भर्खरै :

पितृसत्ताले दबिएका महिला

नेपाल एक बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषा मान्ने बहुलजातिको राष्ट्र हो । हाम्रो देश नेपाल विश्वकै एक यस्तो स्वतन्त्र मुलुक हो जहाँ साम्राज्यवादीहरूले कहिल्यै राज गर्नसकेनन् । विश्वमा नेपालीहरूलाई वीर गोर्खाली भनेर चिन्ने गरिन्छ । जसको कारण नेपालको सान, मान, मर्यादा र प्रतिष्ठा विश्वमा सधैँ कायम रहिआएको छ । यति हुँदाहुँदै पनि हाम्रो देश नेपाल बत्तीमुनिको अँध्यारो बन्न पुगेको छ । समाजमा चलिआएको परम्परा, रुढिवादी सोच, कुरीति र विभेदले गर्दा नेपाल आफैँ पछाडि पर्न गएको छ । जसलाई हात थाम्ने काम अशिक्षित नागरिकहरूको मात्र नभएर पढिलेखेका सभ्य व्यक्तिमा गनिनेहरूको पनि हो ।
एक्काइसौँ शताब्दीसम्म आइपुग्दा पनि देशबाट नराम्रा गतिविधि, कुरीति, अन्धविश्वास, विभेदहरू हट्न सकेको छैन । जुन राज्यको निम्ति नै लाजमर्दाे विषय हो । पश्चिमतिरको छाउपडी, झुमा प्रथा, बोक्सी प्रथा हुन् या तराईतिरको दाइजो प्रथा, घुम्टो प्रथा हुन् । यी सबैले गर्दा समाजमा मानिसहरू एकअर्काबाट त्रसित हुँदै बाँच्न बाध्य छन् । एक व्यक्ति अर्काका शत्रु भएका छन् ।
नेपाली समाज पुरुषप्रधान भएकोले यहाँ घरदेखि बाहिरसम्म बलिया पुरुषको बोली बिक्छ । उनीहरू नै सर्वशक्तिमान भएका छन् । जसको प्रत्यक्ष असर नारी र समाजमा सानो जात भनेर ठहराइएका व्यक्तिहरूमा परेको छ । समाजमा हुने कुरीति, अन्धविश्वास, विभेद, हत्या, हिंसा, बलात्कार सबै पुरुषप्रधान समाजको देन हो । अशिक्षित समाजमा पुरुष अधिनायकत्वले कतिसम्म अशिक्षित जरा गाडेको छ त्यो त हामी दुर्गम, विकट, पश्चिमी समाजमा गएपछि देख्न सक्छौँ । साथै आधुनिक समाजमा बिगबिगी हत्या, हिंसा, बलात्कार, एसिड आक्रमणले आधुनिक समाजमा पुरुषको आधिपत्य देखाउँछ ।
हामीलाई थाहा छ, परिवार र समाजमा चलिआएका यस्ता कुरीति र विकृतिहरूजस्तै महिनावारी बार्नु, छोराछोरीमा विभेद गर्नु, जातपात भन्दै विभेद गर्नु, नराम्रो हो तर पनि हामी यी सबै गर्न विवश छौँ । किनकि हामीले आफूलाई समाजमा स्थापित गराउनु छ, सभ्य भनी मानिसको परिचय दिनु छ । सभ्य र सामाजिक व्यक्तिको खोल ओढेर हामीले आफैँ विकृति र कुरीतिहरू समाजमा प्रचलनमा ल्याइरहेका छौँ । जसको कारणले हामी आफैँ पछि परेका छौँ । यसमा पुरुषको मात्र नभएर महिलाको पनि ठूलो हात छ । हाम्रो समाजमा यस्ता महिलाहरू पनि छन् जो महिला भएर महिलाकै विरुद्ध खेदो खन्छन् । उनीहरू आफ्नो अधिकार र आवश्यकता सुनिश्चित गर्न अरुको अधिकार र आवश्यकतालाई बलि चढाउने गर्छन् । पछिल्ला समयमा समाजमा हुने हत्या, हिंसा, बलात्कार, लागूपदार्थको बेचबिखन, मानव तस्करी आदिमा महिलाको बढ्दो सक्रिय सहभागिताले प्रस्ट पार्छ कि महिलाहरू आफैँ पनि यस्ता गतिविधिमा पुरुषहरूभन्दा कम छैनन् । भन्न त भनिन्छ ‘महिला र पुरुष बराबर हुन्’ महिला र पुरुष एक रथका दुई पाङ्ग्रा हुन् । तर जति भने पनि यी कुरालाई व्यवहारमा ल्याउन नसक्दा समाजमा विभिन्न विकृति र कुरीतिहरू मौलाउँदै छन् । त्यसैले सबै जनमानसमा एक अर्काप्रति सद्भाव र आदरको भावना जगाउनु आजको समाजमा आवश्यक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *