भर्खरै :

नेपालको प्राथमिकता ः परम्परागत विज्ञान तथा प्रविधिको अनुसन्धान !

नेपाली भाषामा एउटा उखान छ, ‘नबर्सिने बादल गर्जिन्छ’ । २०७७ असोज १ गते नेपाल सरकारले राष्ट्रिय विज्ञान दिवस मनाएर विकासको सदाबहार आलाप ग¥यो । सरकारले एक वर्षअगाडि ‘विज्ञान प्रविधि नीति’ बनायो । नीति निर्माण गर्नमा नेपाल अगाडि नै सर्छ, काम पो हुँदैन ! ‘नानो’ तथा ‘न्युक्लियर’ प्रविधिको विकास गर्ने, विज्ञान प्रयोगात्मक शिक्षण गर्ने, प्रतिस्पर्धाका आधारमा अनुसन्धानवृत्ति तथा छात्रवृत्ति उपलब्ध गराउने, प्रदेश तथा स्थानीय तहमा विज्ञान तथा नवप्रवर्तन प्रवद्र्धन केन्द्रको विकास गर्ने, विभिन्न अनुसन्धानशालाको विकास गर्ने आदि कुरा ‘विज्ञान प्रविधि नीति’ मा समेटिएका छन् । तर, ती सबै मन्त्रालयको दराजमा थन्किएका छन् । नीतिअनुसारको कानुन कहिले बन्छ भन्ने मन्त्री स्वयम्लाई थाहा हुँदैन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री भन्छन्, सबैतिर अपेक्षा ठूलो छ, धान्न सक्ने गरी काम गर्नुपर्नेछ । उनी आफूले बनाएको नीतिप्रति आफै विश्वस्त छैनन् ।

अझै उदेकलाग्दो कुरा छ यहाँ । स्वास्थ्य मन्त्रालयले असोज १ गते ‘विश्व बिरामी सुरक्षा दिवस’ को अवसरमा चिकित्साकर्मी र कोरोना भाइरस सङ्क्रमितको मनोबल बढाउन घरघरमा दीप प्रज्वलन गर्न आह्वान ग¥यो, स्वास्थ्यमन्त्री स्वयम् काठमाडौँ माइतीघर मण्डलामा आयोजित दीप प्रज्वलन कार्यक्रममा सहभागी भए । ‘काम कुरा एकातिर कुम्लो बोकी थिमितिर !’ हाम्रा स्वास्थ्यमन्त्री किन बहकिएका ! स्वास्थ्यमन्त्रीको विज्ञानचेतको नापो यसबाटै हुन्छ । कोही नागरिकले बत्ती बालेर कसैको सुस्वास्थ्यको कामना गर्नु वा कसैको मनोबल बढाउनु छुट्टै कुरा हो । तर, राज्यले नै यस्ता हास्यास्पद आह्वान गर्नु राज्यस्रोतकै दुरुपयोग होइन र ?
कोरोना भगाउने नाममा संसारमा कतै शङ्ख फुक्ने आह्वान भयो, कतै मैनबत्ती बाल्ने काम ! मनोविज्ञान एउटै हो । प्लास्टिक सर्जरीबाट ‘गणेश भगवान’ को जन्म भएको, संसारमै पहिलो टेस्टट्युव बेबी ‘सीता देवी’ जन्मिएको प्रचारबाजी गरी राज्यसत्ता सञ्चालन गर्ने कला पनि हुनसक्छ । तर, त्यस्तो भुलभुलैयामा रमाउने नागरिक हुँदासम्म कसरी देश अगाडि बढ्छ ? निधारमा रातो टीका लगाएर कक्षा कोठामा विज्ञान पढाउने शिक्षक पनि हुन्छन् यो समाजमा । कुनै देवीथानमा भाकल गरी कुर्सी बचाउन खोज्ने शिक्षा अधिकारी त तिनका मार्ग निर्देशक नै भए । ‘अलौकिक शक्ति’ को पूजापाठ गरी स्वास्थ्य दिवस मनाउनु त्योभन्दा फरक कोटीको हुनैसक्दैन । अझै भैँसी पूजा काण्ड, कालो बोका काण्डका कति कुरा गरौँ खै !
देशको विज्ञान तथा प्रविधिबारे मन्त्रालयहरू ‘अँध्यारोमा गुच्चा’ हानिरहेका प्रतीत हुन्छन् । देशको विज्ञान तथा प्रविधिको क्षमता के हो ? नेपालीको प्रविधिसम्बन्धीका ज्ञान के के हुन् ? हाम्रा कमीकमजोरी के हुन् ? देशको वास्तविक आवश्यकता के हो ? विज्ञान तथा प्रविधिको दृष्टिमा कुन धरातलमा उभिएको छ नेपाली समाज ? यति पत्ता लागेपछि मात्र गन्तव्यतर्फ अगाडि बढ्न सकिन्छ कि!

भर्खर भक्तपुर नगरपालिकाले आफ्नै स्रोतसाधन तथा प्रविधिको भरमा प्रशिद्ध ङातापोल (पाँचतले मन्दिर) को जीर्णोद्धार कार्य सम्पन्न ग¥यो । मर्मत तथा प्रबलीकरण गर्न कुनै विदेशी वा तथाकथित आधुनिक प्रविधि चाहिएन । आधुनिक विज्ञान तथा प्रविधिका विद्वानहरू तीन सय वर्ष पहिलेको प्रविधिको खुलेर सराहना गर्दछन् । २०७२ को ठूलो भूकम्पमा पनि ङातापोलमा थोरैमात्र क्षति भयो । प्रविधिको स्रोत नै विज्ञान हो । ती बेनामी प्राविधिकहरू वैज्ञानिक थिए भन्न किन कन्जुस्याइँ गर्ने !  परम्परागत र आधुनिक प्रविधिको सेतु के हो, भिन्नता के ? आधुनिक उपकरणको प्रयोग गर्नु नै आधुनिक हुनु हो र ? मानव ज्ञानमा कुन आधुनिक र कुन परम्परागत कसरी छुट्याउने ? परम्परागत भनी हेय दृष्टि राख्नु वा उहिलेको ज्ञानलाई कम मूल्याङ्कन गर्नु जीवनोचित हुँदैन । ज्ञान आफैमा क्रमिक विकासको शृङ्खला हो । भर्खरैको ङातापोल सम्पदा जीर्णोद्धारमा पनि तीन सय वर्ष अगाडिको ज्ञान जस्ताको तस्तै उपयोग गरिएको होइन त !
अर्को उदाहरण राखौँ ! आजभन्दा ३०–४० वर्षअघि काठमाडौँ उपत्यकाका नेवार
(खासगरी किसान) को घरघरमा हाकुवा (हकुवा) धान हुन्थ्यो । हाकुवाको भात (हाकुजा) पौष्टिक मानिन्छ, हाकुवाको भात खाए सुत्केरीको दूध भरिलो हुन्छ भनिन्छ । थोरै खाए पनि धेरै तागत आउँछ भन्छन् पारखीहरू । हाकुजा पचाउन पनि सजिलो हुन्छ, थोरै खाए पनि पुग्ने ! पुरानो पुस्ताको अनुभव हो यो । यो पङ्क्तिकारले पनि चाखेको छ हाकुजा । तर, हामी केटाकेटी छँदा भने हाकुजा त्यति स्वाद मान्दैनथ्यौँ । हाकुवाको महिमा नै विशेष छ नेवारी संस्कृतिमा । हाकुवा भित्र्याउन विशेष थिति बाँधिएकोे हुन्छ, नेवारहरू यसलाई बुराँज्या भन्छन् । बुराँज्याको दिन समय्बजी खाई रमाइलो गरिन्छ । हाकुवालाई त्यत्तिकै यति धेरै महत्व दिइएको होइन ।
धानको बोटैसमेत वा झारिएको धान राखी परालको कुनिउँ लगाई गुम्स्याइएको धान हो हाकुवा । १०–१२ दिन (१३ दिन राखिन्न) भित्र धानको रङ्ग खैरो भएको हुन्छ, चामल हल्का रातो÷खैरो देखिन्छ । हाकुवा लामो समयसम्म पनि सुरक्षित हुन्छ, कीरा लाग्दैन । ‘नेपालका परम्परागत कला तथा सामग्री’ भन्ने पुस्तकमा लेखकद्वय सीएल गजुरेल र केके वैद्यले हाकुवालाई ‘फर्मेन्टेड राइस’ भनी उल्लेख गरेका छन् । सूक्ष्म जीवले धानलाई फर्मेन्टेसन गर्छ भनेर सोही पुस्तकमा लेखिएको छ । हाकुवा फर्मेन्टेड भएकैले पचाउन सजिलो र पोषिलो भएको हो भन्ने कुरामा वनस्पतिशास्त्री डा. तीर्थबहादुर श्रेष्ठ पनि सहमत छन् । सानो छँदा टाइफाइडबाट भर्खर तङ्ग्रिएका डा. श्रेष्ठले हाकुजा खाएको आजैजस्तो लाग्छ भन्छन् ।
हिजोआज हाकुवा पाइन्न । हाकुवा बनाउन अलि महँगो पर्छ, श्रमको हिसाबले समेत । नयाँ प्रविधिको प्रयोग गरी काम सजिलो बनाउन नसकिने त होइन । तर, यसमाथि अनुसन्धान भएको छैन । यसरी पर्याप्त वैज्ञानिक अनुसन्धान नहुँदै हाकुवा बनाउने प्रविधि र ज्ञान समाप्त हुने क्रममा छ । सबभन्दा उदेकलाग्दो कुरा त देशको कृषि अनुसन्धानको निम्ति जिम्मेवार खुमलटारस्थित नार्कलाई समेत काठमाडौँ उपत्यकामै रहेको प्रविधिबारे कुनै चासो छैन ।
हाकुवा प्रविधिमात्र होइन यस्ता अनेक परम्परागत तथा रैथाने ज्ञान समाप्त हुने क्रममा छ । नेपालको भूगोल, हावापानी तथा वातावरणअनुसार विकसित यस्ता अनेक प्रविधि तथा त्यसमा निहीत विज्ञान आयातित संस्कृतिबाट दमित भएका छन् ।
तराईतिर घुँगी (बेल्लाम्या बेङ्गालेन्सिस), दोका (पाइला ग्लोबोसा), सिपी (लामेल्लिडिएन्स मार्जिनालिस) प्रशस्त पाइन्छ । नदी, ताल, सिमसारजस्ता ठाउँमा पाइने शङ्खे किरा प्रजातिका किराहरू प्राणीजगतमा सबभन्दा सस्तो तर अब्बल प्रोटिनको स्रोत मानिन्छ । नेपालमा धेरैजसो डोम, पासवान, मुसहर, दनुवार, थारु आदिले खाने गरेको यी किरामा ५२ देखि ६० प्रतिशतसम्म प्रोटिन पाइएको तथ्य प्रा. डा. रञ्जुरानी कर्ण र प्रा. डा. जीवन श्रेष्ठले सन् २००६ मा प्रकाशित आफ्नो अनुसन्धान कृतिमा उल्लेख गरेका छन् । यस्ता किरा सङ्कलन गर्ने, पकाउने र खाने तरिका तिनै समुदाय जान्दछन् । प्रकृतिको उपहार त्यत्तिकै चिनेका होइनन् होला तिनले ¤ कैयौँ परीक्षणबाट प्रमाणित भएपछि मात्र खान थालिएको हुनुपर्छ । यसकारणले पनि स्थानीय ज्ञानको खोजीको आवश्यकता छ । नीति निर्माता र वैज्ञानिकहरूले भूगोल र जलवायुअनुसारका प्रचलनहरूको अनुसन्धानलाई प्राथमिकता दिनु आवश्यक छ ।
बैँसको रुख अर्को उदाहरण ! अङ्ग्रेजीमा बेबिलोन बिलोउ, वैज्ञानिक नाम सालिक्स बेबिलोनिका । खोलाको छेउछाउ हुने लामालामा पात र लहराजस्ता लर्केका हाँगा भएको वृक्ष हो बैँस । काठमाडौँ उपत्यकाका खोलानाला, पानीको मुहान, कुलो वा सेपिलो ठाउँमा प्रशस्त पाइन्थ्यो । नेपालभाषामा तिंसिमा नामले चर्चित छ । खोलाले जमिन नखाओस् भनी बगरमा रोपिने बिरुवा हो यो । बैँसको रुखको जराले माटो बग्न दिँदैन । माटो जति ओसिलो भएपनि पचाउने रुख हो यो । नदी नियन्त्रणको निम्ति वा भूक्षय हुन नदिन सयौँ वर्षदेखि रोपिँदै आएको यो वनस्पतिको प्रयोग आजकल त्यति हुँदैन । यहाँ ‘ग्याबिङ वाल’ जस्ता महँगा प्रविधि नै सजिलो ठानिन्छ । बैँसले वातावरणलाई हरियालीमात्र बनाउँदैन, यसबाट डालेघाँस पनि पाइन्छ । हरेक वर्ष यसको हाँगा छाँटेर दाउराको रूपमा पनि प्रयोग गर्न सकिन्छ । ‘स्टेम कटिङ’ को सिद्धान्त लेख्नुअगाडि नै हाम्रा पुर्खाले बैँसजस्तो रुखको हाँगो काटेर रोप्ने ज्ञान पत्ता लगाएको कुरा हामी कसरी सम्झँदै छौँ ? यस्तो प्रयोगबाट इन्जिनियरिङ कलेजहरूसमेत सायद विमुख छन् ।
डोरबहादुर विष्टले ‘भाग्यवाद र विकास’ भन्ने पुस्तकमा औद्योगिक क्रान्तिमा आइपुग्नुअघि जापानले हासिल गरेको विश्व कीर्तिमानलायक अधिकत्तम उत्पादनको कीर्तिमानलाई पनि नेपालका ‘ज्यापु’ (किसान) ले उछिनेको तथ्याङ्क प्रस्तुत गरेको कुरा लेखक सौरभले ‘असङ्गति’ पुस्तकमा उल्लेख गरेका छन् । आजभन्दा दश वर्षअगाडि केही विदेशी विद्वानले नेपालका गाउँगाउँमा काठमाडौँ उपत्यकाका किसानहरूलाई सीप शिक्षकको रूपमा पठाउन सुझावसमेत दिएका थिए । नीति निर्माताले नेपाली जनताको क्षमता चिनेनन् वा बेवास्ता गरे वा आफ्नो दुनो सोझ्याउनमात्र तल्लीन भए ¤ मूर्खको आफ्नो बुद्धि पनि हुन्न, अरूबाट पनि सिक्दैन ।
यो पृथ्वी र ब्रह्माण्ड बुझ्न सकिन्छ, यो ‘निरञ्जन निराकार’ छैन । संसारको भौतिक स्वरूप (मटेरियालिटी) छ, नियमानुसार चल्छ (रुल गभन्र्ड) र यो अन्तर सम्बन्धित (इन्टरकनेक्टेड) छ । यी विज्ञानका आधारभूत पक्ष हुन् । संसार परिवर्तनशील छ, कुनै ‘भगवान’ को इच्छाअनुसार संसारको निर्माण भएको होइन, निरन्तरको परिवर्तनको प्रतिफलस्वरूप लाखौँ प्रजातिका जीवको उत्पत्ति भएको हो । विज्ञानले तथ्यगत विश्लेषण गर्छ, तर्क, प्रमाण र प्रयोगबाट । उस्तै परिवेशमा भौतिक वस्तुहरूमा उस्तै खालको परिवर्तन आउँछ । यस्ता आधारभूत तथ्यको अध्ययन अध्यापन बाल्यकालदेखि विभिन्न स्तरमा सघन शिक्षा दिनु आवश्यक छ । विद्यालय तहमा विज्ञान र प्रविधिको शिक्षा दिएर नै नयाँ समाजको वैज्ञानिक चिन्तन वा ‘माइन्ड सेट’ तयार गर्न सकिन्छ ।

विडम्बना ! विज्ञान र प्रविधि सरकारको प्राथमिकतामा कहिल्यै परेन । सन् २००९ भन्दा पहिले अनुसन्धान र विकास (रिसर्च एन्ड डिभेलपमेन्ट) मा ०.१ प्रतिशत बजेट थियो, सन् २००९ मा ०.३ बाट २०२० सम्म आइपुग्दा ०.४५ प्रतिशतसम्म पुगेको छ । कुल गार्हस्थ उत्पादन (जीडीपी) को कम्तीमा २ प्रतिशत बजेट अनुसन्धान तथा विकासमा लगानी नगरी ठोस उपलब्धि हासिल हुँदैन । छिमेकी चीनले अनुसन्धान तथा विकासमा २.१९ प्रतिशत र संरा अमेरिकाले २.७ प्रतिशत खर्च गर्छन्, तिनको जीडीपी नै भीमकाय भएको यहाँ भुल्न सकिन्न । यसै आधारमा चीनले ५ लाख र संरा अमेरिकाले ३ लाख वस्तुमा पेटेन्ट अधिकार लिइसकेका छन् ।
नेपालमा चीन सरकारको सहयोगमा सूचनाप्रविधि पार्क बन्यो तर त्यसको उपयोग गरिएन । विज्ञानका विद्यार्थीहरू निर्धारित पाठ्यक्रमअनुसारको प्रयोगात्मक कक्षा लिन पाउँदैनन् । टेस्टट्युवसमेत उपलब्ध नभएका माध्यमिक विद्यालय असङ्ख्य छन् । विज्ञान पढाइ हुने सरकारी कलेजमा विद्यार्थी बस्ने सीटसमेत पुग्दैन । गरेर सिकिने विज्ञान विषयको परीक्षा विद्यार्थी विषयवस्तु जबरजस्ती घोकेर दिन्छन् । विद्यार्थी संसारका विभिन्न ठाउँको उदाहरण पढ्छन्, आफ्नै ठाउँको उदाहरण राखिएका पुस्तक पाउँदैनन् । त्यसैले विद्यार्थी विज्ञान विषय गा¥हो मान्छन् । मुख्य धारणा (कन्सेप्ट) बुझ्न देखेभोगेको उदाहरण चाहिन्छ । आफ्नै वरपरका जीवजनावर चिन्दैनन्, चिनाउने पाठ्यक्रम तथा पाठ्यपुस्तक नै छैन । अनि भैरव अर्यालले टाउको निबन्धमा भनेझैँ ‘पढेको मास्टर, नपढेको कुरा नजान्ने’ जनशक्तिमात्र तयार भइरहन्छ । त्यस्तो जनशक्तिले परिस्थिति देख्छमात्र, त्यसबाट के हुनसक्छ भन्ने सम्भावनाबारे विवेकशील भएर चिन्तन, मनन र काम गर्नसक्दैन । वैज्ञानिक चिन्तनले मात्र जहिलेसुकै सम्भावना देख्छ । यसको निम्ति नेपाली समाजको वैज्ञानिक चिन्तनप्रणालीको अध्ययन तथा अनुसन्धान पर्याप्त जरुरी छ । राज्यले आफूलाई चिन्ने, विश्व बुझ्ने र विज्ञान र प्रविधिको यात्रामा छलाङ मार्नु अति वाञ्छनीय भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *