भर्खरै :

मन्दिरको साँघुरो प्राङ्गणमा कीरा फट्याङ्ग्राजस्तै भारतीय हजारौँ हजार मजदुर

(दैनिक भास्करका पत्रकार बम्बईदेखि बनारस यात्राको रिपोर्टिङमा निस्केका छन् । जुन बाटोबाट लाखौँ मानिस नाङ्गै खुट्टा, पैदल, साइकल, ट्रक र गाडीमा गरेर आ–आफ्नो गाउँतिर हिँडेका छन् । । जसरी पनि उनीहरू घर जान चाहन्छन् । दैनिक भास्करले बम्बईदेखि बनारससम्म १५०० किमिको यात्राको क्रमबद्ध रिपोर्ट दिइरहेको छ, तीमध्ये तीन रिपोर्ट यहाँ प्रस्तुत गरिएको छ : सं.)
            मुम्बई, मे १८, २०२० । यूपी–विहारका मानिसलाई बसबाट महाराष्ट्र सरकारले मध्यप्रदेशको सीमामा थुपार्‍यो । यहाँ रातभरिमा ६ हजारभन्दा बढी मजदुर एउटा मन्दिरको प्राङ्गणमा जम्मा भए ।  बिनासामाजिक दुरी हजारौँ हजार मजदुर साँघुरो प्राङ्गणमा कीरा फट्याङ्ग्राजस्तै भरिएका छन् ।  अगाडि के हुन्छ ? कोहीलाई थाहा छैन । पूरै रात मजदुर यही सोधिरहेका थिए, “साहेब, यहाँदेखि यूपी–विहार जाने बस मिल्छ ? हे साहेब, ती बसहरू कहिले मिल्छ होला ?”
खारेगाउँ टोलबाट :
            नासिक राजमार्गमा ठाणेको खारेगाउँ टोल पहिलो नाका हो । दिउँसोको समय छ, यहाँ करिब १५००–२००० प्रवासी मजदुरहरूको भीड छ । रुद्रपुरका अञ्जु दुई साना बच्चाको साथ बिहान पाँच बजेदेखि कोलाहलमा उभिएकी छिन् । उनी भन्छिन्, “अब निस्के त जरुर गइन्छ, चाहे जस्तोसुकै होस् ।” प्रतापगढ जानको निम्ति लाइनमा लागेका सञ्जय बताउँछन्, “बस मिलेन भने पैदल जान्छौँ ।” जोसँग कुरा गर्दा पनि घर फिर्ता जानेमात्र जिद्दी गरिरहेका छन् । उनीहरूको जोस सुन्दा लाग्छ कि सडकको लम्बाइ छोटो हुँदै गएको छ ।
            यस ठाउँबाट महाराष्ट्र सरकार यिनीहरूलाई सीमासम्म छोडिरहेका छन् । त्यहाँबाट यी मानिसहरू आ–आफ्नो राज्य जानेछन् । बिहान ४ बजेदेखि लाइनमा लागेका थिए । मध्याह्न १२ बजेसम्म यिनीहरू कसैलाई थाहा थिएन कि कसलाई जान मिल्छ ? कसलाई मिल्दैन ? निश्चित छ, सबै जान पाउँदैनन् । सन्तोषकुमार मिस्त्रीको काम गर्ने गर्छ । मुम्बईको कलवामा एककोठे घर (खोली) को १५०० रुपियाँभाडा छ । दुई महिनादेखि उसले भाडा दिन सकिरहेका छैनन् । दूधखाने ९ महिनाको बच्चा लिएर लाइनमा उभिएका छन् । उनीहरूलाई यहाँबाट बस गइरहेको जानकारी दिएकोले यता आएका हुन् । सन्तोषकी श्रीमती र दुई बच्चाको साथमा भदोइ जानु छ । उनको श्रीमती आफ्नो दोस्रो बच्चालाई दूध चुसाइरहेकी छिन् ।
            यस नाकाको लाइनमा उभिएका सबैभन्दा धेरै मानिस उत्तर प्रदेशको जौनपुर, भदोइ र गोरखपुरका छन् । प्रतापगढ जानको निम्ति बिहान सात बजेदेखि लाइनमा लागेका सञ्जय भन्छन्, “प्रतापगढ पुगेमा कमसेकम भोकै मरिँदैन । यदि यहाँबाट बस मिलेन भने पनि आफ्नो परिवारका साथ प्रतापगढसम्म पैदल जानेछौँ ।” उनीहरूलाई खानेपिउनेको कुनै समस्या छैन । मानिसहरू खाने र पिउने पानी व्यवस्था गरिरहेका छन् । हरेक दिन खाना व्यवस्था गर्ने शाकिरका अनुसार बस चलिरहेको छ तर जसै साँझ हुन्छ मानिसहरू पैदल हिँड्न सुरु गर्छन् । यहाँ ट्रकले मानिसहरूसँग मनपरी पैसा असुलिरहेको छ ।
            यहीँ हामीले बसबाट यूपीको आजमगढ जानको निम्ति निस्केका तेजुराम जायसवाल, सत्यधामा र भन्द्रभानलाई भेट्यौँ । तेजुराम भन्छन्, “मुम्बईको भांडुपमा बस्छौँ । मेरो घर आजमगढ हो । कामधन्दा बन्द भयो । दुई महिना त बसेर खायौँ । काम सुरु हुने सम्भावना छैन । त्यसैले गाउँ जाँदै छौँ ।’”
            “हामीहरूसँग खानेपिउने केही छैन । यहाँ भोकै मरिने भयो त के गरौँ ?” सचिन चौरसिया सोध्छन् । ४० डिग्री तापक्रम र चर्को घामको गर्मीमा जौनपुर जिल्लाको शाहगञ्ज जानको निम्ति निस्केका हुन् । सचिन मुम्बईको कांदिवली इलाकाको एक थोक पसलमा काम गर्थे । अब पसल बन्द भयो । गाउँ जानेबाहेक उससँग कुनै उपाय छैन । टोल नाकामै हामीले प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय क्षेत्रका मूल निवासी मोहम्मद राजुलाई भेट्यौँ । भन्छन्, “मैले रेलबाट जान यूपी र महाराष्ट्र दुवै राज्य सरकारको वेबसाइटमा फाराम भरेको थिएँ । तर कुनैमा पनि नाम आएन । अनि गाउँ जानको लागि निस्केको हुँ ।”
            खारेगाउँ डिपोमा बसेका एक सरकारी अधिकारीले बताए कि खारेगाउँ नाकाबाट ११ बस दैनिक गइरहेको छ । यसैप्रकार नजिकको डिपोबाट दैनिक १६ बस छुटिरहेको छ । एक बसमा करिब २०–२२ जना मानिस बसाल्छ । खारेगाउँ टोल नाकमा हामीले सम्मान समाजका केही मानिस भेट्यौँ । उनीहरू सबै मध्यमवर्गीय मराठी भाषी परिवारका थिए । जसले २० हजार रुपैयाँ जम्मा गरेर यूपी बिहारका मानिसहरूको लागि पानी, बिस्कुट, पुलाव खाने चिजहरू जुटाइरहेका छन् ।
नासिक राजमार्गमा कसारा गाउँबाट
            नासिकमा राजमार्गको दुईतिर उजाड जङ्गली मैदान छ । सुक्खा मैदानको घाँसका पात आँखामा टल्किरहेका छन् । त्यहीबेलै हामीले एक ठाउँ रुखको छायाँमा साइकल ठड्याएर केही मानिस आराम गरिरहेको देख्यौँ । सबैको एकैजस्तो चम्किलो साइकल हामीलाई आश्चर्य लाग्यो । सायद उनीहरू साइक्लिस्ट हुन लागेका थिए । उनीहरू २९ जना १५ मईदेखि महाराष्ट्रको रायगढबाट आसमको लागि साइकलमा प्रस्थान गरेका रहेछन् । उनीहरूले घर फर्किनको लागि ५–५ हजारमा साइकल किनेका हुन् । उनीहरूलाई ३० दिन यही साइकल प्रतिदिन ९० किलोमिटर चलाएर आ–आफ्नो गाउँघर पुग्नु छ ।
          तुलसी बोरो भन्छन्, “हामी खोपोलीबाट १५ मई बिहान हिँडयौँ । रात राजमार्गको गाउँमा बस्छौँ ।” बोरोका अनुसार सबैजना रायगढको नेसनल डिजाइनर डिस्प्ले सिस्टममा काम गर्थे । यो कम्पनी भारतभरि फर्निचर उपलब्ध गराउने एक फर्निचर कम्पनी हो ।
यिनीहरू फर्निचर लोडिङ र प्याकिङ गर्थे । १४ हजार पारिश्रमिक पाउँथे । तुलसी बोरो बताउँछन्, “७ हजार बस्न खान खर्च गरी बाँकी बचत आफ्नो घर पठाउँथ्यौँ । यसपटक  त बसेको कोठाको भाडा तिर्न पनि गाउँबाट पैसा मगाउनुपर्‍यो । अब असाम गएर खेती गर्ने हो ।”
            रुबी बोसो मुतारीको उमेर ५० वर्ष भयो । उनको समस्या थोरै फरक छ । उनले साइकल चलाउन सकिरहेका छैनन् । बानी छैन । बीच बीचमा साइकलको चेन पनि फुस्किन्छ । एकपटक त पन्चर पनि भयो । मुतारी पनि घर गएर खेती नै गर्छन् । धान रोप्ने मौसम चलिरहेको छ । त्यहीँ खेती गर्ने सोचेका छन् । उनीहरूसँगै घर फर्किरहेका ५८ वर्षीय रत्नेश्वर साइकल चले पनि नचले पनि घर त जाने नै हो भन्छन् । रत्नेश्वरका दुई छोरा र दुई छोरी छन् ।
            उनीहरूको टोलीमा सबैभन्दा कम उमेर २० वर्षीय धुमनिक छन् । उनी कहिल्यै मुम्बई नआउने भन्छन् । कम्पनीले लकडाउन भयो, काम बन्द भन्यो । दुई महिनादेखि उनीहरू घरै बसे । न रासन थियो न भाडा । कोही मद्दतको लागि अगाडि आएनन् । धुमनिक जवान छ । रिस पनि धेरै छ ऊसँग । उनी सोध्छन्, ‘हामीलाई घर जानको लागि कम्पनीले भाडा दिनुपर्दैन ?’ उनीहरूले फर्किनलाई आफ्नो घरबाट पैसा मगाउनुपर्‍यो । साइकल पनि घरबाटै पैसा मागेर किन्नु पर्‍यो ।
महाराष्ट्र–मध्यप्रदेश सीमामा ठूलो बिजासन माता मन्दिरबाट :
            महाराष्ट्र र मध्यप्रदेश सीमाको इलाका । जिल्ला सेंधवा, मध्यप्रदेशको ठूलो बिजासन माता मन्दिर प्राङ्गण । सायद कुनै पूजा या पर्वमा पनि कहिल्यै यति भीड भएन होला । यिनीहरू महाराष्ट्रदेखि ल्याएका यूपी र विहारका मानिसहरू हुन् ।
            रातको ९ बजेसम्म महाराष्ट्र सरकारले आफ्नो यातायात विभागको बसबाट लगभग ४–६ हजार मानिसलाई मन्दिर प्राङ्गणमा बेवारिस छोड्यो । त्यसपछि बसहरू आउने क्रम जारी छ । यहाँ न कोही यूपी–विहारका अधिकारी थिए न कोही महाराष्ट्र सरकारका जिम्मेवार पदाधिकारी (नुमाइँदा) थिए । यहाँ फलामको छाना भएको एक टहरामा सबै मजदुरलाई झारिएका (लोहे की चादर वाले एक बडे पंडालमें सभी मजदुरोंको छोडा जा रहा है) छन् । भीडमा सामाजिक दुरीको सम्भावना छैन ।
            प्रधानमन्त्री नरेन्द्र मोदी लगातार एक मिटर दुरी कायम गर्न अपिल गरिरहेका छन् । तर ठूलो बिजासन माता मन्दिर प्राङ्गणमा हजारौँको सङ्ख्यामा मानिस एक दोस्रोसँग टाँसिएर बसिरहेका छन् । उनीहरू धेरै दिनदेखि सयौँ किमि पैदल हिँडेर आएका हुन् । उनीहरू त्यहीं थाकेर लखतरान बसेका छन् । यहाँ न त महिलाको लागि शौचालय छ न त सफा पानी । मजदुरहरू रातभरि सोधिरहेका थिए, “साहेब, यहाँदेखि यूपी–विहार जाने बस मिल्छ ? हे साहेब, ती बस कहिले मिल्छ होला ?”
            बान्द्रादेखि आएका २५ जनाको समूह पनि त्यही भीडमा सामेल छन् । तिनीहरूलाई सरकारी बसले यहाँ झारेर गएको हो । तिनीहरू अब कसरी अगाडि जाने हुन् ? थाहा छैन । पुणेबाट आएका राजेशलाई गोरखपुर जानु छ । यातायात विभागले उससँग सेंधवा, मध्य प्रदेशसम्म जान एक पैसा लिएन । उसलाई लागेको थियो, यो सुविधा उसलाई यूपीका मुख्यमन्त्रीको तर्फबाट मिलेको हो । परन्तु मध्यप्रदेशको सीमामा आएर उसले बुझ्यो कि वास्तवमा यहाँसम्म उसलाई महाराष्ट्र सरकारले छोडेर गयो र अगाडि मध्य प्रदेश सरकारले बन्दोबस्त गर्नुपर्नेछ ।रत्नागिरी जिल्लामा पेन्टिङको काम गर्ने रामनारायण बताउँछन्, ‘ट्रकमा सुल्तानपुर जिल्लाको लागि प्रस्थान भयौँ । बीचमा पुलिसले ट्रक रोकेर बसमा राखेर यहाँ पठायो ।’ साँझ ६ बजे उनीहरू मन्दिर आइपुगेका थिए ।
            ठाणे, मुम्ब्रामा बस्ने रफी अहमद राति ८:३० मा महाराष्ट्र यातायात विभागको बसबाट सेंधवा आइपुगे । उनलाई यूपीका मुख्यमन्त्री योगी आदित्यनाथको गोरखपुर जिल्लासम्म जानु छ । त्यहीँ उनको पनि घर छ । उनी आक्रोश पोखिरहेका छन्, “यहाँ यो समयमा महाराष्ट्र, मध्य प्रदेश र यूपी तीनै राज्यका एक जना पनि अधिकारी छैन ।”
            बोरीवली (पूर्व), टाटा पावर हाउस इलाकाबाट बिहारको छपरा जिल्ला जानको लागि यहाँ आइपुगेका अमरजीत कुमारको २४ जनाको समूह छ । उनी भन्दै छन्, “विहार सरकारले हामी बिहारी मजदुरलाई आफ्नै हालतमा मर्नको निम्ति छोडेको छ ।”
प्रस्तुति : सुन्दर वासी

Leave a Reply

Your email address will not be published. Required fields are marked *