मन्थ्ली रिभ्युका सम्पादक एवम् समाजवादी लेखक जोन बेलामी फोस्टरसँग टर्कीको इस्तानबुलबाट प्रकाशित हुने बिरगन पत्रिकाका अमुर सहिन काएफले लिएको अन्तर्वार्ता प्रस्तुत छ –
काएफ ः सन् २०२० को अप्रिल ११ मा मन्थ्ली रिभ्युको अनलाइन संस्करणमा प्रकाशित माइकल डी एट्ससँगको अन्तर्वार्ता (ट्रम्प, नवफासीवाद र कोभिड–१९ को महामारी) मा तपाइँले ‘पुँजीवाद यो शताब्दीकै सबभन्दा ठूलो सङ्कटमा रहेको’ बताउनुभयो । के कारणले यतिबेला पुँजीवाद सबभन्दा ठूलो खतरामा देख्नुहुन्छ ? अहिलेको विपत्तिको परिणाम के आउनेछ ? के यो सङ्कट र असफलताले कुनै ठूलो आमूल परिवर्तनको सम्भावना देख्नुहुन्छ ?
फोस्टर ः जब म अहिलेको महाविपत्तिलाई शताब्दीकै सबभन्दा ठूलो सङ्कट भन्दै थिएँ, त्यसअघि पछिल्ला दुई शताब्दीमा अर्को एउटा प्रमुख आर्थिक सङ्कटको हामीले सामना गरिसकेका थियौँ । त्यो थियो–सन् २००७ देखि २००९ सम्मको आर्थिक सङ्कट । त्यो विपत्तिको असरबाट आजसम्म पनि पुँजीवादी व्यवस्था मुक्त भइसकेको छैन । त्यो सङ्कटलाई हामीले अन्त्यहीन सङ्कट भन्यौँ । रोबर्ट डब्ल्यु माकचेस्ने र मैले त्यसबारे सन् २०१२ मा एउटा पुस्तक नै प्रकाशन ग¥यौँ । त्यो पुस्तकको नाम पनि ‘अन्त्यहीन सङ्कट’ (द एन्डलेस क्राइसिस) थियो । यतिबेला हामी अर्थतन्त्र, पर्यावरण, रोगव्याधि र साम्राज्यवादी÷भूराजनीतिक लगायत धेरै क्षेत्रमा समकालीन पुँजीवादी व्यवस्थाभित्र गहिरो संरचनागत अन्तरविरोधले मूर्त रूप लिँदै गएको देखिरहेका छौँ । सबै क्षेत्रका अन्तरविरोध मिलेर आज विश्वव्यापी आकारको आँधीबेहरी आइरहेको छ । जसलाई सङ्कटपूर्ण पुँजीवाद भन्न सक्छौँ । पछिल्ला वर्षहरूमा पशुपक्षीबाट मानिसमा सर्ने धेरै सरुवा रोगहरू अहिले जस्तै कोभिड–१९ रोग थपिएको छ । पशुपक्षीबाट मानिसमा सर्ने सबै थरी रोगजस्तै कोभिड–१९ पनि निःसन्देह एकल बाली लगाउने (मोनोकल्चर) र पर्या–पर्यावरणको विनाशमा आधारित विश्वव्यापी कृषि व्यापारमा सम्बन्धित छ । सँगसँगै यो एउटा आर्थिक सङ्कट पनि हो । संरा अमेरिकाको बेरोजगारी दर अहिले झन्डै पन्ध्र प्रतिशत पुगेको छ । गोल्डम्यान साच्स नामको अमेरिकी बहुराष्ट्रिय लगानी कम्पनीले बेरोजगारी दर पच्चीस प्रतिशत पुग्ने पूर्वानुमान गरेको छ । सन् १९३० दशकको आर्थिक सङ्कटताका पनि बेरोजगारी दर यसरी नै बढेको थियो । यो आर्थिक सङ्कट तत्कालै हल भइहाल्ने अवस्था छैन । यसले अर्थतन्त्र तासको घर भएको पुष्टि गर्दै छ । संसारभरको वित्तीय संरचना आज सङ्कटमा छ । तथापि, यति नै बेला अमेरिकी वित्तीय केन्द्रले भने सरकारले दिएका अनुदानको कारण फाइदा उठाइरहेको छ । साथै, डलरलाई सुरक्षित मान्ने सोचले पनि उसलाई फाइदा भइरहेको छ । यद्यपि, संसारको व्यापार सञ्जाल भने जताततै भाँचिएको छ । पछिल्ला दशकको विश्वव्यापीकरण यतिबेला प्रतिगमनतिर फर्केको जस्तो देखिएको छ । यस्तो परिस्थितिमा हामीले लगातार आर्थिक विपत्ति भोग्नुपर्ने हुनसक्छ ।
हामीले तत्कालको अवस्थालाई मात्र विचार नगरी केही दशकपछिको पनि विचार गर्ने हो भने पुँजीवादी व्यवस्थाले आजकै बाटोमा अघि बढिरहे पशुपक्षीबाट मानिसमा सर्ने नयाँ रोगहरू अझ बढ्दै जाने खतरा देखिन्छ । ‘द प्रोसिडिङ अफ द नेसनल एकेडेमी अफ साइन्सेस’ नामको एउटा वैज्ञानिक प्राज्ञिक पत्रिकामा प्रकाशित एक रिपोर्टमा आगामी सन् २०७० सम्ममा संसारभरका ३ अर्ब ५० करोड मानिस बाँच्न कठिन हुने तापक्रममा जीवनयापन गर्न बाध्य हुने उल्लेख छ । यस्तो अवस्थामा हामी नयाँ शीतयुद्धको अवस्था देखिरहेका छौँ । नयाँ आणविक हतियारको प्रतिस्पर्धा चलिरहेको देखिरहेका छौँ । संसारभर थर्मोन्युक्लियर द्वन्द्वको खतरा बढिरहेको छनक पाइरहेका छौँ । त्यसै कारण, कोभिड–१९ को विपत्ति थालनी हुनुअघि नै आणविक वैज्ञानिकहरूको पत्रिका ‘द बुलेटिन अफ एटोमिक साइन्टिस्ट’ ले विपत्तितिरको समयको सुई अझ तेज गतिले घुमिरहेको उल्लेख गरेको छ । अर्थात् आज हामी गहिरो विपत्तिको निकट छौँ । यथार्थमा पुँजीवादको यो आगो लागेको घरबाट ननिस्कने हो भने हामी एउटा भयानक खतराको मुखमा छौँ ।
आर्थिकरूपमा देखिने तत्कालको परिणाम भनेको पुँजीको तीव्र केन्द्रीकरण हो । साथै, पुँजीवादी व्यवस्थाभित्र वर्गीय र साम्राज्यवादी शक्तिबीचको अन्तरविरोध अझ घनिभूत हुनेछ । विश्व व्यवस्थामा परिवर्तनको कुरा गर्दा अब विश्वव्यापीकरणबाट राष्ट्रिय मुद्दामा सीमित हुनेछ । विदेशीलाई आफ्नो देशमा काम नदिने वा बस्न नदिनेसम्मको योजनाहरू बन्न सक्छन् । संरा अमेरिकी साम्राज्यवाद र संरा अमेरिकी कम्पनीहरू अहिले चीनलाई ‘घेर्ने’ तिर बढिरहेका छन् । अगुवा साम्राज्यवादी देशहरूका पुँजीपतिवर्गको उपल्लो घेरा, विशेषतः संरा अमेरिकाको संसार हिजोजस्तो नभएको देखिरहेका छन् । संसारमा उनीहरूको नियन्त्रण क्रमशः खुुकुलो बन्दै गएको उनीहरूले देखेका छन् । तथापि, अझ बढी शक्ति प्राप्तिको भोक भने उनीहरूमा मरेको छैन । यस परिस्थितिमा संरा अमेरिकी शासकवर्ग अरू पुँजीवादी देशका शासकहरूसँग मिलेर नवउदारवादभन्दा अघि बढेर नवफासीवादतिर बढिरहेका छन् । नवफासीवाद र नवउदारवाद वास्तवमा एक अर्काका परिपुरक हुन् । तथापि, नवफासीवाद राज्यसत्ताको अझ प्रत्यक्ष अधिनायकवादी पुँजीवादी ढाँचा हो । संरा अमेरिका र चीनबीचको कथित ‘व्यापार युद्ध’ वास्तवमा सूचना, वित्तीय पुँजी, विश्व बजार र विश्व आर्थिक प्रभुत्वको लागि भएको सङ्घर्ष हो । अहिलेको सङ्कटभन्दा अघि नै यो युद्ध भयो । साँच्चै भन्नुपर्दा यो एउटा ठूलो द्वन्द्वको प्रारम्भ हो । कोभिड–१९ ले यो द्वन्द्वलाई अझ उजागरमात्र ग¥यो । ट्रम्प सरकारले कोभिड–१९ को सङ्कटलाई चीनविरोधी भावना विस्तार गर्ने अवसरको रूपमा छोप्न खोज्यो । समस्याको मूल जरोको रूपमा प्रधान प्रश्न यी सबै विषय पुँजीवादी व्यवस्थाभित्रको संरचनागत सङ्कटसँग कसरी सम्बन्धित छ भन्ने हो । यस अवस्थामा पुँजीवादी व्यवस्थाको भुइँ तह र माथिल्लो तहबीचको बढ्दो फाटोले यो प्रणालीगत सङ्कटलाई अझ खराब अवस्थामा पु¥याइदिन्छ । संरा अमेरिकामा बढ्दो वर्गीय विभेदमा यो वास्तविकता प्रतिविम्बित भएको छ ।
काएफ ः संरा अमेरिकी स्वास्थ्य उपचार प्रणाली र स्वास्थ्यकर्मीहरूले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) को अभाव भोगिरहेका छन् । एक जना नर्सले पीपीई नपाएर फोहोर राखिने प्लास्टिक नै गाउनको रूपमा लगाएको खबर हामीले सुन्यौँ÷देख्यौँ । अस्पतालमा न पुग्दो शैय्या छ न भेन्टिलेटर नै छन् । संसारकै सबभन्दा धनी देशमा आज किन स्वास्थ्यका आधारभूत सामग्री र अस्पताल नै छैनन् ?
फोस्टर ः वित्तीय एकाधिकार पुँजीवादी व्यवस्थाअन्तर्गत नवउदारवादी विश्वव्यापीकरणसँग सम्बन्धित विभिन्न पक्ष यसको निम्ति जिम्मेवार छन् । नाफा दर बढाउन संरा अमेरिकाका बहुराष्ट्रिय कम्पनीहरू अरू विकासशील देशबाट हुने उत्पादनमा निर्भर छन् । ती देशका सस्तो ज्यामीको प्रयोग गरेर उनीहरूले नाफा दर बढाउने गर्छन् । एउटा ठूलो अटोमोबाइल कम्पनीको पनि पहिलो, दोस्रो र तेस्रो तहको आपूर्तिकर्ता हुने गर्छ । मुख्य उत्पादक कम्पनीले पनि आफ्ना सबै पार्टपुर्जाका आपूर्तिकर्ता चिनेको हुँदैन । यस्तो अवस्थामा आपूर्ति सञ्जालमा कुनै समस्या आए उत्पादन नै बन्द गर्नुपर्ने अवस्था बन्छ । अहिलेको सङ्कटमा पीपीईको सन्दर्भमा भएको यही हो । यो सबै समयमै उत्पादन (वगकत ष्ल तष्mभ उचयमगअतष्यल) को नतिजा हो । अमेरिका यस्ता सामानको लागि लगातार विदेशी श्रममा निर्भर छ । उत्पादन लागत घटाउन अर्थात् पुँजीपतिको नाफा बढाउन नै यस्तो हुने गरेको छ ।
यस्तो अवस्थाको मूल कारण भनेको यथार्थमा संरा अमेरिकी स्वास्थ्य प्रणालीको निजीकरण नै हो । मानिसलाई भन्दा नाफालाई बढी जोड दिने पुँजीवादी व्यवस्था नै यसको निम्ति दोषी छ । स्वास्थ्य उपचारमा पहुँच घटाएर नाफा बढी खान खोज्ने प्रवृत्ति नै यसको मूल जरा हो । अमेरिकी स्वास्थ्य प्रणालीमा खासमा जनताको स्वास्थ्य सेवाको लागि आवश्यक पूर्वाधार नै मनग्य छैन । महामारीको सामना गर्नसक्ने क्षमतावान् पूर्वाधार उसको क्षमताभन्दा बाहिर छ । अमेरिकाका ग्रामीण भेगमा कोभिड–१९ को महामारी फैलिएको समयमा अस्पतालहरू बन्द भएका छन् किनभने उनीहरूले यो बेला आफूले खाँदै आएको नाफा कमाउन सक्दैनन् । नवउदारवादी पुनः संरचनाअन्तर्गत नाफा कमाउने हेतूले बनाइएका सहरी क्षेत्रका अस्पतालहरू कोभिड–१९ को सङ्क्रमण बढेसँगै भरिभराउ भएका छन् । उनीहरूसँग अहिले बढेका बिरामी राख्न पुग्दो शैय्या पनि छैन ।
काएफ ः कोभिड–१९ ले सबभन्दा बढी काला र हेस्पानिक समुदायका मानिस प्रभावित छन् । यो समुदायका मानिस अधिकांशतः कामदार जनता छन् । अर्कोतिर, अत्यावश्यक सेवाअन्तर्गत जस्तै, तरकारी पसल, आपूर्ति सेवा, मासु पसल, कृषि आदि क्षेत्रका मजदुरहरू अहिले पनि निकै असुरक्षित अवस्थामा काम गरिरहेका छन् । उनीहरूमा कोरोना भाइरसको सङ्क्रमण बढेको छ । संरा अमेरिकी मजदुरवर्गको अवस्थाबारे केही बताउनुहुन्छ कि ?
फोस्टर ः तपाइँले प्रश्नमै पनि संरा अमेरिकी मजदुरहरूको अवस्थाबारे धेरै कुरा बताइसक्नुभयो । संरा अमेरिकी समाज निकै विभेदपूर्ण समाज हो । यो जातीय पुँजीवादको रूप हो । त्यसकारण, काला र ल्याटिन समुदायका मानिसमाथि यो समयमा ठूलो विभेदको सहज अनुमान गर्न सकिन्छ । कामदार र गरिब जनता भनेका अधिकांशतः काला र हेस्पानिक समुदायका छन् । त्यसको अर्थ उनीहरू सामुदायिक हिसाबमा श्रमिक जनतामात्र होइनन्, बरु समाजकै सबभन्दा विपन्न अवस्थाका जनता पनि हुन् । उनीहरूको आय न्यून छ, बेरोजगारी दर उच्च छ, उनीहरू अधिकांशको घर छैन अथवा निकै गएगुज्रेका घरमा बस्छन् । उनीहरू पेटभरि खानबाट वञ्चित छन् । उनीहरू सार्वजनिक यातायातमा निर्भर छन् । स्वास्थ्य सेवामा उनीहरूको पहुँच निकै कम छ । विभिन्न दीर्घरोगबाट उनीहरू पीडित छन् । उनीहरूको सन्दर्भमा सामाजिक दुरी कायम गर्नु वस्तुतः असम्भव छ । त्यसकारण, यो समुदायका मानिसमा कोभिड–१९ तीव्रगतिमा फैलिरहेको छ । यो कुनै नयाँ कुरा भने होइन । सन् १८४५ मा फ्रेडरिक एङ्गेल्सले ‘बेलायतमा मजदुरवर्गको अवस्था’ मा त्यहाँका मजदुरवर्गलाई कसरी रोगले सताएको थियो भनी लेखेका छन् । मेनचेस्टरका आइरिस सर्वहारावर्गलाई कसरी त्यतिबेला विभिन्न रोगले आक्रान्त बनाएको थियो भनी एङ्गेल्सले व्याख्या गरेका छन् ।
काएफ ः तपाइँको बुझाइमा संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नवफासीवादी हुन् । उनले अहिलेको सङ्कटको आरम्भमा कर्पोरेट पुँजीपतिवर्गसँगको मिलेमतोमा काम गरेका थिए । किनभने, उनले कोभिड–१९ को अस्तित्व नै स्वीकारेका थिएनन् । जब वाल स्ट्रिटको जरा हल्लिन थाल्यो, अनि उनले सामाजिक दुरीको समर्थन गरे र उद्योगपतिहरूलाई वित्तीय सहायता घोषणा गरे । अहिले उनी लकडाउन अन्त्य गर्न खोजिरहेका छन् । सङ्कट व्यवस्थापन सम्बन्धमा ट्रम्पका कदमबारे तपाइँको बुझाइ के हो ? विपत्ति सम्हाल्ने उनको यो तरिकाबाट उनी नवफासीवादी भएको पुष्टि गर्छ ?
फोस्टर ः ट्रम्प संरा अमेरिकी व्यापारिक केन्द्र वाल स्ट्रिटका घरजग्गा व्यापारी हुन् । संरा अमेरिकी राजनीतिको उचाइमा उनी आउन सक्नुको मूल कारण नवफासीवादी भनी व्याख्या गर्न सकिने राजनीतिकवर्गको उदय हुनु हो । त्यो वर्गमा उनी नै केन्द्र बने । ‘अमेरिकालाई फेरि महान् बनाऔँ’ भनी लेखिएको टोपी लगाएका यो वर्गका ट्रम्प नेता बने । नवफासीवाद भनेको परम्परागत फासीवादी बाटोमा अघि बढेको फासीवादको नयाँ प्रवृत्ति हो । यो फासीवादी प्रवृत्तिकै हिस्सा हो । एकाधिकार पुँजीवाद र प्रतिक्रियावादी निम्न मध्यमवर्गबीच अवसरवादी राजनीतिक मोर्चाबन्दीले नवफासीवादको जन्म भयो । यसअन्तर्गत गोरा, राष्ट्रवादी, जातिवादी र इसाई कट्टरता भएका वर्ग सामेल छन् । विशेषतः पुँजीवादी व्यवस्थाका अगुवाहरू नै यसका मूल सहभागी हुन् । यो राजनीतिक वर्गीय मोर्चाबन्दीमा वाल स्ट्रिटको एकाधिकार छ । अत्यन्त ध्रुवीकृत समाजमा ‘संसारका मालिक’ को स्वार्थ रक्षाको लागि नै यो मोर्चाबन्दी बनेको हुन्छ । संरा अमेरिकी एकाधिकारको अवनतिको समयमा उनीहरू ती ‘मालिक’ वर्गको हित रक्षाको लागि यस्तो मोर्चाबन्दीमा लागेका छन् । यसको राजनीतिक सेनामा मूलतः गोरा निम्न मध्यम वर्गीय प्रतिक्रियावादीवर्ग छन् । उनीहरूको सङ्ख्या सानो छैन । तर, मजदुरवर्गको सङ्ख्याको तुलनामा भने सानो छ । संरा अमेरिकामा दास व्यवस्था पराजित भएको साढे एक शताब्दी बितिसकेको छ । तर, त्यसको विरासत भने अझै पनि कायम नै छ । अमेरिकी इतिहासमा जातिवादी जिम क्रो युगको निरन्तरता अझै पनि कायम नै छ ।
तपाइँको दोस्रो प्रश्नको उत्तर दिनुपर्दा ट्रम्प सरकारले यो विपत्तिलाई त्यसरी नै सम्हाल्न खोजेको देखियो जसरी जो कोहीले अपेक्षा गर्ने गरेको छ । उनले सधैँ वाल स्ट्रिट र नाफालाई नै पहिलो प्राथमिकतामा राखेका छन् । गरिब तथा विपन्न जनता उनको प्राथमिकतामा कहिल्यै पनि परेनन् । कोभिड–१९ को सङ्कटलाई वातावरणसम्बन्धी कानुनको बेवास्ता गर्न, भेनेजुयलामाथि अझ सत्तापरिवर्तनको खेल खेल्ने, विश्व स्वास्थ्य सङ्गठनमाथि हमला गर्ने र विश्व प्रभुत्व कायम राख्न चीनसँग छिनाझम्टी गर्ने मौकाको रूपमा उपयोग गरेका छन् । ट्रम्पले शक्ति पृथकीकरणको सिद्धान्तलाई नाघेर कार्यकारी अधिकारको प्रयोग गरेका छन् । यो संरा अमेरिकी संविधानको अवज्ञा हो । मेरो विचारमा नवफासीवादी प्रभाव संरा अमेरिकी राजनीतिमा भित्रसम्म पुगिसकेको छ । अब यो ट्रम्पभन्दा पनि अघि बढिसकेको छ । अमेरिकाको डेमोक्रेटिक दलभित्र समेत नवफासीवाद पसिसकेको छ । हालैका दिनमा ट्रम्प सरकारले महामारीको समयमा सबै खालको युद्धविराम गर्ने संरा सङ्घको प्रस्तावलाई विशेषाधिकार प्रयोग गरी विफल तुल्यायो ।
काएफ ः यति भएर पनि संरा अमेरिकामा ट्रम्पको लोकप्रियता घटेको छैन । अझै पनि सडकमा लकडाउन खोल्न माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन् । अतिवादी सङ्गठन केकेके को लुगा लगाएको मान्छे तरकारी पसलमा देखियो । यस्तो परिस्थितिमा संरा अमेरिकामा परिवर्तनको सम्भावनाबारे तपाइँको के विचार छ ?
फोस्टर ः मेरो बुझाइमा ट्रम्पलाई संरा अमेरिकी प्रतिक्रियावादी गोरा निम्न मध्यमवर्गको निकै बलियो समर्थन छ । कामदारवर्गकै केही सुविधा पाएको तप्का पनि उनको समर्थनमा छन् । कामदारवर्गको तुलनामा यो वर्गमा मताधिकार भएकाको सङ्ख्या बढी छ । मतकै आधारमा लोकप्रियताको मापन गरिएको छ । त्यसकारण, उनको लोकप्रियता बढेको देखिएको हो । विगतमा सुविधा भोगेको निम्न मध्यमवर्गको जीवन पनि नवउदारवादबाट ज्यादै प्रभावित बनेको छ । अहिले उनीहरू राष्ट्रवादी जातिवादी दिशातिर उन्मुख छन् । उनीहरूलाई पुँजीवादीवर्गको माथिल्लो घेराले उक्साएको छ । कोरोना भाइरस चीनले निम्त्याएको खतरा हो भन्ने प्रचारबाजीपछि पनि ट्रम्पको लोकप्रियता दर बढेको देखिन्छ ।
निम्न मध्यमवर्ग सिङ्गो श्रमिकवर्गप्रति मात्र वैमनस्यता पाल्दैन । बरु उदारवादी वा नवउदारवादी र सरकारसँग जोडिएको उच्च मध्यमवर्गप्रति पनि त्यस्तै शत्रुतापूर्ण व्यवहार गर्छ । यो वर्ग सबभन्दा बढी विदेशी वा परायालाई घृणा गर्ने वर्ग हो । जो बाइडनले नेतृत्व गरेको डेमोक्रेटिकहरू पनि दक्षिणपन्थतिर उन्मुख छन् । उनीहरू पनि नवउदारवाद र नवफासीवादतिर आकर्षित छन् । नवउदारवाद नै अहिले उनीहरूको मुख्य चालक विचार हो । विदेश नीतिको सन्दर्भमा डेमोक्रेटिकहरू रुसविरुद्ध नाटोमा आधारित नयाँ शीतयुद्धलाई जोड दिइरहेका छन् । ट्रम्प नेतृत्वको रिपब्लिकनहरू भने रुससँगको सम्बन्ध सहज बनाउने पक्षमा छन् । बरु उनीहरू चीनसँग आर्थिक र सम्भावित सैनिक युद्धलाई जोड दिइरहेका छन् । अहिलेको अवनतिबाट संरा अमेरिकी एकाधिकारलाई जोगाउन उनीहरू चीनसँग त्यस्तो लडाइँको पक्षमा छन् । रिपब्लिकनहरूको यो चासो एकाधिकार पुँजीवादको आर्थिक र राजनीतिक अधिकारसँग मेल खान्छ । जो बाइडनका पछिल्ला चुनावी अभियानमा चीनविरोधी घृणाका नारा सुनिनु यसको पुष्ट्याइँ हो । यो विषयमा उनले पनि ट्रम्पलाई नै पछ्याएको देखियो ।
तर, कुरा यतिमै मात्र सीमित भने छैन । निकै ठूलो विविधता भएको संरा अमेरिकी कामदार जनता भने ट्रम्पको विरोधमा छ । उनीहरू ट्रम्पसँग आक्रोशित छन् । धनीहरूको तन्त्रको हिसाबले प्रजातान्त्रिक अमेरिकी राजनीतिक प्रणालीले निकाल्ने परिणाम यो वा त्यो हिसाबले कामदारवर्गको विरोधमा छन् । तथापि, संरा अमेरिकी समाजको पिँधमा ज्वालामुखी छ । यद्यपि अमेरिकी कामदारवर्ग अझै पनि सङ्गठित भइसकेको छैन । तथापि, संरा अमेरिकी आर्थिक अवनति, व्यापक सामाजिक विखण्डन र वर्गीय एवम् जातीय द्वन्द्वको परिप्रेक्ष्यमा यो ज्वालामुखी कुनै पनि बेला विस्फोटन हुनसक्ने सम्भावना भने छँदै छ । युवाहरूबीच समाजवादको आकर्षण बढिरहेको छ । समाजवाद नै भविष्य हो भन्ने कुरा उनीहरू बुझ्दै छन् ।
काएफ ः अहिलेको सङ्कटले कुनै पनि महाविपत्ति सामना गर्न अमेरिकी पुँजीवादी व्यवस्थाको क्षमता नपुग्ने देखाएको छ । यस्तो समाजमा मानिसले एक आपसमा सहयोग गर्न कुनै सामाजिक सम्बन्ध भएको किन देखिँदैन ?
फोस्टर ः यसको छोटोमा जवाफ दिन सकिन्छ । संरा अमेरिकी राजनीतिक प्रणाली भनेको एकाधिकार पुँजीवाद हो । यो एकाधिकार वित्तीय पुँजीवादको सबभन्दा पछिल्लो चरण हो । यसको प्रमुख लक्ष्य भनेको नाफा हो । यस्तो खालको समाजमा तपाइँले भनेको सामाजिक समर्थन व्यवस्थाको मूल मान्यताविपरीत छ । वास्तवमा पछिल्लो दशकको नवउदारवादी एकाधिकारवादले त्यस्ता सबै सामाजिक जालो र सामाजिक ऐक्यबद्धताका मान्यता चकनाचुर बनाइदिएको छ ।
संरा अमेरिकाको स्वास्थ्य प्रणाली संसारकै सबभन्दा अब्बल भनी भनिन्छ । तर, यसो भन्दै गर्दा उनीहरू सबै स्वास्थ्य सूचकहरूमा संरा अमेरिका सबभन्दा तल परिसकेको वास्तविकताप्रति हेक्का नै गर्दैनन् । तथापि, उनीहरूको परिभाषामा यो तर्कमा पनि तुक छ । किनभने, उनीहरूको परिभाषामा सबभन्दा बढी नाफा कमाउन सकिने स्वास्थ्य प्रणाली नै सबभन्दा अब्बल हो । सबभन्दा बढी नाफा कमाउन सकिने भएकोले नै उनीहरूको बुझाइमा त्यहाँको स्वास्थ्य सेवा प्रणाली सबभन्दा अब्बल हो । संरा अमेरिकामा उपलब्ध स्वास्थ्य प्रविधि निःसन्देह अब्बल छ । तर, तिनको धनीले मात्र उपयोग गर्न सक्छन् ।
काएफः अहिलेको महामारीको स्रोत के हो, अहिलेसम्म थाहा पाउन सकेका छैनौँ । तथापि, पर्यावरणीय प्रणालीमा परिवर्तन र जलवायु सङ्कटले यस्ता समस्या निम्त्याउने हामीलाई थाहा छ । भविष्यमा यस्ता सङ्कट सम्हाल्न कस्तो परिवर्तनको खाँचो छ ?
फोस्टर ः संसारको कृषि व्यापारको नाफामुखी चरित्रको कारण पशुपक्षीबाट मानिसमा नयाँ नयाँ रोग देखापरिरहेको आम बुझाइ छ । विभिन्न अध्येताहरूले यसबारे विस्तृत अध्ययन गरेका छन् । यो विषयमा रोब वालेस र उनका साथीहरूले लेखेको लेख ‘कोभिड–१९ र पुँजीको जालो’ शीर्षकको लेख अध्ययनयोग्य छ । मन्थ्ली रिभ्युको मे महिनाको अङ्कमा यो लेख प्रकाशित छ ।
भविष्यमा यस्ता विपत्ति आउन नदिन के गर्नुपर्छ भन्ने सन्दर्भमा प्रस्टतः हामीले रोकथामलाई नै जोड दिनुपर्छ । त्यसको अर्थ कृषि व्यापारको अहिलेको अवस्थामा परिवर्तन गर्नुपर्छ । सिङ्गो विश्वको खाद्य सञ्जालमा परिवर्तन ल्याउनुपर्छ । जनस्वास्थ्य क्षेत्रमा अझ बढी जोड दिनुपर्छ । त्योभन्दा बढी महत्वपूर्ण कुरा, समाजवादको वैकल्पिक बाटोलाई जोड दिनु हो । दिगो समानता र दिगो पर्यावरण भएको समाज निर्माणमा जोड दिनुपर्छ । त्यसको अर्थ हामीले ‘रचनात्मक विनाश’ मा गौरव गर्ने विद्यमान प्रणालीलाई उल्टाउनुपर्छ । मानवजातिको लागि योभन्दा अर्को कुनै विकल्प छैन ।
स्रोत ः मन्थ्ली रिभ्यु
नेपाली अनुवाद ः नीरज

जोन बेलामी फोस्टर image
जोन बेलामी फोस्टर

2 responses to “सङ्कटपूर्ण पुँजीवाद र कोभिड–१९ को विपत्ति”

  1. Thank you very much !

Leave a Reply

Your email address will not be published. Required fields are marked *