भर्खरै :

राजधानीमा एक लमक

– चिन्मय
            आकाश बादलले ठपक्क ढाकेको छ । साँझ छिपिँदै छ । खल्ती रित्तिसकेको छ । यस लटको राहत पनि हात नपरेपछि साथीकहाँ नपुगी नहुने भएको छ । बस् झोलामा आवश्यक सामल राखेर साथीको कोठातिर जाँदै छु ।
            कोठाबाहिरको गल्ली छिचोलेपछि मूल बाटो आउँछ । अनि म उकालो चढ्छु । मेरो दाहिनेतिर अनेकवली बत्तीले झलमल्ल तुल्याइएको क्यासिनो ठिङ्गउभिएको छ । दुईचार कारहरू पार्किङ गरिएका छन् । चोकमा पुगेर म दक्षिण मोडिन्छु । मेरा दाहिनेतर्फको हाताभित्र उपराष्ट्रपति भवन छ । अर्को दिशाबाट उपराष्ट्रपतिकै मुखमोहोडाका अधबैँसे उमेरका मङ्गोल जोडी आइरहेका छन् । घरायसी कुराकानी चलिरहेको छ । बुढाको काँधमा लुगाको पोको छ । बुढीको काँधमा अन्नको बोरा छ । भित्र के छ, म अनुमानमात्र लगाउन सक्छु । बोल्न पनि डराउनुपर्ने स्थिति छ । तीन फिट दुरी कायम गर्न म अलि कुनातिर च्यापिएर उनीहरूलाई बाटो छोडिदिन्छु । एक अछूतले जस्तै ! मलाई अनायासै मनुस्मृतिको सम्झना आउँछ । जातीय छुवाछुतले गर्दा समाजमा हजारौँ वर्षसम्म अछुत भइबसेका मान्छेहरूलाई सम्झिँदा मात्र शरीरमा चट्याङ बज्रेजस्तो हुन्छ । पुस्तौँपुस्तासम्म मान्छेहरू कसरी माथिल्लो जातका मान्छेमाथि आफ्नो छायाँ पर्ला भनी जोगिँदै हिँडेका होलान् ! सुदूरपश्चिमतिर त अझै पनि कताकति यस्तो प्रथा कायम छ भन्ने सुनिन्छ । जातअनुसारका फरक बाटा हुन्छन् रे ! मान्छे भएर पनि पशुसरह मनोवृत्ति बोकेर बाँच्नुपर्ने कति नमीठो विधान हो ! कस्तो असह्य र अविच्छिन्न वेदना हो !
            अघिल्लो चोकमा प्रहरीको पहरा छ । त्यसअघि नै सडकको पल्लो भागमा सुनसान राहदानी विभाग देखिन्छ । विदेश जानेहरूको सधैँ घुइँचो लागिरहने यो गल्लीमा रोजीरोटी चलाउन महिला र बालबालिका हातमा कलम, फाइल र अनेक फारम लिएर उभिएका वा बसेका देखिन्थे । लकडाउनपछि ती दृश्य देखिने छैनन् भनी अहिले म भन्न सक्दिनँ । सरकारले त भन्न सकिरहेको छैन ! अबको नेपाली अर्थतन्त्र रेमिट्यान्समा आधारित हुनुहुँदैन भनी तय गर्नुपर्ने बेला भएको छ । मनमा यिनै कुरा खेलाउँदै म अघि बढ्छु । सडकको पल्लो किनारमा एक मोटरसाइकल चालकलाई प्रहरीहरू केरकार गरिरहेका छन् । दुईजना प्रहरी दिदी मास्क लगाएर म हिँडिरहेको फुटपाथमा उभिएका छन् । सोधीखोजी नगरी उनीहरू मलाई बाटो छोडिदिन्छन् । दरबारमार्ग र ठमेल जाने गल्ली निश्चेष्ट पसारिएजस्ता देखिन्छन् । दुवैतिर एउटा मान्छे पनि देखिँदैन ।
            जमलमा मलाई प्रहरी बन्धुहरूले केही बेर रोक्छन् । घरतिर हिँडेका तराईका केही ठिटाहरू पनि रोकिएका छन् । चिनियाँ सहयोगले सेताम्य भई ठडिएको दरबार हाइस्कूलतिरबाट आइरहेको उज्यालो उनीहरूको अनुहारमा परिरहेको छ । प्रहरीको आदेशबमोजिम हामी कथित सामाजिक दुरीमा उभिएका छौँ । परै बसेर सही म ती ठिटाहरूसँग कुराकानी गर्छु । सबैजना तराईका रहेछन् । दुईजना उस्तै आकारप्रकारका केटाहरूतिर मेरा आँखा तानिन्छन् । दुवैले सस्ता र पातला सर्ट लगाएका छन् । उस्तै जुत्ता लगाएका छन् । स्वर पनि उस्तै । म दाजुभाइ हुन् भनी अनुमान लगाउँछु । उनीहरू सकारमा मुन्टो हल्लाइदिन्छन् । म उनीहरूको कहानीमा रूचि राख्छु । उनीहरू क्रमशः खुल्दै जान्छन् । तराईको कुनै गाउँमा उनीहरूको घरबारी छ । घरबारीमात्र । खेत छैन । घरमा एक्ली बुढी आमा छिन् । अनपढ र रोगी । प्रत्येक महिना उनीहरूले रासनपानीको खर्च पठाउँछन् । सके मालताल लगेर घर जान्छन् । मर्ने बेला बुढी आमा आफू जन्मेहुर्केको ठाउँ छाड्न मान्दिनन् । नत्र उनीहरूले पहिले नै आमालाई काठमाडौँ ल्याउने थिए रे । गाउँमा दिहाडी गरेर खानेहरूलाई मात्र राहत बाँडिएछ । आमाले राहत पाइनछन् । केही दिनमा घरमा रासन सकिँदैछ । हुन त गाउँमा ऐँचोपैँचो नचल्ने होइन । तैपनि आमाको अत्यासले पिरोलेपछि उनीहरू यहाँ चैनले बसिरहन सकेनन् । त्यसमाथि फर्निचरको साहुले दुःख देखाएपछि हाललाई पूरै तनखा नपाउने उनीहरूले बुझे । अनिश्चित जस्तो लडकडाउनमा राजधानीको बसाइ महँगिदै गएको छ । आफूसँग जम्मा भएको पैसा पनि खाँदा र बस्दा सिधिने देखियो । त्यसैले एक्ली आमाको सहारा बन्न र आफूसँग भएको पैसा फारोतिनो गरी चलाउन यी दाजुभाइ कोठाबाट झोलासोला बोकी निस्किए । निस्कन त निस्किए तर पहिलो चोकमा नै सरकारी पञ्जामा परेका छन् । आमालाई भेट्न पाउँछन् पाउँदैनन् सरकार जानोस् ! हाललाई सरकार नै सबैको विधाता बनेको छ । सामान्यतया यो नै सत्य हो । तैपनि यस बेला यो सत्य अलि बढी महसुस गरिएको छ ।
            किन हो कुन्नि अलिकति सोधसाधपछि मलाई प्रहरी बन्धुहरूले छोडिदिन्छन् । म फटाफट अघि बढ्छु । अघिपछि हुन्थ्यो भने रत्नपार्कमा यतिबेला कोठा वा घर फर्किने मान्छेहरूको ताँती लागिरहेको हुन्थ्यो । गाउँघर सुनसान पारेर काठमाडौँमा थुप्रिन विवश मान्छेहरू सिन्की खाँडिएझैँ गाडीमा खाँडिन तयार हुन्थे । रानीको नाममा बनाइएको यो पार्कनजिकै रातका दुःखी रानीहरूका मांशल शरीरको किनमेल हुन्थ्यो । तर, ती सबैलाई बेरोजगार तुल्याएर यस बेला रत्नपार्क मौन छ । वीर अस्पतालको अघिल्तिर पुगेपछि मलाई किन हो सिकसिको लाग्छ ! स्यानिटाइजर किन्न म फार्मेसीमा पस्छु । वीर अस्पतालको सदाको तँछाडमछाडसमेत ह्वात्तै घटेको छ । पाँच सात जना मान्छेहरू मास्कलाई मुखमुनि सर्काएर चुरोट तान्दै अर्को दिशाबाट निस्फिक्री आइरहेका छन् । थाङ्ना लुगा र गाउँले हाउभाउ छ । म भित्तातिर टाँसिएर आफ्नो मास्कले राम्ररी नाकमुख ढाक्छु । उनीहरूको हुल छिचोलिसकेपछि म स्यानिटाइजरले हात मल्छु । के गर्ने, डर छ ! मान्छेसँग यत्तिको डर मैले पहिले कहिल्यै अनुभव गरेको थिइन । मलाई डरप्रति यत्तिको घृणा यसअघि कहिल्यै लागेको थिएन ।
            टुँडिखेल आफ्ना अँध्यारा चौकुनामा राणा प्रधानमन्त्रीहरूलाई लुकाएर सुतेको छ । केही आर्मी अफिसर टुँडिखेलको यस निद्राका साक्षी भई अचल उभिएका छन् । भित्रभित्रै रिसाइरहेजस्तो, शिर झुकाइरहेजस्तो शहीद गेट स्तब्ध छ । नजिकै एकजोर किशोरहरू चुरोटको धुवाँसँग खेलिरहेका छन् । त्रिपुरेश्वरबाट टेकुतिरको गल्लीमा अलिकति चहलपहल देखिन्छ । म अघि बढ्दै जान्छु । यत्तिकैमा आर्मीको गाढा हरियो गाडी बत्ताउँदै अगाडि जान्छ । भीमसेन थापाको मन्दिरबाट एकजना पुरेत पूजाअर्चना गरेर निस्कँदै छन् । पूजा जारी छ ! देशमा जात्रा, भोज र भजनहरू रोकिएका छन् भनी रेडियोमा सुनिन्छ । पूजा भने जारी रहेछ ! अझ पशुपतिमा भजन नरोकिएको गर्व पनि कताकति सुन्नमा आउँछ । यस्ता मनुवाहरूको कुरा सुन्यो कि मलाई चैत ९ गते गाडीमा भेटेका एक काठमाडौँ का अपढ रैथानेको झल्को आउँछ । ती यात्रुले भन्दै थिए – हेर भाइ, नेपालमा कोरोना आउँदैन । किन भन न ?! किनभने नेपाललाई पशुपतिनाथको कृपा छ । हाम्रो तेत्तिसकोटी देवता छ । म ती पठित मनुवाको शरीरमा मनमनै तिनै पुरातनपन्थी काठमाडौँवासीको टाउको जोडेर फिस्स मुस्काउँछु ।
            अगाडि स्ट्रीट लाइटमुनि बाटाभरि केराको सिङ्गो घरी खाएर पहेँलपुर बोक्रा छरपस्ट फालिएको छ । अगाडि थापाथली चोक छ । प्रहरीहरूको बाक्लो उपस्थिति छ । दिउँसो यहाँ बसेर एक घरी केरा खान कसले हिम्मत गरेको होला ? म सोचमग्न हुन्छु । मान्छेले त पटक्कै हुनसक्दैन । पक्कै पनि त्यो साहसिलो जन्तु बाँदर नै हुनुपर्छ ! दिउँसोतिर यहाँ खुब बाँदर लाग्ने गर्छन् । हठात् मलाई गरिबीले पीडित एक भारतीय बालिकाको याद आउँछ । हिन्दुवादले थला पर्दै गएको भारत देशकी त्यस गाउँले केटीले भनेकी थिई – बरु हामीलाई गाई बनाइदिएको भए हुन्थ्यो, भोकभोकै त मर्नुपर्दैनथ्यो ! घाँसपात खाएर गुजारा चल्थ्यो । कोरोनाको महाकाल मडारिइरहेको बेला मान्छेहरू भनिरहेका छन् – रोगले भन्दा पनि भोकले मार्ने भयो ! नेपालमै पनि यसखाले सुस्केराहरू नसुनिएका होइनन् । तर, सरकार टनका टन चामल गोदाममा कुहाउँदा चुँ बोल्दैन । जनतालाई बाँड्न ऊसँग आश्वासनबाहेक केही छैन । उल्टो मन्त्री भन्छन् – नेपालमा भोकमरी लाग्न सक्छ ! वाह ! तिम्रो व्यापारी बुद्धि !
            थापाथलीमा पनि मलाई प्रहरीले पुछताछ गर्दैनन् । मख्ख पर्दै म बाग्मती पुग्छु । तर, पुलमा हिँड्दै गर्दा मैले मास्कमाथि रुमालले छोप्नुपर्ने हुन्छ । बाग्मतीको दुर्गन्धमा कुनै कमी आएको छैन । संसारभरको वातावरण कोरोनाको लकडाउनले गर्दा सफा हुँदै गएको छ भनी केही अघि पढेको खबरलाई बाग्मतीले गिज्याएझैँ लाग्छ । मानौँ बाग्मती माई भनिरहेकी छिन् – अरूलाई सक्लास् कोरोना बाबु, मलाई सक्दैनस् । अथवा, …हेर न, तिमीले पनि सफा गर्न नसक्ने गरी मान्छेले मैल्याए मलाई ! भनी दुखेसो पोखेको हुनसक्छ ! बाटामा फाट्टफुट्ट आइमाई, लोग्नेमान्छे र केटाकेटी देखिन्छन् । पुलचोकतिर पुग्दा दुई थान लोग्नेमान्छे बिहान प्रहरीले बाइक समातेकोले साँझ फिर्ता लिन आएको गुनासो गर्दै हुन्छन् ।
            म पुलचोक पुग्छु । चोकको दाहिने किनारमा जात्राको रथ बनाउन थाक लगाएर राखिएका सुरिला लामा काठ छन् । जात्रा भने स्थगित भइसकेको छ । नजिकै सडक किनारमा स्थानीयले फोहर फाल्ने थलो बनाएका रहेछन् । एक अधबैँसे उमेरका मनुवा त्यही फोहोरमा घोप्टो परेर ढुङ्गाले केही थिचिरहेका छन् । सिमसिमे पानीमा भिजेर उनी लगातार काम गरिरहेका छन् । म केहीबेर थकाइ मारेर उनीसँग कुराकानी गर्ने मेसो मिलाउँछु । मान्छे अलि कठोर छन् । स्वर झर्किने खालको छ । कुरोसावाको कुनै सामुराइ पात्रजस्तो । समाजमा निकृष्ट ठानिने काम गर्ने धेरैजसो पीँधमानवहरू आफूले मान्छेको दर्जा नपाउँदा झिँजिनु अनौठो होइन । म सकेसम्म नबिझाउने गरी घुलमिल हुने कोसिस गर्छु । मेरो थकानले गर्दा कुराकानी लम्बिँदै जान्छ ।
            यी बबुरालाई ‘बाल्यकाल’ भनेको कुन चराको नाम हो थाहा छैन । उनी राजधानीमा कुन ठाउँमा कहिले जन्मे थाहा छैन । जान्ने हुँदासम्म उनी यहाँको धुलोमाटोमा थिए, खाते जमातमा थिए । आमाबुबा कसलाई भन्छन्, अरूका देखेरमात्र थाहा पाए । सडकमा अन्य दीनहीनझैँ कहिले चोरचार गरेर, त कहिले कबाडका बोरा बोकेर ज्यान पालिरहे । जीवन धानिरहे । उनको बुझाइमा जीवन भन्नु नै ज्यान धान्नु हो । बसबिसौनीनजिक कुनै बिजुली पसलको साहुले काम नलाग्ने विद्युतीय सामानहरू सडकको किनारमा फालेको रहेछ । यी बबुरा यस बेला तिनै फालिएका सामानबाट ट्रान्जिस्टरका तामा जम्मा गर्न चीम फोरिरहेका छन् । लकडाउन अघिसम्म जसोतसो दिनको ४।५ सय कमाइ हुन्थ्यो रे । तर, अहिले काम ठप्प छ । बन्द खुलेपछि बेच्न हुन्छ भनी उनी हरेक दिन कवाड जम्मा गरिरहेका छन् रे, ग्वार्कोस्थित आफ्नो कोठामा । उद्गमबिनाका यी बबुराको स–सानो गन्तव्य छ – जसरी हुन्छ यो जुनी काट्ने । अभाव नै अभावको जिन्दगानीमा उनलाई कोरोनाको भय भने छैन । न उनले मास्क लगाएका छन्, न कसैले उनलाई लगाउन भनेका छन् । स्यानिटाइजर, सोसल डिस्टेन्सिङ र होम क्‍वारेन्टिन उनका लागि आकाशका फल हुन् । एक प्रिभिलेज ‘एक विशिष्ट अधिकार’।
 सिमसिमे पानी दर्किनेजस्तो देखेपछि म जाउलाखेल मैदानलाई दाहिने पार्दै सरासर रिङरोडतिर लम्किन्छु । बाटोमा भूतपूर्व ब्रिटिश आर्मीको कुनै कार्यालय पर्छ । कार्यालय आसपास पर्याप्त पसल खुलेका छन् । केही होटल, किराना र मासु पसलहरू । मान्छेहरूको चहलपहल पनि छ । यो बस्तीको डिलमा पुगेपछि उपत्यकाका दक्षिणी पहाडहरूको लहरो चन्द्रागिरीसम्म छ्याङ्गै देखिन्छ । खासगरी पहाडमा बलिरहेका पिलपिले बत्तीका कारण । पानी दर्किसकेको छ र मलाई अझ एक किलोमिटरजति हिँड्नु छ । प्रहरीहरू यताउता नदेखिएको उत्साहमा म रुझेरै अघि बढ्छु । पाँच सय मिटरजति हिँडेपछि एक चौतारीनिर “घरभित्र–घरभित्र” भन्दै लौरो नचाई एकजोर प्रहरी बन्धु बाइकमा बेगिन्छन् । हत्तपत्त म एउटा भट्टिसँगै सटेको घरको बलेनीमा ओत लाग्न पुग्छु । पानी नछिर्ने ज्याकेट पुछपाछ गर्छु । भान्साको समय भएको छ । घरभित्रबाट भाँडा बजेको टट्याङटुटुङ आवाज आइरहेको छ । आँगनको डिलबाट कुन चाहिँ फूलको हो कुन्नि, कडा तर मगमगी बास्ना आइरहेको छ । उता नेवारी खाजाघरमा भने मान्छेहरूको रसरङ्ग चलेको छ । एउटा परिवार दक्षिणतिर पर्ने पहाडी गाउँ, राइगाउँतिर जान भनेर हिँडेको रहेछ । उनीहरू भट्टिमा ओत लाग्न उभिएका छन् । आमा, बुबा र छोरी । झोलीतुम्बा बोकेका उनीहरू आज राति राइगाउँ पुग्छन् कि पुग्दैनन् ठेगान छैन । रातभरि पानी दर्किने सम्भावना बढी छ । चट्याङका झिलिमिली चित्रहरूले अँध्यारो आकाश कुनै अमूर्त चित्रपटजस्तो देखिन्छ ।
            झरी केही थामिएसँगै म हिँडिहाल्छु । बाटो अब खोलाको किनारै किनार अघि बढ्छ । यदाकदा खोलाको कलरव आइरहेको छ । साथीको कोठाअघि ढोका ढकढकाउन पुग्दासम्म रातको नौ बजेको छ । हेरौँ, यो कोठाले मलाई कति दिनसम्म धान्ने हो ? आखिर, हाम्रोजस्तो देशमा ज्यान धान्नुको अर्को नाम नै कोरोना बन्न पुग्दोरहेछ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *