भनिन्छ, विपद् कुनै बाजा बजाएर आउँदैन । संसारमा विपद् एकपछि अर्को आइरहेको हुन्छ । यसको स्वरूपमात्र फरक हुन्छ । हाल विश्वको जनता कोरोना भाइरसको सङ्‍क्रमणको त्रासमा छन् । भाइरसबाट लाखौँ मानिस सङ्‍क्रमित छन् । सङ्‍क्रमित हुने क्रम बढ्दो छ । सङ्‍क्रमणबाट लाखौँ व्यक्ति निको पनि भइरहेको छ भने मृत्यु पनि भइरहेको छ । तर, तथ्याङ्कले सङ्‍क्रमणबाट मृत्यु हुनेभन्दा तीन चार गुणा निको भएको देखाएको छ । हालसम्म भाइरसको औषधि पत्ता लागेको छैन । विश्वभर भाइरसको सङ्‍क्रमणबाट बच्‍न बचाउन विभिन्न उपायहरू अपनाइरहेका छन् । भाइरसको रोकथाम तथा नियन्त्रणको उत्तम विकल्प बन्दाबन्दी (लकडाउन) को अभ्यासलाई विश्वले अवलम्बन गरिरहेको छ । नेपालले पनि यही अभ्यासलाई अवलम्बन गरेको एक महिनाभन्दा बढी भइसकेको छ । भाइरस सङ्‍क्रमणको सङ्ख्यालाई हेर्दा बन्दाबन्दीको अभ्यासले रोकथाम तथा नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको देखिन्छ ।

            बन्दाबन्दीका कारण विश्व अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव परेको छ । अति आवश्यक सेवाबाहेक सम्पूर्ण सेवा ठप्प छन् । मानव संसाधन प्रायः निष्क्रिय अवस्थामा छन् । करोडौँ मानिस बेरोजगार भइरहेका छन् । अझ नगदमा आधारित अर्थतन्त्र भएको राज्यका लागि बन्दाबन्दी कठिन अवस्था हो । नेपालको अर्थतन्त्र नगदमा आधारित छ । नेपालले बन्दाबन्दीको अवधिमा बैङ्कलाई अति आवश्यक सेवाको सूचीमा राखिएको छ । बैङ्कले सीमित सेवा पनि सबै शाखाले नियमित दिन सकिरहेको छैन । बैङ्कको सीमित सेवा पनि अपूर्ण देखिन्छ । साथै, बैङ्कको बैङ्किङ पहुँच नपुगेका नागरिकले स्थानीय सहकारी संस्थाबाट सेवा लिइरहेको देखिन्छ । सहकारीलाई सेवा सञ्‍चालन गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिइरहेको अवस्था छैन तर सहकारी विभाग र प्रदेश सरकारले स्थानीय प्रशासनसँग समन्वय गरी सीमित सेवा नियमित सञ्‍चालन गर्न अनुरोध गरिरहेको छ ।

            सहकारी स्वनियम र स्वउत्तरदायित्वमा सञ्‍चालित स्वायत्त संस्था हो । अन्तर्राष्ट्रिय सहकारी मूल्य मान्यता र नियम कानुनलाई पालना गर्दै समुदायमा सामाजिक उत्तरदायित्व बहन गर्दै सहकारी सञ्‍चालित हुन्छ । विपद्को समयमा पनि सदस्य र समुदायको हितको लागि सहकारी सक्रिय रहेको छ । सहकारीले नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दीको स्वागत गरेको छ । यस विषम परिस्थितिमा सदस्य र समुदायलाई सुरक्षित निरन्तर वित्तीय सेवा प्रदान गर्नु व्यवस्थापनका लागि एउटा चुनौती बनेको छ । वितीय सहकारी संस्थाहरूले सदस्यलाई सुरक्षित सेवा प्रदानका लागि तपसिलका असल अभ्यास तथा विधिहरू विकास गरी सेवा व्यवस्थापन गरेको छ ।

समय अनुकूल आंशिक कार्यालय सञ्‍चालन विधि

            बन्दाबन्दीको समयमा स्थानीय तह तथा प्रशासनको समन्वयमा अति आवश्यक सेवाको लागि घर बाहिर निस्कन अनुमति दिएको समयमा संस्थाको आंशिक कार्यालय सञ्‍चालन गर्न सकिन्छ । यस विधिबाट अति आवश्यक सेवा लिन दिन सदस्य र संस्थालाई सहज हुन्छ । समुदायमा आधारित र भौगोलिकरूपमा सहज भएको क्षेत्रमा यो विधि अति प्रभावकारी देखिन्छ । कर्मचारीलाई आलोपालोको प्रणाली विकास गरी आंशिक कार्यालय सञ्‍चालनमार्फत अति आवश्यक सेवाहरू सुरक्षित उपायहरू अवलम्बन गरिरहेको छ ।

प्रविधिमा आधारित सेवा विधि

            वित्तीय सहकारी संस्थाले समयअनुसार नीति, विधि र प्रविधि अपनाएका छन् । संस्थाले सदस्यको कारोबारमा सहजताका लागि इन्टरनेट बैङ्किङ, मोबाइल बैङ्किङ, एटीएम र अन्य ई सेवाका उच्च प्रविधिमार्फत सेवा दिँदै आएको छ । बन्दाबन्दीको अवधिमा यी प्रविधिहरूको प्रभावकारी सञ्‍चालनबाट सदस्यले टेलिफोन महशुल, खानेपानीको महशुल, मोबाइल, विद्युत् महशुल घरमै बसी भुक्तानी गर्नसक्छन् । अतिआवश्यक सामानहरू खाद्यान्न, औषधि र लत्ताकपडा खरिद अनलाइनमार्फत गर्न सकिन्छ । एउटा बैङ्कको खाताबाट अर्को बैङ्कको खातामा रकम ट्रान्सफर गर्नसक्छ । यो इन्टरनेटमा आधारित सेवा भएकोले इन्टरनेट पहुँच भएका सहकारी र सदस्यले मात्र यसमार्फत वित्तीय सेवा दिन र लिनसक्छ । यस अर्थमा सहरी क्षेत्रको सहकारीलाई प्रविधिमा आधारित सेवा प्रभावकारी हुन्छ । तर ग्रामीण क्षेत्रका वित्तीय सहकारीका लागि प्रविधिमा आधारित सेवा विधि अवलम्बनमा चुनौती रहेको छ ।

व्यक्ति व्यक्ति वित्तीय सेवा विधि

            यस विधिअनुसार सहकारीले कार्यक्षेत्रअनुसार सम्पर्क व्यक्ति तोक्छन् । ती तोकिएका व्यक्तिलाई सहकारीले सीमित रकम भुक्तानीको लागि रकम उपलब्ध गराएको हुन्छ । सदस्यले आफूलाई पायक पर्ने व्यक्तिहरूलाई टेलिफोन तथा अन्य माध्यमबाट सम्पर्क गरी सीमित वित्तीय सेवा प्राप्त गर्नसक्छन् । यो विधिले कार्यक्षेत्रको सबै सदस्यलाई सेवा पुर्‍याउन सहज हुन्छ । तर यस सेवामा खाता व्यवस्थापनमा चनाखो हुनुपर्छ । कारोबार गर्ने सदस्यको पहिचान, कारोबार गर्ने खातामा रकम रहे नरहेको निश्चितता र कारोबारको व्यवस्थित लेखाङ्कनमा व्यवस्थापनले विशेष ध्यान पुर्‍याउनुपर्ने देखिन्छ ।

सुरक्षित घर दैलो सेवा विधि

            संस्थाका कर्मचारी सुरक्षित सदस्यको घर – घरमै गई सेवा दिने विधि हो । यस विधिअन्तर्गत सदस्यको नियमित बचत तथा व्याज तथा सावाँ सङ्कलनका साथै कोरोना भाइरसको सङ्‍क्रमणबाट बच्‍न जनचेतना सन्देश प्रवाह गर्न सकिन्छ । यस विधिबाट आवश्यक सदस्यलाई सीमित रकम पनि घर घरमै पुर्‍याउन सकिन्छ । सीमित कार्यक्षेत्र र सदस्य सङ्ख्या कम भएका सहकारी संस्थाको लागि यो सहज, सजिलो र प्रभावकारी हुन्छ । तर, कार्यक्षेत्र र सदस्य धेरै भएका सहकारी संस्थाका लागि यो विधिबाट सेवा पुर्‍याउन कठिन हुन्छ ।

निश्‍चित समय र स्थान तोकी सेवा दिने विधि

            यस विधिअनुसार सदस्यले संस्थामा आवश्यक सेवाको लागि टेलिफोनमार्फत सम्पर्क गर्दा सेवाका लागि निश्चित समय र स्थान तोकी सेवा दिइन्छ । संस्थाको कर्मचारी आफैँ गई सेवा दिने भएकोले सुरक्षित समय स्थानमा सेवा प्रवाहमा यस विधिबाट सुनिश्चित हुन सकिन्छ । यो विधि कम सदस्य भएको र भौगोलिकरूपमा टाढा भएका सदस्यलाई उपयोगी हुन्छ । तर, समय आधारमा यो सेवा विधि बढी महँगो पर्छ ।

            समुदायमा आधारित वित्तीय सहकारी संस्थाहरूले उल्लेखित सेवा विधिहरूमध्ये पायक पर्ने विधिअनुसार विषम परिस्थितिमा पनि सेवाको व्यवस्थापन गरिरहेको छ । स्थानीय प्रशासन र स्थानीय तहको समन्वयमा ती सेवाहरू व्यवस्थापन प्रभावकारी हुने देखिन्छ । तर, सङ्घीय, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा वित्तीय सहकारीको सेवा सहज ढ·बाट पुर्‍याउन कठिन भएको छ । बन्दाबन्दीमा बैङ्क तथा वित्तिय संस्थाहरू खोल्न सरकारले अनुमति दिएको छ । तर, बैङ्क तथा वित्तीय संस्थाहरूले यस बेला सेवा दिन सकिरहेको छैन । बैङ्कले आफ्नो ग्राहकलाई सेवा दिने भएकोले होला बैङ्क यतिबेला ग्राहकलाई गर्ने व्यवहार नै गरिरहेको छ । आफ्नो दायित्वमात्र पूरा गर्ने तरिकाले सीमित शाखा सञ्‍चालन गरी सीमित कारोबारमात्र गरिरहेको छ । अर्को शब्दमा भने हो भन्ने झाराटार्ने कार्यमात्र गरिरहेको देखिन्छ ।

            वित्तीय सहकारी संस्थाहरूले प्रदान गर्ने सेवा बैङ्कले दिने सेवासँग प्रभावित हुन्छ । सहकारी संस्थाको तरलता बैङ्क वित्तीय संस्थामा रहने भएकोले बैङ्कले पर्याप्त मात्रामा सेवा दिएमात्र सहकारी संस्थाले आफ्नो प्रभावकारी सेवा दिन सकिने देखिन्छ । तसर्थ यस परिस्थितिमा वित्तीय सहकारी संस्थाहरूले आफ्नो तरलताको रकम आफ्नै सञ्जालमा राख्ने अभ्यासमा जोड दिनुपर्ने देखिन्छ । हाल बैङ्कले दुःखको घडीमा पनि बचतमा ब्याजदर घटायो । तर, सहकारीले बचतको ब्याजदर यथावत नै राखियो । स्वाभाविकरूपमा बैङ्कले आफ्नो नाफामा केन्द्रित हुन्छ । त्यही अनुसारको व्यवहार देखाउनु कुनै नौलो कुरा भएन । सहकारी संस्था सेवामुखी व्यवसायलाई जोड दिन्छ । यी व्यवहारले सहकारी र बैङ्कको फरकता छुट्याइदिएको छ । सहकारी सुख र दुःखको सारथी हो भन्ने कुरा पुष्टि गरेको छ । यस विपदलाई सहकारीले अवसरको रूपमा ग्रहण गरी वित्तीय सेवा व्यवस्थापन गरी चुनौतीको सामना गरिरहेको छ । यस चुनौतीलाई सहज बनाउन सम्बन्धित निकायहरू एकजुट भई समन्वय र सहकार्य गर्नुपर्ने देखिन्छ ।

बालकृष्ण धोजु image
बालकृष्ण धोजु

Leave a Reply

Your email address will not be published. Required fields are marked *