भर्खरै :

नेवार मन्त्री भएपछि

केही मानिसहरू आफ्नो जातका मानिस मन्त्री भएको देख्दा निकै खुसी मनाउने गर्छन् । आफ्नो भाषा बोल्ने, लुगा लगाउने, आफ्नो ठाउँको मानिस मन्त्री हुँदा ठूलै उपलब्धि हासिल भएजस्तो गरी उनीहरू हर्षविभोर हुन्छन् । हालै भएको मन्त्रिपरिषद् हेरफेरमा काठमाडौँ उपत्यकाका केही नेवार अनुहार पनि पर्दा खुसीले केही नेवार र स्वजातका मानिस उफ्रेको देखिए । कति मानिसहरू आफ्नै नजिक र जातको मानिस मन्त्री बन्दा व्यक्तिगत फाइदा उठाउन पाउने भएकाले मख्ख छन् । सम्पदा संरक्षण र काठमाडौँ उपत्यकालाई विनाश हुनबाट जोगाउन लागिरहेका मानिसहरूसमेत नेवार मन्त्री हुँदा आफ्नो अभियान सफल हुने भनी खुसी छन् । अघिल्लो थरी स्वार्थ बोकेका मानिसहरूले यो मौकामा चौका हान्न सक्छन् । मन्त्रीसँगको निकटताको फाइदा उठाएर ठेक्कापट्टा हात पार्ने, आर्थिक लाभ उठाउने र आफ्नो अल्झिएका काम फत्ते गर्नसक्छन् । तर, नेवार मन्त्री भएकाले काठमाडौँ उपत्यकामा जनसङ्ख्या केन्द्रीकरण र त्यसले निम्त्याएको संस्कृति र सम्पदाको विनाश रोक्न सकिने आशा गरेका मानिसहरूको अन्ततः हातमा लागी शून्य हुने पक्का छ ।

रुख काट्न काठकै बिँड भएको बञ्चरो प्रयोग भएजस्तै बरु नेवार मन्त्रीहरूलाई अघि सारेर अहिले काठमाडौँ उपत्यकामा चालु सम्पदा र संस्कृति पक्षधर आन्दोलन र सङ्घर्षलाई सरकारले दबाउन सक्ने सम्भावनालाई नकार्न सकिन्न ।

प्रथमतः काठमाडौँ उपत्यकामा जनसङ्ख्या केन्द्रीकरणको कारण निम्तिएका विनाशप्रति अहिले मन्त्री बनेका व्यक्तिहरू गम्भीर हुँदा हुन् त यस्ता विषयमा धेरै अघि नै आफ्नो दलभित्र र सम्बन्धित स्थानमा आवाज उठाउने थिए । उनीहरू आफ्नै दलको सरकारका संस्कृति र सम्पदाविरोधी निर्णयका दूधका साक्षी बिरालाजस्ता भए । शासक दलका ‘ठुला’ नेताका उनीहरू छायाँ भएर बस्नमै उपलब्धि ठान्थे । त्यसरी नेताप्रति आज्ञाकारी भएबापत अहिले उनीहरूले पुरस्कारस्वरुप मन्त्री पद पाएका छन् । अझ सत्तारुढ दलभित्रको गुटगत भागबन्डा मिलाउने क्रममा कुनै गुटको इमानदार हली भएबापत मन्त्री पद पोल्टामा पारेका हुन् । बाहिर यी मन्त्रीहरू जतिसुकै बाघ देखिए पनि आफ्नो दलभित्रका ‘ठुला’ नेताका उनीहरू मुसा हुन् । अहिले राज्य मन्त्री बनेका रामदास मानन्धर वामदेव गौतमलाई सांसद बनाउन जनताबाट प्राप्त मतलाई तिलाञ्जली दिएर राजीनामा दिन तयार भएका थिए ।
नेवार मन्त्री हुँदैमा बढ्दो जनसङ्ख्यासँगै काठमाडौँ उपत्यकामा नासिँदै गएको सभ्यता र संस्कृति जोगिने आशा भ्रमसिवाय केही होइन । प्रथमतः कोही व्यक्ति मन्त्री हुँदैमा उसबाट ठुलो परिवर्तन हुन सम्भव छैन । सरकारको केन्द्रमा बसेका मुख्य नेताहरू काठमाडौं उपत्यकाका मौलिक सम्पदा र संस्कृतिप्रति पृथ्वीनारायण शाहकालीन चिन्तनबाट मुक्त छैनन् । पृथ्वीनारायण शाहले कब्जा गरेको काठमाडौँ उपत्यकामाथि अझै पनि कब्जाको मानसिकता शासकहरूमा चालु छ । यो चिन्तन बोकेका राजनीतिक दल र तिनका नेताहरूको छायाँ बनेका कोही व्यक्ति मन्त्री हुँदैमा यसमा परिवर्तन हुने अपेक्षा नै व्यर्थ हो । २००७ सालको परिवर्तन यता काठमाडौँका रैथाने धेरै व्यक्ति मन्त्री बने । तर, काठमाडौंमाथिको अतिक्रमण अझै तेज गतिमा अघि बढ्नुले पनि मन्त्री भएका व्यक्तिहरूले कुनै परिवर्तन गर्न नसक्ने प्रस्ट हुन्छ ।
रुख काट्न काठकै बिँड भएको बञ्चरो प्रयोग भएजस्तै बरु नेवार मन्त्रीहरूलाई अघि सारेर अहिले काठमाडौँ उपत्यकामा चालु सम्पदा र संस्कृति पक्षधर आन्दोलन र सङ्घर्षलाई सरकारले दबाउन सक्ने सम्भावनालाई नकार्न सकिन्न । काठमाडौँ उपत्यकाका रैथाने नेवारसँग भएका उत्पादनको साधन भूमिमाथि कब्जा गर्ने प्रयासविरुद्ध चालु सङ्घर्ष दबाउन अब नेवारकै काँधमा बन्दुक बिसाएर गोली हान्ने तयारी सरकारले गरिरहेको विश्लेषण असत्य होइन । तसर्थ, नेवार मन्त्री भएकोमा खुसी हुनेहरू आफूमाथि थप दमनको हतियार प्रयोग हुन लागेकोमा सहज हुन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *