भर्खरै :

स्वीकृत नयाँ नक्साअनुसार खुला सीमामा काँडेतार कहिले लगाउने हो ?

काठमाडौँ, ६ जेठ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रम केपी ओलीसँग लिम्पियाधुरासमेत समेटेर सरकारले स्वीकृत गरेको नक्सा किन सार्वजनिक नगरिएको, के सार्वजनिक नगर्न कसैको दबाब आएको हो र भनी प्रश्न राख्नुभयो ।
सांसद सुवालले प्रमसँग थप जिज्ञासा राख्नुभयो, “स्वीकृत नयाँ नक्साअनुसार नेपाल – भारत सीमा नियमित गरी काँडेतार कहिले लगाउने हो ? सरकारको निशाना छाप र सांसदको नयाँ लोगो कहिले तयार हुने हो ?
पुस ६ को गोरखापत्रमा ‘लिम्पियाधुरा फिर्ता ल्याउने होइन, त्यो नक्सामै राखिएन । लिपुलेकलाई त्रिदेशी विन्दुको रूपमा स्थापित गर्ने हो भनी लेख लेख्ने र त्यही लेखमा अमेरिकी सैन्य गठबन्धनसँग सम्बन्धित एमसीसी सम्झौताबारे ‘अमेरिकी सरकार कार्यान्वयनमा निश्चिन्त भए हुन्छ ।’ भनी सरकारभन्दा अगाडि बोल्ने गोरखापत्र संस्थानका सल्लाहकार सम्पादक गोपाल खनाललाई बर्खास्त गर्नुपर्दैन र भनी सांसद सुवालले प्रम ओलीसँग प्रश्न सोध्नुभएको थियो ।
उक्त प्रश्नको जवाफमा प्रम ओलीले कसले के के र कसले के लेखे आफूसँग जानकारी नभएको उल्लेख गर्दै कसैको दबाबमा स्वीकृत नक्सा सार्वजनिक गर्न नरोक्ने स्पष्ट गर्नुभयो ।
यसअघि ओलीले नेपाल सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले जेठ ४ र ५ गते उठाएका जिज्ञासाबारे जवाफ दिनुभएको थियो ।
जवाफ दिने क्रममा प्रम ओलीले गत वर्षको डिसेम्बर ३१ मा चीनको उहानमा कोभिड – १९ देखिएको औँल्याउँदै यसको स्रोत कहाँबाट भयो विवादमै रहेको उल्लेख गर्नुभयो ।
यस विषयबारे स्पष्ट गर्दै सांसद सुवालले प्रमसँग जिज्ञासा गर्नुभयो, “कोभिड– १९ को स्रोतबारे विवाद नभएको बरु अमेरिकाको मेरिलैन्डस्थित फोर्ड डेट्रिक जैविक प्रयोगशाला यसको स्रोत भएका तथ्यहरू सार्वजनिक भएको होइन र ?”
प्रम ओलीले उक्त प्रश्नको जवाफ दिनुभएन ।
सांसदहरूको उत्तर दिने क्रममा प्रम ओलीले नेपालमा जनवरी २३ मा कोभिड – १९ को पहिलो सङ्क्रमित देखिएको, कुल ४०७ लाई सङ्क्रमित हुनसक्ने तथ्याङ्क आएको देशभरि ५७, ९०४
क्वारेन्टिन क्षमता भएकोमा त्यसमध्ये २३ हजार क्वारेन्टिन गुणस्तरीय भएको, नेपाललाई पनि कोभिड – १९ मुक्त बनाउने सरकारको प्रयास भएको उल्लेख गर्नुभयो ।
प्रम ओलीले लिम्पियाधुरा समेटेर नक्सा स्वीकृत भएको र सोहीबमोजिम संविधानको अनसूची ३ संशोधन गरी नेपालको निशाना छाप र सांसदको लोगो पनि नयाँ बनाउने उल्लेख गर्नुभयो ।
प्रम ओलीले एमसीसीको योजनामा रहेको लप्सीफेदी रातमाटे ४०० केभीको प्रसारण लाइन विस्तारबारे चर्चा गर्दै एमसीसीले नबनाए नेपालको बजेटले बनाउन नीति तथा कार्यक्रममा उल्लेख गरेको बताउनुभयो ।
एमसीसी अघिल्लो सरकारले गरेको सम्झौता हो, यसलाई पारित गर्ने वा नगर्ने संसद्को जिम्मामा रहेको छ, प्रम ओलीले स्पष्ट गर्नुभयो ।
प्रम ओलीले बेलायती–भारतसँगको लडाइँपछि सुगौली सन्धि भएअनुसार कायम भएको सीमालाई त्यसपछि थिचोमिचो गरिएको स्वीकार्य नहुने बताउनुभयो ।
भारतले बनाएको गुन्जी–लिपु भञ्ज्याङ सडकबारे चीनले तीर्थयात्रीको बाटो भएको, कुनै व्यापारिक नाका नभएको, त्रिदेशी बिन्दु र सीमासँग सम्बन्धित नभएको बताउनुलाई भारतलाई समेत जानकारी गराएको प्रम ओलीले उल्लेख गर्नुभयो ।
नीति तथा कार्यक्रमको २७६ बुँदामध्ये ३३ वटा बुँदामा संशोधन दर्ता गरेको फिर्ता लिन सभामुख अग्नी सापकोटाले आग्रह गर्दा सांसद सुवालले सरकारबाट नेपालको लिम्पियाधुरा समेटेर नयाँ नक्सा स्वीकृत गरिए पनि सो नक्सा सार्वजनिक नगरिएको र प्रम ओलीको जवाफमा नीति तथा कार्यक्रममा कुनै समस्यालाई प्राथमिकतामा राखी उल्लेख गर्नुको सट्टा कृषिलाई प्राथमिकतामा राख्ने, खुला सीमा नियमित गर्ने, एमसीसी सम्झौता खारेज गर्ने विषय नआएको हुँदा संशोधन प्रस्ताव फिर्ता नलिने जानकारी गराउनुभयो ।
नीति तथा कार्यक्रम निर्णयार्थ पेश हुँदा नेमकिपा, राजमो, जनता समाजवादी पार्टी (मधेसी पार्टी) र नेकाले विपक्षमा मत दिएका थिए ।
प्रतिनिधिसभाको अर्काे बैठक जेठ १३ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *