भारतीय राजनीतिको एउटा विशेषता छ– सरकारविरुद्ध जनतामा अविश्वास बढ्दै जाँदा देशको सीमाक्षेत्रमा केही न केही अस्वाभाविक घटना गराइँछ । यही वास्तविकतालाई व्य· गर्दै भारतका एक कविले लेखेका छन्, “देशके सरहद पर ज·की खबर आई है, क्या चुनाव नजदिक है ?” अर्थात् “देशको सीमामा युद्ध भएको समाचार आयो, के चुनाव नजिक आउँदैछ ?” अहिले यही नीति भारतका प्रधानमन्त्री मोदीले लागू गरिरहेका छन् । भारतीय जनतामाझ मोदी सरकारको अलोकप्रियता बढिरहेको छ । यातायातको व्यवस्था नहुँदा कोरोनाको कारणले विस्थापित भएका लाखौँ मजदुर सयौँ किलामिटर हिँडेर घर जान बाध्य भएकोमा मोदी सरकारप्रति मजदुरको ठूलो आक्रोस बढेको छ । भारतमा ४५ वर्षको इतिहासमा सबैभन्दा बढी युवाहरू बेरोजगार भएका छन्, आर्थिक वृद्धिदर पहिलो पटक नकारात्मकतातिर जाँदैछ । सरकारका यस्ता अनेकौँ कमजोरी लुकाई जनताको ध्यान मोड्न मोदी सरकार छिमेकी मुलुकसँगको सीमा विवादलाई उचालिरहेको छ ।  यहीबेला चीनसँगको सीमा गलबानमा पनि सडक निर्माण गरेर भारतले तनाब बढाउँदै लगेको छ । पाकिस्तान अधिनस्थ काश्मिरमा त भिडन्त नै भइरहेको छ । मोदीको पछिल्लो कदम कोरोनाको महामारीबीच नेपालको सीमामा बनाइएको सडकको उद्घाटन हो । जसको प्रत्युत्तरमा दशकौँदेखि स्थगनमा रहेको लिपुलेक सहितको नयाँ राजनीतिक नक्सा नेपाल सरकारले प्रकाशित गरेको छ । यहीँबाट बढेको नेपाल र भारतबीचको तनाबको विषयलाई भारतीय मिडियाले ऐतिहासिक तथ्य र प्रमाणको बेवास्ता मात्र होइन यसलाई चीनसँग जोडेर काल्पनिक कथावस्तु बनाउँदै प्रचारबाची गर्दैछन् ।

भारतीय मिडियाहरूले लिपुलेक भारतको वा नेपालको हो भन्नेबारे बहस गर्नुभन्दा पनि नेपालले चीनको उक्साहटमा लिपुलेकको कुरा उठाएको हो भनेर भारतीयहरूबीच चर्चा चलाइरहेका छन् । कुनै पनि विवाद चीनसँग जोडिएपछि भारतीयहरूमा उग्रराष्ट्रवाद एकाएक बढ्न थाल्छ । यही संवेदशिलतालाई ‘क्यास’ गर्न भारतीय मिडिया कोसिस गरिरहेका हुन्छन् । यी मिडिया भारतको सीमा विवाद नेपालसँग नभई चीनसँग भएजस्तै गरी प्रस्तुत भइरहेका छन् । मूलधार मानिएका भारतका ९० प्रतिशत मिडिया मोदी सरकारका अघोषित प्रवक्ताजस्तै हुन् । यी मिडियाले जीविकोपार्जनजस्ता अतिआवश्यक मुद्दाबाट जनताको ध्यान हटाउन र मोदीको कमिकमजोरीलाई लुकाउन अभियान नै चलाएका हुन्छन् । यस्तै खाले मिडियामध्ये एक हो ‘रिपब्लिक टीभी च्यानल’ । यो च्यानलमा बहसको नाममा अनेकौँ नौटड्ढीपूर्ण हुन्छन् । यस्ता किसिमका नौटङ्की बहसमा एकजना सेनाका भूपु जर्नेल, बुद्धिजीवीबाट एक प्रोफेसर, सरकारको प्रतिनिधिको रूपमा भाजपाका एकजना वक्ता र अरू विपक्षको रूपमा सहभागी गराइँछ । कार्यक्रम सुरु हुनुभन्दा अगाडि नै विपक्षबाहेक उनीहरूबीच कसले के बोल्ने सबै कुरा फिल्मी पाराको पटकथा तयार हुन्छ । कार्यक्रम सञ्चालक विषयमा प्रश्न सोध्नुभन्दा आफ्नै विचार भन्न थुप्रै समय लिन्छन् । विपक्षमा रहेका सहभागीहरू सञ्चालकको विचारमाथि प्रतिक्रिया दिनु कि आफ्नो विचार राख्नु भन्नेमा अलमलमा पर्दछन्, कार्यक्रम सञ्चालकले विपक्षले तर्क राख्दै गर्दा बीचैमा कुरा काटेर अर्को प्रश्न उनकै पक्षधरलाई सोध्छन् । यता विपक्ष आफ्नो तर्क पूरा गर्नै भ्याउदैनन् । कहिलेकाहीँ विपक्षले बोल्दै गर्दा आवाज प्रस्ट नहोस् भनेर पक्षका सहभागीले त्यसैमाथि निरन्तर बोलेको बोल्यै गर्छन् । केहीले त ‘भविष्यमा परेको व्यहोरौँला’ भन्ने भावमा बहसको बेला सिधै झूट पनि बोल्दा रहेछन् ।

हालैमात्र ‘रिपब्लिक टीभी’ च्यानलका सञ्चालक अर्नव गोस्वामीले नेपाल – भारत सीमा विवादबारे कार्यक्रम चलाएका थिए । गोस्वामी भारतमै पनि सार्‍है विवादित र छुच्चो पत्रकारको रूपमा चिनिन्छन् । बहसमा नेपालका केही पत्रकार र नेपाली काङ्ग्रेसका सांसद मिनेन्द्र रिजाललाई सहभागी गराइएको थियो । भारतीय सहभागीहरूको बोली यस्तो थियो मानौँ नेपाललाई केही थाहा छैन, नेपालका सबै काम चिनियाँ रणनीतिअनुसार भइरहेको छ । नेपाली सहभागीहरूप्रति नेपाल –भारतबीचको सम्बन्धलाई बिगार्ने गरी अरूको उक्साहटमा बोल्नु हुँदैन भनेर बच्चालाई सम्झाएजस्तै हाउभाउ गर्दै थिए गोस्वामी । भारतीय सेनाका भुपु जर्नेल पनि उक्त कार्यक्रमा सहभागी  थिए । त्यसमा नेपालीहरूमाथि मनोवैज्ञानिक दबाब दिने उद्देश्य देखिन्थ्यो । उनको सहभागिता हेर्दा नेपालीलाई मिजासले सम्झाउने र नमाने तर्साउने पाराको देखिन्थ्यो । यस्तो लाग्थ्यो बच्चालाई तर्साउन लठी अगाडि राखेर केरकार गरिँदै थियो । पाकिस्तानसँग सम्बन्धित बहसमा पनि चिच्याइ चिच्याइ कराउने यही जर्नेललाई अगाडि ल्याइँछ ताकी बहस तनावपूर्ण होस् !प्राय भारतीय मिडिया यस्तै चाहन्छन् । भारतीयहरूबीच लोकप्रिय, साहसी भएको देखाउन कार्यक्रम सञ्चालकहरू आफैले बोलाएको विदेशी पाहुनासमेतलाई अभद्र व्यवहार गर्छन् । यस्तै एउटा अन्तर्वार्तामा पाकिस्तानका भुपु राष्ट्रपति पर्वेज मुसरफसँगको टेलिफोन कुराकानी भएको थियो । मिडियाका प्रस्तुतकर्ताले यस्तो दुव्र्यवहार गर्‍यो मानौँ मुसरफ पाकिस्तानका भूपु राष्ट्रपति होइनन् उनी प्रस्तोताकै देशका कुनै सानातिना राजनीति पार्टीका कार्यकर्ता हुन् ।

भारतीय मिडियाको विश्वनियता त संसारलाई थाहा भएकै हो । टिआरपी (टेलिभिजन रेटिङ प्वाइन्ट) बढाउन अनेक नाटकबाजी गरिन्छ । छिमेकी मुलुकलाई तल्लोस्तरमा प्रस्तुत गर्ने गर्छन् । यस्तोमा पाकिस्तानलाई सबभन्दा बढी होच्याएर पेश गर्ने गरिन्छ । भारतलाई पाकिस्तानसँग तुलना गरेर मोदीको नेतृत्वमा भारतको ठूलो प्रगति गरेकाजस्ता बखान भारतीय मिडियाले गर्छन् । भारतीय मिडिया अहिले पनि केही पाकिस्तानीलाई बोलाएर काश्मिरबारे बहस गराउँछन् ।

बहसबाट कुनै काम लाग्ने निचोड निस्किने त होइन तर ‘गर्मागरम बहस’ बनाएर टिआरपी बढाउने प्रयास मिडियाको हुन्छ । यस्तो पनि सुनिन्छ कि हिन्दु मुसलमानबारे बहस हुँदा जानीजानी पैसा दिएर कमजोर, सोझो मुसलमानलाई बहसमा बोलाइन्छ । अनि अरू सहभागीलगायत सञ्चालकसमेतले तथानाम गाली गर्दा पैसा सम्झेर  विचरा झोक्र्याएर बस्ने गर्छन् ।

होस् गरौँ, यही सूत्र नेपालीहरूमाथि पनि प्रयोग गर्न सकिन्छ । अहिलेको तनावको स्थितिमा नेपालमाथि यस्तै शैली प्रयोग गर्ने दुस्साहस भारतीय मिडियाले गर्ने छन् । नेपालीहरूलाई पनि विभिन्न लोभ देखाएर त्यस्ता बहसमा आमन्त्रण गर्ने सक्छन् । यस्ता बहसहरूमा सहभागी हुनजाने महानुभावहरूले विशेष तयारी गरेर जानुपर्छ ।

बहसमा विषयवस्तुमाथिको ज्ञातामात्र भएर पुग्दैन भाषामाथि पनि दख्खल हुनुपर्छ । माथि उल्लेखित बहसमा अङ्ग्रेजी पत्रिकाका सम्पादकको पनि बोलाइमा दख्खल देखिएन । भारतीय अन्तर्वार्ता वा बहसमा सहभागी हुँदा सञ्चालक र ती मिडियाको पृष्ठभूमि बुझ्नु अति आवश्यक छ । सबै विषम एवम् पक्षमा दख्खल नभएका व्यक्तिले विदेशीले चलाएका कार्यक्रममा भाग लिएर सम्पूर्ण नेपाली र नेपाललाई अप्ठेरोमा नपारौँ ।

राजन image
राजन

Leave a Reply

Your email address will not be published. Required fields are marked *