने एक स्वतन्त्र देश सान मारिनोमा प्रति दश लाख जनसङ्ख्यामा सबैभन्दा बढी ११,७०५ जनाको दरमा कोरोना भाइरस सङ्‍क्रमित भएको छ । जम्मा ६१ वर्ग कि.मि. क्षेत्रफल भएको सान मारिनो देशमा ३३,४०० जनसङ्ख्या बसोबास गर्छन्, त्यसमध्ये ३९३ जना कोरोना भाइरस सङ्‍क्रमित भई ३६ जनाको ज्यान गइसकेको छ । त्यस्तै स्पेन र फ्रान्सको बीचमा रहेको ७७,००० जनसङ्ख्या भएको र १२ वर्ग कि. मि. क्षेत्रफल भएको र अण्डोरा देशमा प्रति १० लाख ८,६८० जनाको दरले सङ्‍क्रमित भएको छ । त्यस देशमा ६७३ जना सङ्‍क्रमित भई ३३ जनाको मृत्यु भइसकेको छ । उक्त देश अण्डोरामा उपचार गर्न कुनै युरोपियन देश नपुगेकोले समाजवादी देश क्युवाको चिकित्सक टोली पुगेर स्वास्थ्य उपचार गर्दै छ । संसारकै दोस्रो ठूलो जनसङ्ख्या (१३० करोड) भएको देश भारतमा पनि कोरोना भाइरस सङ्‍क्रमण बढ्दै छ । पछिल्लो तथ्याङ्क (४ वैशाख) सम्ममा १२३८० जनामा कोभिड–१९ सङ्‍क्रमण भइसकेको छ भने ४१४ जनाको मृत्यु भइसकेको छ । त्यहाँ खान नपाए र सन्तानलाई लकडाउनको बेला खुवाउने कुरा नभएर आत्महत्या गरेर बढी मान्छे मरिरहेको खबर छ ।
            कोभिड–१९ सङ्‍क्रमण भएमा निको पार्ने औषधि अहिलेसम्म पत्ता लगाइसकेको छैन । रोग प्रतिरोधात्मक क्षमता बढी भएका युवाहरूलाई यो सङ्‍क्रमण भएमा सुरुमै छुट्टै बसेर पनि निको गरेको देखिन्छ । खानपान, बसाइ राम्रो नभएका युवाहरूको पनि थुप्रै मृत्यु भएको छ । ज्येष्ठ नागरिकहरूलाई सङ्‍क्रमण भएमा यसबाट बचाउन निकै कठिन हुन्छ । तसर्थ कोभिड–१९ बाट सङ्‍क्रमित भई उपचार गर्नुभन्दा यो रोग लाग्नै नदिनु उत्तम उपाय हो । यो एक नयाँ खालको सरुवा रोग हो । यो रोग रोगी मान्छेसँग स्पर्स हुँदा, थुक, र्‍याल, खकार, सिङ्गान र सङ्‍क्रमित मान्छेले छोएको वस्तुहरूमा छोएपछि सर्ने गर्दछ । विशेषगरी कोरोना भाइरस भएको हातले मुखमा छुँदा आँखा, नाक, मुखबाट शरीरभित्र छिर्छ र सङ्‍क्रमण सुरु हुने गर्दछ । यो भाइरस सङ्‍क्रमणबाट बच्‍न भनी चीनले लकडाउन गरी सबै मानिसलाई उहानलगायतका ठाउँमा जनतालाई सुरक्षित उपचार गर्ने कार्य गरे । यसमा चीन सफल पनि भयो । लकडाउन अवधिभर सामाजिक दुरी कायम गरी बस्नु वा भोज, जात्रा, खेल, बैठक, जमघाट नगरी बस्नु नै सङ्‍क्रमणबाट बच्ने सर्वोत्तम उपाय हो ।
            अहिले कोभिड–१९ सङ्‍क्रमित प्राप्त सबै देशमा लकडाउन गरेको छ । लकडाउन सरकारले घोषणा गर्दा पनि अटेर गरी बाहिर निस्किने, फूटबल खेल्ने, रेष्टुरेन्ट–बारमा जाने बानी नछोड्दा युरोपियन देश इटालीमा धेरै मानिसमा कोरोना भाइरस सङ्‍क्रमण फैलियो ।
            इटालीमा २१,६४५ मानिसको मृत्यु भयो । त्यहाँका प्रधानमन्त्री कोन्टेले हरेस खानुपर्‍यो । युरोपियन युनियन र नाटोसँग सहयोग माग्दा सहयोग पाएन । दैनिक ८०० देखि ९०० जवानको दरले मान्छेको मृत्यु भयो । धेरै चिकित्सकहरूको पनि ज्यान गयो । तब जनतामा होस खुल्यो र मानिस बाहिर आउन छोड्यो । सरकारले घोषणा गरेको लकडाउनलाई त्यहाँको आपत्कालीन स्थितिलाई मनन गरी एसियाली देश जनवादी गणतन्त्र चीनले चिकित्सक टोलीले सङ्‍क्रमित इटालियन जनताको सेवा गरिरहेको छ । अत्यधिक सङ्‍क्रमित सङ्ख्या १ लाख ६५ हजारभन्दा बढी भएकोले पटक–पटक गरी तेस्रो पटक चीनले नयाँ चिकित्सक टोली पठाई सहयोग गरेको छ । दैनिक ५ हजारभन्दा बढी सङ्‍क्रमित बढिरहेको थियो भने अब दैनिक सङ्‍क्रमितको सङ्ख्या ३ हजारमा झरेको छ । दैनिक ८०० देखि ९०० को दरमा मानिस मृत्यु भइरहेको थियो भने अब दैनिक ५०० को मुत्यु भइरहेको छ । इटालीमा अब सङ्‍क्रमितको सङ्ख्या र मृत्युको सङ्ख्या घट्दो क्रममा ल्याउन चीनको सहयोग रह्यो । आशा गरौँ, इटालीमा अब सङ्‍क्रमण घट्दै जानेछ । इटालीबाहेक युरोपियन देशहरू स्पेन, जर्मनी, फ्रान्स, बेलायत, स्वीजरल्यान्ड, बेल्जियम, नेडरल्यान्ड, अस्ट्रिया र पोर्चुगललगायतका देशहरूमा पनि व्यक्तिगत स्वतन्त्रताको भावनाले सामाजिक दुरी कायम नगर्दा कोरोना भाइरस सङ्‍क्रमण दरमा कमी आएको देखिँदैन । जब पर्‍यो राति तब बुढी ताती भन्ने अवस्थामा युरोपियन जनता रहेको देखिन्छ ।
            विश्वमा दादागिरी चलाइरहेको देश संरा अमेरिकामा सङ्घीय सरकारले अहिले पनि लकडाउन गरेको छैन । फलस्वरुप त्यहाँ प्रतिदिन सङ्‍क्रमित सङ्ख्याको करिब ५% (प्रतिरात) का दरले सङ्‍क्रमित सङ्ख्या वृद्धि भइरहेको छ ।  वैशाख ४ गतेको तथ्याङ्क अनुसार सङ्‍क्रमितको सङ्ख्या जम्मा ६,४०,५०७ रहेको छ भने २४ घण्टाभित्र सङ्‍क्रमित वृद्धि भएको सङ्ख्या २९,२७० जना र थप मृत्युको सङ्ख्या २,४६८ रह्यो । संरा अमेरिकामा यो मितिसम्म मृत्यु हुनेको सङ्ख्या २८,३८३ जना पुग्यो । अझै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेत खुलेको छैन । चीनलाई प्रत्यक्षरूपमा निन्दा गर्न छोडेको छ । कोभिड–१९ ले चीनमा ताण्डव मच्चाइराख्दा चीनविरुद्ध जनवरी र फेब्रुअरी एवं मार्चभरि पछिल्लो हप्तासम्म ट्रम्पले हेप्ने र घृणा गर्ने कार्यमात्र गरे आपत्को बेला सहायता गर्नुको सट्टा उनले सराप्ने कार्यमात्र गरे । अमेरिकी राष्ट्रपति ट्रम्पले चैत १२ गते चीनले सुरुमै कोरोना भाइरसलाई पहिचान गरी रोक्न वा सार्वजनिकरूपमा जानकारी गर्न नसकेको आरोप लगाएको थियो । यो भाइरस नियन्त्रणका लागि चीनले माघ ९ गते उहानका जनतालाई घरभित्र बस्नुपर्ने लकडाउन लागू गरेको थियो । त्यसबेला ट्रम्पले चीनविरुद्ध प्रजातन्त्र र मानव अधिकार उल्लङ्घन गरेको आरोप लगाएका थिए । चैत ४ गते ट्रम्पले कोभिड–१९ लाई ‘चिनियाँ भाइरस’ भनी चीनविरुद्ध साम्प्रदायिक आरोप लगाएका थिए । चैत १९ गते ट्रम्पले आरोप लगाउँदै भने, “चीनले कोभिड–१९ भाइरस सङ्‍क्रमित र यसबाट मृत्यु हुनेको सङ्ख्या लुकायो । ”ट्रम्पका विदेशमन्त्री माइक पोम्पेओले चैत १२ गतेको जी–७ का विदेशमन्त्रीहरूको भिडियो सम्मेलनमा यो भाइरसको नाम ‘उहान भाइरस’ उल्लेख गर्नुपर्ने जोड गरेपछि सम्मेलनबाट संयुक्त वक्तव्य नै प्रकाशित भएन । विश्व स्वास्थ्य सङ्गठनले माघ २८ गते नै यो भाइरसको नाउँ कोभिड–१९ राखेको हो । यसरी अमेरिकी प्रशासनले चीन र चिनियाँको विरोधमा बोल्ने र घृणा गर्ने कार्य किन गर्‍यो ? त्यसको कारण चीनले गरेको प्रगति, चीनले गरेको मानवीय सेवा सहन नसकेर हो । यसले अमेरिकीहरूले गरेको अपराध र कमजोरी लुकाउन हो भन्ने प्रस्ट हुन्छ । आफ्नो देशमा २८ हजार बढी मानिस मरिसक्दा पनि चेत खुलेको छैन । उल्टो कहिले चीन र कहिले विश्व स्वास्थ्य सङ्गठनलाई रोग फैलनुको कारण देखाई आफ्नो देशका गरिब जनता बढीभन्दा बढी कोरोना–१९ कै कारण मार्ने अप्रत्यक्ष योजनामा लागिरहेको देखिन्छ । अहिलेसम्म हब्सी (काला) जातिका अमेरिकन बढी मरिरहेका छन् । जुन गरिब पनि छन् । पुँजीपति वर्गले बढी पैसा खर्च गरेर पनि उपचार गरिरहेको छ । अहिले अमेरिकामा स्वास्थ्यकर्मीको लागि चाहिने सुरक्षाका सामग्री पर्याप्त नभएर उपचार कार्यमा बाधा पुगिरहेको छ । चीनसँग मिलेर उपचार कार्यमा अगाडि नगएसम्म अमेरिकामा कोरोना भाइरसविरुद्धको लडाइँमा अमेरिका सफल हुनेछैन ।
            यो संसारमा पहिले पनि पटक–पटक विभिन्न सरुवा रोग फैलिएर धेरै मानव जातिको ज्यान लियो । कहिले प्लेग रोग त कहिले हैजा रोगले धेरै मानवको विनास गर्‍यो । एचआईभी एडस र इबोला भाइरसले पनि धेरै मानिसको ज्यान लियो । यो कोभिड–१९ रोग २१ औँ शताब्दीको सबैभन्दा बढी मानिस संहार गर्ने रोग भएर फैलिरहेको छ । मान्छे मान्छेको सम्पर्कले सर्ने भएको हुँदा घरमै बन्दी भएर बस्ने (लकडाउन) यो रोगबाट बच्ने उपाय हो । चीन समाजवादी देश भएकोले सबै आफ्ना जनतालाई बसाल्ने, खुवाउने र उपचार गर्ने व्यवस्था सरकारले मिलाइदियो । तर, लकडाउन पुँजीवादी व्यवस्थामा सफल गर्न निकै समस्या भएको छ । पुँजीवादी व्यवस्थामा सबै पीडित जनतालाई बस्ने, खाने, उपचार गर्ने व्यवस्था संस्थाले गर्ने गर्दैन । पुँजीपति मध्यम र निम्न मध्यम वर्गले आफ्नो व्यवस्था आफैँ गर्नसक्लान् । तर, बहुसङ्ख्यक श्रमिक, मजदुर, किसानहरू बस्ने, खाने व्यवस्था नभएर समस्यामा पर्ने गर्छ ।
            भारतमा २०७६ चैत १० र नेपालमा चैत ११ बाट अहिलेसम्म लकडाउन छ । करिब ३ हप्ताको अवधिमा गरिब जनताले निकै दुःख पाएको अवस्था छ । काठमाडौँमा काममा आएका मजदुर काम नपाएर खान पाएनन् । आफ्नो घर पनि जान पाएन । सवारी आवागमन सबै बन्द हुँदा खान नपाएर, घर जान नपाएर र बस्ने ठाउँ नभएर बिचल्ली भएका छन् । काठमाडौँदेखि तराईका जिल्ला, पहाडी जिल्लासम्म हिँडेरै घर फर्किरहेको अवस्था छ । बिनाजुत्ता, बिनाखाना बच्चा, महिला, केटाकेटी वृद्ध मानिस रातारात हिँडिरहेका छन् । ती जनताको व्यवस्थापन सरकारले नैतिकरूपमा गर्नुपर्दथ्यो, त्यो गरिएन । भारतमा ज्याला मजदुरी गरी फर्केका नेपालको सिमानामा आइपुगेर पनि उनीहरूको व्यवस्थापन नगर्नु यो सरकारको कमजोरी हो । पुँजीवादी व्यवस्थामा जनताको शासन व्यवस्था आवश्यक भएको अनुभव अब सबैले गर्न थालेको यो अवस्थाले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *