भर्खरै :

त्रिविको परीक्षा विकल्प खोज्ने कि !

त्रिभुवन विश्वविद्यालयले लकडाउन अन्त्य भएसँगै चैतमा स्थगित भएका परीक्षा भदौमा गर्ने तयारी थालेको छ । तर, विद्यार्थीहरूले भने यसमा विमति जनाएका छन् । लकडाउन लम्बिएसँगै धेरै विद्यार्थीहरू आ–आफ्नो घरमा फर्केका छन् । ती विद्यार्थीमध्ये अधिकांश काठमाडौँमा फर्किन सकेका छैनन् । सार्वजनिक सवारी साधनको सञ्चालन अझै सुरू हुन सकेको छैन । तराईका केही जिल्ला र नगर अहिले पनि कोभिड–१९ सङ्क्रमणको कारण सिलको अवस्थामा छ । कोरोनाको सङ्क्रमण देखिएको क्षेत्रमा सिल र लकडाउन गर्ने सरकारको नयाँ रणनीतिअनुसार कुन ठाउँमा कतिबेला सिल र लकडाउन हुने हो, कुनै टुङ्गो छैन । यस्तो परिस्थितिमा विद्यार्थीलाई कोठाभित्र राखेर परीक्षा लिने पद्धति निर्धारित समयमा हुनसक्ने निश्चय गर्न सकिन्न । त्रिविमा आन्दोलनरत विद्यार्थीले तत्काल भौतिकरूपमा परीक्षामा सामेल हुने अवस्था नभएकोले परीक्षाको वैकल्पिक उपाय खोज्न त्रिविलाई आग्रह गरेका छन् । उनीहरूले तत्काल कोरोना भाइरसको जोखिम नहटिसकेको हुनाले अनलाइन परीक्षा सञ्चालन गर्न अथवा आन्तरिक मूल्याङ्कनलाई नै आधार मानेर नतिजा दिन आग्रह गरेका छन् ।
तर, त्रिविका पदाधिकारीहरू भौतिक परीक्षामै जानेमा अड्डी कसिरहेका छन् । संसारका प्रतिष्ठित विश्वविद्यालयहरूले समेत तत्काललाई भौतिक परीक्षा वा कक्षा नहुने घोषणा गरेका छन् । हर्वार्ड विश्वविद्यालयले कम्तीमा सन् २०२० को अन्त्यसम्ममा कुनै पनि भौतिक गतिविधि नगर्ने घोषणा गरिसकेको छ । अरू धेरै विश्वविद्यालयले पनि शैक्षिक गतिविधि सञ्चालनको निम्ति वैकल्पिक बाटो पछ्याइरहेका छन् । यस्तो परिस्थितिमा त्रिविले भौतिक परीक्षा वा कक्षा सञ्चालन सञ्चालनमा हतारो गर्नु उपयुक्त नहोला । बरू विश्वविद्यालयको प्राविधिक क्षमता र मानवीय जनशक्तिको प्रभावकारिता अझ बढाएर अनलाइन कक्षा र परीक्षालाई नै जोड दिनु उपयुक्त हुनेछ । परीक्षा र कक्षा सञ्चालन हुने अवस्थामा काठमाडौँ उपत्यका र देशका अन्य प्रमुख सहरमा अध्ययन गरिरहेका विद्यार्थी फर्किनेछन् । सार्वजनिक यातायात सञ्चालन नहुँदा उनीहरूलाई यात्रा गर्न सहज नहुनेमात्र होइन, बरू उनीहरूमध्ये कोही सङ्क्रमित भएको अवस्थामा सङ्क्रमण फैलिने सम्भावना उत्तिकै हुनेछ ।
त्रिविलाई परीक्षा सञ्चालनको निम्ति विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त हुने रकमकै लोभमा त्रिवि पदाधिकारीहरूले भौतिकरूपमै परीक्षा लिने अडान लिइरहेका छन् ।
जटिल परिस्थिति नयाँ सम्भावनाको खोजीको प्रस्थानबिन्दु पनि हो । यथास्थितिमा रमाउने प्रवृत्तिले कदापि नयाँ सम्भावना देख्ने गर्दैन । नयाँ सम्भावनाको खोजीमा जोखिमका कुरा हुन्छन् । तर, जोखिमसँग डराएर यथास्थितिमा अलमलिनु प्रगतिविरोधी सोचाइ हो । अनलाइन परीक्षा वा शैक्षिक गतिविधिका वैकल्पिक उपायको खोजी नयाँ सम्भावनाको खोजी हो । त्रिविजस्तो इतिहास र गरिमा बोकेको विश्वविद्यालयले समयानुकूल आधुनिक प्रविधिको प्रयोगमा आफूलाई अभ्यस्त बनाउनुपर्छ । त्रिविमा विद्यार्थीहरूले अहिले गरिरहेको सङ्घर्षको विषयमा त्रिवि गम्भीर हुनुपर्छ । आफूलाई ‘प्रमुख’ दाबी गरिरहेका विद्यार्थी सङ्गठनहरूले विद्यार्थीहरूका यस्ता गम्भीर विषयमा प्रभावकारी उपाय दिन सकेका छैनन् । प्राध्यापक सङ्गठनहरू पनि कुहिरोमा हराएको कागजस्तै अन्योलमा छन् । विभिन्न देशको अनुभव र नेपालको परिवेश एकाकार गरेर तत्काल निकास दिनमा विश्वविद्यालय पदाधिकारी, प्राध्यापक र विद्यार्थीबीच सघन छलफल आवश्यक छ ।

One response to “त्रिविको परीक्षा विकल्प खोज्ने कि !”

  1. Krishna Poudel says:

    Internal evaluation is the best
    In this situation.

Leave a Reply

Your email address will not be published. Required fields are marked *