भर्खरै :

अमेरिकाको बन्दुक राजनीति र हत्याको सिलसिला – २

            हातमुख जोड्नका लागि विभिन्‍न काम र मजदुरीमा संलग्न भए तापनि कानुनी व्यवसायलाई प्रमुख पेशा बनाएर आफ्नो कानुनी जीवनचर्या  (Legal Career) को थालनी गर्ने हालसम्मका २५ जना अमेरिकी राष्ट्रपतिहरूमध्ये अर्थोपार्जनलाई आफ्नो  मूल उद्देश्य बनाउने मानसिकताबाट आफूलाई सदैव टाढा राख्‍ने कानुनी व्यवसायी अथवा वकिल अब्राहम लिङ्कनमात्र रहे । गरिब, दीनदुःखी, अभावले ग्रसित तल्लो जात मानिने असहायहरूको पक्षमा बिना कुनै पारिश्रमिक उनले वकालत गरी कानुनी सहयोग गर्दै रहे । अब्राहम लिङकनजस्तो दीनवत्सलसँग एउटै कानुनी पेशामा संलग्न रहिरहे जिन्दगीमा पैसाको नाउँमा कौडी पनि कमाउन नसक्ने निर्क्योल गरी आफ्नै मिल्ने मित्रले उनको साथ छोडे । तैपनि उनी विचलित भएनन् । त्यसैले अब्राहम लिङ्कनलाई दुःखीदरिद्र, निर्धन र निमुखाहरूका दीननाथको रूपमा पनि सम्झिन्थे ।
            कानुनी व्यवसायीहरूले पैरवी अनुमति पत्र हात पर्ने बेला आफू अब्राहम लिङ्कनको कार्यशैली र भावनाबाट अभिप्रेरित भएको कुरा बताउने गर्छन् । त्यसरी नै मीठो बातमार्ने तर मर्यादित कानुनी पेशाको मर्मलाई किनारा लगाउँदै मोहम्मद अफ्‍ताव आलमजस्ता दानवी राजनीतिक अपराधीको पक्षमा गला नसुकेसम्म पैरवी गर्ने वरिष्ठ कहलिएका निर्लज्ज अधिवक्ताहरूको नेपालमा पनि कमी छैन । नैतिक आचरण भन्‍ने कुराको कुनै ख्यालै नगरी आफ्नो सेवाग्राहीमाथि बेहिसाब पारिश्रमिक ‘फिक्स रेट’ भन्दै शुभलाभको मात्रै निन्दनीय अभ्यास ज्यादै भएकोले होला– नेपालमा पनि महलमा बास गर्ने न्यायाधीशलगायत मनमा हरि नभएका कानुनी व्यवसायीहरूले आर्जन गरेको अकुत सम्पत्तिमाथि छानबिनको माग भइरहेको छ । मोहम्मद अफ्ताव आलमबाट प्राप्त नगदनारायणले भरिएको ब्रिफकेसले नेपालमा मात्र होइन संसारको कुनै पनि शुपर मार्केटमा कसैले पनि इच्छामृत्युको वरदान खरिद गर्न सकिन्‍न । आखिरमा महाभारतका महानायक गङ्गापुत्र भीष्मपितामहको त खैरियत रहेन र जीवनको अन्तिम घडीमा जलिजाने चित्तामा लम्पसार पर्दा आलमले बकस दिएको ब्रिफकेशको के कुरा, आफ्नो हृदय पनि आफूसँग हुँदैन, आफुले गरेको राम्रा र नराम्रा गतिविधिका परिणामहरूमात्र शेष रहन्छ । अतएवः लोककन्टक नबनी हामी वरिष्टदेखि कनिष्टसम्मका वकिलसाबहरूले मर्यादित कानुन व्यवसायको पेशाबाटै अमेरिकाको १६ औँ रिपब्लिकन पार्टीका सफल राष्ट्रपति अब्राहम लिङ्कनको जीवनचरित गहिएर अध्ययन गर्न आवश्यक भएको छ ।
            संरा अमेरिकाका राष्ट्रपतिलाई संसारकै सबैभन्दा शक्तिशाली मानिन्छ । संविधानले नै उनलाई असीमित अधिकार प्रदान गरेको छ । अहिले झन् सशस्त्र सैनिक बलको कमान्डर इन चिफसमेत भएको हुँदा युद्धको घोषणा, विदेशी भूमिमा हातहतियारको भण्डारण, एकलौटी निर्णयले आणविक हतियारको प्रयोग गर्नसक्ने अधिकार संरा अमेरिकाका राष्ट्रपतिमा निहित छ ।
            मानिस यतिधेरै शक्तिशाली भइकनपनि ०.०२ किलोग्रामको गोली प्रहारले उनको जीवनलीला सिध्याई दिनसक्छ ।
            जेन्स अब्राम गार्फिल्ड संरा अमेरिकाको २० औँ राष्ट्रपति थिए । आमाबुबाका पाँच केटाकेटीहरूमा सबभन्दा कान्छो गार्फिल्डको जन्म लिङ्कनजस्तै लग क्याविन (काठको मूढोले बनाएको घर) मा बसोबास गर्दै आएका एक गरिब किसानको परिवारमा सन् १८३१ मा भएको थियो । सम्भवतः अमेरिकी इतिहासमा मुढोघरमा जन्मिएर गरिब परिवारमा हुर्किए पनि राष्ट्रपतिसम्म बन्‍नसक्‍ने हैसियत राख्ने अन्तिम व्यक्ति जेम्स अब्राम गार्फिल्ड नै थिए ।
            उनी लामो विद्यालय छुट्टिका बेला दुईचार पैसा कमाउन कलिलो युवा अवस्थालाई असजिलो काम गर्न हिच्किच्याउँदैनथे । १६ वर्षको उमेरमा साहसिक कथासङ्ग्रहित पुस्तकहरूको अध्ययनबाट प्रभावित गार्फिल्ड जहाज चालक बन्‍ने मीठो सपना साकार गर्न चाहन्थे । ग्रेटलेक (Great Lake) नामको ठूलो तालमा मानिसहरूको वसारपसार गर्ने कार्यमा अव्यस्त हुनथाले ।  मालिकको छुद्र व्यवहार र हप्कीदप्की सहन नसकी उनले त्यो कामबाट हात धोए । अध्ययनको महत्वबारे चेत पाउँदै जाँदा प्राचीन भाषा र साहित्यको गहन अध्ययन गरे र सन् १८५६ मा सोही विधाको प्राध्यापक बनी Hiram Collegeमा केही वर्षसम्म अध्यापन कार्यमा तल्लीन रहे । समयको अन्तरालसँग उनले सैन्यक्षेत्रमा प्रवेश गरी कहिले लेफ्टिनेन्ट कर्णेल त कहिले ब्रिगोडियर जेनरलदेखि मेजर जनरलसम्मको पदहरूको जिम्मेवारी वहन गरी विभिन्‍न प्रकारको युद्धहरूमा सामेल भई सफलता हासिल गरे । उनले दायाँ र बायाँ दुवै हातले एकैपटक छुट्टाछुट्टै दुई बेग्लै लाटिन र ग्रीक भाषा लेख्‍न सक्ने अद्भूत (Ambidextrous) प्रतिभा भएका व्यक्ति थिए ।
            आफ्ना भर्खर ठिटो हुँदै गरेका (teenage) दुई छोरा र अन्य व्यक्तिहरूसाथ  गर्मीयामको छुट्टीलाई सदुपयोग गर्न आफूले स्नात्तक गरेको विलियम्स कलेजमा सम्बोधनका लागि न्यू इङ्गल्याण्ड तर्फ प्रस्थान गर्न वासिङटन डिसीको स्टेसनमा रेल चढ्ने तर्खरको क्रममा बेरोजगारीको पीडाबाट मुक्ति पाउन काम खाज्दै गरेको चाल्स जे. गुइटेउ नामको एक सन्की व्यक्तिको दुई गोली प्रहारले जेन्स ए. गार्फिल्ड भुर्इँमा पछारिए र सख्त घाइते पारे । पहिलो पाखुरा र दोस्रो गोली ढाडमा लागे । त्यतिबेला मानव शरीरको शिरदेखि पाउसम्मको भित्री भागको फोटो खिची अध्ययन गर्नसक्ने एक्सरे प्रविधिको आविष्कार भइसकेको थिएन ।
            ढाड हुँदै भित्र छिरेको दोस्रो गोली शरीरको कुन भित्री भागमा कहाँ अड्केर बसे भन्‍नेबारे शल्यक्रियामा अहोरात्र खटिएका शल्यचिकित्सकहरूको अनवरत प्रयासले पनि पत्तालाउन सकेन, अति आकस्मिक क्षणमा शीघ्रतिशीघ्र गरिएको शल्यक्रियाको दौरानमा राम्ररी निःसङ्‍क्रमक (sterilize) नगरिएका चिकित्सकीय औजार र स्वयम् शल्यचिकित्सकहरूको हातका कारण राष्ट्रपति गार्फिल्डको शरीरका विभिन्‍न अङ्गहरूमा उपचारको केही दिनमै सङ्‍क्रमण फैलिसकेको थियो र अहिलेको जस्तो असलखाले एन्टिसेप्टिकस् (Antiseptic) को विकास नभइसकेका कारणले पनि उनको मृत्यु भएको हो भन्‍ने वास्तविकतापछि सार्वजनिक भएको थियो । सुरक्षा संयन्त्रको उचित बन्दोबस्त नहुनु र अ·रक्षकविनाको प्रस्थानका कारणले सन् १८८१ जुलाई २ का दिन Spoil System का पक्षधर चाल्स जे. गुइटेउलाई गोली प्रहार गर्न सहज भएको मानिन्छ ।
            रोजगारी पाउन गुइटेउको लाख प्रयासपछि पनि हातलागे शून्य भएपछि भाँचिएको मन बोकेर भौतारी हिँड्ने गार्फिल्डकै नजिकको मान्छे थिए । चुनावको बेला उनकै पक्षको कामकाजमा ठूलै चिट्ठा हातलाग्ने आसाले निकै खटेका थिए व्यक्ति गुइटेउ । करिब साढे दुई महिनाको अटुट उपचारले पनि केही सीप नलागेपछि सन् १८८१ सेप्टेम्बर १९ मा अमेरिकीको २० औँ अमेरिकी राष्ट्रपति जेन्स ए. गार्फिल्ड ४९ वर्षको उमेरमै यस संसारबाट सदाका लागि बिदा भए । कार्यकाल छँदै मृत्यु हने रिपब्लिकन पार्टीका चौँथो र हत्या गरिएकोमा दोस्रो संरा अमेरिकी राष्ट्रपति गार्फिल्ड नै थिए । देशको राजकाज सम्हाली राज्यसत्ताको बागडोर सञ्‍चालनको पूरा समयावधिसम्म मुलुकको नेतृत्व गर्ने अवसर पाएको भए उनले धैरे क्षेत्रमा सफलता हासिल गर्नसक्थे भन्‍ने कुरामा त्यतिबेलाका अमेरिकी राजनीतिक बेत्ताहरू विश्वास गर्थे । जुलाई २, १८८१ मा २० औँ अमेरिकी राष्ट्रपति जेम्स गार्फिल्डमाथि गोली हान्‍ने चा गइटेउलाई एक वर्षपछि अमेरिकी सर्वोच्च अदालतले हत्याको जघन्य अपराधमा दोषी ठहर्‍याई जून १८८२ मा झुन्ड्याएर मृत्युदण्ड दियो । यसरी जेन्स ए. गार्फिल्डले करिब २०० दिनसम्म संरा अमेरिकाको राष्ट्रपति बन्‍ने शौभाग्य पाए ।
            केही अमेरिकी लेखकहरूले उनी राजनीतिक हत्याबाट अल्पजीवी हुनुका केही कारणहरू यसरी कोट्याएका छन् ।
– उबेला एक्सरे प्रविधिको सुविधा नहुनु ।
(सन् १८९५ मा जर्मन भौतिकशास्त्री Wihlem Conral Rontgen ले एक्सरे प्रविधिका आविष्कार गरेका थिए ।)
– आधुनिक antiseptics  को उपलब्धता नहुनु ।
– अङ्गरक्षक र सुरक्षा प्रबन्धको उचितको अभाव । 
– Spoil System लाई ठेगान लाउन नसक्नु ।
            चुनावपश्चात् मुलुकमा आफ्नो पार्टी सत्तामा पुगेलगत्तै ह्वाइट हाउसलगायत विभिन्‍न सरकारी कार्यालयहरूमा राजनैतिक पुरस्कार र प्रोत्साहनस्वरूप कार्यरत बहालवाला कर्मचारीहरूलाई घोक्रेठ्याक लगाई चुनावको बखत लागिपरेका आफ्ना कार्यकर्ता, समर्थक, नातागोता, आसेपासे, चन्दादाताका छाउरेहरू, चम्चे, व्यापारीहरूलाई सङ्घीय सरकारको मातहतका कार्यालयहरूदेखि केन्द्रीय सरकारसम्मको विभिन्‍न पदहरूमा राम्रा नभए पनि आफ्ना र हाम्रा मान्छे नियुक्ति गर्ने प्रणाली नै Spoils System हो, यसलाई Patronage System पनि भनिन्छ । व्यक्तिको दक्षता, क्षमता कार्यकुशलता र योग्यतालाई यो प्रणालीले कुनै प्राथमिकतामा राख्दैन । यो Spoils प्रणाली Credit System को ठीकविपरीत हो । अमेरिकामा त्यतिबेला चुनाव जितेको पार्टीले “To the Victors Belong to the Spoils” अर्थात् ‘जसको लट्ठी उसको भैँसी’ भन्‍ने नारालाई बलियोसँग घन्काएको थियो । सन् १८२८ को राष्ट्रपतीय चुनावमा विजयी भएका संरा अमरिकाको ७ औँ राष्ट्रपति आन्ड्र्यु ज्याक्सन (Andew Jakson) नै यस मनोमानीतन्त्रको सूत्रधार थिए । सन् १८४० सम्म सङ्घीय राज्य र स्थानीय सरकारहरूमा यस्तो अप्रजातान्त्रिक मनोमानीतन्त्रको परिपाटीले व्यापकता पायो । Spoils System अनुसार निर्वाचनको प्रचारप्रसारको बेला दौडधुप गर्नेलाई तल्लो र नेताजीहरूको चाह्ना र विचारलाई उच्च महत्व दिई व्यवस्थापनको उचित कार्य गर्नसकेका र रणनीतिक चालबाजी तय गर्न खप्पिस भएकाहरूलाई माथिल्लो पदमा नियुक्ति गरिन्थे ।
            सरकारमा चेन अफ कमाण्डको अनुशासन कायम राख्‍न र आफ्नो सङ्गठनको हैकम बरारार राख्‍न यस प्रणालीको खाँचो रहेको यसका हिमायतीहरू अहिले दाबी गर्छन् किनभने पार्टीको नीति र नेताहरूको भावना वा स्वार्थसँग बेमेल राख्ने कर्मचारीहरूले कुनै नयाँ कार्यक्रम सञ्‍चालनमा ल्याउन गरिएका तयारीमा अनावश्यक वादविवाद वा बखेडा निम्त्याउन सक्ने सम्भावनालाई इन्कार गर्न नसक्नेतर्फ उनीहरू जोड दिन्छन् ।
            सन् १८८३ मा नागरिक सेवा ऐनले यस प्रकारको अप्रजातान्त्रिक अभ्यासलाई गैरकानुनी घोषणा गरे तापनि संरा अमरिकाको ७ औँ राष्ट्रपति आन्ड्र्यु ज्याक्सनको कार्यशैली औधी मनपराउने वर्तमान संरा अमेरिकी राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसलाई आफ्ना थुप्रै नातेदारहरूको अखडा बनाएको आरोप छ किनभने त्यहाँ आफ्ना तीन श्रीमतीहरूका छोराछोरी र ज्वाईँहरूसमेतले विभिन्‍न पदमा नियुक्ति भई कार्यरत छन् । सायद नेपालमा पनि केपी र प्रचण्डको नेतृत्वको नेकपा सरकारले यसैको नक्‍कल गरेको हुनसक्छ । भनिन्छ, ‘जेसा गुरु वइसा चेला’ । तर, खुसीको कुरा नेपालका चाल्स जे. गुटेउ जस्ता आफ्नै पार्टीका विद्राही कार्यकर्ता जन्मिएन । इमानदार राजनीतिक कार्यकर्ता भएरमात्रै देशलाई अधोगतितिर लैजाने शासकहरूलाई मुक्का र जुत्तामात्र प्रहार गरे, अन्यथा …।

Leave a Reply

Your email address will not be published. Required fields are marked *