भर्खरै :

भारतीय सञ्चारमाध्यमको अनर्गल प्रचारबाजी

नेपालद्वारा जारी लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नयाँ राजनीतिक नक्साबारे भारत सरकारले अहिलेसम्म आधिकारिकरूपमा कुनै प्रतिक्रिया जनाएको छैन । तर, यो विषयले भारतका सञ्चारमाध्यममा भने ठूलै हलचल मच्चाएको छ । त्यसै पनि भारतका सञ्चारमाध्यम अतिरञ्जनापूर्ण समाचार सम्प्रेषणमा निपुण मानिन्छन् । सानो विषयलाई पनि निकै ठुलो बनाएर हल्लाबाजी गर्ने काममा भारतीय मिडिया बदनाम छन् । नेपालको भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकमा भारतले बनाएको सडकको विरोधलाई त्यहाँका सञ्चारमाध्यमले ‘भारतको भूमिमाथि नेपालको दाबी’ को रूपमा मात्र प्रचार गरेका छैनन्, बरु नेपालले ‘चीनको उक्साहटमा मानसरोवर जाने बाटोको विरोध गरेको’ भनेका छन् । खासमा उनीहरूले भारतका सेनापति एमएम नरभानेले ‘अरू कसैको उक्साहटमा नेपालले मानसरोवर जाने बाटोको निर्माणको विरोध गरेको’ भनाइलाई नै आधार मानेर यस्तो प्रचारबाजी गरिरहेका छन् । उनीहरूले सो भूभागको इतिहास र नेपाल–भारत सिमाना समस्यालाई पूर्णतः बङ्ग्याएर प्रस्तुत गरिरहेका छन् ।
नेपाली जनताले आफ्नो देशको भूभागमाथिको अतिक्रमणको विरोधमा गरेको आन्दोलन र पोखेको असन्तोषलाई भारतीय सञ्चारमाध्यमले चीनको उक्साहटमा भएको भन्नु नेपाली जनताको देशभक्तिपूर्ण भावनाको अपमान हो । आफ्नो देशमाथि भारतको हस्तक्षेप र अतिक्रमणको विरोध गर्न नेपाली जनतालाई चीन वा कुनै अरू देशले उक्साउनु पर्दैन । देशको सिमाना रगतले कोरिएको हुन्छ । रगतले कोरिएको सिमाना रक्षाको निम्ति आवाज उठाउनु कसैको उक्साहट हुनसक्दैन । यो भारतीय संस्थापन र सञ्चारमाध्यमको शतप्रतिशत गलत बुझाइ हो । लिम्पियाधुरा, लिपुलेक र कालापानीको मुद्दा आजको मुद्दा होइन । दसकौँदेखि नेपाली जनताले सो भूभागमा भारतीय हस्तक्षेप र अर्धसैनिक दलको उपस्थितिको विरोध गर्दै आएको छ । नेपालसँग सो भूभाग आफ्नो भन्ने प्रशस्त ऐतिहासिक तथ्य तथा प्रमाण छन् । तथापि भारतीय शासक वर्गले रणनीतिक, सांस्कृतिक र पर्यटकीय हिसाबले निकै महत्वपूर्ण त्यो भूगोल कब्जा गर्न अनेकन झूट र जालसाजी गर्दै आएका छन् । नेपालसँग रहेका तथ्य र प्रमाणलाई न्यूनाङ्कन गरेर भारतले त्यहाँ जथाभावी भौतिक निर्माण गर्दै आएको छ । यो कुरा देशभक्त नेपालीलाई असह्य हुनु स्वाभाविक हो । त्यसैको परिणाम नेपाली जनता देशव्यापी आन्दोलनमा उत्रे । परिणामतः नेपाल सरकार ती भूभागसहित नयाँ नक्सा जारी गर्न बाध्य भयो ।
भारतले के निहुँ पाउँ कनिका बुकाउँ भनेझैँ यही विषयमा हिन्दी चलचित्रका नायिका मनिषा कोइरालाको ट्वीटलाई समेत भारतीय सञ्चारमाध्यमले निकृष्ट बनेर अनावश्यक प्रचार गरेका छन् । उनीहरूले लामो समयदेखि हिन्दी सिनेजगतमा स्थापित मनिषालाई ‘भारतको खाएर, चीनको गीत गाउने’ जस्तो घिनलाग्दो गाली गरे । संसारकै सबभन्दा ठुलो प्रजातन्त्र दाबी गर्ने भारतीय सञ्चारमाध्यमले भारत सरकारको कदमको विरोध गर्दा नेपाली जनताको अपमान र आफ्नै देशको सिनेक्षेत्रमा जीवन बिताएकी कलाकारको मानमर्दन गर्नु निदनीय छ । वास्तवमा भारतको लोकतन्त्र भारतीय मिडियाका यस्ता अतिरञ्जनापूर्ण र गलत प्रचारबाजीको कारण कमजोर बनेको हो । कोरोना भाइरसको महामारी फैलिएको आजको परिस्थितिमा भारतले करोडौँ करोड भारतीय जनताको सही व्यवस्थापन र रोगव्याधि नियन्त्रण गर्न नसक्नुको मूल कारण सञ्चारमाध्यमको यस्तो हावादारी भूमिका पनि हो ।
निःसन्देह चीन नेपालको असल छिमेकी देश हो । चीनले नेपाल र नेपाली जनतालाई आपत् पर्दा आफ्नो गच्छेअनुसार मद्दत गर्दै आएको छ । तथापि आफ्नो देशको रक्षा गर्न आवाज उठाउन नेपाली जनताले चीनको कुरा सुन्न पर्दैन । नेपाली जनताले देश जोगाउन ठुलठुला लडाइँ लडेका थिए । अहिले भारतले जबरजस्ती कालापानी, लिपुलेक र लिपिम्याधुरामाथि गरेको अतिक्रमणको विरोध गर्न नेपाली जनताको देशभक्ति भावना नै मनग्य छ । भारतीय सञ्चारमाध्यमले सो कुरा भित्रैबाट बुझ्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *