भर्खरै :

कालोबजारी बढ्दै सरकार बेखबर

 
सामना
राकम कर्णाली (दैलेख) । रोग, भोक र शोकले जहिले पनि सताइने र बाढी पहिरोजस्तो प्राकृतिक प्रकोपको चर्को पीडा भोग्दै आइरहेका कर्णालीका जनता कालो बजारीको कारण थप समस्यामा परेका छन् ।
महँगीको चापले जनताको दैनिकी कष्टकर बन्दै गएको छ । दैनिक उपभोग्य तथा तरकारीको बजार भाउ अत्याधिक बढेको छ । लत्ताकपडा, अन्य वस्तुको भाउको त कुरै छोडौँ । अत्याधिक बजार भाउका कारण सर्वसाधारणलाई दिनभरि काम गरेर बिहान–बेलुका छाक टार्न गा¥हो भइसक्यो ।
मूल्यवृद्धि हुनुमा कोरोना भाइरस (कोेभिड–१९) को महामारी, सलहको बिगबिगि र बिचौलियाको ठुलो हात छ । उत्पादन गर्ने कृषकले सस्तो सामान पाउँदैनन् । बिचौलियाले बजार बिगारिरहेका छन् । बजार अनुगमन गर्ने निकाय मौन छ । एकै सामानको भाउ पसलैपिच्छे फरक छ, सामानको तोकिएको मूल्यभन्दा पनि बढी मूल्य तिर्न उपभोक्ता बाध्य छन् । सचेत उपभोक्ताले प्रिन्ट रेटको कुरा गर्दा व्यापारीले उल्टै आवश्यक भए लैजानु, नत्र अर्को पसलमा जाँदा हुन्छ, जहाँ सस्तो छ त्यहाँ जानू भन्दै तुच्छ भाषा प्रयोग गर्ने गरेको आठविस नगरपालिका वडा नंं.४ का एक स्थानीय उपभोक्ताले बताए ।
पछिल्लो समय सहरको भन्दा कर्णालीका ग्रामीण बजारहरूमा व्यापारीको मनपरि बढेको पाइन्छ । कुनै कुनै सामानको मूल्यमा त चार गुना बढी व्यापारीले असुली गरिरहेका छन् । यस्तो महामारीको बेला व्यापारीमात्र होइन उपभोक्ता वर्गको पनि आर्थिक अवस्था निकै बिग्रिसकेको छ । बजारमा कालोबजारी हुँदा कहीँ कुनै व्यापारीलाई कारबाही भएको छैन । बजारमा व्यापारीको मनपरी हुन थाल्दा स्थानीय सरकारले पनि यसतर्फ कुनै चाँसो नदिई व्यापारीलाई नै पक्षपोषण दिइरहेको उपभोक्ताको गुनासो छ ।
उपभोग्य सामानहरूको मनपरी तरीकाले महँगिनु र त्यसलाई सही व्यवस्थापन गर्न नसक्नु हाम्रो देशको विशेषता नै होे । महँगो मूल्य तिरेर किनेका उपभोग्य वस्तुहरूमा पनि पर्याप्त मिसावट हुनु अर्को विशेषता हो । बजारमा पाइने दाल, चामल, पिठोलगायतका सबै खाद्य वस्तुमा समेत मिसावट देखिन्छ । एकातिर महँगो मूल्य तिर्नुपर्ने र अर्कोतिर महँगो मूल्य तिरेर ल्याइएको सामान गुणस्तरीय र शुद्ध नहुनुले उपभोक्ता ठुलो मर्कामा परेका छन् ।
कर्णाली प्रदेश सरकार, स्थानीय निकाय, प्रहरी प्रशासन गम्भीर नबन्दा बिचौलियाहरूले टाउको उठाउने मौका पाइरहेका छन् ।
कालोबजारी गर्ने दलालहरूलाई कारबाही हुने हो भने देश र जनता र राज्यसमेतलाई फाइदा हुने भएकोले कालोबजारी रोक्न प्रभावकारी कारबाही आवश्यक छ । कालोबजारी नियन्त्रण गर्न राज्य जिम्मेवार बन्नुपर्छ ।
तर, राज्य सञ्चालनको जिम्मा लिएका सरोकारवाला निकाय नै जनताको समस्याप्रति उदासीन बनिदिँदा कर्णाली ग्रामीण भेगका जनता थप निरास बनेका छन् । कोरोना महामारीले थलिएका कर्णालीका जनता सरकारको खोजीमा छन् । सरकार भने जनताको समस्याप्रति बेखबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *