भर्खरै :

कोभिड–१९ मा ज्येष्ठ नागरिकको हेरचाह

            कोभिड– १९ ले आज संसारमा उथलपुथल निम्त्याएको छ । भाइरस र यसको तीब्र विस्तारले विज्ञान, अर्थतन्त्र र समाजलाई चुनौती दिइरहेको छ । साथै हामीले ज्येष्ठ नागरिकको हेरचाह गर्ने तरिकालाई पनि चुनौती दिएको छ ।
            हामीलाई थाहा छ, कोभिड–१९ विशेषतः ज्येष्ठ नागरिकको निम्ति थप जोखिमपूर्ण छ । एसिया र प्रशान्त क्षेत्रका तथ्याङ्कले कोभिड–१९ भाइरसको कारण निधन भएका मानिसहरूमा ५० देखि ८० वर्ष उमेरका मानिसको सङ्ख्या बढी छ । स्वास्थ्य सेवा पूर्वाधारको कमीले गर्दा धेरै ज्येष्ठ नागरिकहरू आफ्ना परिवार र आफन्तबाट टाढा एक्लै मृत्युवरण गर्नुपर्‍यो । कोभिड–१९ को कारण बाँच्न पाउने अधिकार र आत्मसम्मानका साथ मर्न पाउने आधारभूत मानवअधिकारबाट समेत उनीहरू वञ्चित भएका छन् ।
            एसिया र प्रशान्त क्षेत्रमा ६० वर्षभन्दा माथिका मानिसको सङ्ख्या ६३ करोड छ । खासमा उमेर नै उच्च जोखिमको कारण होइन । ज्येष्ठ नागरिकहरूमा विभिन्न दीर्घ तथा नसर्ने रोग लागेको हुन्छ । ती रोगको कारण पनि ज्येष्ठ नागरिकको लागि कोभिड–१९ थप जोखिमपूर्ण हुन्छ । असक्त मानिस पनि उच्च जोखिममा हुन्छन् किनभने उनीहरू प्रायशः गरिब हुन्छन् । उनीहरू मनग्य सामाजिक सुरक्षा व्यवस्था नभएको अनौपचारिक रोजगारीमा संलग्न हुन्छन् । धेरै त्यस्ता मानिस अरुप्रति निर्भर हुन्छन् ।
            आपसमा दुरी कायम गर्नुपर्ने अवस्थाले सबभन्दा बढी प्रभावित ज्येष्ठ नागरिकलाई नै बनाएको छ । एक्लै बस्ने विशेषतः ज्येष्ठ महिलाले थप एक्लोपना महसुस गर्नुका साथै उनीहरूमाथि शोषणको सम्भावना बढी हुन्छ । असक्त मानिस सहायता प्राप्त गर्न पनि अक्षम हुन्छन् । ज्येष्ठ नागरिकहरू आपसमा भेट्ने विभिन्न ठाउँमा उनीहरू अहिलेको अवस्थामा जान सक्दैनन् । स्याहार केन्द्रमा बन्द ज्येष्ठ नागरिक पनि बाहिरी सम्पर्कबाट पूर्णतः विच्छेद भएका छन् । यस्तो अवस्थाले ज्येष्ठ नागरिकको मानसिक र शारीरिक स्वास्थ्यमा थप नकारात्मक असर पार्नुका साथै सामाजिक अलगाव अझ फराकिलो बन्ने छ ।
            एसिया र प्रशान्त क्षेत्रमा जनताको स्वास्थ्य सेवामा पहुँच सीमित छ । सामाजिक सुरक्षा प्रणाली कमजोर छ । त्यसकारण कोभिड–१९ का लक्षण देखिएका ज्येष्ठ नागरिकले उचित स्याहार पाएका छैनन् । सामाजिक सुरक्षा सुनिश्चित नभएका अनौपचारिक क्षेत्रमा मजदुरहरू (जसमा उमेरदार मजदुरहरू पनि पर्छन्) ले सीमित आम्दानीको स्रोतको कारण घरभित्र बस्ने अवस्था छैन ।
            प्रारम्भिक चरणमै कोभिड–१९ को पहिचान र परीक्षणले प्रभावकारी र सान्दर्भिक नीति तर्जुमामा मद्दत पुर्‍याइरहेको छ । हामीले रोगका लक्षण देखिएका सबै ज्येष्ठ नागरिकको तत्काल स्वास्थ्य परीक्षण र उपचार गर्नुपर्छ । जसले परीक्षण पनि गराउन सक्दैनन्, उनीहरूलाई मनग्य स्वास्थ्य सेवा र सामाजिक सुरक्षा दिने जिम्मेवारी राज्यको हो ।
            ज्येष्ठ नागरिकसँगको भौतिक सम्पर्क पर्दा सङ्‍क्रमणको जोखिम हुने भएकोले उनीहरूबाट टाढा रहनु उपयुक्त हो । तर, त्यसको अर्थ हाम्रा आमाबुवा, हजुरबुबा–हजुरआमा, ज्येष्ठ उमेरका छिमेकी र साथीहरूलाई बेवास्ता गर्न मिल्दैन । उनीहरूका आधारभूत आवश्यकता पूर्ति गर्ने सन्दर्भमा हामीले जिम्मेवारीबोध गर्नुपर्छ । हामीले उनीहरूलाई सामाजिकरूपमा नजिक राख्नुपर्छ, उनीहरूप्रति सम्मान व्यक्त गर्नुपर्छ, उनीहरू हाम्रो लागि कति महत्वपूर्ण छन् भन्ने कुरा बोध गराउनुपर्छ । विशेषतः सङ्कटको समयमा हामीले यो दायित्व पूरा गर्नुपर्छ । ज्येष्ठ नागरिकहरूसँग अन्तरक्रिया गर्दा सङ्‍क्रमणप्रति सजग हुनुको अर्थ उनीहरूप्रति विभेद गर्ने होइन ।
            यो महामारीपछि संसार आज जस्तो छ, त्यस्तो रहनेछैन । हामीलाई थाहा छ अबको समय अझ बढी कठिन हुनेछ । बेरोजगारी बढ्नेछ । गरिबी अझ फैलिनेछ । एसिया र प्रशान्त क्षेत्रका सरकारहरूले विपद्को प्रभाव न्यून गर्न राहत कार्यक्रम सार्वजनिक गर्नुका साथै साना तथा मझौला उद्योगमा जोड दिने घोषणा गरेको छ । त्यस्ता कार्यक्रम सबै तह र तप्कासम्म पुग्ने सुनिश्चित गर्नुपर्छ ।
            हामीले डिजिटल संसारमा पनि विभेद र विभाजन कम गर्न जरुरी छ । सूचना तथा सञ्चार प्रविधि (आईसीटी) मा पहुँचले पनि सङ्कटको समयमा पीडा न्यून गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ । ज्येष्ठ नागरिकलाई सूचना तथा सञ्चार प्रविधि प्रयोगको निम्ति सहज हुनुपर्छ । आइसीटीले दीर्घरोगका आफैंले निदान गर्न पनि मद्दत गर्न सक्छ । यसले उनीहरूको खर्च घटाउनुका साथै अस्पताल र क्लिनिकमा धाइरहनुपर्ने र सङ्‍क्रमणको जोखिम बढाउन कम गर्छ । रोगको प्रारम्भिक पहिचानको लागि पनि आइसीटीको प्रयोग हुनसक्छ । प्रारम्भिक चरणमै पहिचान भएको रोगको उपचार सहज हुन्छ । त्यसले भाइरसको सामुदायिक सङ्‍क्रमण रोक्न मद्दत गर्न सक्छ ।
            ज्येष्ठ नागरिकबीच लक्षित उपचार प्रक्रियाको लागि भरपर्दो, उमेरअनुसारको तथ्याङ्क समयमै उपलब्ध हुनुपर्छ । ज्येष्ठ नागरिकको अवस्था संवेदनशील र विशिष्ट भएकोले बहुपक्षीय तथ्याङ्कले प्रभावकारी उपचार र दीर्घकालीन समाधान निकाल्न सक्छ ।
            हाम्रो समाजको लागि ज्येष्ठ नागरिक महत्वपूर्ण आधार हुन् । उनीहरूका आवाज सुनिनुपर्छ । यो क्षेत्रलाई समृद्ध बनाउने मिहिनेती हात उनीहरू नै हुन् । उनीहरूमाथिको जोखिम कम गर्नु र बिनाविभेद उनीहरूलाई बाँच्ने परिस्थिति बनाउने जिम्मेवारी हाम्रो हो ।
            कोभिड–१९ ले कोही पनि व्यक्ति पछाडि छोडिनु हुन्न ।
स्रोतः चाइना डेली
नेपाली अनुवादः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *