नेपालको ७७ जिल्लामध्ये जुम्ला पनि एक हो । यहाँको खेती गर्ने प्रणाली अरू जिल्लाको भन्दा फरक छ । जुम्लामा पनि धान खेती हुने गर्छ । धान खेती अत्यन्तै फरक तरिकाको छ । मार्सी धान खेती जुम्लामा पनि हुने गर्छ । धान खेतीको उत्पादन प्राप्त हुन ७ महिना चाहिन्छ । चैत १२ गतेबाट जुम्लाको धान खेती सुरु हुन्छ । तर, जुम्लाकै एउटा गाउँ रनुखानामा चैतको ८ गतेबाट धान खेती सुरु हुन्छ । २ गते बीउ बताएर पानीमा भिजाएर १२ गते खेत अर्थात् बेर्नामा छर्ने गरिन्छ भने अन्य सबै गाउँमा चैतको १२ गते बीउ बताएर या केलाएर पानीमा भिजाइन्छ । चैत १६ गते उक्त भिजाएको बीउलाई पखालेर दिनभरि घाममा सुकाइन्छ । बेलुकीपख सुकाएको धानको बीउलाई घरभित्रको आगो बाल्ने चुला नजिकै भोजपत्रको पात बिछ्याएर थुपारेर राखिन्छ । त्यो थुप्रोमाथि सल्लाको पात अर्थात् झुपहरूले ढाकी त्यसमाथि मोटो मोटो लुगाले ढाकेर राखिन्छ । त्यो बीउलाई बिहान बेलुकी पानी दिइन्छ । त्यो बीउ २० चैतको दिनमा सानो सानो टुसा निस्किएर उम्रिन्छ र उक्त बीउलाई चैत २० गते नै बेर्नामा लगेर छरिन्छ ।

            बेर्नामा छरिसकेपछि त्यही बेर्नामा चामलको पिठोबाट लगड रोटी, बेसार मिसेका पहेँला अक्षता र चामलको पिठोबाटै पुवा भुटेर देवताको पूजा गर्ने परम्परा छ ।

            बेर्ना अर्थात् ब्याडमा बीउ छरेपछि साँझ बिहान पानी पटाएर ब्याडभरि पानी राखिन्छ । ब्याड र बीउलाई नयाँ वर्ष अर्थात् वैशाख १ गते देवताको पूजा गरी बीस अञ्जुली पानी बेर्नाबाट बाहिर फालिन्छ । २० चैतको जस्तै चामलको लगद रोटी, पुवा र पहेँलो अक्षता चढाइ देवताको पूजा गरिन्छ ।

            वैशाख महिनाभरि अर्थात् बीउ अर्को खेतमा नरोपुञ्जेलसम्म ब्याडमा पानी भरिभराउ गरी राखिन्छ । पानी भरिभराउ गर्दा बीउलाई कीरा, चराचुरुङ्गी, असिना पानी आदिबाट बचाउन सकिन्छ ।

            त्यो बीउलाई जेठ महिनाको १ गतेदेखि असार १० गतेसम्म खेतमा रोपेर सकिन्छ । वर्षको एक बाली पाक्ने अर्थात् उच्च ठाउँमा जेठ १ गतेबाट रोप्न सुरु गरिन्छ भने दुई बाली पाक्ने होचो ठाउँमा जेठको २० गतेदेखि असार ५ गतेसम्म रोपेर सकिन्छ ।

            धान रोपिसकेपछि धानको बेर्ना विस्तारै बढ्ने झारपात चाँडो उम्रने गर्नाका कारण पहिलो गोडुञ्जेलसम्म धान रोपेको खेतमा पानी भरिभराउ राखिन्छ । पानी भरिभराउ राख्दा खेत गोडमेल गर्न सजिलो हुन्छ भने झारपात कम उम्रने गर्छ ।

            जुम्लाको धान खेतीको समस्या भनेकै धान रोपेको खेतमा झारपात बढी आउने र गोडमेल गर्न बढी मान्छे चाहिने हुन्छ । उत्पादित धानको ५० प्रतिशत मूल्य गोडमेल गर्दा खर्च हुने गर्दछ । धान गोड्ने समय असार महिनामा हो । धान गोडिसकेपछि काठको बिगारोले पानी भरेको खेतमा तर लागेको झारपातलाई बिगारोले किवार लगाइन्छ । साउन महिनामा फेरि धान रोपेको खेतलाई दोस्रो गोडमेल गरिन्छ ।

            साउन महिनाभरि धान रोपेको खेतमा पानी राखिन्न । भदौ महिना लागेपछि १ महिना पानी राख्ने गरिन्छ । भदौ महिनाको २२ गतेभित्र धानको बाला निस्कने गर्छ । जुम्लाको भाषामा बाला निस्केकोलाई पसाउने भन्ने गरिन्छ । भदौको २२ गतेभित्र नपसाएको धान पाक्दैन भन्ने भनाइ छ । असोजको महिनाभर धानको खेतमा पानी राखिन्न । त्यो महिनाभरि धान पाकिसक्छ र कार्तिक १ गतेदेखि धान काट्न सुरु गरिन्छ । कार्तिकको १५ गतेसम्म जिल्लाको सबै ठाउँमा धान भित्र्याएर सकिन्छ ।

            धान काट्ने एक दिन खेतमै सुकाइन्छ । त्यसपछि बोकेर खलामा ल्याएर चुटिन्छ । त्यसपछि बाँकी रहेको धानलाई गोरु जोतेर दाइँ हालेर झारिन्छ । दाइँको रास सोहोरेर घरभित्र राखिन्छ । त्यसरी चैत महिनामा खेती गर्न सुरु भएको धानको फसल कार्तिक महिनामा घरमा भित्र्याइन्छ ।

            घरमा भित्र्याएको धान देउताको पूजा गरेरमात्र किसानहरूले आफू खाने र बढी भएको बेच्ने गर्छन् ।

            मार्सी धानको चामल रातो र सेतो रङको हुन्छ । रातो रङको चामल धेरै मीठो र सेतो रङको चामल अलि कम स्वादको हुन्छ । मार्सी धानको चामल मीठो हुने हुँदा जुम्लावासी जनताले रोटीभन्दा भातलाई बढी मनपराउने गर्छन् । धान रोप्ने प्रायजसो खेतमा हिउँदे बालीको रूपमा कार्तिक महिनामै जौ छरिन्छ । जौलाई गोडमेल र दैनिक सिँचाइ गर्नुपर्दैन ।  जौ छर्दा एक पटक सिँचाइ गरिन्छ । त्यस्तै चैत महिनामा एक पटक जौ खेतीमा सिँचाइ गर्ने गरिन्छ । जेठ महिनामा जौ बाली घर भित्र्याइन्छ । जौ बाली स्वास्थ्यको लागि फलदायक भए पनि स्वादमा मार्सी धानको चामलजस्तो मीठो हुँदैन । त्यसकारण जुम्लाको भात खाने संस्कारको विकास भएको मानिन्छ । तिथि र चाडपर्व आउँदा जुम्लीको घरमा अनिवार्य मार्सी चामलको भात पकाइने गरिन्छ । नयाँ परिकारको खानामा पनि चामल नै प्रयोग गरिन्छ । त्यसकारण जुम्लाको मार्सी धानको चामलको महŒव धेरै छ ।

            मार्सी धानको खेती गर्दा गोडमेलसम्म धेरै खर्च लाग्छ । मार्सी धानको बजार धेरै राम्रो छ । जुम्लामै मार्सी धानको चामलको मूल्य प्रतिकेजी रु. १५० पर्छ भने जिल्ला बाहिर रु. ५ सयसम्ममा बिक्री हुने गर्दछ ।

            जुम्लाको मार्सी चामल खान मीठो र तागतिलो हुन्छ भन्ने गरिन्छ । जुम्लाको मार्सी धानको भकारीमा ओखरको पात देहारको फोल्या आदि राखेमा जति वर्ष पनि धानलाई पुरानो राख्न सकिन्छ ।

            तर, मार्सी धानको खेतीका लागि किसानलाई त्यसको उत्पादन बढाउन सहयोग पाइँदैन न त सरकारले सहयोग दिन्छ न त अरू कसैले । त्यसकारण  जुम्लाको मार्सीधानको उत्पादन बढाउन सरकारी निकायको सहयोग आवश्यक छ । यसको उत्पादन बनाउन हाइब्रीड धानको बीउ अनुसन्धान गरी उत्पादन बढाउन सके देश धानमा आत्मनिर्भर हुनेछ ।

            जुम्लामा धानखेतीबाहेक कतिपय जमिनमा वर्षको एक बाली पाक्ने गर्दछ । भदौ र असोज महिनामा छरेको जौ, गहुँ असार साउन महिनामा पाक्ने र उत्पादन पनि कम हुन्छ ।

            जुम्लामा जौ, गहुँ, मकै, कोडो, फापर आदि अन्नको खेती पर्याप्त मात्रामा गरिन्छ । यो बाली गर्न समय धेरै लाग्ने तर उत्पादन कम हुन्छ । मकै र कोदो लगाउने जग्गामा पनि वर्षको एक बालीमात्र प्राप्त हुन्छ भने यसलाई गोडमेल गर्न धेरै खर्च लाग्ने गर्छ ।

            जुम्लामा अन्न बालीबाहेक दालहरूमा सिमी, गुराँस, गहत, मुसीमास, भटमासको राम्रो उत्पादन हुन्छ । यो समय थोरै लाग्ने र उत्पादन बढी हुने गर्छ । यी सामान नेपाल बाहिरको देशमा पनि बिक्री हुने गर्छ । दाल देशभरि परिचित छ जुम्लाको । तर, उत्पादन बढाउन कसैबाट पनि किसानलाई सहयोग मिल्दैन ।

            जुम्लामा सागपात र तरकारीहरूमा रायो, चम्सुर, पाल्ता, पालुङ्गो, तोरी, मुला, काउली, बन्दा, प्याज, लसुन, खुर्सानी, धनियाँ, गोलभेँडा, फर्सी, काँक्रो, रहरे सिमी, झुसे करेला, स्क्वास, मेची, आलु आदिको खेती र उत्पादन पनि राम्रो हुने गरिन्छ । आलु माघ र चैत वैशाखमा लगाइन्छ । यसको बाली असार र भदौमा भित्र्याउने गरिन्छ । गाजरको पनि राम्रो खेती हुने गर्छ ।

            फलफूलहरूमा स्याउ र ओखर यहाँका प्रसिद्ध खेती हुन् भने आरु, नासपाती, खुर्सानी आदिको पनि जुम्लामा खेती हुनुको साथै उत्पादन पनि बढी हुन्छ ।

            जुम्लामा पशुपालन क्षेत्र पनि राम्रो छ । भैँसी, गाई, भेँडा, बाख्रा, कुखुरा, हाँस, टर्की, लौचार, परेवा, घोडाघोडी, खच्चर आदि जुम्लामा पालन गरिन्छ । यसबाट किसानहरूले मासु, ऊन, दूध प्राप्त हुनुको साथै ढुवानी सेवामा पनि उपयोग हुन्छ । जुम्लामा उत्पादन हुने स्थानीय गाईको दूध, घ्यू, भेँडाको मासु र चराहरूको मासु मूल्यवान हुन्छ । खान मीठो हुन्छ र महँगो मूल्यमा बिक्री हुने गर्छ ।

            जुम्लामा जडिबुटी र यार्सागुम्बा धेरै कम पाइन्छ भने सतुवा, आक्चे, सिम्पारी पात, तीतो, कटुको, वनलसुन, गुछी च्याउ, भुल्ते, ठुगा, घिरौला आदि जडीबुटीहरू सार्वजनिक जङ्गलमा पाइन्छन् । हातेजडी, सतुवा, गुछी च्याउजस्ता मूल्यवान जडिबुटी किसानले आफ्नो बारीमा खेती गर्नसक्ने हुँदा सरकारले सो खेती प्रणालीको विकास गरिदिएको भए जुम्लामा गरिबीको अन्त्य र युवाहरूलाई घरमै रोजगारी मिल्ने थियो ।

            जुम्लामा जङ्गल र जडिबुटी थुप्रै छन् । तर, युवाहरू बेरोजगार छन् । यो सबैको उपयोग हुनसके हाम्रो जिल्ला र देश विश्वकै उत्कृष्ट परिचित ठाउँ बन्ने थियो । यसलाई उपयोग गरेर आर्थिक वृद्धिमा सहयोग गर्न सरकारको ध्यान जानु आवश्यक छ ।

            जुम्ला जिल्लाको कति जमिनमा एकमात्र बाली एक वर्षमा हुने गर्छ । वर्ष दिन समय लाग्ने भएकोले त्यो बाली मीठो र स्वस्थकर हुन्छ । कोदो, मकै, वर्षे आलु, गहुँ, गहत, भटमास वर्षको एक बाली पाक्ने गर्छ । त्यसैले त्यो बाली स्वस्थकर हुन्छ अनि स्वादिष्ट पनि हुन्छ । बाली छरेबाट पाकुञ्जेल धेरै समय लाग्ने हुँदा त्यो बाली उत्पादन कम हुन्छ तर मीठो र स्वस्थकर हुन्छ ।

            जुम्लाको मार्सी धान, स्थानीय गहुँ, जौ, सिमी, गहतको दाल अत्यधिक मूल्यमा बिक्री हुन्छ । तर, उत्पादन अत्यन्तै कम हुने गर्छ । पहिले गाडी सडक नपुग्दा जुम्लामा चामलको अभाव हुन्थ्यो । कर्णालीको उत्पादन बढाउन सरकारले सिँचाइ, मल र आधुनिक प्रविधिको विकास गर्नुपर्छ ।

            कर्णालीमा खाद्यान्न अभाव भन्ने समाचार धेरै प्राप्त हुन्छ । सरकारले दिएको चामल त्यहाँ नपुग्दै बाटोमै हिनामिना हुन्छ । कसरी खाद्यान्न अभाव भयो भन्ने ! जौ, मकै, चिनु, कागुनु, फापर पनि अन्न हुन् । तर, कर्णालीका मान्छे ती अन्नलाई खान मन पराउँदैनन् । चामल र गहुँ मीठो मान्ने र त्यसैको बढी उपयोग हुने गर्दा चामलको अभाव हुने गर्छ । यसलाई कम माग गराउन अरु नयाँ नयाँ खाद्य परिकारको विकास गर्नुपर्छ ।

            पहिले कर्णालीलाई नेपालको ऊन भण्डार भनिन्थ्यो । जुम्ला पनि ऊनको भण्डार थियो  । तर, अहिले बालबालिकाहरूलाई पढाउनुपर्छ भन्ने सिलसिलामा भेँडा बाख्रा पालन अत्यन्तै घट्न गयो । ऊनी वस्त्र घट्न गयो । सडक र मोटर पुगेर कुखुराको मासु भित्रिँदा पनि भेँडाबाख्राको पालन घट्न गयो । कुखुरा सानो किन्न र काट्न सजिलो  तर भेँडा खसी ठूलो किन्न र काट्न गार्‍हो भएकोले पनि मासु खाने बानीमा परिवर्तन भयो । त्यसलाई निरन्तरता दिन स्थानीय निकाय र सरकारको पनि ध्यान जान सकेन ।

            गाई, भैँसी कर्णालीमा थुप्रै हुन्छन् । तर, दूधको अभाव बढ्दो छ । किनभने पहिले प्रत्येक घरमा गाई, भैसी हुन्थे तर, अहिले सीमित मान्छेले मात्र गाई, भैँसी पाल्छन् । अर्काे कुरा कर्णालीका गाई, भैँसी त्यहाँका स्थानीय हुन् । चिसो हुने भएकोले उनीहरू थोरै दूध दिन्छन् । दूध मीठो र स्वस्थकर हुन्छ । घ्यू झनै मीठो हुने गर्छ ।

            कर्णालीको कृषि उत्पादन विस्तार गर्न स्थानीय बाली, पशुवस्तु र चराचुरुङ्गीको संरक्षण र विकास गर्नु आवश्यक छ । यसको विकास र संरक्षण गर्न जनता र सरकारको ध्यान जान आवश्यक छ ।

            कर्णालीको उत्पादनको संरक्षण विकासको लागि बजारको आवश्यकता छ । त्यहाँको उत्पादनको देश र विदेशमा माग भइरहेको छ । त्यसलाई महŒव दिनुपर्छ । कर्णालीमा स्याउ, आरु, ओखर, नासपातीलगायत धेरै फल्छन् । यसको लागि बजारको आवश्यकता छ । यसो गरे युवाहरूले विदेश जानु पर्दैन भने देश आत्मनिर्भर र समृद्ध हुनेछ ।

डीपी काफ्ले image
डीपी काफ्ले

Leave a Reply

Your email address will not be published. Required fields are marked *