भर्खरै :

त्रिविमा अनलाइन कक्षा

            त्रिभुवन विश्वविद्यालयले अनलाइन कक्षा सञ्‍चालन गर्ने घोषणा गरेको छ । कोभिड–१९ महामारीको कारण पठनपाठन अझ केही समय ठप्प हुने भएपछि विश्वविद्यालयले अनलाइन कक्षा सञ्‍चालनको तयारी गरेको हो । यसअघि त्रिविअन्तर्गत केही विभागले अनलाइन कक्षाको प्रयोग थालिसकेको छ । महामारी नकारात्मक कुरा हो । तथापि नकारात्मक घटनाक्रमबाट पनि मानिसले धेरै सकारात्मक कुरा सिकिरहेको हुन्छ । विपद्‍मा कक्षा सञ्‍चालनको अवस्था नभएपछि त्रिविको अनलाइन कक्षाले प्राध्यापक र विद्यार्थी दुवैलाई केही न केही नयाँकुरा सिकाउनेछ । अहिलेको यो सिकाइ कालान्तरमा कक्षा सञ्‍चालन हुननसक्ने कुनै पनि प्रतिकूल परिस्थितिको निम्ति उपयोगी हुनसक्छ ।
            निःसन्देह अहिलेको अनलाइन कक्षा अस्थायी व्यवस्था हो । नयाँ प्रयोग भएकोले सुरूमा प्राध्यापक र विद्यार्थी सबैलाई असहज वा अस्वाभाविक लाग्नसक्छ । कोभिड–१९ महामारीपछि चीनका विभिन्न विश्वविद्यालयले सञ्‍चालन गरेको अनलाइन कक्षाबारे पेइचिङ विश्वविद्यालको एक अध्ययनले अधिकांश विद्यार्थीले अनलाइन कक्षालाई असहज मानेको निष्कर्ष निकालिएको थियो । पेइचिङ विश्वविद्यालयको अध्ययनको सारमा अनलाइन कक्षा अस्थायी र आपत्कालीन अवस्थाको निम्ति उपयोगी भए पनि नियमित विश्वविद्यालय कक्षाको विकल्प हुन नसक्ने जनाएको छ । त्रिविले सञ्‍चालन गर्ने कक्षामा पनि यस्तो असहजता बोध हुनु स्वाभाविक हो । यद्यपि, अनलाइन कक्षा सञ्‍चालन गर्ने जाँगरको निम्ति त्रिविका शिक्षकहरू आभारका पात्र हुन् ।
            तर, त्रिविको लागि अनलाइन कक्षा सञ्‍चालन गर्न त्यत्ति सहज छैन । व्यवस्थित अनलाइन कक्षा सञ्‍चालनको निम्ति मुख्य चुनौती त्रिविसँग भौतिक पूर्वाधारको अभाव हो । त्रिविले यसअघि कहिल्यै पनि अनलाइन कक्षा सञ्‍चालन नगरेको हुनाले त्यसको लागि आवश्यक कुनै प्रविधि र पूर्वाधारको विकास गरेन । त्रिविको पठनपाठन शैली अझै पनि परम्परागत परिधिबाट उकासिन सकेको छैन । दसकौँदेखि नोटबुक, चक र डस्टर बोकेर कक्षामा पढाउँदै आएका कतिपय प्रविधि अमैत्री प्राध्यापकको लागि अनलाइन कक्षा सञ्‍चालन कठिन विषय हुनसक्छ । यी चुनौतीभन्दा उक्लिन गार्‍हो मुख्य चुनौती भनेको विद्यार्थीहरूको उपलब्धता हो । लकडाउन घोषणा यता क्याम्पस पढ्न सहर बस्दै आएका धेरै विद्यार्थी आफ्ना घर फर्किसकेका छन् । दुर्गम गाउँ पुगिसकेका ती विद्यार्थीलाई अनलाइन कक्षामा समाहित गर्न त्यत्ति सजिलो हुनेछैन । कतिपय सहरी क्षेत्रमा समेत इन्टरनेटको गति निकै ढिलो हुँदा त्यहाँ पनि विद्यार्थीलाई अनलाइन कक्षामा बस्नु त्यति फलदायी हुनेछैन ।
            अनलाइन कक्षाको निम्ति सामान्य एनरोइड मोबाइल उपयुक्त हुँदैन । त्यसको निम्ति तीव्र गतिको इन्टरनेट सेवासँगै ल्यापटप वा कम्प्युटर नै आवश्यक पर्छ । ती सुविधा त्रिविका क्याम्पसमा पढ्ने सबै विद्यार्थीको निम्ति उपलब्ध छैन । यस्ता धेरै समस्याका कारण त्रिविको अनलाइन कक्षा सहरी क्षेत्रका सीमित विद्यार्थीमा लक्षित औपचारिकतामात्र हुने सम्भावना बढी छ । अनलाइन कक्षा धेरै विद्यार्थीको निम्ति प्रभावकारी कक्षा बनिहाल्ने अवस्था छैन ।
            तथापि लकडाउनको कारण धौ–धौ गरी कोठामा समय बिताइरहेका सहरी क्षेत्रका विद्यार्थीको निम्ति यो उपयोगी कक्षा हुनसक्छ । अहिलेको अनुभवबाट भविष्यमा आउनसक्ने कुनै पनि विपद्को लागि विश्वविद्यालयले गर्नुपर्ने तयारीबारे सजग बनाउनेछ । लकडाउन घोषणा भएको महिना दिन बितिसकेको छ । त्रिविले ढिलै भए पनि कक्षा सञ्‍चालनको जाँगर देखाएको छ । यो स्वागतयोग्य कुरा हो । तर, यो केही प्राध्यापक र विद्यार्थीको मन शान्तिमा मात्र सीमित हुनुहुन्न । कक्षा कसरी प्रभावकारी बनाउने भन्ने विषयमा गम्भीर तयारी आवश्यक छ ।
मजदुर दैनिक सम्पादकीय
२०७७-१-१४

Leave a Reply

Your email address will not be published. Required fields are marked *