भर्खरै :

फ्रान्स र जर्मनीमा कोभिडको अर्को लहर, लकडाउन घोषणा

पेरिस । युरोपमा जाडो महिना लाग्न थालेयता कोरोना भाइरस सङ्क्रमणको दोस्रो बृहत् लहर आएसँगै बुधबार फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ र जर्मनीका चान्सलर एन्जेला मार्केलले आ–आफ्नो देशमा लकडाउनको घोषणा गरेका छन् ।
कोभिड–१९ महामारीमाथि नियन्त्रण गर्ने प्रयासस्वरूप फ्रान्समा शुक्रबारदेखि देशव्यापी लकडाउन घोषणा गरिएको बुधबार राष्ट्रपति इमानुएल म्याक्राँेले बताए । फ्रान्समा हालसम्म १२ लाख मानिसमा कोभिड–१९ सङ्क्रमित भइसकेको छ भने ३५ हजार ८२० जना मानिसको निधन त्यही कारणले निधन भइसकेको छ ।
जर्मनीका चान्सलर एन्जिला मार्केलले पनि बुधबार जर्मनीका सरकारी पदाधिकारीहरू चार साताको लागि रेस्टुराँ, बार, सिनेमाघर, थियटरलगायत अन्य मनोरञ्जनका क्षेत्रहरू बन्द गर्नेमा सहमति भएको बताइन् । कोरोनाको तीव्र सङ्क्रमण रोकथाम र नियन्त्रणको लागि यस्तो कदम चालिएको उनले बताइन् । लकडाउन लगाउन र फुकाउने अधिकारबाट सम्पन्न मार्केल र १६ राज्यका गभर्नरबीच बुधबार भएको भिडियो सम्मेलनमा आंशिक लकडाउन लगाउने घोषणा भएको हो । जर्मनीमा आगामी सोमबारबाट लकडाउन लागू हुनेछ र नोभेम्बर महिनाको अन्त्यसम्म चालू हुनेछ ।
फ्रान्समा डिसेम्बर १ सम्म लागू गरिएको नयाँ लकडाउनमा सर्वसाधारणलाई अत्यावश्यक सामान किन्न, स्वास्थ्योपचार वा शारीरिक व्यायामको लागि एक घण्टा समयबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरिएको छ ।
घरबाहिर निस्कने मानिसले आफू बाहिर आउनुको औचित्य पुष्टि गर्ने कागजात बोकेर आउनुपर्ने बताइएको छ । सुरक्षाको लागि तैनाथ प्रहरीले त्यसको जाँच गर्नेछन् । रेस्टुराँ, क्याफे र पसलहरूजस्ता अत्यावश्यक सामान नबेच्ने ठाउँलाई कम्तीमा अर्को दुई साताको लागि बन्द गरिने घोषणा भएको थियो ।
गएको वसन्त याममा कोभिड–१९ महामारीको कारण अस्पतालमा भर्ना हुने र मर्नेको सङ्ख्या बढ्दा आठ साताको लकडाउन घोषणा गरिएको थियो । त्यत्तिबेला महामारी नियन्त्रणमा लकडाउन प्रभावकारी बनेको थियो । तर, मे ११ देखि लकडाउन फिर्ता भए पनि सङ्क्रमण पूर्ण नियन्त्रण आइसकेको छैन ।
फ्रान्समा मङ्गलबार चौबीस घण्टामा कोरोना भाइरसको कारण ५२३ जना मानिसको निधन भएको थियो । गत अप्रिल महिनामा एकै दिनमा यति धेरै मानिस मारिएको यो पहिलो पटक हो । अप्रिल महिनामा त्यहाँ महामारी निकै उचाइमा पुगेको थियो ।
“युरोपमा भाइरसको सङ्क्रमणबाट हामी सबै चकित परेका छौँ”, टेलिभिजनमार्फत सार्वजनिक माक्रोंको भाषणमा भनियो, “यदि हामीले केही महिनामा केही नगर्ने हो भने कम्तीमा चालिस लाख मानिसको निधन हुनसक्नेछ ।”
धेरै सरुवा रोग विज्ञहरू हप्तांैदेखि युरोपेली सरकारहरूलाई पछिल्लो सङ्क्रमणमाथि नियन्त्रण गर्न असफल भएको भन्दै लकडाउन नै अवश्यम्भावी उपाय भएको बताउँदै आएका थिए ।
जर्मनीमा चान्सलर मार्केलले नोभेम्बर २ बाट सांस्कृतिक, मनोरञ्जन, खानपिन गर्ने ठाउँमा नोभेम्बरको अन्त्यसम्मको लागि लकडाउन गर्ने घोषणा गरेकी छिन् । तर, त्यहाँ जर्मन जनतालाई घरमै बस्न उर्दी जारी गरिएको छैन ।
बार, क्याफे र रेस्टुराँ बन्द हुनेछन् । साथै थियटर, ओपेरा र सिनेमाहरू पनि बन्द हुनेछन् । होटलमा बस्न पनि निषेध गरिएको छ भने व्यवसायिक खेलकुदका गतिविधिलाई पनि बन्द कोठाभित्र सीमित राख्न भनिएको छ । मार्च र अप्रिलमा फैलिएको पहिलो चरणको महामारीको क्रममा जर्मनीमा लागु भएको लकडाउनभन्दा फरक यसपालि पसल र विद्यालयहरू पनि खुला हुनेछन् । रेस्टुराँलाई खाना लिएर जाने सेवाको लागि छुट दिइएको छ ।
मार्केलले सर्वसाधारण जनतालाई अनावश्यकरूपमा यात्रा नगर्न आह्वान गरेकी छिन् । होटेलहरूले पर्यटकहरूलाई राख्न निषेध गरेको छ ।
जर्मनीको रोग नियन्त्रण कार्यालयले एक दिनअघि जर्मनीमा सङ्क्रमितको सङ्ख्या १४ हजार ९६४ पुगेको केही घण्टाभित्रै जर्मनी सरकारले यस्तो निर्णय गरेको हो । जर्मनीमा कुल ४ लाख ४९ हजार २७५ जना मानिसमा सङ्क्रमण भइसकेको छ ।
मार्केलले भनिन्, “तर, यदि यही दरमा सङ्क्रमण बढ्दै गए हामी केही साताभित्रै स्वास्थ्य प्रणालीको सीमितता नाघ्नेछौँ ।”
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *