भर्खरै :

के माक्र्स पर्यावरणवादी थिए ?

कहिलेकाहीँ माक्र्स र माक्र्सवादीहरूमाथि औद्योगिक समाज र त्यसले वातावरणमा पु¥याएको क्षतिको विषयमा आलोचनात्मक नभएको भन्ने आरोप लाग्ने गरेको छ । फ्रान्सेली–ब्राजिली समाजवादी मिचेल लोवीका अनुसार माक्र्सवादीहरूले सरल विकासक्रम (लिनिएर प्रोगे्रस) को विचारधारा र आधुनिक औद्योगिक सभ्यताको प्राविधिक र आर्थिक आयामको सन्दर्भमा गम्भीर पुनः विचार गर्नुपर्छ । माक्र्सवादी वामहरूमध्ये पनि लोवीको यो सोचाइमा सहमत हुनेहरू नभएका होइनन् । तथापि, पछिल्ला दशकमा पर्यावरणबारे माक्र्सले शक्तिशाली र अनुकूल अवधारणा दिएका थिए भन्ने विचार हावी बन्न थालेको छ । पर्यावरणबारे माक्र्सले गहन विचार दिएको मतका प्रमुख पक्षपाती जोन बेलामी फोस्टरले भनेका छन्, “पर्या–समाजवादीमाथिको छलफलमा सहभागी केही मानिसहरू आज पुँजीवादको पर्यावरणीय आलोचनामा माक्र्सको महत्वमा सन्देह गरिरहेका छन् ।”
माक्र्सको ऐतिहासिक भौतिकवादी दृष्टिकोणअन्तर्गत यो पक्षबारे अहिलेसम्म किन थाहा भएन अथवा किन बिर्सियो भन्ने प्रश्नका धेरै थरी उत्तर छन् । पर्यावरणबारे माक्र्सका विचारको विकास उनको जीवनका अन्तिम दुई दशकमा भएको देखिन्छ । त्यतिबेलाका उनका अधिकांश लेख र टिपोट अहिलेसम्म प्रकाशित भएन । दोस्रो अन्तर्राष्ट्रियकालमा माक्र्सवादलाई मूलतः औद्योगिक कोणबाट मात्र व्याख्या विश्लेषण गरियो । रुसी क्रान्तिको सुरु – सुरुका दिनमा प्राविधिक प्रगतिप्रति उत्साह हावी बन्यो । साथै, सोभियत सङ्घको पछिल्लो चरण कोरा सिद्धान्तवाद र औद्योगिक योजनामा केन्द्रित बन्यो । दोस्रो विश्वयुद्धपछि फ्रान्सफर्ट स्कुललगायत अन्य पश्चिमा माक्र्सवादी चिन्तनधारा प्रभावशाली बने । ती चिन्तनधारा पनि मूलतः संस्कृति र सौन्दर्यशास्त्रमा बढी केन्द्रित भए । फलतः त्यो सिङ्गो अवधिमा माक्र्सवादलाई प्रकृतिको सन्दर्भमा पनि जोडेर हेर्न सकिने विचार छायामा प¥यो ।

जस्टस भोन लेबिग


सन् १९६० र ७० दशकमा पनि समाजवादी पर्यावरणवादीहरू थिए । एलान थ्रोनेटको पछिल्लो पुस्तक ‘फेसिङ द एपोक्लेप्सः आर्गुमेट्स फर इकोसोसिएलिज्म’ (२०१९) मा त्यतिबेलाका समाजवादी पर्यावरणवादीहरूको विषयमा विस्तृतमा लेखेका छन् । तथापि सन् १९८० को दशकमा प्रकाशित टेड बेन्टन र इल्मर अल्भटरजस्ता माक्र्सवादीहरूका कृति प्रकाशित भएपछि र ‘क्यापिटालिज्म नेचर सोसिएलिज्म’ नामको जर्नल प्रकाशन हुन थालेपछि माक्र्सवादी पर्यावरणबारे विचारले मूर्त रूप लिन थालेको थियो । माक्र्समाथि ‘उत्पादनवादी’ को आरोपलाई थप सैद्धान्तिक छलफलसहित जोन बेलामी फोस्टरले ‘माक्र्स इकोलोजी’ (२०००) र पल बुर्केटको ‘माक्र्स एन्ड नेचर’ (१९९९) मा चुनौती दिएका छन् । दुवै लेखकले ती पुस्तकहरू र त्यसयताका अन्य लेख एवम् कृतिमा पुँजीवादबारे माक्र्सको धारणा पर्यावरणीय कोण भएको विश्लेषण गरेका छन् । माक्र्सको विचारमा नाफा र पुँजीको लागि स्वयम्मा स्वाभाविक सीमितता भएको प्राकृतिक स्रोतको असीमित दोहनमा आधारित छ ।
पछिल्लो समयमा कोहे साएटोले आफ्नो पुस्तक ‘कार्ल माक्र्स इकोसोसिएलिज्म’ मा माक्र्सको पर्यावरणका प्रमुख प्रणालीगत विशेषताको व्याख्या गर्दै माक्र्सका ती विचार राजनीतिक अर्थशास्त्रमा उनको आलोचनाको प्रस्ट निरन्तरता भएको व्याख्या गरेका छन् । आफ्नो विश्लेषणको लागि सिएटोले सन् १८६५ देखि १८६८ सम्मका माक्र्सका अप्रकाशित पर्यावरणसम्बन्धी टिपोट पनि प्रयोग गरेको हुनाले त्यो विश्लेषण त्यसअघिका विश्लेषण र दाबीभन्दा परिपक्व थियो ।
ब्रिटिस म्युजियमको पुस्तकालयमा बसेर माक्र्सले आफूले पढेको पुस्तकका पङ्क्तिहरू आफ्ना नोटबुकमा टिप्दै गरेको तस्वीरबारे हामी सबै परिचित छौँ । त्यतिबेलाका उनका नोटबुकमा आफूले पढेका पुस्तक, लेख र अखबारका पङ्क्ति नै उनले सार्ने गर्थे । त्यसकारण, ती नोटबुकले माक्र्सबारे अध्ययन गर्ने धेरै अध्येताको ध्यान तानेन । माक्र्सका कृतिको आलोचनात्मक संस्करण ःMarx-Engles-Gesamtausgade-MEGA मा ती नोटबुकहरू प्रकाशित हुँदै गए । ती नोटबुकहरूको अध्ययनले माक्र्स कसरी काम गर्थे, उनलाई के कुराले प्रोत्साहित गथ्र्यो र नयाँ विकास उनी कसरी विकास गर्थे भन्ने कुरा बुझ्न सक्छौँ ।
सन् १८६० को दशकमा माक्र्सको पुँजीको पहिलो खण्ड प्रकाशित भयो । त्यही बखत माक्र्स प्राकृतिक विज्ञानको गम्भीर अध्ययनमा लागे । त्यही क्षेत्रलाई आजकल हामी पर्यावरण भनिरहेका छौँ । सन् १८६४ देखि १८७२ सम्मका पर्यावरणसम्बन्धी नोटबुक ःMarx-Engles-Gesamtausgade IV मा पुस्तकाकारमा प्रकाशित छन् । ८२० पृष्ठको यो पुस्तकमा टिप्पणी र साभार समावेश छन् । साथै, अलग्गै ४७० पृष्ठको अर्को जानकारी र आलोचनात्मक टिप्पणीको अर्को पुस्तक छ । चार वटा नोटबुकमध्ये सन् १८६५÷६६ को एउटा र सन् १८६८ को तीनवटा नोटले कृषि रसायनशास्त्र, भूक्षय, वन विनाश, प्राणी विज्ञान, भूमिको तिरो, पुँजीवादी कृषि, जलवायु, ग्रामीण क्षेत्रमा सामाजिक सम्बन्धका साथै पुँजीवादी समाज र उपनिवेशमा कृषि सम्बन्धबारे चर्चा गरिएको छ ।
भूक्षय र वन विनाशको समस्या उन्नाइसौँ शताब्दीमा युरोप र उत्तर अमेरिकामा ठूलो चासोको विषय थियो । उदाउँदो बृहत् पुँजीवादी कृषिको विस्तारसँगै यो समस्या बढेको थियो । त्यही बेला कृषि रसायनशास्त्रमा ठूला – ठूला प्रगति गरिएको थियो । सन् १८६० को दशकअघि माक्र्स आधुनिक कृषि विज्ञानले माटोको पुनः पूर्तिको समस्या समाधान गर्ने सोच्थे । सन् १८४६ मा प्रकाशित ‘द पोभर्टी अफ फिलोसोफी’
(दर्शनको गरिबी) मा माक्र्सले भनेका छन्  । ‘रसायनशास्त्रको विकासले माटोको प्रकृति हरेक समय परिवर्तन भइरहेको छ, हामीले आज थाहा पाएको भूगर्भसम्बन्धी ज्ञानले जमिनको तुलनात्मक उत्पादकत्वमा क्रान्ति हुन थालेको छ ।’ प्राकृतिक वैज्ञानिकहरूले पत्ता लगाएका माटोको रसायनसम्बन्धी ज्ञानका साथै रसायनिक मलको बढ्दो प्रयोगले कृषि उत्पादन बढाउनुका साथै माटोको पुनः पूर्तिमा ठूलो प्रगति भएको छ । यो उत्साह अझै पनि सकिएको छैन ।
सन् १८६० को दशकमा माक्र्सको सबभन्दा आमूल परिवर्तनकारी दृष्टिकोणमा सबभन्दा बढी प्रभाव जसटस भोन लेबिग (१८०३–१८७३) को थियो । लेबिग गेइस्सिन विश्वविद्यालयका प्राध्यापक थिए । पछि सो विश्वविद्यालय उनको नाममा नामाकरण भयो । उनलाई आधुनिक कृषि रसायनशास्त्रका पिताको रूपमा पनि व्याख्या गरिन्छ । लेबिगले अर्गानिक रसायनशास्त्रमा निकै ठूला परिवर्तन ल्याए । सन् १८४० मा उनको ‘अर्गानिक केमेस्ट्री एन्ड इट्स एप्लिकेसन टु एग्रिकल्चर एन्ड फिजियोलोजी’ (अर्गानिक रसायनशास्त्र र कृषि तथा शरीर विज्ञानमा त्यसको प्रयोग) पुस्तक प्रकाशित भयो ।
अहिले २२० पृष्ठमा प्रकाशित सन् १८६५÷६६ को पर्यावरणीय नोटबुक सन् १८६७ मा पुँजीको पहिलो भाग प्रकाशत भएको समयमा लेख्न सकिएको थियो । लेबिगबारे माक्र्सले गरेको अध्ययनको आधारमा उनले पुँजीवादी कृषिबारे केही शक्तिशाली वाक्यहरू थपेका थिए । उदाहरणको लागि माक्र्सले लेखेका थिए, “पुँजीवादी व्यवस्थाअन्तर्गत कृषि र उद्योग मिल्दा ठूलो सहरीकरण निम्त्याउँछ । सहरीकरणले समाजको ऐतिहासिक शक्तिलाई केन्द्रित गर्छ । तर, त्यसले मानिस र पृथ्वीबीचको अन्तरक्रियामा दखल पु¥याएको छ । …त्यसकारण, पुँजीवादी उत्पादनले उत्पादनको तौरतरिका र सामाजिक प्रक्रियाको विकास गर्छ भने सँगै जमिन र मजदुर जस्ता सबै धनका असली स्रोतलाई न्यूनाङ्कन गरेको हुन्छ ।”
पुँजीको खण्ड १ को पाद टिप्पणीमा माक्र्सले लेबिगका ‘अमर कृति’ मध्ये ‘आधुनिक कृषिको विनाशकारी पक्ष’ को उजागर गर्नु हो भनी लेखेका छन् । माक्र्सको नोटबुकमा मूलतः सन् १८६२ मा प्रकाशित लेबिगको पुस्तकको छैटौँ संस्करणबाट सन्दर्भ साभार गरिएको छ । त्यसमा लेबिगले आधुनिक कृषिको विनाशक पक्षको रूपमा ‘डकैती कृषि’ भनी व्याख्या गरेका छन् । अनि त्यस्तो ‘डकैती अर्थतन्त्र’ को विकास अरूतिर भन्दा उत्तर अमेरिकामा बढी विकास भएको थियो ।
लेबिगको पुँजीवादी कृषिप्रति माक्र्सको टिप्पणीले उनलाई कृषि र वातावरणको विषयमा त्यतिबेलासम्म प्राकृतिक वैज्ञानिकहरूले लेखेका सबै कुराको अध्ययन गर्न उत्साहित बनायो । सन् १८६६ को फेब्रुअरी १३ मा माक्र्सले एँगेल्सलाई लेखेका थिए, “म दिउँसो – दिउँसो म्युजियम
(बेलायती पुस्तकालय) मा जान्छु र राति –राति लेख्छु । जर्मनीका विशेषतः लेबिग र स्होनबेनका कृषि रसायनशास्त्रसम्बन्धी नयाँ कुरा उधिनिरहेको छु । ती कुरा सबै अर्थशास्त्रीहरूले लेखेका कुरा भन्दा निकै महत्वपूर्ण छन् ।”
स्वीडेनका माक्र्सवादी स्टेभ–इरिक लेडमेनले अङ्ग्रेजी भाषामा लेखेको माक्र्सको जीवनी सन् २०१८ मा प्रकाशित भयो । त्यसमा उनले लेखेका माक्र्सको ‘अन्त्यहीन अध्ययन र सन्दर्भ सामग्रीको सङ्कलन…ले ज्ञानबीच कुनै खाडल बाँकी नछोडेको’ लेखेका छन् । सन् १८६६ मा माक्र्स जतिबेला लेबिग र अरू लेखकले लेखेका कृषिसम्बन्धी कृति पढिरहेका थिए, उनको निधन पछि एँगेल्सले पुँजीको तेस्रो भागको रूपमा सङ्कलन गरेका नोटहरू उनको टेबुलमा थिए ।

कार्ल निकोलोस फ्रास


माक्र्सबारे एउटा अनुत्तरित प्रश्न भनेको पुँजीको पहिलो भाग प्रकाशनपछि सन् १८७० को दशकमा उनका कृतिहरू किन निकै थोरै सङ्ख्यामा मात्र प्रकाशित गरियो ? उनको नोटबुका धेरै अंश अझै पनि प्रकाशन हुन नै बाँकी छ । ती सबैको अध्ययनले नै सम्भवतः यी प्रश्नको उत्तर दिनेछ । लेडमेनका अनुसार माक्र्सले ‘आफू कहिल्यै नमर्ने अमर जस्तो गरी आफ्नो अध्ययनलाई जारी राखे र नोटहरू बनाइरहे ।’ जर्मनका समाजवादी तथा माक्र्सका मित्र विलिहेम लेबनेख्तले तिनताका माक्र्सको चासोबारे लेखेका छन् ः
“विशेषतः भौतिकशास्त्र र रसायनशास्त्रलगायत प्राकृतिक विज्ञानको क्षेत्र र इतिहासको क्षेत्रमा माक्र्सले हरेक नयाँ कुरालाई पछ्याए । हरेक नयाँ प्रगतिको पुष्ट्याइ खोजे । माक्र्सका सम्भाषणहरू हामी गम्भीरतापूर्वक सुन्थ्यौँ । ती सम्भाषणहरूमा रिकार्डो, एडम स्मीथ, मकालक, स्कटिस र आइरिस अर्थशास्त्रहरूका नाम सँगै मोलेस्चोट, लेबिग, हक्सलेका नाम पनि बरोबर उल्लेख हुन्थ्यो ।”
माक्र्सका चिन्तनमा पर्यावरणीय पक्ष थियो वा थिएन भन्ने कुरामा कुनै प्रकारको सन्देह भए हालसालै प्रकाशित सन् १८६५÷६६ र विशेषतः १८६८ को माक्र्सको नोटबुकले यो विषय उनको लागि ‘अरू कुनै पनि अर्थशास्त्री’ भन्दा कति महत्वपूर्ण थियो भन्ने प्रस्ट पार्छ । माक्र्सका सन् १८७० को दशकका धेरै नोटबुक त अझै पनि प्रकाशित भएकै छैनन् । माक्र्सले चासो राखेको पर्यावरणीय समस्या आजको भन्दा फरक पक्कै थियो तर पूर्णतः असम्बन्धित नै भने होइन । माक्र्सले पुँजीको खण्ड दुईको प्रकाशन सकाउन सकेको भए (जो पछि माक्र्सको निधनपछि एङ्गेल्सले सम्पादन र प्रकाशन गरेका थिए) पर्यावरणसम्बन्धी माक्र्सका सिद्धान्तले अझ पूर्णता पाएको हुने थियो ।
‘इकोनोमिक एन्ड फिलोसोफिकल मनुस्क्रिप्ट अफ १८४४’ मा माक्र्सले ‘मानिसको विश्वव्यापकताले व्यवहारमा प्रकृतिकलाई उसको अजैविक हिस्सा बनाइदिन्छ’ भनी लेखेका छन् । एउटा प्राणीको रूपमा मानिस र बाँकी प्रकृतिबीचको सम्बन्धलाई मानिसले सुरुदेखि नै आफ्नो चिन्तनको हिस्सा बनाएका थिए । आफू र प्रकृतिबीचको अन्तरक्रिया नियमन र नियन्त्रणको लागि मानिसले प्रयोग गर्ने प्रक्रिया नै श्रम हो ।
अन्तरक्रिया (मेटाबोलिज्म –मेटाबोलिज्मको शाब्दिक अर्थ रसायन प्रक्रिया हो, यहाँ सहजताको लागि अन्तरक्रिया शब्दको प्रयोग गरिएको छ । यद्यपि, अन्तरक्रियाले पनि पूर्ण अर्थ भने दिन सकेको छैन) का अवधारणा लेबिग र अन्य प्रकृति वैज्ञानिकहरूले शरीर विज्ञान र जैविक रसायनशास्त्रको सन्दर्भमा उन्नाइसौँ शताब्दीमा ल्याएका हुन् । मेटाबोलिज्म शब्दले प्राणीभित्र हुने जैविक रसायनिक प्रक्रियाको व्याख्या गर्छ । जस्तै उदाहरणको लागि प्राणीको शरीरभित्र जैविक वस्तुको ऊर्जामा रूपान्तरण हुुनु अथवा बोटबिरुवा र माटोबीच हुने रसायनिक अन्तरक्रिया मेटाबोलिज्म हो । सबै जीवन भएका प्राणी र बोटबिरुवा मेटाबोलिज्मको हिस्सा हो । कहिलेकाहीँ यो प्रक्रिया टुक्रिन सक्छ । उदाहरणको लागि माटोमा दिनेभन्दा लिने क्रम बढे अथवा जब बोटबिरुवा र रुखले उत्पादन गरेको जति कार्बोनडाइअक्साइड प्रयोग गर्न सक्दैन भने मेटाबोलिज्मको प्रक्रिया टुक्रिन्छ । त्यतिबेला ‘मेटाबोलिज्म खाडल’ को अवस्था आउँछ । उन्नाइसौँ शताब्दीको ‘दोस्रो कृषि क्रान्ति’ ले निम्त्याएको पर्यावरणीय सङ्कटबारे व्याख्या गर्ने क्रममा माक्र्सले सन् १८६० को दशकमा सामाजिक मेटाबोलिज्मको अवधारणा अघि सारेका थिए ।
माक्र्सको लागि प्रकृतिसँग मानिसको मेटाबोलिज्म (अन्तरक्रिया) श्रममार्फत हुने भएकोले यो प्रक्रिया निश्चित उत्पादनको चरणसँग यो सम्बन्धित हुन्छ । उनले त्यसकारण लेबिगको “मेटाबोलिक खाडल’ लाई पुँजीवादी अन्तरविरोधको विशिष्ट अवस्थाको रूपमा व्याख्या गरेका छन् । पुँजीको खण्ड ३ मा उनले प्रस्ट शब्दमा लेखेका छन्ः कथाको सार… पुँजीवादी व्यवस्था न्यायसङ्गत कृषि विपरीत जान्छ अथवा न्यायसङ्गत कृषि पुँजीवादी व्यवस्था अनुकूल हुने गर्दैन ।”
विशेषतः सन् १८६८ ताका माक्र्सलाई आकर्षित गर्ने अर्का वैज्ञानिक थिए–कार्ल निकोलाउ फ्रास । कृषि र वन विनाशले जलवायु र जलवायु परिवर्तनमा पार्ने प्रभावलाई फ्रासले दिएको जोडले उनको विचारलाई उल्लेख्य बनायो । माक्र्सले फ्रासको विचार सन् १८४७ मा प्रकाशित ‘क्लाइमेट एन्ड प्लान्ट वल्र्ड ओभर टाइम’ (समयमा जलवायु परिवर्तन र जैविक विश्व) र सन् १८५२ मा प्रकाशित ‘हिस्ट्री अफ एग्रिकल्चर’ (कृषिको इतिहास) मा पढेका र टिपेका थिए । सन् १८३७ देखि १८४२ सम्ममा फ्रास एथेन्सको शाही बागमा निर्देशक बनेका थिए । सन् १८४७ मा उनी एथेन्सको विश्वविद्यालयमा प्राणीशास्त्रका प्राध्यापक बने । सन् १८४७ मा उनी जर्मनी फर्के । उनले म्युनिखको विश्वविद्यालयमा कृषि रसायनशास्त्रको अध्यापन गरे ।

जर्ज लुडबिग भोन मौरर


फ्रासको वातावरण र उत्पादनको प्राकृतिक अवस्थाले मानव सभ्यता र विशेषतः कृषिले न्यूनाङ्कन गरेको छ । उनले वन विनाशको विरोध गरेका छन् किनभने ‘निकै अम्लीय र बलौटे माटो भएको क्षेत्र वा चुनढुङ्गाको मात्रा बढी भएको क्षेत्रमा वन विनाश गर्दा तापमान निकै बढ्ने गर्छ ।’ उनले प्राचीन ग्रीस र रोममा बोट बिरुवाको हुर्काईको अध्ययन गरेर कृषि र वन विनाश जलवायु परिवर्तनसँग सम्बन्धित भएको निष्कर्ष निकाले । वन विनाशले नै अन्ततः मरुभूमिकरण बढ्ने र मानव सभ्यता नै नष्ट हुने उनले निष्कर्ष निकालेका थिए ।
फ्रासले ‘क्लाइमेट एन्ड प्लान्ट वल्र्ड…’ पुस्तकमा लेखेका छन्–“मानिसले प्रकृतिको संसार बदल्छ । प्रकृतिमाथि मानिस धेरै कोणबाट निर्भर रहन्छ र सबैले सोचेभन्दा यो निर्भरता निकै माथि छ । वास्तवमा मानिसले प्रकृतिमा यति धेरै परिवर्तन गर्न सक्छ कि प्रकृतिले मानिसलाई चाहेको कुरा दिनै नसक्ने अवस्थासम्म पुग्न सक्छ ।…यसमा परिवर्तनको कुनै आशा छैन ।”
माक्र्स फ्रासबाट प्रभावित थिए । सन् १८६८ को मार्च २५ मा एँगेल्सलाई लेखेको चिटठ्ीमा माक्र्सले फ्रासको पुस्तक ‘निकै रोचक’ भएको लेखेका छन् । उनले जलवायु र वनस्पति ऐतिहासिक समयमा परिवर्तन भएको कुरा फ्रासको पुस्तकमा प्रमाणित गरेका छन् । फ्रासले लेखेका छन्, “प्रारम्भिक तरिकाबाट अघि बढेको कृषिमा कुनै प्रकारको सचेत नियन्त्रण नभए (उनले धन्न बुर्जुवाको कुरा गरेका छैनन्) मरुभूमिकरण हुनेछ ।”
निःसन्देह माक्र्सको निष्कर्ष न कुनै वैज्ञानिक समाधानमा निर्भर छ न भविष्यप्रति निराशावादी नै छ । बरु उनी पुँजीवादी व्यवस्थाको अन्त्य र समाजवादी समाज स्थापनाको पक्षमा छन् । समाजवादी समाजले मात्र प्रकृतिसँग मानिसको अन्तरक्रिया (मेटाबोलिज्म) लाई न्यायसङ्गत तरिकाले नियन्त्रण गर्छ, सामूहिक नियन्त्रण कायम गर्छ, न्यूनतम ऊर्जा खर्च गरेर उपयुक्त मानवीय प्रकृति र अर्थपूर्ण तरिकाबाट यो अन्तरक्रिया गरेको हुन्छ ।
फ्रासपछि र सम्भवतः फ्रासले प्रशंसा गरेको हुनाले माक्र्सले जर्ज लुडविग भोन मौरेरलाई पढे । उनी एक जना न्यायाधीश र कानुनका इतिहासकार थिए । उनले म्युनिख विश्वविद्यालयमा जर्मनी र फ्रान्सेली ऐतिहासिक न्यायशास्त्र पढाउँथे । सन् १८५६ देखि १८७१ सम्ममा उनले जर्मनी जनताबीच सम्पत्ति अधिकारसम्बन्धी कानुनी इतिहासका एघार खण्ड पुस्तक लेखे । मौरेरको १८५४ मा प्रकाशित पुस्तक ‘इन्ट्रोडक्सन टु द हिस्ट्री अफ द कन्स्टीच्युसन अफ द मार्क, फार्म भिलेज एन्ड टाउन एन्ड इट्स पब्लिक अथोरिटी’ (मार्क, कृषि गाउँ र नगर तथा त्यसका सार्वजनिक संस्थाको संविधानको इतिहास) बाट माक्र्सले निकै धेरै टिपोट लिए । मौरेरले सुरुका जर्मनीका जनताबीच सामूहिक काम गर्ने र भूमिमाथि सामूहिक स्वामित्व हावी भएको सामाजिक व्यवस्था कायम रहेको सिद्धान्तको व्याख्या गरेका छन् । त्यस्ता समुदायको प्रशासनिक काम सम्हाल्ने निकायलाई मार्क भनिन्थ्यो । त्यो सामाजिक बन्दोबस्तमा दिगो कृषि व्यवस्था कायम थियो ।
सन् १८७६ मा माक्र्स मौरेरका पुस्तक अझै पढिरहेका थिए । (त्यो वर्ष माक्र्सका तीन वटा नोटबुक थिए) त्यो क्रममा उनको मृत्यु सन् १८८२ सम्म पनि चालू रह्यो । मौरेरका कृतिबाट प्रभावित भएर उनले मानिस र पुँजीवादभन्दा अघि र पश्चिमा समाजभन्दा अघिको प्रकृति तथा मानिसबीचको अन्तरक्रियाको परीक्षण गर्न चाहेका थिए । त्यसकारण, माक्र्सको ध्यान रुसी गाउँहरूतिर गयो । सन् १८७०–७१ मा माक्र्स रुसीहरूसँग आफै संवाद गर्न रुसी भाषा सिक्नतिर लागे । रुसी भाषामै बहस र अनुसन्धानमा सहभागी बन्ने चाहनाले उनलाई त्यता डो¥याएको थियो । माक्र्सकी श्रीमती जेनीले सन् १८७० को जनवरीमा एँगेल्सलाई लेखिएको पत्रमा भनिएको छ, “उनी रुसी भाषा सिक्नतिर यसरी लागेका छन्, मानौँ त्यो जीवनमरणको प्रश्न हो ।”
एक दशकपछि सन् १८८१ मा यही विषयमा भेरा जसुलिचसँग छलफल भयो । उनले जसुलिचलाई पश्चिमा युरोप र उत्तर अमेरिकाका समाजहरू कामदार जनता, विज्ञान र त्यसले जन्माउने हरेक उत्पादक शक्तिसँग द्वन्द्वमा छन् । सङ्क्षेपमा भन्दा यो एउटा यस्तो सङ्कट हो जसको अन्त्य आफ्नै निमूर्लनबाट हुन्छ । सामूहिक स्वामित्व र उत्पादनको उच्च तहको विशिष्ट आधुनिक समाजमा पुगेर मात्र यो द्वन्द्वको समाप्त हुनेछ ।” त्यतिबेलासम्म माक्र्स पर्यावरणीय सङ्कट विज्ञान वा आधुनिक रसायनशास्त्रले मात्र समाधान नहुने कुरामा प्रस्ट भइसकेका थिए । उत्पादन शक्ति र उत्पादन सम्बन्धमा आधारभूत परिवर्तनले नै यसको समाधान हुनेमा उनी प्रस्ट भइसकेका थिए ।
पुँजीको पहिलो खण्ड प्रकाशनपछिको वर्षमा माक्र्सले अध्ययन गरेका प्राकृतिक वैज्ञानिक र इतिहासकारमध्ये यी केही मात्र हुन् जो MEGQ चौथो अङ्क १८ मा सङ्कलित छ । बाँकी अरू अङ्ग्रेजी कृषिविद् जोन लकहार्ट मोर्टन, जर्मन अर्थशास्त्री र दार्शनिक युजेन ड्युरिङ, फ्रान्सेली अर्थशास्त्री र कृषि इतिहासकार लिओन्स डी लाभरेन्ज, अमेरिकी अर्थशास्त्र हेनरी चाल्र्स केरी र अरू पनि धेरै ।
पर्यावरणको क्षेत्रमा काम गरिरहेका अध्येताहरूको निम्ति पर्यावरणबारे माक्र्सको धारणा समावेश पुस्तकको प्रकाशन खुशीको कुरा हो । यसले माक्र्समा पर्यावरणप्रति गहिरो अभिरुचि भएको पुष्टि गरेको छ । वास्तवमा उनी ‘मेटाबोलिक खाडल’ बारे बुझ्न र त्यसप्रति धारणा बनाउन गम्भीररूपमा लागेको देखिन्छ । तर, सामाजिक मेटाबोलिज्म, पुँजीवादबारे माक्र्सको आलोचना कसरी उनको श्रम र अतिरिक्त मूल्य सिद्धान्तसँग जोडिएको छ भन्ने कुरा माक्र्सवादी पर्यावरणवादीहरूबीच छलफल चालू नै छ ।
(माक्र्स एन्ड फिलोसोफी रिभ्यु अफ बुक्स, अगस्ट १२, २०१९ मा पहिलो पटक पुस्तक समीक्षाको रूपमा प्रकाशित)
स्रोत ः क्लाइमेट एन्ड क्यापिटालिज्म
नेपाली अनुवाद ः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *