भर्खरै :

नेपाल–भारत सीमा कडाइ गर्दै क्वारेन्टिनहरूको राम्रो बन्दोबस्त आवश्यक

काठमाडौँ, ७ जेठ । भारतमा कोभिड–१९ फैलिनासाथ नेपालीहरूले नेपाल–भारत सीमामा निगरानी राख्नुप¥यो, सीमा नियमन गर्नुप¥थ्यो भन्नेजस्ता गम्भीर अभिव्यक्ति नदिएका होइनन् । त्यसबारे सरकार वा सम्बन्धित निकाय (गृह मन्त्रालय, प्रदेश सरकार, प्रमुख जिल्ला कार्यालय, विभिन्न तहका प्रहरी र गुप्तचर संयन्त्र आदि) सचेत हुनुपथ्र्यो र आवश्यक तयारी गर्नुपर्ने थियो । परराष्ट्र मन्त्रालयका सम्बन्धित संयन्त्र पनि सचेत भएर प्रधानमन्त्री, गृहमन्त्री र आईजीपीसमेतको बैठक बस्न घच्घच्याउनुपर्ने थियो । त्यसो नहुँदा लिम्पियाधुरा, कालापानी र लिपुलेक तथा अन्य जिल्लाका सीमा जसरी भारतबाट मिचियो त्यसरी नै कोरोना भाइरस पनि नेपालमा भारतबाटै फैलिँदै छ ।
अमेरिकी राष्ट्रपतिले लकडाउनको विरोध गर्दै खुलाउन जोड दिँदै गर्दा अमेरिकी विशेषज्ञ, वैज्ञानिक र बुद्धिजीवीहरूको सुझावअनुसार न्युयोर्कलगायत अन्य २० राज्यमा ‘लकडाउन’ चालू नै रह्यो । न्युयोर्क राज्यका ‘निर्वाचित’ गभर्नरहरूले ‘ट्रम्प राजा होइन’ समेत भनेर न्युयोर्कमा लकडाउन नै चालू राखे ।
ट्रम्पकै देखासिकीमा भाजपाको मोदी सरकारले लकडाउन हटाएर खुकुलो के पारेको थियो, भारतमा थप हाहाकार मच्चियो र सङ्क्रमित भारतीय नागरिक र नेपालीहरू नेपाल पसे । परिणामतः नेपालमा २–४ दिनभित्रै हाहाकार मच्चियो र मोदी सरकारको नक्कल नगर्न नेपाल सरकारलाई जनताको दबाब प¥यो । समाचारमा लेखियो, ‘भारतमा फेरि थपियो लकडाउन ।’ (कान्तिपुर, ५ जेठ २०७७) । भारतको अहमदावादबाट घर फर्कनको लागि आइतबार रेल चढ्ने पालो पर्खिरहेका मजदुरहरूको भीडको तस्वीर छापियो ।
कान्तिपुरले लेख्यो – ‘थपिए १३ सङ्क्रमित’, ‘भद्रगोल बन्दै क्वारेन्टिन’, ‘खाना पु¥याउँदा परिवारै जोखिममा’, नेपालगञ्जको रिपोर्टअनुसार कोरोनाले क्वारेन्टिनमै मृत्यु’, ‘अवस्था गम्भीर भए पनि अस्पताल पु¥याउन कोही तयार भएनन् ।’
कोभिड–१९ को महामारीले थला परेको नेपाल र नेपाली जनतालाई भाजपाको मोदी सरकारले खुच्चिङ गर्दै थियो । ‘भारतीयद्वारा नेपाली सुरक्षाकर्मीमाथि ज्यादती, तीन सातामा तीनपल्ट आक्रमण’ – शीर्षकमा घेराबारी, झापाको समाचार आयो । (कान्तिपुर, ५ जेठ २०७७) ।
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भारतका सेनाध्यक्ष एमएम नरभाणेले नेपालको सीमाक्षेत्रको सम्बन्धमा दिएको अभिव्यक्तिलाई गैरजिम्मेवार र उत्तेजनात्मक ठहर गर्दै समितिले कूटनैतिक तहबाट खण्डन गर्न नेपाल सरकारलाई निर्देशन दियो ।
भारतको मुम्बईबाट ट्रकमा कोच्चिएर र कति ठाउँबाट हिँड्दै आएका युवाको क्वारेन्टिनमै मृत्यु भयो । (नयाँ पत्रिका, ५ जेठ २०७७)
भारतबाट एकैबाजी पुनःलकडाउन गर्दा र सबै रेल र यातायात बन्द गर्दा धेरै भारतीय नागरिक र नेपाली कामदारहरू भोका भए । नेपालमा रहेका र पसेकालाई समयमै बन्दोबस्त गर्न नसक्दा ‘क्वारेन्टिनमा भद्रगोल भए र एकैदिनमा ८० सङ्क्रमित’ भए । ‘आइसोलेसनमा रहेका युवाको मृत्यु’ भयो । (कान्तिपुर, ६ जेठ २०७७)
किन यस्तो हुन्छ ? परिस्थितिको गम्भीरता हेरी प्रमका स्वास्थ्य सल्लाहकारहरूको सल्लाहअनुसार तत्काल प्रदेश, नगरपालिका र गाउँपालिकाहरूलाई शिक्षित र बन्दोबस्त गर्न आवश्यक साधन उपलब्ध गराइदिएको भए यस्तो ‘भद्रगोल’ हुने थिएन । साथै कर्मचारीहरूलाई सधैँ १० बजेदेखि ४ बजेसम्म सम्बन्धित कार्यालयका फाइलहरू पल्टाउनु भन्दा ‘क्वारेन्टिन बनाउने उपयुक्त भवन र ठाउँहरू खोज्ने, स्वास्थ्यकर्मी र स्वयम्सेवकहरूको बन्दोबस्त गर्न सम्बन्धित दलहरूलाई ‘सुरक्षासहित’ तयार गर्ने तथा आवश्यक खर्चको निम्ति निकासा तत्काल गर्नुपर्ने थियो । कर्मचारी मालिक, जनता र रोगी सबै रैती हुन् भन्ने सामन्ती सोचबाट निर्वाचित जनप्रतिनिधि र कर्मचारीहरू मुक्त हुन आवश्यक छ ।
‘कोरोनाको उच्च जोखिममा काठमाडौँ उपत्यका, काठमाडौँ भित्रिएकाहरू क्वारेन्टिन बाहिरै’ शीर्षकको समाचार छाप्यो । (राजधानी, ५ जेठ २०७७) । जिल्ला–जिल्लामा व्यापक क्वारेन्टिनको बन्दोबस्त गरी काठमाडौँ खाल्डो पूरै ‘लकडाउन’ गरिनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *