भर्खरै :

सङ्कटापन्न जैविक विविधताको दोषी को ?

संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभाको अवसरमा २०७७ असोज १५ गते न्युयोर्कमा जैविक विविधता शिखर सम्मेलन सम्पन्न भयो । सम्मेलनमा विश्वका विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूले सम्बोधन गर्दै जैविक विविधता जोगाउने प्रतिबद्धता व्यक्त गरे । विश्व नेताहरूले मानव अतिक्रमण, वातावरणीय प्रदूषण, जलवायु परिवर्तन तथा वन्यजन्तुविरूद्धका विनाशक गतिविधिले गर्दा जैविक विविधतामा ठूलो क्षति पुगेको धारणा राखे । के कुरो यतिमै सकिएको हो ? के पुँजीवादी प्रणालीको कुनै दोष छैन ?
आइतबार (२०२० अक्टोबर ४) ‘विश्व जनावर दिवस’ मनाउने क्रममा प्रेसित विभिन्न सन्देश तथा विचारअनुसार पनि पृथ्वीका विभिन्न जीव लोप भइरहेकोमा त्यसको मुख्य कारक मानिस भनिएको छ । मानिसकै अनेक निजी स्वार्थको कारण आज सङ्कट आएको भन्ने कुरामा दुईमत छैन । तर, के सबै मानिस उत्तिकै दोषी छन् ? यो प्रश्न पनि अनुत्तरित छ ।
विश्व वन्यजन्तु कोष (वल्र्ड वाइल्डलाइफ फन्ड– डब्ल्युडब्ल्युएफ) का प्रतिवेदनहरूमा पनि जैविक विविधता सङ्कटमा पुग्नुको मुख्य कारण उत्पादनका ढाँचाहरू दिगो विकासअनुकूल नभएको भनी समस्याको मुख्य कारणलाई बेवास्ता गरिएको देखिन्छ ।
जैविक विविधताको आवश्यकता
विश्व वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको एउटा प्रसिद्ध भनाइ यहाँ राख्नु उपयुक्त छ । “यो संसारबाट माहुरी लोप भए मानिस ४ वर्षमात्र बाँच्नेछन् । माहुरी नभए परागसेचन हुन्न, वनस्पति हुन्नन्, जनवार हुन्नन्, मानिस पनि हुन्नन् ।” वास्तवमा विभिन्न जीवले नै पर्यावरणलाई जीवन्त राख्दछन्, बालीनालीको परागसेचन गर्ने, पानी सफा गर्ने र फोहरवस्तु कुहाउने काम पनि तिनै जीवले गर्छन् ।
पर्यावरणीय चक्रको महत्वबारे यहाँ एउटा उदाहरण प्रस्तुत गरौँ । १९ औँ शताब्दीको अन्त्यतिर संयुक्त राज्य अमेरिकामा व्यावसायिक खेती गर्ने किसानका चौपाया बचाउन ब्वाँसो मार्ने अभियान थालियो । यसकारण, त्यहाँको एलोस्टोन राष्ट्रिय निकुञ्जमा ब्वाँसोको सङ्ख्या अत्यन्त न्यून भयो । यसबाट जङ्गलमा घाँस खाने जनावर (खासगरी जरायो प्रजातिमा पर्ने मूज) को सङ्ख्या बढ्यो । करिब एक शताब्दीमा पारिस्थितिकीय प्रणाली (इकोसिस्टम) मा नकारात्मक असर देखापर्न थाल्यो । सन् १९९५ मा जङ्गलको एउटा मुख्य सिकारी (प्रेडेटर) मानिएको ब्वाँसोलाई पुनःस्थापित गर्ने परियोजना सुरु गरियो । केही वर्षमा मूजलगायत घाँस खाने प्रजातिको सङ्ख्या घट्यो । जङ्गल हराभरा भयो । चराको सङ्ख्या बढ्यो । निकुञ्ज फेरि जीवन्त भयो ।
सङ्टापन्न विविधता
वैज्ञानिकहरूका अनुसार पृथ्वीका ४० प्रतिशत प्रजाति लोप हुने खतरामा छ । गत वर्ष विश्वका वैज्ञानिकहरूले १० लाख प्रजाति लोप हुने खतरा भएको बताए र ‘छैटौँ सामूहिक विलुप्तीकरण’ (सिक्स्थ मास इक्सटिङ्क्सन) हुने खतरा भएको समेत उल्लेख गरे । आज जाभा टापुमा गैँडा ५० वटामात्र बाँकी छ, अफ्रिकी पहाडहरूमा ७ सय वटामात्र पहाडी गुरिल्ला (बनमान्छे) बाँकी छन् । नेपालमा रहेको पाटे बाघदेखि संसारका विभिन्न ठाउँमा पाइने विशाल पान्डा, पोलार बियर, ह्वेल आदि सङ्कटमा छन् ।
पृथ्वीमा जीवको उत्पत्ति भएको करिब साढे ३ अर्ब वर्षभित्र करोडौँ प्रजातिका जीव आए, लाखौँ प्रजाति लोप पनि भए । नयाँ प्रजातिको उत्पत्ति हुने र पुराना कतिपयको लोप हुने क्रम सृष्टिदेखि नै चालु छ । तर, पछिल्ला तीनचार सय वर्षमा आएको राजनीतिक, आर्थिक तथा सामाजिक परिवर्तनकै कारण विभिन्न प्रजाति लोप हुने क्रम तीव्रत्तर भएको छ । सन् २०१८ को डब्ल्युडब्ल्युएफको प्रतिवेदनअनुसार सन् १९७० यता वन्यजन्तुको सङ्ख्या ६० प्रतिशतले घटिसक्यो । दक्षिण र मध्य अमेरिकामा करिब ९० प्रतिशतले घटेका छन् । यसलाई जीवशास्त्री पाउल एहर्लिकले यसरी उपमा दिएका छन्, ‘इकोसिस्टममा प्रजातिहरू लोप हुनु भनेको हवाइजहाजका चुकुलहरू निकाल्नुजस्तै हो, एकछिन त जहाज उड्छ, अन्ततः जहाज आकाशबाट खस्छ नै ।’
समस्याको जड के हो ?
बजार र कच्चा पदार्थ कब्जा गर्न बेलायतले भारतलाई उपनिवेश बनायो । बेलायतीको ताबेदारी गर्ने नेपाली राणा शासकहरूको नीतिको कारण नेपालको प्राकृतिक स्रोतको विनास शृङ्खला सुरु भयो । जङ्गल क्रमशः घट्दै गयो, सिकारको नाममा बाघ, गैँडा, भालुजस्ता जनावरको अस्तित्वसमेत सङ्कटमा प¥यो ।
सन् १९२१ मा वेल्सका युवराज एडवार्ड आठौँ चितवनमा सिकार खेल्न आए, उनले बाघ, गैँडालगायत थुप्रै जनावरको सिकार गरे । त्यस्तै सन् १९६१ को फेब्रुअरीमा बेलायतकी महारानी एलिजाबेथले नेपालको भ्रमण गरिन् । एलिजाबेथले चितवन राष्टिय निकुञ्जमा सिकार गरिन्, राजा महेन्द्रको साथमा । राजा महेन्द्रले पनि बाघ र गैँडा मारे । त्यसबेला राजामहाराजालाई राष्ट्रिय निकुञ्जमा सिकार खेल्ने छुट थियो । राजा वीरेन्द्रले विसं २०३८ मा चितवनमा गैैँडा मारेर त्यसैको खागबाट ‘पितृलाई तर्पण’ दिएका थिए । राणाकालमा बेलायतका राजपरिवार, उच्चपदस्थ अधिकारी र नेपालकै राजा तथा राणा खलकले तराईका जङ्गलमा महिनौँसम्म सिकार गर्थे । हजारौँ वन्यजन्तु मारिए होलान्, यकिन गर्नै मुश्किल छ । अहिले तिनै जनावर संरक्षणको निम्ति अर्बौँ रुपियाँ खर्च गरिरहेका छौँ ।
जनावरको भुवा उद्योग खोलेर ‘अमेरिकी भुवा कम्पनी’ का मालिक जोन ज्याकोब आस्टर संरा अमेरिकाको पहिलो अर्बपति बने । युराल पर्वतदेखि साइबेरिया र उत्तरी मङ्गोलियामा पाइने मलसाँप्रो प्रजातिको सेबल (मार्टेस जिबेल्लिना) को भुवा संसारमै महँगो मानिन्छ । यसको भुवाबाट बनेको ज्याकेटको हजारौँ डलर पर्छ । साबेलजस्तै भुवादार धेरै प्रजातिका जनावरको सिकारको कारण त्यस्ता जनावर लोप हुने क्रममा छन् ।
पुँजीवाद नै किन मुख्य दोषी ?
‘इक्सटिङ्क्सन :¥याडिकल हिस्टरी’ का लेखक एस्ली डासनले एउटा उदाहरण प्रस्तुत गरेका छन् । भूमध्यरेखीय क्षेत्रको जङ््गल जैविक विविधतामा अत्यन्तै धनी थियो । आर्थिकरूपमा गरिबहरू बस्ने ती क्षेत्रमा उपनिवेशको लाठी बज्रियो । जङ्गल विनाश तीव्र भयो । औपनिवेशिक युगमा आर्थिक तथा सामाजिक विभेद चरम स्तरमा पुग्यो । संरा अमेरिकाजस्ता देशले थोपरेको ऋणको बोझबाट उम्किन ती देशहरू सङ्घर्ष गर्दै छन् । ब्राजिलका दुईतिहाइ जनसङ्ख्यालाई कुल खेतीयोग्य जमिनको ३ प्रतिशतमात्र भाग पर्छ । अनि वन विनाशको जिम्मेवारी तिनै पीडित जनताले लिनुपर्ने यो कस्तो अन्याय हो ?
कार्ल माक्र्सले पुँजीवादमा विवेकपूर्ण कृषिसमेत अनुपयुक्त हुन्छ भनेका छन् । पुँजीवादले जहिलेसुकै नाफा खोज्छ । रासायनिक मल, विषादी, हर्मोनहरू, एन्टिबायोटिक्स, इन्धनबाट चल्ने उपकरण, कृषि उत्पादनको प्रशोधन आदिको प्रयोग/दुरूपयोगलाई यही पुँजीवादले बढावा दियो । आज बहुर्राष्ट्रिय कम्पनीहरूको स्वार्थको निम्ति वातावरण, मानव स्वास्थ्य, जनावरको अधिकार आदि प्राथमिकताको विषय रहेनन् । तिनीहरू नाफा र आर्थिक वृद्धिको नाममा वातावरण प्रदूषण र जैविक विविधतालाई पूर्णतः बेवास्ता गरिरहेका छन् ।

जैविक विधिता कुनै राष्ट्रको स्वामित्वभित्र नपरी विश्व सम्पदाको रूपमा उपयोग र उपभोग हुने मान्यता प्रचलित थियो । सन् १९९२ मा ब्राजिलको रियो द जेनेरिओ सम्मेलनमा भएको जैविक विविधता महासन्धिले केही विकसित राष्ट्रहरू विकासशील राष्ट्रका सम्पदामा चलखेल गरी ठूला आर्थिक लाभ उठाउन र आफ्नो वर्चस्व राख्न बन्द ग¥यो । यसैकारण हुनुपर्छ संरा अमेरिका जैविक विविधता महासन्धीमा हस्ताक्षर गर्न नमानेको प्रा.डा. तीर्थबहादुर श्रेष्ठले ‘नेपालका नखुलेका पाटाहरू’ मा उल्लेख गरेका छन् ।

पृथ्वीको तापक्रम वृद्धि गराउने कार्बन उत्सर्जनमा विश्वका १० प्रतिशत धनीको सबभन्दा बढी हात छ । तर, जलवायु र जैविक विविधता बिग्रँदा सबभन्दा ठूलो मार गरिब जनतामा परेको छ । त्यसैले असमानता मुख्य विषय हो । डब्ल्युडब्ल्युएफले जैविक विविधता संरक्षणको निम्ति सामूहिक आवाज राख्नुपर्ने कुरा त गरेको छ तर सही लक्ष्यविना सामूहिक आवाज दिनुको पनि त औचित्य हुन्न, रोगको निदान नै नगरी औषधी दिनुको अर्थ नभएजस्तै । पुँजीवाद नै कारक हो भने पुँजीवादकै विरोधमा आवाज बुलन्द गर्नुपर्ने हो । विख्यात संस्थाले टाउको दुखेको औषधी नाइटोमा भनेझैँ गर्नु हुँदैन । यो विषादपूर्ण कथाको अन्त्य गर्ने हो भने मास इक्टिङ्क्सनको मुुख्य दोषी पुँजीवाद नै हो भन्ने ठहर गरेर अगाडि बढ्नु आवश्यक छ ।
जैविक विधिता कुनै राष्ट्रको स्वामित्वभित्र नपरी विश्व सम्पदाको रूपमा उपयोग र उपभोग हुने मान्यता प्रचलित थियो । सन् १९९२ मा ब्राजिलको रियो द जेनेरिओ सम्मेलनमा भएको जैविक विविधता महासन्धिले केही विकसित राष्ट्रहरू विकासशील राष्ट्रका सम्पदामा चलखेल गरी ठूला आर्थिक लाभ उठाउन र आफ्नो वर्चस्व राख्न बन्द ग¥यो । यसैकारण हुनुपर्छ संरा अमेरिका जैविक विविधता महासन्धीमा हस्ताक्षर गर्न नमानेको प्रा.डा. तीर्थबहादुर श्रेष्ठले ‘नेपालका नखुलेका पाटाहरू’ मा उल्लेख गरेका छन् ।
उपभोक्तावादी समाज
विश्वको जनसङ्ख्याको ५ प्रतिशतमात्र रहेको संरा अमेरिकाले विश्वको ३० प्रतिशत प्राकृतिक स्रोतको उपभोग गर्छ । पुँजीवादी समाज उपभोक्ता निर्देशित समाज हो वा पुँजीवादले मानिसलाई उपभोक्तावादी बनाउँछ । भौतिक सुख र सम्पन्नता नै जीवनस्तरको मापन गर्ने प्रचलन उपभोक्तावादकै उपज हो । यसैको कारण औद्योगिक क्रान्ति भयो । टेलिभिजन, रेडियोलगायत आमसञ्चारमाध्यममा गरिने विज्ञापनले मानिसलाई नयाँ मोडल वा कुनै विशेष ब्रान्डको समान किन्न उत्साहित गरेको हुन्छ । त्यसले मानिसको ‘ब्रेन वास’ गरेको हुन्छ ।
विश्वमा सबभन्दा बढी प्रदूषण फैलाउने उद्योगमा कपडा (तयारीसमेत) उद्योग मानिन्छ । कपडामा ४० प्रतिशत कपास हुन्छ । खेतीमा प्रयोग हुने कुल रसायनमध्ये १० प्रतिशत कपास खेतीमा प्रयोग हुन्छ । कपास खेतीमा २५ प्रतिशत विषादीको प्रयोग हुन्छ । करिब १ किलोग्राम कपास उत्पादन गर्न २० हजार लिटर पानी आवश्यक हुन्छ । कपडा उद्योगले प्रयोग गर्ने रङ्गलगायत रसायनको मात्राको कुनै हिसाब छैन तर फ्यासन परिवर्तनको सीमा पनि छैन । उपभोक्तावाद कपडाको पछिल्लो मोडललाई उत्साहित गर्छ । अमेरिकामा वर्षमा प्रतिव्यक्ति ३४ केजी कपडाको खपत हुन्छ । यदि विश्वभरका मानिसले यति नै खपत गरे भने ३ वटा पृथ्वी चाहिने विश्लेषकहरूको हिसाब छ ।
विद्वान क्लिफ हुकरले ‘कोठामा हात्ती’ भनेजस्तै संसारमा भएको जनसङ्ख्याको अचाक्ली वृद्धिबाटै जीवको अस्तित्व सङ्कटमा परेको होइन । एक अध्ययनअनुसार बङ्लादेशको एक दम्पतिले थप एक बच्चा हुर्काउनुभन्दा संरा अमेरिकामा थप बच्चा हुर्काउँदा १३० गुणा बढी कार्बन उत्सर्जन हुन्छ । त्यसैगरी भारतसँग तुलना गर्ने हो भने ५० गुणाले फरक पर्छ । यसको मतलब के हो ?
नवउदारवादी पुँजीवादले मानिसलाई अनियन्त्रित उपभोग (रेकलेस कन्जम्प्सन) गर्न सिकायो । उपभोगबाटै असीमित आर्थिक वृद्धि हुने सिद्धान्तको जगमा नवउदारवाद अडिएको छ । तर, पुँजीवादी समाजको मानिसको इच्छा कहिल्यै पूरा हुँदैन । पुँजीवादीहरूले यो कुरा राम्ररी बुझेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *