‘नाममा के हुन्छ र ? जसलाई हामी गुलाब भन्दछौँ, त्यसलाई अरू नै संज्ञा दिए पनि उत्तिकै मीठो सुवास दिन्छ क्यारे !’ शेक्सपियरको विश्व प्रसिद्ध नाटक रोमियो जुलिएटमा रोमियोको नाम नै उनीहरूको प्रेममा बाधक बनेपछि जुलिएट यो संवाद बोल्न बाध्य हुन्छन् ।
यस्तै प्रसङ्गमा तुलसीदासले रामायणमा बेग्लै धारणा अघि सारेका छन्ः ‘नामन काल न खाए’ अर्थात् नामलाई कालले पनि निल्न सक्दैन । त्यसैले नाम बिगार्नुहुँदैन । नाम भनेको नामै हो । शेक्सपियर होऊन् वा तुलसीदास– प्रत्येक व्यक्तिको नाम त हुनैप¥यो । बिनानाम कसैको व्यक्तित्व वा कृतित्व खुल्दैन । मानिसलाई मात्र होइन सबै जीव, प्राणी र वनस्पतिलाई पहिचान चाहिन्छ, नाम चाहिन्छ । यो आलेखमा हामी जीव प्रजातिका सार्वकालिक, सार्वस्थानिक नामबारे चर्चा गर्दै छौँ ।
सम्पूर्ण मानव जाति एउटा प्रजाति हो । त्यस प्रजातिको वैज्ञानिक नाम हो ‘होमो सापियन्स’ (Homo sapiens) । मानिसबाहेक यस ग्रहमा अरू एक करोड पचास लाख जीव प्राणीका प्रजाति हुनुपर्छ भन्ने वैज्ञानिकहरूको अनुमान छ । तीमध्ये १७-१८ लाख प्रजातिको मात्र पहिचान भएको छ अर्थात् त्यतिले नाम पाएका छन् । खोजी जारी छ । अन्वेषण चालु छ । यसै सिलसिलामा विगत दस वर्षभित्र (सन् १९९८ देखि २००८ सम्म) हिमालयको पूर्वी खण्ड (नेपालको कालीगण्डकीदेखि म्यानमारको उत्तरी भू–भाग) मा ३५३ वटा नयाँ जीव प्राणी र वनस्पतिहरू पत्ता लागेको अभिलेख विश्व वन्यजन्तु कोष (WWF) ले हालै सार्वजनिक गरेको छ । यी नयाँ प्रजातिहरूमध्ये ९३ (त्रियानब्बे) प्रजाति नेपालमा भेटिएका हुन् । ती नवीन वैभवमा दुई प्रजातिका भ्यागुता, ९ प्रजातिका माछा र ९ नै प्रजातिका सरीसृप प्राणी (छेपारो, माउसुली, सर्पजस्ता घस्रने प्राणी) छन् । हाड र ढाड नभएका (माकुरा, बिच्छी, कीरा, फट्याङ्ग्रा आदि) प्राणीको श्रेणीमा पर्ने ३ फ प्रजाति र ३९ प्रकारका वनस्पति प्रजाति पनि नेपालभित्रै पत्ता लागेका हुन् । यी विभिन्न जीव प्रजातिको वैज्ञानिक नामकरण गर्ने क्रममा १० वटा प्रजातिको नाम नेपालसँग जोडिन पुगेको छ । ‘माधव नेपाल’ भन्दा एक जना व्यक्ति बुझिएझैँ सालिक्स नेपालेन्सिस (Salix nepalensis) भन्दा नेपालमा पाइने एक प्रकारको बैँसको बिरुवालाई चिनिन्छ ।
सन् २००४ मा नेपालेन्सिस नामकरण भएको चितवनको बिच्छी।
व्यक्ति विशेषका नामहरू केलायौँ भने धेरै व्यक्तिका एकै नाम वा एकै व्यक्तिका अनेकौँ नाम हाम्रो समाजमा चल्दै आएको पाउँछौँ । बीज–बिरुवामा पनि यस्तै हुन्छ । समय, परिस्थिति र भाषाले गर्दा यस्तो पर्न जान्छ । हाम्रो खेतमा धान पाक्दछ भने भान्छामा भात । वनस्पति त उही हो । त्यसैलाई अङ्ग्रेजीमा ‘राइस’, फ्रेन्चमा ‘री’, जापानीमा ‘कोमे’ र चिनियाँ भाषामा ‘तामी
(dami)’ भनिन्छ । यसैकारण वैज्ञानिक जगतमा विश्व मान्य कुनै एउटा नामको आवश्यकता पर्दछ । यो प्रयोजनका लागि ल्याटिन भाषालाई मान्यता दिइएको छ । सबै देशका वैज्ञानिकहरू धानलाई
ओराइजा साटिभा (Oryza sativa) भनेर सम्बोधन गर्दछन् । यसबाट विश्व तहमा वैज्ञानिक संवाद र सञ्चारको मार्ग–प्रशस्त हुन्छ ।
आफ्नो नवीन प्रजातिको नाम राख्न वैज्ञानिकहरू पूर्ण स्वतन्त्र हुन्छन् । तर, त्यो नाम अरूसँग मिल्नुहुँदैन, बाझिनुहुँदैन । माथि उल्लेख भएका ९३ वटा नयाँ नामलाई केलाई हेर्दा नेपालेन्सिस-नेपालेन्स भनिएका १० प्रजातिमा एउटा माछा प्रजाति, एउटा माकुरा प्रजाति, दुईवटा छेपारो (सरीसृप) प्रजाति तथा ६ वटा वनस्पति प्रजातिका छन् । यसैगरी दुई प्रजातिको नाम नेपाली वैज्ञानिकको स्मृतिमा पर्न गएको छ । डा. तीर्थमान मास्केको स्मृतिमा एउटा भ्यागुता र अमृतमान बनियाँको सम्मानमा एउटा सुनाखरी बिरुवा स्थापित भएका छन् । स्थान नामका आधारमा चितवनको नाममा एउटा भ्यागुता छ भने माकुरा प्रजातिमा थुप्रैले स्थान नाम ओगटेका छन् ।
विगत दश वर्षको अन्वेषणको उपलब्धि हेर्दा माकुराले कीर्तिमान कायम गरेको देखिन्छ । विभिन्न नयाँ माकुराको नाममा स्थापित स्थान नाममध्ये नेपालका १२ स्थान हुन्ः चिचिला, चौकी, चुली, दामन, धुली, एभरेष्ट, जिरी, कालिञ्चोक, खिमती, तीनजुरे, त्रिशुली तथा कञ्चनजङ्घा । यसैगरी महाभारत लेकको नाममा एउटा सरीसृप नामकरण भएको छ भने मुस्ताङको नाममा तीन वटा वनस्पति परेका छन् । अरू वनस्पतिमा जोडिएका स्थान नामहरूमा जुम्ला, सिमकोट, हिमाल, गणेश हिमाल, अन्नपूर्ण, चङ्खेली लेक, गण्डकी, पोखरा, खुम्बू र रोल्वालिङ पर्दछन् ।
विगत दश वर्षमा भएको यो नवीन प्राप्तिमा विभिन्न देशका धेरै वैज्ञानिकहरू सामेल छन् । तीमध्ये नेपाली वैज्ञानिकहरूमा डा. करन शाहको छेपारो, डा. केशवराज राजभण्डारीका चार वनस्पति र त्यस्तै डा. लोकेश शाक्य, डा. देवेन्द्र बज्राचार्य, एम.आर. श्रेष्ठ तथा मुकेश क्षेत्रीका तीन वटा सुनाखरी विशेष उल्लेखनीय छन् । उहाँहरूको शोध, खोज, अन्वेषण र अनुसन्धानको हामीले कदर गर्नुपर्छ र आभार व्यक्त गर्नुपर्छ ।
नेपाली जैविक विविधताको ज्ञान, अध्ययन, अनुसन्धान र अन्वेषणको इतिहास पौराणिक भएता पनि पश्चिमी विज्ञानको दृष्टिले सन् १८०२ बाट सुरू भएको मान्न सकिन्छ । त्यसबेला ह्यामिल्टनले वनस्पति र माछाको सङ्कलन गरे । त्यसबेलादेखि सन् १९८२ सम्ममा नेपाली वनस्पतिको सङ्ख्या ९३ पुगेको देखिन्छ । सन् १९८० देखि १९९८ सम्मको यकिन तथ्याङ्क प्रकाशित हुन बाँकी नै छ । यसैगरी नेपाल जोडिएका सयौँ जीव प्राणी (animals) का नामहरू यत्रतत्र छन् । सङ्ग्रहको काम हुन बाँकी नै छ । सबै सङ्ग्रह भयो भने नेपाल संज्ञा पाएका जीव प्राणी र वनस्पतिको सङ्ख्या ५०० भन्दा बढी हुन आउँछ ।
चितवनको बूढी राप्ती नदीमा फेला परेका नयाँ नेपालेन्सिस माछा।
सन् १८०२÷१८०३ ताका नेपाली वनस्पतिको वैभव खोतल्ने क्रममा स्कटलैन्डका फ्रान्सिस ह्यामिल्टनले काठमाडौँबाट सयौँ बिरुवासँगै उत्तिसको नमुना पनि बेलायत पठाए । त्यसको करीब २२ वर्षपछि उत्तिसको वैज्ञानिक नामकरण ‘अल्नस नेपालेन्सिस’ रहन गयो । यो नेपालेन्सिस बिरुवा सम्पूर्ण हिमालय शृङ्खला– गढवालदेखि भुटान, आसाम, तिब्बत, चीन र बर्मासम्म फैलिएको छ । सन् १९८२ सम्म नेपाल संज्ञा जोडिएको कुल ९३ वटा वनस्पतिमध्ये ३२ प्रजातिका बिरुवा नेपाल बाहिर भेट्टाइएका छैनन् । उदाहरणका लागि एकप्रकारको विष ‘एकोनिटम नेपालेन्स’ हाम्रो गणेश हिमाल क्षेत्रमा मात्र भेट्टाइएको छ । अन्यत्र कहीँ छैन । नेपालेन्सिस नाम भए पनि कुनै व्यापक हुन्छन् कुनैमात्र स्थानीय ।
जैविक विविधताको अरू फाँटमा जस्तैः च्याउ, लेउ, ढुसी एवं प्राणी जगतमा चरा, माछा, सर्प, छेपारो वा स्तनधारी पशुमा पनि नेपाल संज्ञा जोडिएका थुप्रै नामहरू छन् । नेपालेन्सिस नाम भएको पूर्वी नेपालको धनेस चरा नेपालबाट लोप भइसक्यो । धन्न ¤ सिक्किम, भुटानतिर त्यो अझै भेट्न सकिन्छ । नेपाल नाम बोकेको नेपालमा मात्र पाइने काँडेभ्याकुर (
टुरड्वाइडिस निपालेन्सिस) यसैगरी लोप भयो भने यो सृष्टिकै अन्त्य हुन जान्छ । रारा तालमा मात्र पाइने नेपालेन्सिस असला माछा
(
साइजोथोराक्स नेपालेन्सिस) को पनि त्यही कुरो हो । पुतली प्रजातिमा पनि नेपाल संज्ञा बोकेका कमसेकम पाँच प्रजाति नेपाल बाहिर पाइँदैनन् । च्याउ प्रजाति रुसुला नेपालेन्सिस (Russula nepalensis) हाम्रो हुलाक टिकटमा समेत अङ्कित छ ।
जैविक विविधताको नेपाली वैभव निकै ठूलो छ । तिनको शोध, खोज, अन्वेषण र सर्वेक्षणमा यथायोग्य राष्ट्रिय लगानी गर्न सकिएको छैन । तिनको संरक्षण र संवद्र्धनबाट आर्थिक लाभ पनि सहज बनाउन सकिएको छैन । तिनका बारे चेतना पनि नयाँ पुस्तालाई बाँड्न सकिएको छैन । तर, देशमा शान्ति बहाली नभएसम्म यी कुरा ओझेलमा नै अल्झिएर रहन्छन् । तर, पनि प्रयास छोड्नुहुँदैन । वैज्ञानिकहरू त लागिपरेकै छन् । हालै सार्वजनिक भएका पूर्वी हिमालयका नयाँ प्राप्तिहरू त्यसका प्रमाण हुन् ।
(लेखक जीव वैज्ञानिक डा. श्रेष्ठको प्रस्तुत लेख सोमबार अनलाइन कार्यक्रमबीच सार्वजनिक भएको ‘नेपाल अध्ययन (भाग २) ः वन, वनस्पति र प्राणी’ पुस्तकको अंश हो ।)
Leave a Reply