भर्खरै :

महामारीपछि वित्तीय सहकारीका सम्भावित चुनौती र अवसरहरू

-कृष्णप्रसाद आचार्य
            चीनबाट सन् २०१९ को डिसेम्बरमा सुरु भएको कोरोना भाइरस (COVID-19) का कारण हाल विश्व नै आक्रान्त बनेको अवस्था छ । यो धर्तीको सर्वश्रेष्ठ प्राणी मानवले सबै कुरालाई जितेर आजको शताब्दीसम्म आइपुग्दा मानिसले जित्न नसक्ने कुनै पनि कुरा छैन भनी प्रमाणित हुँदै गइरहेको अवस्थामा मानिसको आँखाले समेत देख्न नसक्ने सूक्ष्म जीवाणुको सङ्‍क्रमणबाट बच्‍न मानव जाति हाल घरभित्र आफै नजरबन्दमा बस्नु परेको अवस्था छ । विश्वका अधिकांश मुलुकहरू हाल लकडाउन (बन्दाबन्दी) मा छन् । नेपाल पनि हाल लकडाउन (बन्दाबन्दी) मै रहेको छ । अत्यावश्यक सेवाबाहेक सम्पुर्ण देशका सहरहरू सुनसान छन् भने आर्थिक गतिविधि ठप्प छन् । यो लकडाउन (बन्दाबन्दी) को समय अझ कति समय थप हुँदै जाने हो त्यसको अनुमान गर्न सकिने अवस्था छैन । जबसम्म यस भाइरसको सङ्‍क्रमण पूर्णरूपमा रोकिंदैन तबसम्म घरभित्र नै बसी अत्यावश्यक कामका लागि निस्कनु परेमा सामाजिक दुरी कायम गर्नु नै यसको रोकथामको उत्तम उपाय हो ।
            यस्तो विषम परिस्थितिमा बित्तीय कारोबार गर्ने सहकारी संस्थाहरूलाई यसको प्रत्यक्ष असर परेको छ । यस कोरोना भाइरसबाट बच्‍नका लागि आवश्यक पर्ने सुरक्षा सामग्री जस्तैः मास्क, पञ्‍जा तथा स्यानिटाइजर आदिको अभावका कारण यस विषम परिस्थितिमा आफ्ना सदस्यहरूलाई सेवा प्रदान गर्न चाहने सहकारी संस्थाहरूले समेत सेवा दिन सकेका छैनन् भने अर्कोतिर संस्थाका कर्मचारीहरूलाई आवतजावत गर्न सहजरूपमा अनुमतिसमेत सम्बन्धित निकायले दिने गरेको छैन । यो परिस्थिति पछि बित्तीय कारोवार गर्ने सहकारी संस्थाहरूले सामना गर्नुपर्ने चुनौती र ती चुनौतीहरू सँगसँगै आउने अवसरहरूको बारेमा चर्चा गरौँ ।
चुनौतीहरू :
तरलता सङ्कट
            यो लकडाउनको अवधि समाप्त भई सामान्य अवस्था आएपछि सदस्यहरूको अत्यधिक बचत फिर्ताको माग बढ्नेछ भने ऋणको अत्यधिक माग आउने देखिन्छ । यो तरलताको समस्या आउनसक्‍ने कुरालाई सबै बित्तीय सहकारीहरूले आकलन गरी संस्थामा भएको बचतको आधारमा राख्नुपर्ने सामान्य अवस्थाको तरलता दरभन्दा केही बढी नै व्यवस्थापन गर्न सक्नुपर्दछ ।
ऋणमा अत्यधिक भाखा नाघ्ने
            लकडाउन (बन्दाबन्दी) पछि विश्व अर्थतन्त्र नै आर्थिक मन्दीमा जानसक्ने विश्लेषणहरू भइरहेको सन्दर्भमा त्यसको चपेटाबाट नेपाल पनि अछुतो रहनसक्दैन । तसर्थ सामान्य अवस्था आए पनि आर्थिक गतिविधिमा सहजता आउनका लागि अर्को एक वर्षभन्दा बढी लाग्ने विज्ञहरूले अनुमान गरेका छन् । सम्पूर्ण उद्योग, कलकारखाना, व्यापार, व्यवसायहरू नियमित अवस्थामा सुचारु हुन समय लाग्ने हुन्छ । तसर्थ संस्थाबाट लगानी गरेका ऋणमा नियमित किस्ता तिर्नसक्ने सदस्यहरूको अवस्था रहँदैन ।
बचतमा कमी                        
            लामो समयको लकडाउन (बन्दाबन्दी) पछि सदस्यहरूले बचत जम्मा गर्ने सम्भावना केही समयसम्म नरहने तथा जम्मा गरेको बचत रकम झिक्ने अवस्था आउनेछ ।
आर्थिक मन्दी
            विश्‍वमा नै आर्थिक मन्दीको अवस्था आउनेछ र जसको प्रत्यक्ष असर हाम्रोजस्तो देशलाई पर्नेछ । यसबाट हाम्रा सदस्यहरूको आर्थिक कारोबारमा कमी आई सहकारीको बचत वृद्धिलगायतको सम्पूर्ण कारोबारमा प्रत्यक्ष असर पर्नेछ ।
ऋणी सदस्यहरू पलायन हुने सम्भावना :
            सहकारी संस्थाबाट ऋण दिई कुनै व्यापार व्यवसाय गरिरहेका सदस्यहरूको व्यवसाय नाजुक भई हाल बसेको स्थानबाट नै पलायन हुने अर्को ठूलो चुनौती पनि हाम्रोसामु रहेको छ ।
रेमिट्यान्समा कमी
            अधिकांश ग्रामीण क्षेत्रमा सहकारी संस्थाबाट ऋण लिई वैदेशिक रोजगारीका लागि गएका मानिसहरूको काम समाप्त भई वा कम्पनी बन्द भई रेमिट्यान्समा अत्यधिक कमी आउने भएकोले यसको प्रत्यक्ष÷अप्रत्यक्ष असर सहकारी क्षेत्रमा पर्ने देखिन्छ ।
बेरोजगारी समस्या
            स्वदेश तथा विदेशमा काम गरिरहेका धेरै मजदुरहरूको हाल भइरहेको लकडाउन (बन्दाबन्दी) मा उद्योग, कलकारखानाहरू बन्द भई कामबाट निकालिएको अवस्था छ । यो क्रम अझै बढ्ने सम्भावना रहेको छ भने वैदेशिक रोजगारीमा जानेहरूलाई त्यहाँको सरकारले आफ्नो देश फर्कनका लागि अनुरोध गरिरहेको अवस्थामा ती सबै मानिसहरू नेपाल फर्कनुपर्ने अवस्था आएमा बेरोजगारी समस्या झन् बिकराल हुने देखिन्छ ।
स्वास्थ्य समस्या
            लामो समयको लकडाउन (बन्दाबन्दी) खुलेपछि मानिसहरूको आवतजावत बढी हुने, काम गर्ने शैलीमा परिवर्तन हुने, प्रदूषण बढ्ने आदि कारणहरूबाट स्वास्थ्यमा अनेकन समस्याहरू आउने देखिन्छ । यसका लागि सदस्यहरूलाई धेरै आर्थिक भार पर्न जाने जसको असर सहकारीको कारोबारमा समेत पर्ने देखिन्छ ।
मूल्यवृद्धि तथा भोकमरी
            देशमा मूल्य वृद्धिको अवस्था आउने कुरामा कुनै दुईमत नै छैन । यसको प्रत्यक्ष असर बित्तीय कारोबार गर्ने सहकारी संस्थामा समेत पर्न जान्छ । साथै दैनिक ज्यालादारीमा काम गर्ने अधिकांश मानिसहरूले खान नपाउने अवस्थामा पुग्ने र देशका भूमिहीन, मजदुरलगायत अति विपन्न वर्गमा भोकमरीको समस्या देखिन सक्छ ।
सुरक्षा चुनौती
            जब राज्यमा आर्थिक मन्दी, भोकमरी, मूल्यवृद्धिजस्ता कुराहरू हुन्छन् तब चोरी डकैती लुटपाटका घटनाहरू बढ्ने भएकोले सुरक्षा चुनौती आउनेछ ।
सानो पुँजी हुने सहकारी संस्थाहरूलाई सङ्कट
            लकडाउन (बन्दाबन्दी) पछिको अवस्थामा सदस्यहरूलाई तरलता व्यवस्थापन गरी एकैपटक धेरै सङ्ख्यामा बचत फिर्ता तथा अत्यधिक ऋणको मागलाई धान्न नसक्ने सहकारी संस्थाहरूलाई ठूलो सङ्कट हुने देखिन्छ ।
प्रविधिको प्रयोग गर्न नसक्दा आर्थिक भार
            अबको बित्तीय सहकारीहरूको अर्को टड्कारो चुनौती भनेको आधुनिक प्रविधि नै हो । सानो पुँजी तथा ग्रामीण समुदायमा चलेका सहकारी संस्थाहरूले आधुनिक प्रविधिको प्रयोग गर्नसक्ने अवस्था छैन भने आधुनिक प्रविधिको प्रयोग गर्नसक्ने सहकारी संस्थाहरूका लागि प्रविधिको प्रयोगका लागि आर्थिक भार हुने देखिन्छ ।
सदस्यता त्याग्ने दरमा वृद्धि
            मानिसहरूले जुन संस्थाबाट आधुनिक तथा नवीनतम सेवा प्राप्त गर्दछ त्यही कारोबार गर्ने हुन्छ । जुन सहकारी संस्थाले समयानुकूल आफूलाई प्रविधिमैत्री र सुविधा सम्पन्न बनाई अगाडि बढाउन सक्छ त्यही सहकारीले मात्र आफ्ना सदस्यहरूलाई जोगाई राख्न सक्नेछन् ।
            माथि उल्लेखित विभिन्न चुनौतीहरू आउनसक्ने अनुमान गरिए पनि यी चुनौतीहरूको सामना गर्दै अगाडि बढ्ने निम्नअनुसारका अवसरहरू रहेका छन् ।
अवसरहरू :
विद्युतीय सेवा तथा आधुनिक प्रविधिको प्रयोग गर्न सकिने
            चुनौती सँगसँगै अवसरहरू पनि आउने गर्छन् । अब सबै सहकारीहरू प्रविधिमा जानुपर्ने बाध्यता नै भएकोले प्रविधिको विकास र बिस्तारका लागि ठूलो अवसरको समय आएको छ । प्रविधिका लागि सेवा प्रदायक कम्पनीहरूलाई समेत फाइदा हुने र सदस्यहरूले समेत बैङ्क तथा बित्तीय संस्थाहरूले जस्तै सेवाहरू प्राप्त गर्ने अवसर रहेको छ ।
सहकारीमार्फत कृषि तथा स्थानीय उत्पादनमूलक क्षेत्रमा लगानीको अवसर
            आधुनिक कृषिमार्फत विषादीरहित अर्गानिक खेती गर्नसकेमा त्यसको माग प्र्रचुर रहेकोले सदस्यहरूलाई कृषिमा लगानीका लागि अग्रसर गराउन सकिने अवसर रहेको छ । साथै स्थानीय उत्पादनहरूको माग बढ्ने भएकोले यस क्षेत्रमा ऋण लगानी गर्ने अर्को राम्रो अवसर रहेको छ ।
सहकारीमार्फत स्वास्थ्य क्षेत्रमा लगानीको अवसर
            मानिसको स्वास्थ्य नै सबैभन्दा महत्वपूर्ण कुरा रहेछ भन्ने कुराको चेतना अहिले सबैमा आएको छ । तसर्थ सदस्यहरूलाई स्वास्थ्य क्षेत्रमा लगानी गर्नका लागि सहकारीहरूलाई अर्को अवसर रहेको छ ।
मितव्ययितामा वृद्धि
            सदस्यहरूमा फजुल खर्चमा कटौती गरी विषम परिस्थितिका लागि बित्तीय साक्षरता तथा विभिन्न सचेतना कार्यक्रमहरूमार्फत बचतको महत्व बुझाउन सकेमा बचत वृद्धिको राम्रो अवसर देखिन्छ ।
सहकारीमार्फत पर्यटन क्षेत्रमा लगानीको अवसर
            नेपालमा पर्यटन क्षेत्रको प्रचुर सम्भावना रहेको कुरा हामी सबैलाई थाहा भएको नै हो । यदि हाम्रा सदस्यहरूमार्फत पर्यटन क्षेत्रमा लगानी गर्नसकेमा यसले बेरोजगारीको समस्या कम गर्ने, विदेशी मुद्रा आर्जन तथा समग्र देशको अर्थतन्त्रमा योगदान पुग्ने अवसर रहेको छ ।
विदेश पलायनमा कमी
            हालको यो विषम परिस्थितिमा मानिसहरू परिवारबाट छुट्टिएर एकान्तबासमा विदेशी भूमिमा बस्नु परेको पीडाका कारण नेपालमै आई केही गरौँ भन्ने भावनामा वृद्धि हुनेछ जसका कारण सहकारीमार्फत साना तथा मझौला उद्योगहरूमा लगानी गर्न सकिने, आत्मनिर्भरतामा वृद्धि हुने, स्वदेशमा नै रोजगारीका अवसरहरू सिर्जना हुने देखिन्छ ।
सहकारी एकीकरणको अवसर
            देशमा आउने आर्थिक सङ्कट, तरलताको अभाव, प्रविधिमा जानुपर्ने बाध्यता, दक्ष कर्मचारीको अभाव, सदस्यता त्यागी सुविधायुक्त संस्थामा सदस्यहरू जाने क्रमजस्ता कारणले अबको अवस्थामा सानो, छरितो, सुन्दर र आफ्नै सहकारी होइन ठूलो, सक्षम, गुणस्तरीय र विशाल सहकारी निर्माणका लागि एकीकरण एकमात्र उत्तम विकल्प रहेको छ ।
दक्ष र प्रविधिमैत्री व्यवस्थापनको विकासको अवसर
            अब हरेक सहकारी संस्थाहरूले विद्युतीय कारोबार तथा नयाँ–नयाँ प्रविधिहरूको प्रयोग अनिवार्य गर्नैपर्ने भएकोले त्यसका लागि दक्ष र प्रविधि चलाउन सक्ने कर्मचारीहरूको विकास भएमा थप रोजगारीका अवसरहरू देखिन्छन् ।
समुदायमा आधारित हुने
            सहकारी संस्थाका नाममा विभिन्न विकृति तथा विसङ्गतिहरूको सामना गरिरहेको सहकारी क्षेत्रमा अब समुदायमा आधारित भई सेवा प्रवाह गर्नसकेमा मात्र अभियानमा टिकिरहने अवस्था आएको छ । सदस्यहरूले आफ्नोपन प्राप्त गर्नसकेमा मात्र विषम परिस्थितिमा समेत साथ दिने भएकोले सहकारीको भावना, मूल्य, मान्यता र सिद्धान्तमा आधारित भई सहकारी संस्था सञ्चालन गर्नका लागि सबैलाई यो महामारीले एउटा पाठ भने अवश्य सिकाउनेछ ।
            अन्त्यमा, अत्याधुनिक प्रविधिको प्रयोगबाट विद्युतीय भुक्तानीमा जोड दिनुपर्ने अबको आवश्यकता रहेको छ । सहकारी एकीकरणमार्फत ठूलो र विशाल सहकारीमार्फत सदस्यहरूका हरेक वित्तीय आवश्यकताहरू समाधान गर्नुपर्नेछ ।
            यस्ता सङ्कटको बेलामा समेत निरन्तर वित्तीय सेवाहरू प्रदान गर्न सकिने वातावरण निर्माण गर्नुपर्नेछ । अबका युवा पुस्तालाई आकर्षण गर्नसक्ने वस्तु तथा सेवाहरूको विकासका लागि संस्थाहरूले सोच्नुपर्ने बेला आएको छ ।
(लेखक सहकारीकर्मी हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *