भर्खरै :

‘बन्दाबन्दी’, भक्तपुर नगरपालिका, सुरक्षा निकाय, आवश्यक पास ?

    झनकबहादुर

        “सर्वसाधारणलाई घमण्डी बनाउने तथा सुरक्षाकर्मीहरूसामु पुरूषार्थ देखाउने स्थानीय तहले दिएका आवश्यक पासहरू … निष्क्रिय भएको घोषणा गर्न ढिलो भइसकेको छ ।” एक दैनिक पत्रिकाको सम्पादकीयमा उल्लेख यो भनाइ पूर्वाग्रहपूर्ण छ । उक्त भनाइले स्थानीय तहको भूमिकालाई न्यून गर्न चाहेको अर्थ लाग्छ, स्थानीय तहका  जनप्रतिनिधि ‘बुँख्याचा’ जस्तो बसेको हेर्न चाहेको आभास हुन्छ । सम्पादकीयमा उल्लेख छ, “सर्वसाधारणलाई व्यवस्थापन गर्ने जिम्मा सुरक्षा निकायलाई दिनु नै लडकाउन (बन्दाबन्दी) लाई प्रभावकारी बनाउने एकमात्र विकल्प हो ।” यो भनाइअनुसार ‘बन्दाबन्दी’ सुरक्षा निकायको कल्याण वा भलाइको लागि चाहिने हो, त्यसो भएकोले शक्ति प्रयोग गरेर भए पनि सुरक्षा निकायले ‘बन्दाबन्दी’ सफल गर्छ भन्‍ने अर्थ लाग्छ । यसबाट केही प्रश्नहरू सृजना भएका छन् – नेपालमा पुग्दो सुरक्षाकर्मी छ । सुरक्षाकर्मीले सम्झाएपछि सारा सर्वसाधारणले मान्छन्, बरू जनप्रतिनिधि वा स्थानीय निकायले दिएको सल्लाह, सुझाव, निर्देशन, अनुरोध सर्वसाधारण जनता पटक्कै  मान्दैनन् ।
            यदि त्यही कुरालाई सही मान्‍ने हो भने देशका विभिन्‍न स्थानमा भएका घटनाहरूबारे छलफल गरौँ न त । केही दिन अगाडि काठमाडौँ महाराजगञ्‍जस्थित शिक्षण अस्पतालका डाक्टरहरू आफ्नो कार्यालय समय सकाएर हिँडेकालाई कुटपिट गरी घाइते बनाउनु ठीक भयो हैन ? यही हप्तामा सिराहामा घरबाट निस्केका आफ्नो छोरालाई सुरक्षाकर्मीले कुट्यो भनी निस्केका आमाको सुरक्षाकर्मीको कुटाइबाट ज्यान जानु ठीक भयो होइन ? एक हप्ता अगाडि सप्तरीमा औषधि लिएर फर्केका दुई किशोरहरूलाई भाटाले चुटेर अस्पताल भर्ना गर्नुपर्ने बनाउनु गलत भएन होइन ? सर्वसाधारण जनताको भाषा स्थानीय तहका जनप्रतिनिधिले नबुझ्ने अनि सुरक्षाकर्मीले बुझ्ने ? यी विभिन्‍न सवालहरू उठ्नु स्वाभाविक छ । भक्तपुर नगरपालिकाले गरिरहेको कार्य मिल्दैन भन्‍ने भाव त्यस सम्पादकीयमा उल्लेख छ ।
            ७५३ स्थानीय निकायमध्ये भक्तपुर नगरपालिकाले राम्रो कार्य गरिरहेको छ भन्‍ने सचेत र साजनहरूको भनाइ बेठीक सावित गर्न पत्रिका चाहेको देखिन्छ । बरू नगरपालिकाले लकडाउन सफल गर्न राम्रो भूमिका खेलिरहेकोमा भक्तपुरको सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय भक्तपुर सन्तुष्ट देखिएका छन् । भक्तपुर नगरपालिकाले खेलेको भूमिकाबाट  जिल्ला सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयलाई काम गर्न सजिलो भएको छ ।
            भनपाले कोभिड–१९ बाट जनतालाई बचाउन के–के कार्य गर्‍यो त ? छलफल गरौँ । भक्तपुर नगरपालिकाले चैत ४ देखि ८ गतेसम्म भक्तपुर महोत्सव गर्ने कार्यक्रम राखेको थियो । नागरिकलाई कोरोना भाइरसबाट बचाउन भक्तपुर महोत्सव कार्यक्रम स्थगित गर्ने निर्णय गरी कोभिड–१९ बारे जनचेतना जगाउने कार्यहरू गर्‍यो । कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत ५ गतेभित्र सकाई चैत ६ गतेबाट सम्पूर्ण सरकारी र संस्थागत विद्यालय बन्द गर्ने वातावरण बनायो ।
            भनपाले विस्का जात्रा सामान्य पूजाआजामात्र गरी मनाउने, पूजा–आजामा गुठीबाट बलि चढाउन नदिने, भैरवको रथ निर्माण नगर्ने र लिङ्गो नउठाउने, साथै टोल–टोलमा हुने स्थानीय जात्रा ननिकाल्ने, आवश्यक पूजा घरभित्रै गर्ने गराउने गरी सम्बन्धित गुठियारहरूलाई बैठक राखी निर्णय गर्‍यो । भनपाले नगरभित्रका अस्पतालहरूमा आइसोलेसन वार्ड बनाउन लगायो । कोरोना भाइरसबाट बच्ने उपायबारेको अपिल छापी घर–घरमा वितरण गरायो । नपाअन्तर्गतका कार्यालय र टोल–टोलमा साबुन र स्यानिटाइजरको व्यवस्थापन गर्‍यो । भनपाले विदेशबाट फर्केकाहरूको लगत राखी स्वास्थ्य परीक्षण र खकार जचाउन व्यवस्थापन गर्‍यो । भनपाले नेपालभाषा र नेपाली भाषामा हरेक दिन माइकिङ गरी लडकाउन हाम्रै लागि हो भनी जनचेतना अभिवृद्धि गर्ने कार्य गरिरहेको छ । चैत १९ देखि लागू हुने गरी दत्तात्रयदेखि वंशगोपालसम्मको मुख्य सडकमा तरकारी बजार हटाई भिड नहुने गरी टोलटोलमा तरकारी बजार सञ्‍चालन गर्न दियो ।
            टोल–टोलमा सम्झाइ–बुझाइ गर्ने कार्यलाई निरन्तरता दिन वडा अध्यक्षको संयोजकत्वमा स्वयम्सेवकहरूको एक समन्वय समिति गठन गरी कार्य गरिएको छ । मन्दिर, मस्जिद, चर्चहरूमा पूजा–पाठ गर्न रोक लगाएको छ । अनुमतिपत्र प्रत्येक घरमा एक एक वटा दिई अति आवश्यकीय अवस्थामा मात्र निस्कन अनुमति दिइएको छ । विपद् व्यवस्थापन समिति गठन गरी कोषको प्रबन्ध गरिएको छ । व्यापार सङ्घ, सहकारी संस्थाहरूबाट जनतालाई चाहिने अति आवश्यकीय उपभोग्य वस्तु व्यवस्थापन गर्न बैठक सञ्‍चालन गरी सस्तो र सुलभ तरिकाले पाउने व्यवस्थापन गरिएको छ । दैनिक ज्यालादारी श्रम बेचेर खानुपर्ने, अपा·, असहाय, अति विपन्‍न जनतालाई ३० चैतमा २२५३ परिवारलाई राहत वितरण गरियो । विभिन्‍न सरोकारवाला सङ्घ–संस्थाहरूसँग नियमित सम्पर्क, बैठक गरी जनताको सेवामा सदा समर्पित रहेको भक्तपुर नगरपालिकाको विषयमा गलत कुरा लेख्नु पूर्वाग्रही नभए के हो ? चोरलाई चौतारी र साधुलाई शूली चढाउने सोच बोकेकोले मात्र भक्तपुर नगरपालिकाको विरोध गर्दछ भन्‍ने मेरो विचार छ ।
            नेपाल सरकारको निर्णय एवम् निर्देशनअनुसार एकद्वार प्रणाली लागू गर्ने भक्तपुर नगरपालिका भएकोले पनि यसको विरोध गरिएको हो कि ? एनजीओ, आईएनजीओमा कार्यरत विदेशी दलालहरू मानिसको प्रवृत्ति, संस्कार बिगार्न लागिरहेको छ । एकद्वार नीतिअनुसार भक्तपुर नगरपालिकाले काम गरिरहेकोले राहत वितरण एनजीओमार्फत खुलारूपमा गरेर, कमसल सामग्री दिने र कमिसन पनि खाएर काम गर्ने छुट पाएन । फलस्वरूप नपाले प्रति घर १ वटामात्र अति आवश्यकीय कामको निम्ति अनुमति पत्र प्रदान गरेकोलाई आजकै मितिबाट पास निश्क्रिय घोषणा गर्न जोड दिनु गलत छ । जनवादी गणतन्त्र चीनमा जस्तै सरकारले बस्‍ने, खाने, उपचार गर्ने, स्वास्थ्य परीक्षण गर्ने सेवा घर दैलोमा पुगेको भए यहाँ पनि घरबाट मान्छे निस्कँदैन होला । आवश्यक कामको निम्ति मानिसहरू घरबाट निस्कन खोज्छन् । तर सम्झाउँदै गएपछि अनुशासनमा बस्‍नेछन् । नियम बनाई लागू गर्न समय लाग्छ । क्रमशः मानिसहरू घरमै बस्न थालेको अवस्था छ । भक्तपुर नगरपालिकाले भक्तपुर नगरमा व्यवस्थापन गरेझैँ देशैभर सरकारले मानिसलाई आवश्यक बन्दोबस्त गरी बन्दाबन्दीमा राख्न खोज्नुपर्दथ्यो । बस्‍ने, खाने नभएका काठमाडौँ बाहिरबाट आइराखेकालाई विशेष ध्यान दिनु आवश्यक थियो तर, दिइएन ।
            अहिले पत्रकार र सचेत जनताले आवाज उठाउनुपर्ने कुरा श्रम बेची खाने गरिब मजदुर र किसानको समस्या समाधान गर्नेबारे हो । काठमाडौँमा खाने बस्‍ने व्यवस्था नभएर वा अभिभावकत्व बहन गर्ने कोही नभएर तराईको बर्दिया, कैलाली, सप्तरीसम्म र पहाडको उदयपुर, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, धादिङ्ग लगायतका जिल्लाहरूमा पैदलै फर्किरहेका जनताको उद्धार गर्न सरकारलाई घच्घच्याउनुपर्ने हो । बिनाजुत्ताको १०–११ वर्षको छोरी साथमा लिई हिँडिरहेकी महिलाको अहिले के अवस्था भइराखेको होला ? उनीहरूलाई बन्द सत्तर अगाडि बाटैमा आफ्नै धोक्रो सिरानी राखी बच्चा काखमा राखी सुत्नुपर्ने अवस्था देख्दा सरकारको मन किन रोएन भनी प्रश्न गर्नुपर्ने थियो । वृद्ध, दोजिया, महिला, बिरामी, कमजोर शरीर भएका अनि खर्च र खानेकुरा पनि नभएका असहायलाई सहयोग गराउन लेख्नुपर्ने र आवाज उठाउनुपर्नेले भक्तपुर नगरमा भइरहेको कुशल व्यवस्थापनको विरोध गर्नु पाखण्डी होइन र ? ती असहाय श्रमिक जनतालाई आ–आफ्नो जिल्लासम्म सरकारले पुर्‍याउने व्यवस्था गर्न बोल्नुपर्ने थिएन ? नेमकिपा र भक्तपुर नगरपालिकाको विरूद्ध बोलेपछि पैसा पाउने टोली पनि भक्तपुरमा छन् भनिन्छ । ती समूहमा त परेनन् भक्तपुर नपाको कार्यशैलीको आलोचना गर्नेहरू ? नाङ्गो नाचे हजार दाउ भनेझै मनपरी लेख्ने र बोल्ने हो भन्‍ने मेरो भन्नु केही छैन । तर, सचेत जनताले दूधको दूध पानीको पानी छुट्याएर भोलि जनताको माझ उदाङ्ग्याउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *