अनावश्यक ठाउँमा बजेट प्रयोग नगरियोस्
- पुष २५, २०८१
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल सिद्धान्त र विचार बन्धक या थाती राखेर अघि बढिरहेका एक अवसरवादी नेता हुन् । सिद्धान्त र विचार ठेकान नभएका अवसरवादी नेताहरूले आमूल परिवर्तनको बाटो खोज्दैनन्, त्यो बाटोमा अघि बढ्दैनन् । क्रान्तिकारी बाटो, क्रान्तिकारी चरित्र र कम्युनिस्ट सिद्धान्त छोडेर शान्तिको नाउँमा सरकारसामु आत्मसपर्पण गर्ने उनी जनताका धोकेबाज पनि हुन् । क्रान्तिकारी बाटो छोडेर उनले ‘जनयुद्ध’ को नाउँमा १५ हजार नेपालीको रगतमा होलि खेले, ‘जनयुद्ध’ लाई बलिदानमा टुङ्ग्याए । अहिले सत्तारुढ दलको अध्यक्ष भएर सत्ताको स्वाद चाख्दै छन्, सुरक्षाको घेरामा रहेर आनन्दसँग जीवन बिताउँदै छन् । सत्ताको स्वादमा रमेर बस्न पाएका नेताहरूलाई बहुमत जनताको सेवाबारे मतलब हुनु पनि कसरी!
‘जनयुद्ध’ को बेला उठाएका माग र जनतामाझ व्यक्त विचार सबै उनले खोलामा बगाए । तर, पनि उनी आफूलाई क्रान्तिकारी र कम्युनिस्टको परिचय दिन या कम्युनिस्ट भनी चिनाउन बेलाबखत कम्युनिस्टको सिद्धान्त र विचारको बखान गर्न छोड्दैनन्, आकलझुकल समाजवादको कुरा गर्न पछि पर्दैनन् । कम्युनिस्टको गुण र चरित्र अलि अलि भएका, कम्युनिस्टको सिद्धान्त र विचारले अलि अलि भिजेका भनिएका नेता दाहाल संसदीय बाटोमा छिरेपछि र एमालेमा विलय भएर नेकपा बनेपछि भएको कम्युनिस्ट चरित्र पनि सत्ताले उडायो या पद र पैसाले उडायो । के यो नेता दाहालले जनतालाई धोका दिएका होइनन्, कम्युनिस्टको सिद्धान्त र विचार छोडेर पुँजीवादसामु घुँडा टेकेका होइनन् ?
कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार छोडेका छैनन् या कम्युनिस्ट पार्टीमै रहेर देशमा आमूल परिवर्तन गर्ने चाहना बाँकी छ भने त्यही विचार र भावनाअनुसार उनी अघि बढ्नुपर्छ, त्यो बाटोमा लैजान नेकपाभित्र सङ्घर्ष गर्नुपर्छ । कहिले भागबन्डामा अल्झेर त कहिले पालैपालो सरकारको नेतृत्व गर्ने कुरा सल्काएर सत्ताको राजनीतिमा डुबेर के देशमा समाज परिवर्तन हुन्छ, आमूल परिवर्तनको ढोका खोल्छ ? नेकपालाई साँच्चै कम्युनिस्ट पार्टीमा ढालेर आमूल परिवर्तनको निम्ति जनतामाझ पुगेर वर्गसङ्घर्षको बाटो लिए, अघि बढे पक्कै पनि उनी कम्युनिस्ट हुन् । त्यस्तो पूर्वाधार तयार नगरी सत्ता राजनीतिमा भुल्यो भने उनी कम्युनिस्ट पार्टी र आन्दोलनमा नक्कली कम्युनिस्ट भएर शोषित पीडित जनतालाई धोका दिने धोकेबाज हुनेछन् । क्रान्तिकारी सिद्धान्त र विचार छोड्ने उनी क्रान्तिविरोधी हुनेछन् ।
एमाले कम्युनिस्ट थिएन । कम्युनिस्टको चरित्र नै नभएको एमालेसँग मिलेर बनेको नेकपामा कम्युनिस्ट चरित्र नहुनु आश्चर्यको विषय होइन । पूर्वएमालेकै कारण अलि अलि देखिएको माओवादीको कम्युनिस्ट धारलाई बलियो होइन कमजोर पा¥यो । नेपाललाई समाजवादउन्मुख बनाउन अध्यक्ष दाहालले के पहल गरे ? यसका लागि नेकपामा के–के कार्यक्रम लगे ? कहिल्यै जानकारीमा आएको छैन । देश, काल र परिस्थिति तयार नभई हतियार उठाउनु जसरी माओवादीको गल्ती थियो त्यसरी नै शान्तिको नाउँमा क्रान्तिकारी बाटो छोडेर सरकारसामु आत्मसमर्पण गर्नु र हाल सत्तामुखी राजनीतिमा हामफालेर कम्युनिस्टको सिद्धान्त र विचारअनुसार सङ्घर्ष र आन्दोलनको कुनै कार्यक्रम नराख्नु अर्को गल्ती हो ? नेकपाभित्र कुन–कुन नेता, मन्त्री, सांसद र कार्यकर्ताहरू सच्चा कम्युनिस्ट र कुन कम्युनिस्ट चरित्रविरोधी हुन्, कित्ताकाट हुनुपर्छ ।
Leave a Reply