भर्खरै :

नेक्राकिसङ्घलाई शुभकामना !

बुधबार नेपाल क्रान्तिकारी किसान सङ्घले ५३ औँ स्थापना दिवस विभिन्न जिल्लामा विविध गतिविधि गरी मनायो । नेपाली किसान आन्दोलनको इतिहासमा नेक्राकिसङ्घको आधा शताब्दीभन्दा लामो इतिहासले विशेष अध्यायको प्रतिनिधित्व गर्छ । किसान आन्दोलनमा देखापरेका अर्थवाद, अवसरवाद र आत्मसमर्पणवादजस्ता गैरक्रान्तिकारी चरित्रलाई छ्यास्दै नेक्राकिसङ्घको स्थापना भएको थियो । किसानका पेशागत समस्या समाधानबाट उठेको किसान सङ्घर्षलाई पेशागत हितमा मात्र सीमित नराखी किसान आन्दोलनलाई राजनीतिक आन्दोलनको रूपमा उठाउन नेक्राकिसङ्घले महत्वपूर्ण भूमिका खेलेको छ ।
क्रान्तिकारी हुनु कुनै सिद्धान्तलाई शास्त्र वा सूत्रको रूपमा घोक्नु होइन । क्रान्तिकारीहरू क्रान्तिकारी सिद्धान्तलाई आफ्नो विशिष्ट परिस्थितिमा प्रयोग गरी समाजमा आमूल परिवर्तन ल्याउने गर्छन् । पञ्चायती सरकारले घोषणा गरेको भूमिसुधार कार्यक्रमलाई स्वीकार्ने वा नकार्ने विषयमा किसान आन्दोलनमा बहस र मतान्तर भए । पञ्चायती व्यवस्था प्रतिक्रियावादी बन्दोबस्त भएकोले त्यसले ल्याएका सबै कार्यक्रमलाई बहिष्कार गर्नुपर्छ भन्ने दिशा एकातिर थियो भने अर्कोतिर क्रान्तिकारी आन्दोलन उठिनसकेको परिस्थितिमा पञ्चायतले लागू गरेको कार्यक्रमबाट किसानको पक्षमा अधिकतम हित लिने नीति अघि बढ्यो । नेक्राकिसङ्घ कोरा सिद्धान्तवादको विपक्षमा उभिएर प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ–संस्थाभित्र गएर पनि जनताको सेवा गर्ने नीतिअनुसार पञ्चायती भूमिसुधार कार्यक्रम किसानको पक्षमा उपयोग ग¥यो । नेक्राकिसङ्घले सङ्घर्ष गरेको जिल्लामा किसानहरूले मोहियानी हक पाए । अन्य धेरै जिल्लामा मोही किसानहरू अझै पनि मोहियानी हकबाट बञ्चित छन् । नेक्राकिसङ्घका किसान कार्यकर्ताहरूले खेतखेतमा गएर गरेको सङ्घर्षको प्रतिफल अहिले पाइरहेका छन् ।
नेक्राकिसङ्घले स्थापनाकालबाटै क्रान्तिकारी भूमिसुधारको पक्षमा बोल्दै र लड्दै आएको छ । जमिन जोत्ने किसानको नाममा हुनुपर्ने क्रान्तिकारी सिद्धान्त नै क्रान्तिकारी भूमिसुधारको वैचारिक आधार हो । सामन्तवादी व्यवस्थाले भूमिलाई शोषणको माध्यम बनायो । भूमिपतिले किसानको श्रम शोषण ग¥यो । यसरी शोषणको औजार बनेको भूमि जोत्ने किसानकै हातमा दिंदामात्र शोषणको जालो ध्वस्त हुन्छ । सामन्तवादको मुली मानिएको राजतन्त्र अन्त्य भयो । तथापि भूमि अझै पनि शोषणको माध्यम बनेको छ । देशभरका किसानहरूले अझै पनि आफूले जोत्दै आएको भूमिमा मोहियानी हक पाउन सकेका छैनन् । त्यसको अर्थ नेक्राकिसङ्घको सङ्घर्ष अझै चालू राख्नुपर्छ ।
किसान आन्दोलन राजनीतिक आन्दोलन पनि हो । राजनीतिक परिवर्तनले मात्र किसानहरूको पनि हित सम्भव हुन्छ । विद्यमान पुँजीवादी बन्दोबस्तले किसानहरूमाथि पुरानो सामन्तवादी सिक्रीको सट्टा नयाँ शोषणको सिक्रीले बाँध्ने गर्छ । हिजो किसान सामन्त र जमिनदारको शोषणमा पिल्सिनुपथ्र्यो भने पुँजीवादी व्यवस्थामा किसानहरू कृषि मजदुरमा परिणत हुन्छन् र पुँजीपति वर्गको शोषणमा पर्छन् । हिजो र आजको व्यवस्थामा शोषणको रूपमा परिवर्तन आएको हो, शोषणमा आधारित व्यवस्थामा परिवर्तन आएको होइन । शोषणमा टिकेको यो व्यवस्थाको जग भत्काउन नसक्दासम्म किसान र मजदुरमाथि शोषणको जालो हट्नेछैन । नेक्राकिसङ्घले आधा शताब्दी किसानहरूकै पक्षमा शोषणमा आधारित व्यवस्थाविरुद्ध लड्यो । अब नेक्राकिसङ्घमा आबद्ध नयाँ पुस्ताले नयाँ ढङ्गको लडाइँ अघि बढाउनुपर्छ । पुँजीवादी व्यवस्थाले कृषि क्षेत्रलाई पनि शोषणको क्षेत्र बनाएको छ । यो व्यवस्था ध्वस्त बनाउनु र किसान–मजदुरलगायत श्रमिक जनताको पक्षमा समाजवादी व्यवस्था स्थापना गर्ने नेक्राकिसङ्घको आजु पूरा गर्न अझै पनि जारी रहनुपर्छ ।
नेक्राकिसङ्घको ५३ औँ स्थापना दिवसको अवसरमा आजसम्म किसान आन्दोलनमा जीवन अर्पण गर्नुभएका अग्रज किसान कार्यकर्ताप्रति सम्मान छ । नेक्राकिसङ्घका सम्पूर्ण कार्यकर्ताहरूलाई हार्दिक शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *