भर्खरै :

बुद्ध र मार्क्सबारे केही बुझाइ

            आजभन्दा पच्चीस सय त्रिसठ्ठी वर्ष पहिले नेपाल भूमिमा जन्म लिएका राजा शुद्धोदनका छोरा युवराज सिद्धार्थले वैशाख पूर्णिमाका दिन बुद्धत्व प्राप्त गरेपश्चात् बुद्धको रूपमा चिनिए र उनी बुद्ध धर्म र बौद्ध दर्शनका प्रवर्तक भए ।
            पूर्णरूपमा सांसारिक मोहबाट टाढा भएका एक महान् व्यक्तित्व, गुरु, दार्शनिक, शिक्षक, पथप्रदर्शक र प्रवर्तक हुन् बुद्ध । बुद्धले भगवानले संसार सिर्जना गरेको कुरा मानेनन् । उनले संसारमा धर्म र नियमको पहिचान गर्दै मान्छेलाई (मानव) सांसारिक मोह र तनावबाट ब्युँझाउन सहयोग गरे । जसरी कुनै सामान या मेसिन किन्दा त्यसको प्रयोग गर्ने तरिकासहितको यसो गर्नु या नगर्नु भन्ने तथ्यसहितको प्रयोग पुस्तिका पाइन्छ, त्यस्तै जीवन अनि जगत्सम्बन्धी सहज अनि असफलताको प्रयोगको निम्ति बुद्धका विचार त्यस्तै पुस्तिकाजस्तै हो ।  आजभन्दा दुई सय दुई वर्ष पहिले जर्मनीमा जन्मेका कार्ल मार्क्सको विचार पनि जीवन जिउने त्यस्तै एउटा बाटो हो । हृदयको खेतमा सत्य अनि शान्तिको बीउ बिजारोपण गर्न सिकाउने गौतम बुद्धको जन्म ईशापूर्व ५४३ मा अहिलेको नेपालको कपिलवस्तु जिल्लामा भएको मानिन्छ । त्यस्तै समाजवादको बाटो देखाउने एवं गरिब, मजदुर वर्गको हितमा त्यागी भावनाका साथ क्रान्तिको माध्यमबाट श्रमिक वर्गको हितमा समर्पित सर्वहारा वर्गका महान् गुरु कार्ल मार्क्सको जन्म जर्मनीको ट्रियर सहरमा सन् १८१८ मे ५ तारिखमा भयो । आज विश्वमा बुद्धको आदर्श मान्ने मानिस धेरै छन् । शान्ति, सत्यता, अहिंसा अनि सरलताका लागि बुद्ध एकजना संसारका गुरु हुन् । २५०० वर्षपछि पनि उनको ज्ञानको अविरल कुञ्जले मानव समुदायलाई एउटा नयाँ शान्ति आयाम दिएको छ । त्यस्तै संसारका न्यायप्रेमी जनताले सर्वहारा वर्गका महान् गुरु कार्ल मार्क्सको विचारलाई आत्मसात गर्दै आज ती देशहरू विकसित राष्ट्रमा परिणत भइसकेका छन् । आज यी दुई युगान्तकारी बुद्ध र कार्ल मार्क्सको दर्शनको बारेमा चर्चा गर्नेछ ।
            आज दक्षिण एसिया, दक्षिण पूर्वी एसिया, पूर्वी एसियालगायतका देशहरू तथा पश्चिमा देशहरूमा बुद्ध दर्शनको प्रभाव निकै फैलिएको छ । कार्ल मार्क्सको दर्शन र चिन्तन पनि विश्वभर व्यापक छ ।
            भौतिक सुख सुविधाको लागि जो कसैले पनि कुनै नैतिकताको पर्खाल भत्काउन पछि नपर्ने हाम्रोजस्तो देशका शासक पुँजीपति वर्ग, भ्रष्टाचारी र कमिसनखोरी नेताहरू पच्चीस सय त्रिसट्ठी वर्ष पहिले बुद्धको दर्शनले भौतिक सुविधा जीवनको सत्य होइन र आफ्नो फाइदाको लागि अरूको शोषण कुनै पनि हालतमा न्यायसङ्गत हुनसक्दैन भन्ने मार्क्सले गरेको चिन्तनबाट  सिक्न सकेको देखिएन । यी दुई दर्शनमा निहित मानव दुःख र यसको कारण र निवारणको बारेमा चर्चा गर्ने कोशिश गरेका छौँ । शान्ति र अहिंसाको पर्यायको रूपमा चिनिएका बुद्ध र कहाँ साम्यवादका प्रणेताका रूपमा चिनिएको मार्क्स, कहाँ प्राचीन युग र पूर्वीय संसारका बुद्ध र आधुनिक युरोपका मार्क्स, कहाँ ध्यान तपस्याद्वारा शान्तिका अग्रदूत कहाँ राजनीतिक माध्यमद्वारा समाजवादको अग्रदूत दुई विपरीत ध्रुव र गोलार्द्धका जस्ता देखिने यी दुईका दर्शन र चिन्तनमा कुनै समानता र सादृश्य होला र भन्ने लाग्छ झट्ट हेर्दा ।
            मार्क्सवादी साहित्यमा बुद्ध दर्शनको बारेमा मैले खासै विश्लेषण गरिएको पाइएन । तर, १८५४ मा मध्य एसियामा अङ्ग्रेज र रसियाको प्रतिद्वन्द्विताको प्रसङ्गमा हिमालयको वारि र पारि दुवैपट्टि बुद्ध धर्मको वर्चस्व रहेको भनी थोरै चर्चा गरिएको पाइन्छ । उक्त प्रसङ्गमा हिमालयको वारि र पारि भन्नाले नेपालको छिमेकी मुलुकहरू चीन र भारतलाई बुझ्‍न सकिन्छ । त्यस्तै एँगेल्सले सन् १८५८ मा बर्माका बारेमा लेख्दा त्यहाँका जनता बुद्धमार्गी भएको उल्लेख गर्दै बुद्ध दर्शनको बारेमा थोरै चर्चा गरेको पाइन्छ ।
            यता बौद्ध दर्शनका गम्भीर अनुयायीका रूपमा चिनिने र स्वतन्त्र भारतको संविधानका मस्यौदाकार एवम् विद्वान डा. बाबा साहेब अम्बेडकरले मार्क्सवाद र बौद्ध दर्शनको बारेमा तुलनात्मक अध्ययन गरेको पाइन्छ ।
            सन् १९५६ मा काठमाडौँमा सम्पन्न चौथो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको सम्बोधनमा पनि डा. अम्बेडकरले मार्क्सवाद र बौद्ध दर्शनको तुलना गर्दै मार्क्सले कोट्याएका धेरै कुराहरू उतिबेलै बुद्धले अनुभूति गरी त्यसको निवारणका उपायहरू  सुझाइएको बताइन्छ ।
            मानव जीवन कष्टकर र दुःखमय भएको दुवैले महसुस गरे । मानव जीवन या संसारका प्राणीमा दुःख देख्नेहरूमा बुद्ध र मार्क्स पहिलो त पक्कै होइन । उनीहरूको दुवैको व्यक्तिगत जीवन पनि कष्टकर त हुँदै होइनन् । तर, उनीहरूलाई अरूको दुःख आफ्नै जस्तो लाग्यो । त्यो दुःख भोग्नेलाई भन्दा उनीहरूलाई असह्य भयो । दुवैको मनमा सुषुत्व अवस्थामा रहेको ‘गुण’ को कारणले नै अरूको दुःखलाई उनीहरूले आफ्नो अनुभूति गरे । त्यो मानवतावादी गुण दुवैमा साझा थियो । यसकै कारणले  दुवै दर्शनको प्रस्थानबिन्दु एउटै हुन गयो । तर, उनीहरूले देखेका र अनुभूति गरेका दुःखको चरित्र भने एउटै अवश्य थिएन । आहार, निन्द्रा र मैथुनको चक्रमा घुमेका आफ्नो जिन्दगीबाट विरक्तिएका राजकुमार सिद्धार्थले भोग, रोग, दरिद्रता, सिकिस्तता र मुत्युको अवलोकन गर्दा मानव जीवनमा दुःख देखे । रोग, अशक्तता र मृत्यु सबैको जीवनमा अनिवार्य छ । बुद्धले गरिब, धनी, मालिक, नोकर सबैको दुःख हुन्छ भने ।  सरकारका नेता तथा मन्त्रीहरूले एक पटक चिन्तनमनन गर्नुपर्ने विषय पनि यही हो ।  भ्रष्टाचार मुद्दामा परेका लोभमा परेका, ठूलठूला महलहरू ठड्याएका लोभी कम्युनिस्टहरू केबल मार्क्सवादको खोल ओढेर पुँजीवादतिर ढल्किने सरकारको कुर्सीमा बस्ने शसक वर्गहरू पनि एक दिन मर्नैपर्छ । तर उनीहरूको हामी लोभ नगरौँ भन्ने विचार आएको छैन । औद्योगिकीकरण र पुँजीवादी प्रणालीले जरा गाड्दै लगेकोले बेलायतका कलकारखानाहरूमा बालबालिका र मजदुरहरूले पाएको दुःख र अमानवीय अवस्था मार्क्सलाई असह्य भयो । उनले दुई छाक टार्न र बालबच्चाको लागि चाराको खोजीमा दिनको १५-१६ घन्टा अटुटरूपमा कारखानाका मेसिनसँग सङ्घर्ष गर्दै वस्तु उत्पादनमा एकोहोरो लागेका मजदुरहरूको दयनीय र कष्टयुद्ध जीवनमा साँच्चिकै दुःख देखे । तर, नेपालका शासक वर्ग एवम् राज्य सञ्‍चालकहरू श्रमिक, मजदुर जनताको कमाइ लुटेर भ्रष्टाचार गर्नतिर लागे । मानव इतिहासका विभिन्न कालखण्डमा एउटा वर्गले अर्को निमुखा वर्गमाथि थिचोमिचो र अन्याय गर्दा उनीहरूमा दुःख  देखे । दुःखको निवारणको लागि बुद्ध र मार्क्स दुवै चिन्तन, मनन, अध्ययन र कठोर साधनको सागरमा डुबुल्की मार्दै निस्कदा यसको निवारण छ भन्ने निष्कर्षमा पुगेको देखिन्छ ।
            व्यक्तिगत सम्पत्ति (निजी सम्पत्ति) ले व्यक्ति-व्यक्तिमा द्वन्द्व भई कलहको अवस्था आउन सक्ने बुद्धको चिन्तन रहेको देखिन्छ ।  अहिले नेपालको राष्ट्रिय सम्पत्ति निजी क्षेत्रलाई जिम्मा लगाएर भ्रष्ट नेताहरूले अकुत सम्पति आर्जन गर्नु यसको एक उदाहरण हो । बुद्धले ‘चतुआर्य सत्य’ को सूत्रमार्फत जीवनमा दुःख छ, यसको कारण छ र निवारण पनि छ र निवारणको लागि अर्को सूत्रको रूपमा ‘आर्य अष्टाङ्गिक मार्ग’ लाई अघि सारेको पाइन्छ । उता मार्क्सले देखेको दुःखको कारण कारखाना मालिकबाट मजदुरमाथि हुने शोषण हो । उनले अतिरिक्त मूल्यको सूत्रमार्फत मजदुरले गरेको काम बराबरको मूल्य (ज्याला) बाट उसलाई बञ्चित गरी नाफाको लागि मालिकबाट हुने यस कार्यलाई शोषणको संज्ञा दिए । यसको निवारणको लागि उत्पादनको साधन व्यक्तिमाम होइन राज्यको स्वामित्वमा हुनुपर्ने उपाय सुझाए । मार्क्सले इङ्गित गरेको दुःख र शोषणसँग बुद्धको प्रत्यक्ष सरोकार नदेखिए पनि व्यक्तिगत सम्पत्तिको बारेमा बुद्विमार्गी भिक्षुहरूले आफ्नो सङ्घमा कपाल खौरने ब्लेड, भिक्षापात्र, पानी पिउन लोटा, सियो धागो र तीन चिवरबाहेक अरू सम्पत्तिको नाममा आफ्नो साथमा अन्य केही राख्न नपाउने नियम रहेको देखिन्छ ।
            त्यस्तै बौद्ध र मार्क्सवादी दुवै दर्शन वैज्ञानिक धरातलमा आधारित मानिन्छ । कुनै विषय र विश्लेषण वैज्ञानिक हुन यसले कार्य कारणको सम्बन्धलाई आधार मानेको हुनुपर्छ । परिणाम मुख्य होइन कारण मुख्य हो । बौद्ध धर्मको मौलिक व्याख्या वा सार मानिने सिद्धान्त ‘प्रतीत्यसमुत्पाद’ हो । सारमा यस सिद्धान्तले संसारको कुनै कुरा साश्वत छैन वा परिवर्तनशील छ । यो संसार अस्तित्वमा रहनुमा पनि कुनै कारण छ भन्छ । कुनै निर्विकार साश्वत परमशक्ति तत्वबाट सम्पूर्ण भवको संरचना भएको हो । त्यहीँ शक्ति तत्वबाट भव सञ्‍चालित वा चलायमान हो भन्नु मिथ्यादृष्टि हो । बौद्ध दर्शनको यस सिद्धान्तलाई बिसौँ शताब्दीतिर आइन्सटाइनपछिका मूर्धन्य भौतिकशास्त्री स्टेफिन हकिन्सको पछिल्लो पुस्तक ‘ग्रायन्ड डिजाइन’ मा उल्लेख गरिएकोले पनि पुष्टि गरेको प्रतीत हुन्छ । त्यस पुस्तकका अनुसार ब्रह्माण्डको सृष्टिदेखि हरेक घटना र क्रियाकलाप हुनुमा कुनै ईश्वरको अनुकम्पा आवश्यकता छैन । यो त प्रकृतिको निश्चित नियममा सञ्‍चालित भइरहेको छ । मार्क्सको द्वन्द्वात्मक सिद्धान्तको निक्र्योल पनि उस्तै देखिन्छ । यस सिद्धान्तले भन्छ, हरेक कुरा चलायमान हुन्छ । बिहानीपछि दिन हुँदै रात पर्छ र पुनः भोलिपल्ट बिहानी अन्तरनिहित हुन्छ । त्यस अन्तरनिहित द्वन्द्वको कारणले नै त्यसलाई नयाँ र अझ परिष्कृत तहमा पुर्‍याउँछ । यो द्वन्द्वको चरित्र भनेको विनाशको लागि भन्दा नयाँ सृजनाको लागि हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *