भर्खरै :

कोरोना भाइरसले अमेरिकी राजनीतिक प्रणालीका कमजोरीहरू उदाङ्गो

‘मिचिगन मुक्त गर’ र ‘भर्जिनिया मुक्त गर’ भनी १७ अप्रिल २०२० का दिन अमेरिकी राष्ट्रपतिले ट्वीट गर्दै ती क्षेत्रमा लागू गरिएको लकडाउन र घरमै बस्नू भन्ने आदेश तोड्न आम जनतालाई उक्साए । आज, हजारौँ जनता अमेरिकाभर विभिन्न स्थानमा अधिकारीहरूद्वारा आफ्ना संवैधानिक अधिकार हनन गरिएको भन्दै, भाइरसले पार्न सक्ने असरलाई बेवास्ता गर्दै केही निषेधाज्ञाहरू हटाउने मागसहित विरोध प्रदर्शनमा उत्रिए ।
यो घटना ७ लाखभन्दा बढी सङ्क्रमित भइसक्दा पनि देशले कोरोनाभाइरसबाट मुक्ति पाउनसक्ने अवस्था छैन भन्ने चेतावनीलाई बेवास्ता गर्दै अमेरिकी अर्थतन्त्रलाई पुनः सञ्चालनमा ल्याउने ट्रम्पको आशक्ति र कोभिड–१९ भाइरस चिनको उहान सहरस्थित प्रयोगशालामा निर्माण गरिएको थियो भन्ने षड्यन्त्रको सिद्धान्तको जोडदार प्रचार भइरहँदा भएको हो ।
जे भइरहेको छ त्यो त्रासदीपूर्ण छ । कोरोनाभाइरसविरुद्ध लडिरहेका विश्वका सबै देशमध्ये संरा अमेरिका यस्तो एक्लो देश हो जो यो सिङ्गो अवधिभरि आफैँभित्र विभाजित छ र राजनीतिक पक्षघातबाट पीडित छ । महान् देशभक्तिपूर्ण गर्व र स्वयम्माथि अगाध विश्वास भएको देश अमेरिकाले सङ्क्रमण फैलनबाट रोक्न एकताको भावना वा दिशा पक्रन नसक्नु दुःखद छ ।
यसको विपरीत, यस सङ्कटले माथिदेखि तलसम्म अमेरिकी राजनीतिक प्रणालीका कमजोरीहरू उदाङ्गो पारिदिएको छ । यो चीन होइन तर सङ्घीयता र स्वतन्त्र बजार प्रणालीप्रतिको आशक्तिले देशको सम्बोधनमा बाधा खडा गरिरहेको छ । यो त्यस्तो प्रहार हो जसको चोटबाट मुक्त हुन अमेरिकीहरूका निम्ति असम्भवप्रायः छ ।
केही महिना अगाडि मैले कसरी अमेरिकी प्रणाली कोभिड–१९ विरुद्ध लड्न अक्षम छ, भनी लेख लेखेको थिएँ । संरा अमेरिकामा स्थिति गम्भीर मोडमा नपुग्दै मैले, “निजी तथा बहुलवादी अमेरिकी स्वास्थ्य सेवा प्रणालीसहित बजार, मुनाफा र सीमित राज्यको भक्ति गर्ने शासनको स्वरूपले राष्ट्रिय र सङ्गठनात्मक कार्यमा ढिलाइ तथा बाधा भइरहेको छ र यसैबाट थाहा हुन्छ – कोरोना भाइरसको सम्बोधन कमजोर हुनेछ ।” लेखेको थिएँ ।
मैले “प्रायः एकअर्काबीच प्रतिस्पर्धारत बिना संयोजनका निजी स्वास्थ्य सेवा व्यवस्थामाथि भर पर्दै कसरी राज्यहरू आफ्ना काम कारबाहीका सर्वेसर्वा हुनसक्छन्, अर्कोतिर सङ्घीय सरकारका कामकारबाहीको अनुगमन गर्नुपर्ने राष्ट्रपति नै आफ्नै आग्रही विचार लिएर उनीहरूविरुद्ध नै काम गरिरहेका छन् ।” भनी टिप्पणी गरेको थिएँ ।
ट्रम्पमा नेतृत्व गर्न नसक्ने गम्भीर कमजोरी पक्ष त छँदै छ त्यसबाहेक संरा अमेरिकी शासन प्रणाली विभाजित र नाजुक संरचनाको आधारमा चलिरहेको छ ।
मेरो त्यो टिप्पणी आज सही साबित भयो । अमेरिकीहरूमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको पहिलो दिनदेखि नै, प्रत्येक तहमा अमेरिकी व्यवस्था विभाजित र दिशाहीन थियो । व्यवस्था निरन्तर आफैँविरुद्ध द्वन्द्वरत छ र नतिजा विश्वमै कोभिड–१९ को सबैभन्दा खराब अवस्था आज संरा अमेरिकामा छ । स्वतन्त्र बजारमा केन्द्रित हुनु सङ्गठनको कमजोरी भएर मात्र होइन, कार्ययोजना र प्राथमिकताहरूमा रहेको कमी र कमजोरी पनि हो ।
यसको परिणाम भनेको ट्रम्पको अमेरिकी अर्थतन्त्र खुला गर्ने आशक्तिलाई मलजल गर्नु हो, जसले राष्ट्रियरूपमा गरिने कोरोना भाइरसको सङ्क्रमणलाई थप खराब बनाइरहेको छ । अतः महामारी अन्त्य नहँुदै संयुक्तरूपमा यी पक्षहरू (तत्वहरू) ले लकडाउन लम्ब्याउने विषयलाई लिएर सरकारका सङ्घीय र राज्य तहबीच द्वन्द्व सिर्जना गरेको छ । यस्तो लाग्छ राष्ट्रपति राजनीतिकरूपमा विच्छेदित छन् र हाल घरमै बस्ने आदेश बाबजुद मानिसहरूलाई विरोध प्रदर्शन गर्न उक्साउँदै स्थितिलाई अझ खराब बनाइरहेका छन् ।
संरा अमेरिकी राष्ट्रपतिको कार्यालय– ह्वाइटहाउसबाट उत्प्रेरितहरू सङ्ख्यामा अल्पमतमा भए तापनि अमेरिकी राजनीति र समाजमा आएको विभाजन एवम् निश्चय नै भाइरसविरुद्ध लड्न कुनै मार्गचित्र वा सन्तुलित रणनीतिको सर्वथा अभाव स्पष्ट देखिन्छ । यहाँ कुनै विहङ्गम चित्र छैन, केवल भिन्नतापूर्ण प्राथमिकताहरूको राजनीतिक द्वन्द्व र देशको आउँदो निर्वाचनका लागि रस्साकस्सी मात्र छ । ट्रम्पलाई आफ्नो पुनः निर्वाचनबाहेक अरू केही कुराको मतलब छैन जसले गर्दा समग्र सङ्क्रमणविरुद्धको कार्यमा विलम्बमात्र भएको छैन बरु त्यसमा अवरोध पनि खडा गरेको छ र केही रिपब्लिकनहरू पनि आफ्ना राज्यहरूमा अरूहरूको विरोध हुँदाहुँदै पनि त्यही राग अलापिरहेका छन् जबकि संरा अमेरिकामा सङ्क्रमितहरूको सङ्ख्या सात लाखभन्दा माथि पुगिसकेको छ । (यो लेख अनुवाद गरिरहँदा संरा अमेरिकामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ९ लाख ६० हजारभन्दा माथि पुगिसकेको छ ।)
यस परिस्थितिमा अमेरिकी सङ्घीय व्यवस्था धेरै विषयहरूमा असफल भइसकेको छ र यसले आफ्ना भित्री कमजोरीहरू उदाङ्गो पारेको छ भनी अर्थ लगाउन कठीन छैन । यस्तो शासन प्रणालीले फैलिरहेको प्रकोप रोकथाममा अमेरिकी प्रशासनसामु बाधा खडा गर्ने राज्यहरूलाई आफ्नै भरमा छोडिदिएको छ । अमेरिकी संसद्–हाउस अफ कङग्रेसले खासै सहयोग गरेन । यस्तो बेला पनि एकता कायम हुन सकेन र कहिल्यै हुनसक्ने छैन । तसर्थ, अहिले हामी कहिल्यै पनि उपलब्धि हुन सक्छ भनी चिताउन सक्दैनौँ । संरा अमेरिकामा तयारी, पहलकदमी र प्राथमिकताहरूका हरेक गत्यात्मकता (डाइनामिक्स) मा पनि मानिसको जीवनभन्दा पहिले बजार आउँछ ।
यस गडबडीको परिणामस्वरूप देशले छोटो समयमा कोरोनाभाइरसमाथि विजय पाउन सक्नेछैन । अर्थतन्त्रमाथि थप बोझ थोपर्नेछ । अझ गहिरो अस्थिरता र बेथिति ल्याउनेछ । यसमा कुनै शङ्का नराखौँ यो माथिदेखि तलसम्म अमेरिकी शासन प्रणाली र शासनको युगीन असफलता हो ।
The virus exposes weakness of America’s political system
CGTN, April 19, 2020
अनुवाद  : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *